कथा : घर

~परशु प्रधान~Parashu Pradhan

पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ – हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ – एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो ।

उसले मलाई हेरिन् र विस्तारै भनिन् म प्रमिला नै हुँ ।

‘मलाई चिन्छ्यौ ? म को हूँ ?….’

अब ठम्याउने पालो उसको थियो । उसले मलाई टाउकोदेखि खुट्टासम्म हेरी र हाँस्न खोजी तर मलाई लाग्यो-उसले चिनिन । ऊ कुनै विदेशीझैँ लाग्थी -सर्ट र पैन्ट लगाएकी छोटो कपाल र धेरै गोरी । धेरैबेर उसलाई रहस्यमा नराखी मैले आफ्नो परिचय दिएँ म अनिल । कुनै दिन हामी महेन्द्र मोरङ क्याम्पसमा सँगै पढ्थ्यौँ ।

‘ओन्डरफुल – यु आर अनिल -माई गुड फ्रेन्ड’ अनि विदेशीलेझैँ मज्जाले कुम हल्लाई ‘कहाँ जान लागेको ?’ मैले सोधेँ । किनभने मलाई विराटनगरसम्म मात्र जानु थियो ।

‘मलाई थाहा छैन अनिल ! म कहाँ जाँदैछु ?’ उसले साधारण जवाफ दिई, अत्यन्त गम्भीर भएर ।

उसका नातेदार झापामा थिए । मैले अनुमान गरेँ- झापा कि विराटनगर ?

‘म जान्दिन, कहाँ जाँदैछु अनि किन जाँदैछु’ फेरि त्यही गम्भीरता । उसलाई डिस्टर्ब गर्न मन लागेन । अनुमान गरेँ । कोही केटोसाथीलाई पर्खिरहेकी होली । शायद ऊ मलाई त्यो गोप्यता खोल्न चाहन्न ।

रात्रिबस ४ बजे छुट्ने भएकोले म ३ बजेदेखि त्यहीँ थिएँ । बसपार्कमा ओहोरदोहोर गरिरहेँ । बीचबीचमा प्रमिलाको गतिविधि निरीक्षण गर्दै घुमिरहेँ । मैले गम्भीरतापूर्वक प्रमिलाको अनुहार हेरेँ -ऊ उमेरमै सुकेको रूखजस्ती थिई – कताकता हराएजस्ती, आफूलाई बिर्सन चाहेजस्ती । म फ्लैसब्याकमा गएँ – विराटनगरतिर । पिकनिक गर्न भेँडेटार गएको । प्रमिलाले मीठो स्वरमा गाउने र नाच्ने गरेकी । ती दिनहरू थिए, अब छैनन् । सधैँ नयाँ आकाशको खोजीमा थिएँ, थियौँ तर अब छैनौँ । कुनै ठूलो भूकम्पले हल्लाएर क्षतविक्षत पारी छाडिदिएको जस्तो लाग्छ यो देश । मलाई प्रमिलाको माया लाग्यो । म उसको छेउमा पुगेँ-प्रमिला ! मेरो गाडी छुट्ने बेला भयो । तिमी के गर्छ्यौं ?

ऊ मुस्काउन खोजी तर सकिन । अनायास भनी – म पनि तिमीसँगै विराटनगर जाउँ कि कसो ?

‘सिट खाली छ- जाउँ न त सँगै’ किन हो म खुसी भए । टिकट मैले मिलाएँ र हामी दुवैसँगै बस्यौँ । गाडीले ठीक समयमा आफ्नो रफ्तार लियो । हामी थानकोट हुँदै अगाडि बढ्यौँ । बाटोमा प्रमिलालाई मैले सहज बनाउन खोजेँ – प्रमिला ! हामी कुनै दिन यसरी नै भेँडेटार हुँदै हिलेसम्म गएका थियौँ । त्यहाँ तिमीले तोम्बा खाएर छादेको सम्झना छ ?

