“म आफूलाई खोज्न हिँड्न लागेकी ।”
“आफूलाई खोज्नको अर्थ ?….”
“मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे ।
यही सानो संवादबाट म ‘मधुपर्क’ लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’ को प्रारम्भ-महिनाहरूमा यो कथा प्रकाशित छ । र, यस कथासँगै म २०२४-२०२५ को काठमाडौँका सम्झनाहरूलाई आफूभित्र नवीकरण गर्ने प्रयासमा छु ।
वि.सं. २०२४ को प्रारम्भमा काठमाडौँ आई कविवर व्यथितको सदासयताले म साझा यातायातसँग सम्बद्ध थिएँ । वसन्तपुर नजिक झोछँेमा डेरा लिएको थिएँ र राम्रै सङ्घर्षमा थिएँ-बाँच्नुको अनि लेख्नको । काठमाडौँका धेरै साहित्यकारहरूसँग परिचय र सम्पर्क बढाउँदै आफूलाई लेखनमा सम्बद्ध र सक्रिय राख्न लागें । ‘रूपरेखा’ ‘रचना’ साहित्यिक पत्रिकाहरू राम्रैसित निस्किरहेका थिए । धेरै नयाँ पुराना साहित्यकारहरू यी दुई पत्रिकामा सम्बद्ध थिए । त्यही समयमा एउटा गजबको साहित्यिक हल्ला आयो- गोरखापत्र संस्थानले एक साहित्यिक मासिक पत्रिका प्रकाशन गर्ने भएको छ, जसको नाम ‘मधुपर्क’ हो । हामी केही साहित्यकारहरू जिल्लिएर तुरुन्तै यस्तो टिप्पणी गर्यौँ- मधु भनेको ‘मह’ हो, ‘पर्क’ भनेको सुँगुरको मासु । अर्थात् पूर्वीय र पश्चिमी दुवै साहित्यको रसस्वादन गर्ने यसको उद्देश्य होला भन्ने भ्रममा हामी केही दिन रहृयौं । एक दिन ‘मधुपर्क’ सित सम्बन्धित व्यङ्ग्यकार भैरव अर्यालले हाम्रो अज्ञानता वा भ्रमलाई यसरी स्पष्ट पारिदिनुभयो -मधुपर्क भनेको मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको-देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ अर्थात् घिउ, मह र चिनीको मिश्रण हो, जसको हाम्रो संस्कृति र धर्ममा महत्त्वपूर्ण मूल्य रहेको छ । ‘मधुपर्क’ को बृहत् र आकर्षक अर्थ बुझेर हामीले लामो सास फेर्यौं ।
अहिले लाग्छ- नेपाली भाषा साहित्यको सम्बर्द्धन र विकासमा हालसम्म ‘मधुपर्क’ ले वास्तवमा मधुपर्ककै काम गरेको छ । त्यो समय र हालको समयमा आकाश-जमिनको अन्तर छ । राजनीतिक, जातीय वा क्षेत्रीयरूपमा स्रष्टाहरू बाँडिएका थिएनन्, न त खास गुटबन्दी नै थियो । प्रतिभा, साधना र त्यागको समय थियो । लेखक-कविकहाँ जानु र दर्शन मात्र पाउनु पनि म-हामी आफूलाई भाग्यमानी ठान्थ्यौँ । हाम्रो विशेष श्रद्धाका स्रष्टाहरू थिए- कविवर केदारमान व्यथित, कवि वासु शशी, कवि नीरविक्रम प्यासी । अनि कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछाने, भैरव अर्याल हाम्रा आस्था र विश्वासका साहित्यकारहरू थिए । ‘रूपरेखा’ र ‘रचना’ दुवै स्तरीय नाम कमाएका पत्रिका भए पनि ‘मधुपर्क’ ले प्रारम्भदेखि नै आफ्नो साहित्यिकस्तर कायम गरेको थियो । पञ्चायती व्यवस्था भएकाले राजा र पञ्चायतसम्बन्धी एक दुई लेख-रचना छापिए पनि वर्चश्व शुद्ध साहित्यकै थियो । यसको श्रेय नारायणबहादुर सिंह, भैरव अर्याल र केशवराज पिंडालीमा जान्छ । त्यसबेलाका सबै लेखकहरू ‘मधुपर्क’ मा नै आफ्ना रचनाहरू छाप्न चाहन्थे । कारण थियो-यसको स्वदेश र विदेशमा पुग्ने र पारिश्रमिक पाइने । ‘मधुपर्क’ मा मेरो कथा छापियोस् भनेर म प्रयासमा थिएँ । ‘मेरियाको क्षितिज’ कथा प्रकाशित भयो, प्रारम्भतिर नै । परन्तु त्यो कथा प्रकाशित गर्न मैले अलिकति रोटी बेल्नै पर्यो-यस्ता साना-तिना घटनाहरू ब्यहोर्नु मलाई लाग्छ, प्रत्येक साहित्यकारका लागि सामान्य विषय हो तर पनि यो घटना म बिर्सन सक्तिनँ । यसलाई मैले अहिले नलेखे पनि हुने हो, परन्तु कुनै अदृश्य शक्तिले लेख्न प्रेरित गर्यो ।
