उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला ।
यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । म भने बाँध फुटेको पोखरीजस्तै भएँ । अब के कसो गर्ने हो ? म सोच्न बाध्य छु । किन मेरो जीवनमा यस्तै आँधीहुरी आउँछ र मलाई अप्रत्यासित मोडमा पुर्याउँछ – त्यसैलाई मान्छेहरू आ-आफ्नो भाग्य भन्छन् होला । कोठामा धुमधुमती एक्लै छु । सो आँधीजस्तो मान्छेलाई चिया ख्वाउँदा सँगै खाएँ । चियाको सुर्कोसँगै उसले आफ्नो परिचय दियो – मेरो नाम धनबहादुर विष्ट हो, भक्तपुरमा बस्छु । मेरो पुख्र्यौंली थलो नै त्यहीँ हो । यो अधबैँसे उमेरमा आएर जीवनमा यस्तो सङ्कष्ट व्यहोर्नु पर्ला भन्ने मलाई लागेको थिएन तर के लाग्दो रहेछ ? आज तपाईंसँग हात जोड्न आइपुगेँ, आउन बाध्य र विवश भएँ ।
मलाई लागेको थियो – यो धनबहादुर बिष्ट, जसलाई जीवनमा म पहिलो पटक भेट्दैछु, यसै आउन लागेको होइन । पक्कै यसभित्र कुनै रहस्य छ, सोच छ । अन्यथा मैले कहिल्यै नचिनेको, नसुनेको र अत्तोपत्तो थाहा नभएको मान्छे म अदना स्वास्नीमान्छेलाई किन भेट्न चाहन्छ ! यौटी पीडित महिलालाई !
“साँच्ची तपाईंले कसरी मेरो नम्बर पाउनु भयो ?”
“ए हजूर ! आजको सहर, यो बेला संसार पाउन सकिन्छ । कत्तैबाट यहाँको नम्बर पाएर नै मैले भेट्ने समय मागेको हुँ । यहाँले मलाई भेट्ने समय दिनु भएकोमा म यहाँलाई कति धन्यवाद दिऊँ ?” ऊ नम्र थियो ।
मैले औपचारिकता देखाएँ – यहाँलाई अकस्मात यसरी भेट्न पाएकोमा म पनि खुसी छु । हेर्नुहोस् – यस घरमा यी दुई कोठा लिएर दुःखी जीवन विताइरहेकी छु । जीवनमा यति कष्टप्रद समय आउला भन्ने मलाई थाहा थिएन तर आफ्नो भन्नेले धोका दिएपछि कसको के लाग्दोरहेछ ?
“तपाईंको पीडा म बुझ्छु । म पनि यहाँलाई आफ्नो पीडा सुनाउन नै आएको हुँ । हामी दुवैका लागि आकाश खसेको छ, ठूलो भुइँचालो गएको छ । अनि यहाँको माइती चाहिँ कहाँ हो ? ……. “
“मेरो माइती पूर्वीपहाड हो तर काठमाडौँ बसेको चालीस वर्षभन्दा बढी भयो । माइती घरमा कोही छैनन् । आमाबा खसेको धेरै बर्ष भयो । म एक्ली छोरी, दाजुभाइ थिए तर कहाँ छन्, कुन अवस्थामा छन् भन्ने केही थाहा छैन । एक भाइ त माओवादीमा लागेको थियो भन्ने सुन्छु । ऊ मरेको, बाँचेको केही थाहा छैन ……….. अब मेरा कोही छैनन्” – किनकिन मेरा आँखा रसाएर आए, टाउको भारी भयो ।
“छोराछोरी विदेश छन् – अमेरिका, अस्ट्रेलिया कता छन् भन्ने सुनेको छु । तीसँग त सम्पर्क होला नि !”
