कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~Padam Bhandari

नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर दौडिए । अपरेशन थिएटरको ढोकासम्म मेरी श्रीमती पनि संगसंगै दौडिई तर उसलाई ढोकाभित्र पस्न दिईएन । श्रीमती भने मलाई बाहिरै कुरेर बसी । मलाई भित्र लगियो । तर मेरो मन भने त्यहिं अल्झिरहेको थियो उनी संगै । अपरेशन थिएटरमा मलाई सुताएर डाक्टरले मेरो जीउमा कैंची चलाउन थाले । कैंची चलाउने ठाउँमा लगाएको लोकल एनेस्थेसियाले काम गरेनछ र म चिच्याएछु । अर्को डाक्टरलाई बोलाएर एनेस्थेसियाको सुई लगाएपछि म बेहोस भएछु । बेहोसीपनामा पो वास्तविक जीबन  भेटिंदोरहेछ ।

म बसेकै शहरजस्तै अर्काथरी मान्छेहरु बस्ने शहरमा पुगेछु म । त्यसदिन मान्छेको जीबन र उसको बाँच्ने शैलीको बारेमा छलफल हुँदै थियो । छलफलकै शिलशिलामा एकजना मान्छेले भन्दै थियो-‘मान्छेले जीबनमा किन यतिका दौडिईरहेछ भनेर खोज्ने हो भने सुखका लागि, सुखद भविश्यका लागि, नाम, दाम, इमानका लागि, सफलताका लागि, समस्या समाधानका लागि, परिवर्तनसंगैको विकासका लागि, अर्थपूर्ण जीबनयापनका लागि, सास छउञ्जेल आशाका लागि, सेवा गर्नका लगि, स्वार्थ पूरा गर्नका लागि, लक्ष्य प्राप्तिका लागि, अर्थात सधैंभरी दौडिईरहन नपरोस भन्नका लागि दौडिईरहेछ, केबल प्राप्तिका लागि । जीबनका दशकौं वर्षहरु दोडिईसकेपछि त्यहि दौडाईका क्रममा मान्छेहरु हामीकहाँ आईपुग़्छन् ।’ उसको कुरा सुन्दाखेरी म अर्कै सुखी मान्छेहरुको संसारमा आईपुगेछु जस्तो लाग़्यो ।

उसको भाषण चल्दै थियो-‘मान्छेलाई ईच्छाले, वाध्यताले, संस्कारले, सोंचले, बीचारले, आवश्यकताले, अभावले, रोजाईले कर्म गर्न लगायो । कर्म उपलब्धिका लागि, प्राप्तिका लागि, नतिजाका लागि, फल प्राप्तिका लागि । यो सबै सोंचले ल्याउँछ । सोंच दर्शनले अर्थात म भित्रको स्व: ले अर्थात म भित्रको अंतशले ल्याउँछ । तर मान्छेहरु यस्तो ठाउँमा बसे जसले आफ्नो भविश्यलाई भन्दा बिगतलाई हेर्न थाल्यो ।  मान्छेहरु सबैका आ-आफ्नै कथाहरु छन् । बिगतको सकारात्मक भन्दा नकारात्मक एउटा न एउटा कथा बोकेर त्यहाँको मान्छेले आफ्नो भविश्य खोजिरहेछ । बरु एउटा मेशिनले ब्लुटुथको सहायताले अर्को मेशीनको भाषा बुझ्न सक्छ तर मानिसले अर्काको खुसीमा खुसी र दु:खमा दु:ख बुझ्न सक्दैन । मान्छेले आफ्नोमात्र कथा बोकेर हिंड्छ  अनि अर्काको भाषा बुझ्न सक्दैन । हुन त मान्छेको मस्तिष्क न्युट्रल भएर बस्न सक़्ने गरि डिजाईन गरिएको छैन । अथवा मान्छेको डिफल्ट माईण्ड सेट  हुन्छ । मान्छेको मनमा खील बिझेको हुन्छ ।  त्यहि खीलको पीडा सहेर बस्छ तर निकालेर फाल्न सक्दैन ।