उसले नकारात्मक भावमा टाउको हल्लाई । उसले मेरो कुरा नै राम्ररी नसुनेको जस्तो लाग्यो । वास्तवमा ऊ कुनै आकाशमा हराएकी थिई । हुनसक्छ अमेरिकाको, अझ न्युयोर्कको होस् । उसले निदाएजस्तो गरी । म पनि आफ्नै विगत र वर्तमानमा डुबुल्की मारिरहेँ । विराटनगर पुगेर पिताजीले अंशमा दिनुभएको नयाँबजार र सीतागञ्जको जग्गा बिक्री गर्न पाए हुन्थ्यो । आफ्ना पुराना साथीहरू जो अहिले उद्योगपति, व्यापारी र होटेलर भएका थिए, तिनलाई भेटेर, पुरानो सम्झनामा साटिन पाए हुन्थ्यो । जोगबनी पुगेर केही नयाँ डिजायनका कुर्था, सुरुवाल किन्न पाए हुन्थ्यो । यस्ता धेरै ‘हुन्थ्यो’ हरूमा म हराएँ । प्रमिला पनि आफ्ना विगतहरूमा हराइरहेजस्तो लाग्यो । नारायणघाटमा खाना खान गाडी रोकिएपछि मैले प्रमिलालाई ‘खाना खान जाउँ’ भने । उसले नसुनेजस्तो गरी । मैले जोड दिएँ-प्रमिला ! बाहिर होटेलमा खान जाउँ । अन्त कतै गाडी रोकिन्न ।

अब बल्ल ऊ उठी । हामी कुनै राम्रो होटेलमा पुग्यौँ । यात्रुहरूको त्यत्ति भीड पनि थिएन । मैले प्रस्ताव गरेँ -प्रमिला ! एक्सक्युज मी ! पहिले केही बियर खाउँ हुन्न ?

बियरको नाम लिनासाथ उसको मुड अलिकति अन भएजस्तो लाग्यो । मैले दुइटा टुबर्ग बियर झिकाएँ र फ्राइड चिकेन पनि । हामीले गिलास जुधायौँ र सहज हुन खोज्यौँ ।

अब प्रमिलाले मलाई प्रश्न गरी -सरोज ! तिमीले मलाई किन विराटनगर लान खोजेको ?

म अलमल्ल परेँ । ‘मैले लान खोजेको कि तिमी जान खोजेको’ मैले जवाफ दिएँ, अझ सरोज बनायौ – म अनिललाई ।

एक एक गिलास बियर हामी दुबै सिध्याइसकेका थियौँ र दोस्रोको तयारीमा लाग्यौँ ।

‘तिमी डाक्टर कि के भएर अमेरिका गएको भन्ने सुनेको थिएँ ।’- मैले सोधेँ ।

‘हो, साँचो हो । अरू के के सुनेका थियाँै अनिल ?’ ‘तिमीले कुनै डाक्टरसँग बिहे गर्‍यौ भन्नेसम्म सुनेको हुँ’- मैले जाने-सुनेको कुरा भनिदिएँ । ‘अरू पनि केही सुनेका थियौ कि !’-अहिले ऊ, धेरै गम्भीर भई -कुनै गहन भारी बोक्न परेझैँ ।

बियरको हामी तेस्रो गिलासमा थियौँ । अब ऊ केही खुल्ला भई – तिमीलाई थाहा छ कि छैन ? म अमेरिकामा जेल परेको ?

‘हल्ला त सुनेको थिएँ तर पत्याएको थिइनँ ।’ ऊ आफ्नो विगत सुनाउन चाहन्थी । त्यहीबेला गुरुजीले ‘अब गाडी १५ मिनेटपछि हिँड्छ, तपाईंहरू छिटो खाना खानुहोस्’ भनेर फरमान जारी गरेपछि हामी दुबैजना उठ्यौँ र खाना खाने टेबलमा पुग्यौँ । त्यहाँ भेज र नन्भेज खानाको सेट थियो । मैले सोधेँ -तिमी के लिन्छ्यौ प्रमिला ?