“छन् – उतै छन् । ती गएको पनि धेरै वर्ष भयो । तिनले पठाएको डलरकै भरमा म बसेकी छु । कहिलेकहीँं फोनमा कुरा हुन्छ ।”
“आजभोलि सबैको यस्तै हो । बढेका छोराछोरी सबै विदेशमा छन् । गाउँघरमा बूढाबूढी र केटाकेटी मात्र छन् । कुनै लास पर्यो भने मलामी जाने मान्छे पाइँदैनन् तर हजुर – मेरो त सर्वस्व नै गयो । हजुरको लोग्नेले मेरो सत्यनास गर्यो – म मर्नु न बाँच्नुमा छु । यस्तो त शत्रुलाई पनि नपरोस् ।”
कोठाको वातावरण एकै पटक परिवर्तन भयो । हामी दुवै भित्रको व्यक्त-अव्यक्त पीडाले छटपटियौँ । मैले थाहा पाएँ – मैले भर्खरै पाएको सौताको ऊ खास श्रीमान् रहेछ । मैले गरेको शङ्का ठीक रहेछ । उसले केही पीडामा, केही आक्रोशमा आफ्नो कथा भन्न लाग्यो ।
“हजुरलाई थाहै छ – मेरी श्रीमती नर्स हो । ऊ नर्स भएको पनि आठदस वर्ष भइसक्यो । मैले बिहे गरेपछि उसलाई नर्स पढाएँ र नोकरीमा लागी । हेर्नोस् – घरमा दुई छोरा र छोरी छन् । एउटै उमेरकाजस्ता – सबै पढ्दै छन् । मेरो सानु पेन्सन छ, खेतबारी खास केही छैन । दुक्ख-सुख गुजारा गर्दै आएको यौटा निम्न मध्यमवर्गीय मान्छे म । जिन्दगी यसोउसो ठीकठाकसँग नै चलिरहेको थियो तर यहाँको बूढोले ………….” यसपछि उसको वाक्य बसेजस्तो भयो – हिक्कहिक्क आवाज आयो ।
मैले एक गिलास पानीदिएँ र पानीसँगै सान्त्वनाका शब्दहरू पनि – जे हुने कुरा भइसक्यो । अब न तपाईं, न मैले केही गर्न सक्ने अवस्था छ । हामी दुवै चढेको जीवनको गाडी दुघर्टनामा पर्यो । तपाईंकी श्रीमती पनि त ठीक रहिनछे नि ! एक हातले त पक्कै ताली बजेन ।
“मलाई आफ्नी श्रीमतीप्रति रत्तिभर अविश्वास थिएन । यसैले उसलाई पढाएँ, जागिरमा लगाएँ । रात रातभर नआउँदा नर्सको डयुटी यस्तै हो भनेर चित्त बुझाएँ तर केही महिनायता उसको आनीबानी र स्वभाव अलि फरक हुँदै आएको थियो । अर्थात् एक जना बिरामीको कुरा गरिरहन्थी । सो बिरामी अत्यन्त ठूलो विद्वान, धनीमानी, संसार घुमेको गजबको छ भन्थी । ऊसँगै लागेकीले हो कि के ले हो ? ऊ टोलाउन लागेकी थिई – केही बिर्सेजस्तो गर्थी ।” उसले सविस्तार भन्न लाग्यो – “तर उसको चरित्रमा म शङ्का गर्दिनथे । किनभने विभिन्न किसिमका रोगीहरूसँग उसले डिल गर्नै पर्थ्यो । फेरि आजभोलिको हावा – सबै पागलजस्ता लाग्छन् मलाई तर यसपटक हजुरको बूढोले अलि कडा मोहनी नै लाइदिएजस्तो लाग्यो । ऊ सपनामा समेत बर्बराउन लागी – मेरो राजा, मेरो प्राण भनेर । हरेक प्रसङ्गमा त्यही रोगी कृष्णरामको कुरा ल्याउँथी । मान्छेको बिग्रने मति लागेपछि के लाग्छ र ! एक दिन अचानक सुनाई – म अफिसको काममा एक हप्ता सिँगापुर जानु पर्यो । त्यहाँ एड्भान्स तालिम छ । मैले उसको प्रगतिमा रोक्ने कुरा थिएन तर त्यस्तो ट्रेनिङसेनिङ केही होइनरहेछ । ऊ कृष्णरामसँग गएकी रहिछे । सिँगापुर मात्र होइन, हङकङ र थाइलैन्ड पनि पुगिछ । त्यहींबाट हाम्रो अभाग सुरु भएको रहेछ ……….।