लाईफईज ईज डिजाईनेवल, स्टोरिज आर री राईटेवल, ट्रुथ एण्ड बिलिफ आर लाईज अर्थात जीबनलाई पूनःरचना गर्न सकिन्छ, जीबनको संरचना बदल्न सकिन्छ, जीबनका कथाहरुलाई पूनर्लेखन गर्न सकिन्छ, एउटाको जीबनको सत्य र विश्वास भनेको अर्काको जीबनको लागि असत्य एवं झूठा हुन सक्छन । जुन कुरालाई सत्य भन्ने ठानिएको छ, विश्वास गरिएको छ त्यो अर्काको लागि सत्य र विश्वास गर्न लायक नहुन पनि सक्छन् । त्यसैले सत्य र विश्वास भन्ने कुरा भ्रम हो । हरेक कारणहरु झुठा छन् । मान्छेले भ्रमको खेती गरेर जीबनलाई सुखी र खुसी पार्न खोजेको छ तर हुँदैन । मान्छेले दु:खलाई हटाउन कडा रुपमा प्रस्तुत हुन्छ । फलाम कति कडा हुन्छ तर खियाले खान्छ । सुन नरम हुन्छ तर खियाले खान सक्दैन । जीबनमा ठूलो उतार चढाव आउँछ भन्ने अनुमानले मान्छे तयार हुँदैन ।

अरु मान्छेहरु जसरी जन्मिए म पनि त्यसरी जन्मिएँ । प्रकृतिले अरु मान्छेलाई जे दिएको छ मलाई पनि त्यहि चिज दिएको च । अरु मान्छेको शरीरमा जति क्रोमोजोमहरु छन् मेरो शरीरमा पनि त्यति नै छन् । समय हिजो पनि थियो, आज पनि छ र भोली पनि हुन्छ । त्यसमा केहि फरकपन छैन । फरक यति हो की म मेरै जीबनको दुःखको कथा बोकेर हिड्छु । त्यो दुःखको कथाले मलाई अगाडि बढ्न दिंदैन । हरेक मानिस बन्ने प्रकृया एउटै हो । क्रोमोजोमहरु बराबरै हुन्छन् । प्रकृतिले मानिसहरुलाई एउटै बनाएको हुन्छ तर किन हरेक मान्छे फरक बन्ने कोशिस गर्छ? व्यक्ति उहि हो तर व्यक्तित्व फरक छ  । मान्छेको व्यक्तित्वभित्र एउटा लालसा छ, उ भित्र बिगतको नमिठो कथा बोकेर हिंड्ने डिफल्ट माईन्ड सेट छ । दु:खलाई चट्ट बिर्सन सक्दैन, अनि मानव जीबनको दौडाई शुरु हुन्छ । सधैंभरी दौडिईरहन नपरोस भन्नका लागि दौडिईरहेछ, तर दौडाई सकिंदैन । बिगतलाई संझेर बर्तमानलाई ह्याङ बनाई राख्छ । मान्छेले यो कुराकिन सोंच्दैन गजबको कुरा छ ।