‘भेज लिन्छु’ उसले तुरुन्तै भनी र मैले एक भेज, अर्को नन्भेज खानाको अर्डर गरेँ । हाम्रो अगाडि दुई थाली आइपुगे । दुबै केही नबोली छिटोछिटो खाई गाडीतिर लम्क्यौँ । एकैछिनमा गाडीले आफ्नो रफ्तार लियो । कतै जाम, चक्काजाम, नारा-जुलुसमा परिएला कि भन्ने डर मलाई थियो । अनि अझ डर थियो – जङ्गलमा कतै डाँका लाग्ने हो कि ! आफ्नै देशभित्र यति भय र त्रास लिएर बाँच्नुपर्ने हाम्रो नियतिले म दिक्दार थिएँ । हेटौँडा काट्नासाथ ऊ निदाउन लागी । मैले झकझकाएँ । हामी धेरै नजिक र समझदारीमा थियौँ । मैले कुरा झिकेँ – तिमी जेलमा परेको रे ! के कसरी हो ? म त छक्क परेँ ।

‘लामो कथाजस्तो छ-मेरो दाम्पत्य जिन्दगीको । अथवा भनौँ मेरो घरपरिवारको । यस्ता कुरा सुनेर बोर हुनुभन्दा आनन्दले निदाउँ, कसो ?….’

उसले दोधार कुरा गरी ।

‘मलाई बोर लाग्दैन प्रमिला ! बरू म ध्यान दिएर सुन्छु । अनि सल्लाह र सुझाव पनि दिन्छु ।’

‘अनि केही सहयोग पनि गर्छौ कि !’

मलाई यस प्रश्नको जवाफ तुरुन्त दिन गाह्रो पर्‍यो । उसले के कस्तो सहयोगको अपेक्षा राखेकी हो ? म अलमलिएँ ।

‘पहिले तिम्रो सत्यकथा सुनौँ । अनि सहयोगको कुरा आउला ।’

‘मैले भन्नैपर्ने ? पछि सुनाउँला ।’ ऊ फेरि हच्की । मैले कर गरेँ – बाटो पनि त काटिन्छ नि !

‘कुनै दिन हामीसँगै क्याम्पस पढ्थ्यौँ, होइन ? हामीले ११ क्लास पढ्दापढ्दै माओवादी आन्दोलन सुरु भयो । हाम्रो खेतीपाती सबै सीतागञ्जमा थियो । तिमीलाई थाहा छैन होला-इस्टर्न सुगर मिलकै छेउछाउ । एक दिन अचानक हाम्रो २० बिघा जग्गामा माओवादीले रातो झण्डा मात्र गाडेनन्, जग्गा पूरै कब्जा गरे । त्यही राति बालाई फोन आयो अब तँ सामन्तीलाई हामी मार्छौं । तिमीलाई थाहा छ अनिल । नेपालमा सरकार थिएन र अहिले पनि छैन । हामी सबै आत्तियौँ । मान्छेको आफ्नो प्राणसँग कत्ति डर हुँदोरहेछ -त्यही रात हामीलाई थाहा भयो । अर्थात् ड्याडी, मम्मी, म र मेरो भाइलाई । रातभरि आफ्ना नातेदार, इष्टमित्र र चिनजानकालाई फोन गरेर सल्लाह माग्यौँ । सबैको एउटै राय आयो – अहिले स-परिवार काठमाडौँ जानु राम्रो । यहाँको घर बहालमा लाउने ।’

हाइ वेमा गाडी एकनाससँग दौडिरहेको थियो । यात्रुहरू कोही निदाएका, कोही घुरिरहेका थिए । म एकनास प्रमिलाको जीवनकथा सुनिरहेको थिएँ ।

‘अनि….अनि के भो….’

‘के हुनु अनिल ? कोही पुलिसमा उजुरी दिने सल्लाह दिन्थे । कोही तराईमा अब हाम्रो खैरियत छैन भन्थे । कोही मानसिकरूपले हाम्रो मृत्यु भइसकेको भन्थे । हामीले त्यही रात निर्णय लियौँ । घरमा सबै तालाकुची मारेर काम गर्ने यौटा मधेसी केटोको जिम्मामा घर छाडी हामी भोलि बिहानको बसमा काठमाडौँ लाग्यौँ । काठमाडौँ त जान लाग्यौँ अनिल ! हामी निश्चयमा थिएनौँ- हामी कहाँ, कसकहाँ जाँदैछौँ ? यौटा अनिश्चित डुङ्गामा चढेका थियौँ ।’ -प्रमिला सुँक्क-सँुक्क गरी रून लागी । बिचरी उसले मन थाम्न सकिन । मलाई पनि आँसु आउलाजस्तो भयो तर मैले सम्झाएँ- ‘नरोऊ प्रमिला ! जे हुनु त भइगयो । सबै भगवान्को कृपा ।’