विश्वमा त्यो समय ‘भोको’ ‘पिँढी’ अर्थात् ज्गलनचथ नभलभचबतष्यल ले हल्लाएको थियो । अनि नेपाल गाँजा खानेहरूका लागि ‘स्वर्ग’ बनेको थियो । धेरै हिप्पीहरू वसन्तपुर क्षेत्रमा गाँजा खाएर हल्लिरहेका भेटिन्थे । म, शैलेन्द्र साकार, कविताराम आदिले ‘अस्वीकृत जमात’ नामक साहित्यिक आन्दोलनको प्रारम्भ गरेको समय थियो । विशेषतः हामी युवाहरू (म अहिले हरिश बमजनलाई विशेष सम्झन्छु) वसन्तपु्र, झोछेँ एरिया घुमिरहन्थ्यौं- कहिले खुकुरी रमसहित, कहिले यसैउसै । विदेशबाट आएका ‘नेपाल प्रेमीहरू’ सँग हामी पनि कुराकानी, भेटघाट गथ्र्यौं । केही साथीहरू गाँजामा पनि साथ दिन्थे । त्यहीबेला अमेरिकन केटी मेरिया भेटिएकी थिई- कुनै बेलामा । नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्दै जानुपर्छ भन्ने मेरो धारणा थियो र एक दिन मेरिया मेरो कथामा आई । मैले शीर्षक दिएँ- मेरियाको क्षितिज । नयाँ विषयमा नयाँ कथा लेखेँ भनेर दङ्ग पर्दै म ‘मधुपर्क’ को कार्यालयमा पुगेर आफ्नो कथा पढ्न थालेँ । मलाई लाग्छ- नारायणबहादुर सिंह र भैरव अर्याल हुनुहुन्थ्यो । सबैले ध्यान दिएर सुने-चिया पनि खाइयो । मेरो कथाको पाण्डुलिपि (३/४ पेज) पढेर नारायणबहादुर सिंहले भन्नुभयो- यसमा व्याकरणगतः धेरै त्रुटिहरू छन् । तपाईंहरू युवा लेखकले भाषा, व्याकरण, शुद्धाशुद्धिमा बढी ध्यान पुर्याउनु पर्छ ।
‘भाषा-व्याकरण यहाँहरूले मिलाइदिनुहोला । म सिक्दैँछु राम्रो आउँदैन ।’ – मैले विनम्रतापूर्वक भनेँ । अब कमेन्ट गर्ने पालो भैरव अर्यालको थियो । उहाँले आफ्नै किसिमले स्वर निकालेर बिस्तारै भन्नुभयो- यसको कथावस्तु त्यति राम्रो लागेन । विदेशी पात्र रहिछे । बरु अर्को कथा ल्याउ न ।
मेरो भैरव अर्यालसँग अत्यन्त घनिष्टता थियो । उहाँ मेरो वसन्तपुरको डेरामा बरोबर आइरहनुहुन्थ्यो । म रिसाउला भन्ने पनि उहाँलाई डर थियो तर मैले आफ्नो स्वाभिमान बोलेँ- ”म यो कथा फिर्ता लान्न, शुद्धाशुद्धि पनि गर्न सक्तिनँ ।” त्यसपछि म चूपचाप कथा छाडेर निस्केँ । मलाई पछि अचम्म लाग्यो- मधुपर्कमा त्यो कथा छापिएर आयो । मलाई प्रकाशित होला भन्ने मनको कुनै कुनामा थिएन । आज लगभग चालीस वर्षमा मेरा घटीमा एक सय कथाहरू छापिएका होलान्, अझ छापिँदै छन् । यो मेरो सौभाग्य हो र ‘मधुपर्क’ नेपाली साहित्यको राम्रो ऐना तथा अनुभूतिको माध्यम भएर आफ्नो अलग इतिहास कायम गर्न समर्थ भएको छ ।
‘मधुपर्क’ ले आफ्नो स्वच्छ साहित्यिक तस्बिर प्रस्तुत गर्दै आए पनि कहिले काहिँ राजनीतिक छापले काम गरेको जस्तो अनुभूति मलाई हुन्छ । सबैतिर राजनीति, गुटबन्दी, जातीयता, क्षेत्रीयताले भूमिका खेलिरहेको बेला ‘मधुपर्क’ पनि अलग रहन गाह्रो होला तर पनि साहित्य र साहित्यकारको मर्यादा, प्रतिभा र सेवा लेखनको स्तर आदिलाई ‘मधुपर्क’ ले ध्यान पुर्याउनु पर्ने देख्छु । होइन भने ‘जेनुइन’ साहित्यकारहरू समाप्त हुने छन् । मेरो मेरियाको कथा यत्ति हो ।
(श्रोत:- मधुपर्क माघ,२०६७)