हरेक मान्छेलाई हेरौं न । हरेक मान्छेसंग मान छ, ईमान छ, पद छ, प्रतिष्ठा छ, धन छ, दौलत छ । तुलनात्मक रुपमा कसैसंग धेरै कसैसंग थोरै होला तर सबैसंग छ । मान्छेसंग सबै चीज छ, तर मन खुसी छैन भने के हुन्छ? बेखुसी मनले सही निर्णय गर्न सक्छ? बेखुसी मनले न आँफूमा परिवर्तन आउन मद्धत पुग्छ न संसार बदल्न सक्छ?  समाज परिवर्तन व्यक्तिबाटै शुरु हुने हो । देयर ईज नो सर्टकट ईन ह्युमन लाईफ । जीबनको छोटो बाटो हुँदैन । सानो तिनो पेशा होस्, एउटा घर होस्, छोराछोरी राम्रो स्कुलमा पढाउन पाईयोस, एउटा गाडी होस्, ऋण नलागोस । बस् मान्छेले यहि चाहान्छ । यसैका लागि जीबनभर दौडिरहन्छ ।  मान्छेले पैसा कमाउने लक्ष बोकेर हिंड्छ । पैसा कमाउने लक्ष लिएर हिंड्नेहरु जीबनभर हिंड्ने होईन दौडिरहेछन् । किनकि त्यहाँ मात्रा हुन्छ । यति कमाए पुग्छ भन्ने हुँदैन । नामका लागि, पदका लागि, प्रतिष्ठाका लागि भन्दा पैसाका लागि दौडिनेहरुको जीबन दुःखमय छ । मान्छेले म जीबनको कुन क्षणमा खुसी भएँ भनेर खोज्दै जाँदा त्यो क्षण भेटाउँदैन । भेटाए पनि त्यो क्षण एकदमै छोटो समयको लागि रहेछ भन्ने थाहा पाउँछ ।

व्यक्ति परिवर्तन हुँदैन, उसको व्यक्तित्व परिवर्तन हुनसक्छ । व्यक्ति भनेको शरिर हो, भोक हो, आँशु, हाँसो, खुसी हो भोक हो । व्यक्तित्व भनेको नाम, जात, धर्म, पार्टी, वर्ग,योग्यता हो । व्यक्तित्व भनेको मान्यता हो । मान्यताहरु परिवर्तन हुन्छन् । अन्तिम सत्य के हो बुझ्दै नबुझि अथवा आधा बुझेर बिना कारण विश्वासको रुपमा मान्छेले कथा बोकेर हिंडेको हुन्छ । मानिसको दु:खको कारण नै यहि हो । मान्छेको मनमा बिझेको खील झिकेर फाल्नुपऱ्यो ।
कुनै एउटा चिजको सत्य थाहा पाउन अर्को चिजको सत्यता थाहा पाउन जरुरी हुन्छ । शुरुमा पृथ्वी चेप्टो थियो भनिन्थ्यो । पछि पृथ्वी गोलो छ भनियो । बिज्ञानका पिता भनेर मानिने ग्यालिलियोले पृथ्वी गोलो छ भनेर कसरी थाहा पाए? कहाँ गएर हेरे र पृथ्वी गोलो देखे? टेलिस्कोपको आविश्कार भएपछि अरु ग्रहहरु हेर्दा गोलो देखिएपछि पृथ्वी पनि गोलो छ भनेर मान्न थालियो । यसलाई अंग्रेजीमा थ्योरी अफ ऱ्यासनलाईजेसन भनिन्छ ।

समय र जीबन एकदम फरक छ । समय अगाडि बढेको छ जीबन पछाडि फर्केको छ । यी दुई बीच बेमेल छ । जब यी दुईको मेल हुन्छ, बल्ल जीबन के हो बुझिन्छ । जीबनको शुरुवात खोज्दाखोज्दै जीबन सकिएको थाहा हुँदैन । आँफूले आँफैलाई कति चिनेका छौं? त्यो चिन्ने तरिका के हो? मान्छेले आँफूले आँफैलाई चिन्दैन । म जे छु, ठीकै छु भन्ने प्रवृत्तिले मान्छेले आँफूले आँफैलाई चिन्दैन । जीबन जीउनका लागि केहि गर्न खोज्छ तर नयाँ कुरा, नयाँ किसिमले, नयाँपन केहि सोंच्दैन । आफ्ना कारणले होईन अरुका कारणले भएन भन्ठान्छ । अरुले गरि दिएन भन्ठान्छ । अगाडि बढ्न बिगतको कथा तगारो बनेर बस्छ  अर्थात व्यक्तित्व तगारो बनेर बस्छ । त्यसैले सृजनशिलता हराउँछ । अनि मान्छे जीबनभरी दौडेको दौडियै हुन्छ । म यो गर्छु उ गर्छु भन्छ तर त्यो मुखले मात्र भन्छ मनै देखि भन्दैन । म यो गर्छु उ गर्छु भन्ने सपना देख्छ । सपना देखेरै जीन्दगी बिताउँछ । सपना देख़्नुपर्छ नत्र अगाडि बढ्न सकिंदैन भन्ने भ्रम पालेर बस्छ । मान्छेले यति धेरै सपना देख्छ की ती सपना कहिल्यै पुरा हुँदैनन् । अनि जीबनभरी दु:ख पाउँछ । अर्काले दिएको उत्तरबाट आफ्नो जीबनको उत्तर खोज्छ जुन भेट्टाउन सर्बथा मुश्किल छ । आफ्नो जीबनको प्रश्नको उत्तर अरुबाट खोजिनु हुँदैन भन्ने पनि जान्दैन मान्छेले ।