‘अनि काठमाडौँ पुगेपछि के भयो ?’ – मैले प्रमिलाको सङ्घर्ष -कथालाई अगाडि बढाउन चाहेँ ।

‘चारचार जना काठमाडौँको ठाउँ । कोही आफन्तकहाँ सीधा जानु भएन । केही दिन लजमा बस्यौँ । अनि बानेश्वर शान्तिनगरमा डेरा लिएर बस्यौँ । बुबाले जग्गा किनबेचको कारोबार गर्न लाग्नुभयो । आमाले घर-व्यवहार मैले कुनै प्राइभेट र्फममा जागिर । अमेरिका, ब्रिटेन आदि ठाउँमा पढ्न पठाउने व्यवस्था गर्ने त्यो र्फममा जागिर खानु नै मेरा लागि…..।’ विगत सम्झेर ऊ फेरि रोई ।

मैले गाडी बाहिर हेरेँ । ढल्केबर आउन लागे जस्तो लाग्यो ।

‘हामी कहाँ आइपुग्यौँ ?’ उसले सोधी ।

‘ढल्केबर आउन लागेजस्तो छ । त्यसपछि लाहान आउँछ ।’ -मैले भनेँ ।

‘कोसी आएको छैन हगि….’ उसले सोधी ।

‘कोसी आउन चार घण्टाभन्दा बढी लाग्छ प्रमिला ! तिम्रो कथा टुङ्गियो ?’ – मैले भनेँ ।

‘तिमीलाई निद्रा त लागेको छैन ?’

‘तिम्रो कथाले म धेरै दुखित छु प्रमिला ! बरु भन्दै जाऊ, म सुन्दै जान्छु ।’

‘त्यस र्फममा काम गर्दै जाँदा यौटा तन्नेरी केटो मेरो सम्पर्कमा आयो । हामीसँगै बिहान बुद्धनगरको क्याम्पसमा अध्ययन गर्थ्यौं । भनुँ न – एक किसिमले हामीबीच प्रेम भयो । बुटवलतिरको केटो धेरै हृयान्डसम र फुर्तिलो । मलाई सधैँ मोटरसाइकलमा ल्याउने-लैजाने । धेरैजसो ऊ काठमाडौँका होटेल र रेस्टुराँहरूमा मलाई लिएर जान्थ्यो । कहिले नगरकोट, कहिले ककनी घुम्न जान्थ्यौँ । धन्य काठमाडौँ आइएछ, मधेसमा बसिरहेकी भए….। बुबाले यसोउसो गरेर पेप्सीकोलामा घर पनि किन्नुभयो । ती जिन्दगीका रमाइला दिन थिए, रोमान्टिक जिन्दगी थियो । मैले बी.ए. पनि पार गरेँ ।

तर जिन्दगी कहाँ बगिरहने खोलाजस्तो हुँदोरहेछ र ! कहाँ सधँै घाम मात्र हुँदोरहेछ र ! आमाले एक रात कानमा सुटुक्क सुनाउनु भयो -नानी ! तँलाई हेर्न यौटा घरानियाँ परिवार आउँदैछ । तेरो भाग्य !

‘को कहाँबाट !’ -मैले जान्न चाहेँ ।

‘तँ पनि हेर, ऊ पनि हेर्छ । हाम्रा कुटुम्बरी नै हुन् । अत्यन्त सम्पन्न परिवार छ । तैँले गाडीबाट ओर्लन पर्दैन । बुबाको पनि यही विचार छ तर हेरौँ तेरो भाग्य !…..’ फेरि कानमा फुसफुसाउनु भयो ।

मैले प्रतिकार गरेँ -‘मलाई अहिले बिहे गर्ने मन छैन आमा ! पढ्दैछु र जागिर पनि खाँदैछु । म मास्टर्स डिग्री त लिऊँ । अनि बिहेबारीको कुरा ।’

‘भोलि बिहान तँलाई क्याम्पस नपठाउनु भन्नुभएको छ बाले । भोलि बिहानको नास्ता खाने गरी आउँछन् ।’

‘आमाको कुराले म रन्थनिएँ । म विद्रोह गर्न सक्ने स्थितिमा थिइनँ, न समर्थन नै । मेरो लामो गन्थनले अनिल ! तिमी सुन्दै त छौ ?’