अब मेरो पालो थियो – “उहाँलाई संसार घुम्न केहीजस्तो नलाग्ने । मैले सोचेर, बुझेर पनि के गर्नु ? कहिले अमेरिका पुगेर फोन गर्ने – म न्युयोर्क छु भनेर । सेमिनारमा अचानक आएको, केही दिनपछि र्फकन्छु भन्नुहुन्छ । मलाई के हो – के होइन ? के थाहा ? फेरि कहिले पोखराको फेवातालमा डुङ्गामा छु भन्नुहुन्छ । म त उहाँदेखि आजित भइसकेकी थिएँ । वास्तवमा उहाँ कुनै कुराको टुङ्गो नभएको मान्छे ! फेरि यहाँकी श्रीमती, नाम कमला होइन – दसौँ या एघारौँं हो । यस्तो गरिहिँड्नु उहाँको ह्याविट नै हो । गजबको मान्छे ! मैले त यस्ता ठक्करहरू खाँदाखाँदा, भोग्दाभोग्दा आजित भएर अब छाडेकी । तपाईंलाई थाहै होला – हाम्रो पाचुके भइसक्यो । अनि कमलासँग उहाँले अड्डामा गएर नै बिहे दर्ता गराउनुभएको छ । अब न तपाईंले, न मैले केही गर्न सक्छौँ । आ-आफ्नो बाटोमा हिँड्नबाहेक ।” – मैले कुरा टुङ्ग्याउन चाहेँ ।
तर उहाँको कथा बाँकी नै रहेछ ।
“मेरो घरजग्गा कमलाको नाममा छ हजुर ! मेरा सन्तान लालाबाला, म आफैँ अब सुकुम्बासी भएँ । सस्ती आइमाईको के विश्वास अब । त्यो घरजग्गा मेरो माइतीले दिएको भन्ली अथवा मैले आर्जन गरेर जोडेको भन्ली ।” – फेरि ऊ बोल्न सकेन । स्वभाविक हो – कुनै ठूलो पहिरोले ऊ थिचिएको मैले पनि स्वीकारेँ ।
“पछिपछि फटाहा कृष्णराम पनि विभिन्न निऊँ पारेर मेरो घरमा नआएको कहाँ हो र ! तपाईंको एरियामा अलिकति घडेरी लिउँ भनेर आउँछ कहिले, कहिले तपाईंको घर-परिवार हेर्न आएको भन्छ । म बाहिर जाँदा कमला र ऊ दिनभरि कोठामा गफगाफ, रमाइलो गर्दारहेछन् । नाम पनि कृष्ण, लीला पनि कृष्ण ………।”
“उहाँको चर्तिकला बुझेर के साध्य ! तपाईंले त भर्खरै भोग्नु भयो । मैले त जीवनभर भोगेर आएँ, सहेर आएँ । अब भने स्वतन्त्र छु – आकाशको चराजस्तै ।” मैले चित्त बुझाएँ तर मेरो मानसमा भने विगतका धेरै प्रसङ्गहरू अनायास खेल्न आइपुगे । मेरो मानसमा बसेको यौटा घटना वा दुर्घटना यस्तो थियो ।
एक रात अलि ढिलो उहाँ आइपुग्नुभयो – यौटी युवतीसित । अनि आफ्नो कथा सुरु गर्नुभयो – हेर न यी मेरी मितबहिनी । आजै धरानबाट आएकी रहिछन् । यिनका दाजु र मैले उहिल्यै सानोमा मित लाएको । हाम्रो घरसँगसँगै – फेरि मित्रता पनि उस्तै – एकछिन नछुट्टिने । कहिले हामी यसै धनकुटा, भेँडेटार पुग्थ्यौँ । कहिले बराहक्षेत्र र सप्तकोसीमा । यी बहिनी आज यहीँं बस्छिन् । विचरी कहाँ जावस् यो रातको समय । बाहिरफेर असुरक्षा मात्र छ ।
विचरी मितबहिनी एक वचन बोलेकी होइन । घरमा आएको पाहुनालाई खानपान राम्रै गराउनु पर्यो तर मध्यरातमा उहाँ आफ्नो बिछ्यौनाबाट हराउनु भयो । मैले सहज अनुमान गरेँ – ती खेलौना- मितबहिनी हुन् । मलाई कत्ति ढाँट्न सक्ने !
म एकछिन टोलाएँछु । यस्ता धेरै घटनाहरू छन्, स्थितिहरू छन् – सम्झेर के फाइदा ? बाहिर घाम डुब्न लागेको थियो । मैले उहाँलाई बिदा गर्न चाहेँ । किनभने यौटा अपरिचित व्यक्तिसँग धेरै समय बस्न म चाहन्नथेँ । अब मैले बिदा दिन चाहंेँ – अरू केही भन्नु छ कि तपाईंलाई ?