उसको भाषणसुन्दैजाँदा मलाई मेरो बाल्यकालले झक्झक्याउँछ । एकदिन म आमाको पछि लागेर देबघाट मेला हेर्न गएको थिएँ । मेलामा जेरी पकाएर बेच्न राखेको थियो । म जस्तै अरु केटाकेटीहरुले जेरी किनेर खाँदै थिए । जेरी भनेपछि म हुरुक़्कै भएँ र जेरी पसलको अगाडि आमाको सारीमा झुण्डिएर पसलतिर औंला तेर्स्याएर आमालाई अगाडि बढ्न दिईन । आमाले मेरो भाषा बुझ्नुभयो तर मलाई जेरी किनिदिन तयार हुनु भएन । मलाई लतारेर अगाडि बढ्ने कोशिस गर्नुभयो तर मैले मानिन । मैले आमाको सारीको फेरो समातेर भुईंमा लडिबुडि खेल्न थालें । आमाले मलाई सम्झाउन थाल्नुभयो-‘मसंग जेरी किन्न पैसा छैन बाबु ।’ मैलेरुँदै अरुसंग पैसा हुने तपाईसंग किन नहुने भनेर अझ जोडले रुन थालें । आमाले मलाई सम्झाउनु भयो-‘हामी गरिब मान्छे हो । गरिब मान्छेसंग पैसा हुँदैन ।’  मैले केहि गर्न खोजें सकिन, म जहाँ  जान खोजें सकिन, मैले जे गर्न खोज्यो त्यो भएन भने म गरिब भएर भन्ठान्छु अहिले पनि । हामी गरिब भएर जेरी खान नपाएको भन्ने कुराको जरो गडेर बसेको मेरो मनमा । मेरो मनमा, मेरो सोंचाईमा गरिबीमात्र छ । अगाडि बढ्न खोज्छु गरिबीको तगारोले मलाई छेक्छ । केहि काम गर्न खोज्छु बिगतको कथा जोडिन्छ त तगारो बनेर बस्छ । अनि मेरो मनबाट सृजनशिलता हराउँछ ।’