‘भनभन, म सुन्दैछु । तिम्रो कथाले मलाई के निदाउन दिन्थ्यो ? तर प्रमिला ! क्याम्पस पढ्दा मन परेका केटी साथीहरूमध्ये तिमी पनि थियौ । तिम्रो हाम्रो भाग्य ! ल भन्दै जाऊ ।’

मेरो स्वीकृतिपछि ऊ झन् सरल र सहज भई । हामीलाई लामो बाटो पनि काट्नु थियो ।

‘तिमीलाई अब धेरै बोर गर्दिन । म अब आफ्नो जीवनकथाको क्लाइमेक्समा जान्छु । यो मेरो कथा वास्तवमा हामी सबै नारीको कथा हो, आधा आकाशको व्यथा हो । अँ, म भन्दै थिएँ । भोलि बिहान ती आए-बाबु आमा र छोरो । छोरोको नाम म भन्दिन, तिमीले चिन्न सक्छौ । छोरो १० वर्ष अघिदेखि अमेरिका बसेको रहेछ – पढ्दै र काम गर्दै । नेपाली केटी नै बिहे गर्ने उसको इच्छा रहेछ । हामीबीच परिचय र कुराकानी भयो । ऊ केही अङ्ग्रेजीमा बोल्थ्यो-केही नेपालीमा । मलाई मान्छे नरमाइलो लागेन । अमेरिकामा विश्वभरिका केटीहरू पाइन्छन्, तिमीले किन नेपाली केटी बिहे गर्न चाहेको भन्ने मेरो सोधाईंमा उसको एउटै जवाफ थियो -ती पतिव्रता हुन्छन्, सती हुन्छन्, पवित्र हुन्छन्, अर्थात् ती सीता हुन्छन् । अमेरिकामा सबै द्रौपदीहरू मात्र हुन्छन् ।

तर म उसकी सीता हुन सकिनँ । मैले उसलाई नराम्ररी धोका दिएँ, धोका दिन बाध्य भएँ ।

-ऊ धेरै भावुक भई ।

हामी लाहान आइपुगिसकेका थियौँ । बिहानको आकाश उज्यालो हुन लागेको थियो । मैले सोधेँ -तिम्रो कथा टुङ्गिएजस्तो लागेन प्रमिला ! अब सिध्याऊँ होला । लाहानमा चिया खानुपर्छ ।

नभन्दै चियाका लागि गाडी १५-२० मिनेट रोकियो । हामी चुपचाप ओर्ल्यौं र चिया खायौँ । फेरि गाडी चढ्यौँ । मैले भनेँ – अब कोसी टाढा छैन । प्रमिलामा एक किसिमको खुसीको लहर देखेँ ।

‘सुन अनिल ! म बिहे गरेर अमेरिका पुगेँ । बुटवलको केटोलाई थाहा दिइनँ -जरुरी पनि देखिनँ । न्युयोर्कमा हामी रमाइलोसँग बस्न लाग्यौँ । म पनि डिपार्टमेन्टल स्टोरमा काम गर्न थालेँ । मेरो लागि नयाँ क्षितिज खुलेको थियो, नयाँ सपनाहरू देख्न लागेकी थिएँ । केही वर्षमा नै दुर्घटना भयो । बुटवलको केटो मेरो डिपार्टमेन्टल स्टोरमा आएर मलाई एकनासले हेरिरहेको छ । मेरो सातोपुत्लो उड्यो । मलाई कुनै सपना देखेजस्तो भयो । मैले भनेँ -तिमी यहाँ कसरी ?