“खास भन्नु केही छैन । आफ्नो दुःखसुखका कुरा गरौँ – आँसु बाँडौँ भनेर म यहाँलाई दुक्ख दिन आएको । म अभागी हुँ – जिन्दगीमा ठूलो धोका खाएँ । मैले फेरि व्यवहार गर्ने कुरा आउँदैन – म सक्ता पनि सक्तिनँ । म यहाँ यौटा अनुरोध गर्छु -अन्यथा नमान्नुहोला ।” ऊ धेरै भावुक देखिन्थ्यो ।
“के कस्तो अनुरोध होला………?”
“म आफ्नी श्रीमती फिर्ता चाहन्छु । उसले जे गरी – म उसलाई माफ दिन्छु । मेरो घर-व्यवहार मेरो परिस्थिति यहाँलाई के सुनाऊँ । जे भए पनि यहाँको श्रीमान् त्यत्रा लामा वर्षहरूसँगै बसेको । यहाँले मिलाउँ – म आफ्नै श्रीमती इज्जतसाथ फिर्ता लिन तयार छु, अनि यहाँको पनि व्यवहार बिग्रने थिएन ……..” – उसले हात जोड्यो । म गहिरो सङ्कष्टमा परेँं । मैले केही सोच्न सकिनँ ….. दिमाग शून्य भयो । सारा शरीर काम्न लागे । मैले हठात उत्तर दिएँ – “माफ राख्नुहोला – तपाईंले श्रीमतीलाई माफ दिन सक्नुभयो – तर म सक्तिनँ । किनभने कानुनले पनि हामी अलग भइसकेका छौं । अब न ऊ मेरो लोग्ने हो – न त उसकी श्रीमती म हुँ ।”
“त्यसो नभनौँ हजुर ! सबै कुरा मन हो । हाम्रो मन मिलेपछि, हाम्रो व्यवहार मिलेपछि कानुनले पनि हामीलाई बाधा गर्दैन । मैले राम्रो वकिलको पनि सल्लाह लिइसकेको छु ।”
“एकपल्ट फुटेको हाँडी जोडिएला र ! एकपल्ट टुटेको मन फेरि कसरी जोड्ने । म त सक्छुजस्तो लाग्दैन । तपाईं धन्नको लाग्नेमान्छे हुनुहुँदोरहेछ । स्वास्नीलाई जुत्ता ठान्ने पुरुष – समाजमा तपाईंजस्तो ………….”
“त्यसो भए अर्को उपाय छ हजुर ! हजुरले अन्यथा नलिने भए ? ………”
“कस्तो उपाय – म त केही देख्तिनँ ।”
“मैले देखेको छु – निर्णयको पूर्ण जिम्मा यहाँको । मेरी कमला यहाँको श्रीमान्ले लगेपछि, मैले यहाँलाई ……….. यहाँसँग ………. व्यवहार गर्न मिल्ला ? ………” ऊ केही होस र केही बेहोसमा थियो ।
“मैले राम्रो बुझिनँ …………., फेरि भन्नुहोस् । स्पष्ट बुझौँ, के कुरा हो ?”
“हामी पुनर्बिहे गरौँ – नयाँ घरजम गरौं । हामी दुवैले ती दुईको प्रतिशोध लिने सबैभन्दा राम्रो विकल्प यही हो । म त तयार छु ……….., सधँै स्वीकार्छु …………., धोका दिन्न । यहाँले पनि बिताउनुपर्ने जिन्दगी लामो छ ……… सोचौँ ।” ऊ गम्भीर भयो ।
मैले कुरा बुझेँ – “म विचार गरौँला । अहिल्यै निर्णय नलिउँ – हेर्दै जाऊँ …………..” म विचारको पोखरीमा डुबें – उत्रें र डुबें ।
अनि ऊ उठ्यो र सरासर भर्याङ ओर्लन लाग्यो । मलाई विगत, वर्तमान र मेरो भविष्यले एकै पटक संत्रस्त बनायो । म विल्कुल शून्य र निरीह भएँ । मेरो लामो जीवनकालमा यो मेरो जित थियो कि हार ? ………. सोचिरहें ।
(श्रोत:- मधुपर्क मार्ग,२०६८)