म मेरो बाल्याकालबाट फेरि उसको संसारमा फर्कन्छु । उसले भन्दै थियो-‘जब मान्छेले आफ्नो जीबनको प्रश्नको उत्तर आँफैले भेट्टाउँछ अनि बल्ल सफल हुन्छ । मैले मेरो जीबनलाई के प्रश्न गरें भने जीबनको उत्तर पाउँछु त्यो थाहा हुनुपऱ्यो । आँफूले मनै देखि केहि गरेन अनि अर्काले गरि दिएन भन्यो । अर्काले गरिदेला भन्यो, गुनासो गऱ्यो,  बस्यो । बस्दाबस्दै जीबन बितेको थाहै पाउँदैन । त्यसैले तपाईंहरुले पनि जीबनको दुःखको कथा बोकेर नहिंड्नुहोस् । यदि छोड्न सक़्नुहुन्न र बोकेर हिंड्नुहुन्छ भने त्यसको समाधान खोज्नुहोस् । त्यसका लागि जीबनको खेलको नियम परिवर्तन गर्नुपऱ्यो । रुल अफ गेम परिवर्तन हुनसक्छ । बाराक ओबामाले अमेरिकाको राष्ट्रपति बन्नेवित्तिकै नोबेल पुरस्कार पाए । उनले बिगतमा के काम गरे भनेर त्यो पुरस्कार दिईएको होईन, न राष्ट्रपति बने भनेरै दिईएको हो । नोबेल पुरस्कार बिजेताले उत्कृष्ट काम गरे वापत पाउने उक्त पुरस्कारको नियम परिवर्तन गरेर उनले अरुले जस्तै उत्कृष्ट काम गरुन भनेर बाराक ओबामालाई पुरस्कार दिईयो ।

धेरै मान्छेहरु आजका जीबनका नतिजाहरुका कारणले, परिस्थितिले, समाजले, भुगोलले गर्दा यसो भयो उसो भयो भन्ठान्छ, तर त्यो सबै आफ्ना कारणले भएको हो, म नै त्यसको कारक हुँ भन्ठान्दैन । अर्थात त्यो कुरा जान्दैन र जान्दिन भन्ने कुरा पनि जान्दैन । किन अरुलाई मात्र कारक देख्छ आँफूलाई कारक ठान्दैन । बोल्यो भने कि दोष लगाउँछ, कि माग राख्छ, कि नियान्त्रण गर्न खोज्छ, याने कि आईदर ब्लेम, अर डिमाण्ड अर कन्ट्रोल । अर्काको सम्मानका लागि मान्छेले कमै बोल्छ । मान्छेले अर्काको चित्त नदुखाईकन, कानबाट धुवाँ निस्कनेगरि नबोलिकन आफ्ना कुराहरु राख़्न जान्दैन । घडिका सम्पूर्ण पार्टपूर्जाहरु सहि छन्, तर सुई घुम्दैन भने त्यो घडिको प्रयोजन हुँदैन । मान्छेले आँफूलाई कारक ठान्दैन भने सुई नघुम्ने घडिजस्तै हो जीबन । दु:खले आफ्नो मनलाई मात्र पिर्दैन सारा संसारलाई पिरोल्छ । अफगानिस्तानको मान्छे दु:खी भयो भने न्युयोर्कको ट्वीन टावरमा आतङ्कवादी हमला गर्छ । चेचेन्याको मान्छे दु:खी भयो भने बोस्टोनको म्याराथुन दौडमा बम प्रहार गर्छ ।

अर्काले दिएको उत्तरबाट आफ्नो जीबनको प्रश्नको उत्तर खोज्नु हुँदैन । आफ्नो जीबनको प्रश्नको उत्तर आँफैबाट खोज्नुपर्छ । जब आफ्नो जीबनको प्रश्नको उत्तर आँफैले भेट्छ बल्ल जीबन सफल हुन्छ । मैले मेरो जीबनलाई के प्रश्न गरें भने त्यसको उत्तर पाउँछु त्यो खोज्नुपऱ्यो । अरुसंग तुलना गरेर, अरुसंग निहुँ खोजेर, अरुसंग ईख पालेर आफ्नो जीबनको उत्तर भेटिंदैन । अरुसंग निहुँ खोज्नेको पौंठाजोरी खेल्नेको हालत राम्रो हुँदैन । मान्छेले प्रकृतिसंग निहुँ खोज्यो, उत्पादन बढाउन रासयनिक मल प्रयोग गऱ्यो, अनि माटोको उर्बराशक्ति नष्ट पाऱ्यो । जमिन मुनीको पानी निकालेर बोतलमा हालेर बेच्न थाल्यो अनि पानीको साटो फोहोर दियो । मान्छेसंग स्रोत र साधन छ कि छैन एउटा कुरा हो, तर त्यो भन्दापनि ठूलो कुरा त्यसको सदुपयोग भयो कि भएन भन्ने कुरा अझ महत्वपूर्ण कुरा हो । जहाँ मान्छे छन्, खुसी पनि त्यहिं वरपर हुने हो । मान्छे नभएको ठाउँमा खुसी पनि भेटिंदैन । तर मान्छेले आफ्नो घरपरिवारबाट, छिमेकीबाट दुःखी भएर अन्यत्र खुसी खोज्न हिंड्छ । तर पनि खुसी हुँदैन किन? किनकि खुसी मान्छेको वरपर नै छ, तर उसले टाढा खोजिरहेछ । खुसी वरपर नै छ । अन्त कहिं छैन ।