‘म तिमीलाई खोज्दै आएको प्रमिला । तिमीले मलाई कत्ति धेरै धोका दियौ, मेरो जिन्दगी नै बर्बाद पार्‍यौ । अझ तिमी यहाँ कसरी ? भन्न लाज लाग्दैन ।’ ऊ फक्र्यो । मलाई ऊ रावण नै श्रीलङ्काबाट आइपुगेजस्तो लाग्यो । भोलिपल्टको कुरा हो अनिल । म एपार्टमेन्टमा एक्लै थिए । घण्टी बज्यो, हेरेँ त्यही मेरो रावण उभिएको छ । ऊ जवरजस्ती भित्र पस्यो र मलाई रेप गर्‍यो । मैले मेरो जीउ भारी छ, विगतलाई बिर्स भनेर धेरै अनुरोध गरेँ । उसले सबै कुरा पत्ता लाइसकेको रहेछ । मेरो श्रीमान् आफ्नो ड्युटीमा जानासाथ ऊ सँधै आउथ्यो र आफ्नो कर्म दोहोर्‍याउँथ्यो । म निरीह थिएँ, लाचार थिएँ । शायद विश्वका सारा नारीहरूको कमजोरी नै यही रहेछ, अनिल ! यसरी नै केही समय बित्यो । मैले छोरो जन्माएँ -श्रीमान् धेरै खुसी हुनुभयो । घर-माइती सबै ठाउँमा खबर भयो बधाईका इमेलहरू आए । फेसबुकमा छोरोको तस्बिर राखियो ।

तर खुसीका दिनहरू धेरै महिना रहेनन् । मेरो श्रीमान्ले एकदिन हामीलाई रेड्हृयाण्ड फेला पार्नुभयो । उहाँलाई पहिलेदेखि शङ्का रहेछ । एकैछिनमा अमेरिकी प्रहरी आए र हामीलाई हत्कडी लगाए । न ऊ बोल्न सक्यो, न म । पाप धुरीबाट कराएको थियो । हामी दुबै जेल पर्‍यौँ ।

हामीलाई ज्यान मार्ने षड्यन्त्र गरेको आरोप रहेछ । त्यहाँको मानसिक यातना र पीडाको के बयान गरूँ – म भन्न सक्तिनँ । -फेरि प्रमिला रून लागी । मैले सबै कुरा बुझेँ । मैले भन्ने कुरा पनि केही थिएन ।

‘दुई वर्षजति जेलमा बसेर म नेपाल फर्कें । छोरो अमेरिकामा छ । म कत्ति अभागी रहेँछु अनिल !’

‘कोसी आउनै लाग्यो । हामी कञ्चनपुरमा छौँ,’ मैले कुरा मोड्न खोजेँ ।

‘अब तिमीलाई मेरो अन्तिम प्रश्न -अनिल ! मेरो यस पीडादायक, थकित र निरास जिन्दगीमा तिमी मलाई के, कसरी सहयोग गर्न सक्छौ ?’

म स्पष्ट भएँ -‘म तिमीलाई केही गर्न सक्तिनँ, मेरा आफ्नै धेरै समस्याहरू छन् प्रमिला ! आई एम सरी ! भेरीभेरी सरी !’

प्रमिलाले सुुनी र गम्भीर भई । ऊ केही बोल्न सकिनँ । बसले कोसी तर्‍यो र पुलपारि हामी सबै यात्रुहरू उत्र्यौँ । कोही चिया खान लागे, कोही कोसीका साना माछा । म पनि माछा र चिया खाउँजस्तो लाग्यो । दुबै जनासँगै बसबाट औल्र्यौं । ऊ चुपचाप ओर्ली र दिसा-पिसाव गर्न कोसी किनारातिर लागी ।

गाडी जान लाग्यो । मैले केहीबेर गाडी रोकेँ । प्रमिलालाई यताउता खोजेँ । चारैतिर कराएँ, बोलाएँ । उसको केही अत्तोपत्तो भएन । न यो गाडी छोडेर अर्कोमा आउने हो कि !-मैले सोचेँ । भारी मन लिएर गाडी चढेँ र बाहिर हेरिरहेँ । प्रमिलालाई कहीँ, कत्तै देखिनँ ।

विराटनगर पुगेँ, केही दिन बसेँ । प्रमिलाको केही अत्तोपत्तो लागेन । काठमाडौँ फर्कें -यसै मन भारी छ, गह्रौँ छ । मैले प्रमिलालाई विराटनगर ल्याउनै नहुने । विचरी मेरी साथी प्रमिला !

(श्रोत:- मधुपर्क कार्तिक,२०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.