मान्छे जस्तो बन्छ आफ्ना कारणले हो । अरुका कारणले होईन । राम्रोगर्नु छ भने आँफैबाट शुरु गर । के हुन चाहेको हो त्यहि बन्न मनै देखि लाग । देयर ईज रियाल्म अफ पोसिबिलिटिज, अर्थात सम्भावनाको संसार ठूलो छ । मान्छेले त केबल १०% मात्र सम्भावना देखेको छ । नदेखेको सम्भावना ९०% छ । यहि कुरा मान्छेले म जान्दिन भन्ने पनि जान्दैन ।

मान्छेले गर्न सकिने कुराहरु पनि सकिंदैन भनेर पछाडि हट्न खोज्छ । किनकि उसले गर्न सकिने र गर्न नसकिने के हो छुट्याउने सक्दैन । मान्छेहरुसंग बाँच्ने तरिका थुप्रै छन् । मान्छेले बिकल्पहरुबारे सोंच्ने क्षमता राख्छन् । जीबन जिउनका लागि हरेक पलमा कुरा सोंच्ने र नयाँ बिकल्पहरु ल्याउने हो । जुन बिकल्प र तरिका अपनाउँदा आनन्द आउँछ त्यहि गर्ने हो । म हिंडेको बाटो मैले नै बनाएको हो । तर यहाँ अरुले बनाईदिएको बाटोमा हिंड्ने गर्नाले मान्छे दुःखी बनेको हो ।

मेरो जीबनको खेल कसरी खेल्ने म नै खेलाडि हुँ । अगाडिको खेल कसरी खेल्ने मैले नै निर्धारण गर्ने हो । संसारमा जसले जे गरेका छन् त्यो मागेर बनेको छैन । प्रयत्न गरेरै भएको छ । भारत स्वतन्त्र भएको महात्मा गान्धीले मागेर भएको होईन । नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य मागेर भएको होईन । यो कुरा मान्छेले राम्ररी बुझ्न सकेको छैन । जीबनको खेल खेने क्रममा प्रेम जोसुकैलाई गर, तर घृणा बीचार गरेरमात्र गर । कसलाई कति ध्यान दिने भन्ने कुरा पनि बीचार गरेर मात्र गर्नुपर्छ । ध्यान बढी भयो भने मान्छे पागल हुन बेर लाग्दैन । बोटबिरुवामा पनि बढी मलजल भयो भने कि बिरुवा मर्छ कि फल राम्रो लाग्दैन । आफ्नो ध्यान के मा केन्द्रित गर्ने भन्नेसवाल बडो जटिल छ ।

एकदिन बनको राजा ‘सिंह’ बनका जनावरहरुको सम्मेलनको उदघाटन गर्न बाटोमा हिंड्दैरहेछ । बाटोमा रक्सी पिएर बसेको गधाले सिंहलाई भनेछ-‘आईजा लड्न । तँ जस्ता पाजी सिंहको ढाड भाँचेर देखाउँछु आज ।’ फ्याउरोले यो सबैकुरा देखिरहेको रहेछ । सिंहले गधाको कुराको वास्तै नगरि अगाडि बढेको देखेपछि सिंह भएको ठाउँमा गएर भनेछ-‘रक्सी पिएको गधासंग पनि डराउने? यो त जंगलको राजाको बेईज्जती नै हो ।’ सिंहले फ्याउरोको कुराको समेत वास्ता नगरि अगाडि बढेछ । अलिपर पुगेपछि फ्याउरोलाई सिंहले भनेछ-‘गधासंग जोरी खोजेर लड्न थाले मेरो समय बर्बाद हुन्छ । उता मेरो महत्वपूर्ण सम्मेलन छुट्छ । गधालाई जितेकोमा मलाई कसैले पनि ठूलो काम गरेछ भनेर स्याबास दिंदैनन् । महत्व के लाई दिने, ध्यान के मा केन्द्रित गर्ने भन्ने कुरा छुट्याउन सक़्नुपर्छ । आज मान्छेले यहि कुरा गर्न नसकेर दुःखी बनेको छ ।

यस्ता दर्शनहरुबारे जानकारी लिन त्यस सभास्थलमा यी थुप्रै किताबहरु राखिएका थिए । मलाई साहित्य मनपर्छ । मैले धेरै किताबहरू किनेर अगाडि बढें । मैले किताब लिन्छु, पुलुक्क उसलाई हेर्छु र तरक़्क आँसु झार्छु । उसलाई थाहा छ म यी किताबहरुलाई माया गर्छु । मलाई पनि थाहा छ, अब म यो किताब घर लान सक्दिन । मैले माया र जतन गरेर हातमा राखेका  किताबहरू हातबाट खुस्किएर एक़्कासि भुईंमा झर्छन् र असरल्ल छरिन्छन्, बोक़्न सक्दिन ।

डाक्टरले नर्सलाई बोलाए र मलाई कोठामा लैजाने आदेश दिए । मलाई गुड्ने बेडमा राखेर कोठातिर लगे । मलाई ढोका बाहिर निकाल्नै लाग्दा छोरो पनि आईपुग़्यो । मलाई देख़्न निक़्कै आतुर थिए मेरी श्रीमती र छोरो । उनीहरु मलाई बाहिर ढोकामै कुरेर बसिरहेका छन् । ड्याडी के भो? अप्रत्यासित श्रीमतीको प्रश्नले मेरा आँखा खुल्छन । झस्किन्छु । उसले पनि छोराछोरीले बोल्ने भाषा प्रयोग गर्छे र ड्याडी भन्छे ।

डाक्टरले आधा घण्टाजतिमा अपरेशन पुरा हुन्छ भनेका थिए । तर अलि अप्ठेरो भएकोले झण्डै डेढ घण्टा लागेछ । म होसमा आउन र मलाई उक्त थिएटरबाट निकाल्न झण्डै तीन घण्टा लागेछ । मेरो ढाडमा दशवटा टाँका लगाएको थियो । अर्धचेतन अवस्थामा मलाई बाहिर ल्याउँदा छोरा र श्रीमती बाहिर ढोकामा कुरिरहेका थिए । उनीहरुलाई देख्दा मेरा आँखा टिलपिल भएर आँखामा फेवाताल भरिएको र भुइमा पोखिएको चालै पाएनछु । आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन । बोलि मधुरो अस्पष्ट अनि अनुहार रातो देखिन्छ । मलाई उसको औधि माया लाग्छ । एकाएक आँखाबाट तररर झर्छन् आँसु । आँसु लुकाउन खोज्छु सक्दिन । श्रीमतीले उसको हातमा भएको रुमालले मेरो आँखाको नदिमा बाँध हाल्छे । उसले नै मेरो आँशु पुछिदिएपछि पो झसंग भएँ । ब्युंझदा घाम डाँडामाथि पुगिसकेको रहेछ । मलाई लाग्यो म पूनः दुःखियाको संसारमा आईपुगें ।

(श्रोत:- Nepalpost )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.