~विना तामाङ ‘सुनगाभा’~
अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेभैंm पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरा सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शून्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जायमान हुन्छ । सायद पीडा अत्याधिक बढेर गएको छ । आँखाहरु कहिलेकाही उसको आँखामा गएर ठोकिन्छ । म देख्छु उ एक तमासले मलाई हेरिरहेछ । हातहरु जबर्जस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिभ्रो चलाउन नसके पनि म सँग क्षमायाचना गर्न हातहरु जोड्न चाहन्छ । आत्माग्लानीले होला आँखाहरु भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोइलाजस्तै देखिएछ ।
कुनै दिन ममा त्यो क्रुर मान्छे प्रतिको घृणा भक्भकी पानी उम्लिएझैं उम्लन्थ्यो । यहाँसम्म कि म उसको मृत्युको कामना गर्थें । जब–जब उसको बर्बर हातहरु मेरो चुल्ठोमा र खुट्टाहरु ढाडभरि सल्बलाउँथ्यो म असह्य पीडाभित्र उसको मृत्युको कामना गर्थें । त्यतिबेला उसका आँखाहरु पाकेका गोलभेंडाजस्तो देखिन्थ्यो अनि दाँत कुनै हिंस्रक जनावरको भैंm हुन्थ्यो । उसले ओकलेका अश्लील गालीले मनहरी खोलासमेत लज्जित हुन्थ्यो । सुकुम्वासी बस्तीको त्यो सानो टहराभित्र डंक मारीमारी उसका ती शब्दहरु गुञ्जिन्थ्यो । उसले प्रयोग गर्ने गालीका शब्दहरु र प्रहार गर्ने मुक्काबाट दुईवटै छोराहरु भयभित हुन्थे अनि बेजोडले भाग्थे हार गुहार माग्न बाहिरतिर । डरले होला सायद त्यतिखेर ती दुबै निलकण्ठ झैं निला हुन्थे ।
कति पटक त मैले त्यो नारकीय जीवनलीला सकाउने कोसिस पनि गरेको थिएँ । तर हरेक पटक आँखा अगाडि दुई छोराको प्रतिबिम्व छाउँथ्यो । म बाध्य हुन्थेँ मातृत्वको आँचल फैलाउन पूर्णरुपमा दुई छोरालाई समाहित गर्न र यो त्यतिखेर मात्र सम्भव थियो जतिखेर म जीवित हुन्थें । त्यसैले सदैव मेरा खुट्टाहरु रोकिन्थे मृत्युको आगोतिर जानबाट । मृत्यु जीवन, जीवन मुत्यु यी दुबै पाटाहरु मेरो लागि बिजगणितीय समस्याहरु झैं हुन्थे । जहाँ अभिब्यञ्जकहरुको समीकरण अन्त्यमा बराबरी हुन्थ्यो । म पनि सधैं मृत्यु र जीवनबीचको धुर्वीय विकर्षणमा समानता ल्याउने प्रयासमा हुन्थें । मलाई अहिले पनि याद छ, प्रत्येक दिन उही घटनाको पुनरावृत्ति हुन्थ्यो । त्यसको लागि कुनै विशेष कारण चाहिँदैन थियो । “तरकारीमा नुन पुगेन” अथवा “सर्टको कलर किन मैलो ?” बस त्यो अरमुठ्ठेझैं गुजुल्टिएको शरीर एकाएक तनक्क तन्किन्थ्यो र आफ्नो पुरुषार्थ प्रदर्शन गर्न मुक्काहरुको वर्षा गराउन सुरु गरिहाल्थ्यो । साँच्चै कति निर्दयी थियो त्यो क्रुर मान्छे ।
म जब जब स–साना छोराहरुको भविष्यको बारेमा सोच्थें तब तब आतंकित हुन्थे । म उनीहरुलाई पढाई लेखाई चेतनशील मानिस बनाउन चाहन्थें न कि उनीहरुको बाबुजस्तै क्रुर अनि हृदय नभएको निर्दयी । त्यति कठोर नबनोस, आप्mनो कर्तब्यबाट बिमुख बाबु नबनोस् भोलिका दिनमा मेरा छोराहरु म यहि चाहन्थें । त्यसको लागि म हरेक दिन अघिल्लो दिनको कुटाईबाट पाएको दुखाई भुलाउँदै, निलडाम लुकाउँदै भाँडा माझ्न, कपडा धुन बाथरुम सफा गर्न जान्थें साहुकोमा जहाँबाट पाएको केही पारिश्रमिकले म छोराहरुको पढाईलाई निरन्तरता दिलाउँथें । त्यो क्रुर मान्छेले हामीप्रति अरु केही नगरे नि एउटा दया भने गरेको थियो । उसले हामीलाई महिनाभरको लागि त हैन तर पनि केही समयको लागि पुग्ने गरी रासन भरिदिन्थ्यो । त्यो रासनमा २ किलो मुसुरको दाल, ३० किलोको एक बोरा चामल, २ पाकेट भटमासको तेल अनि केही मरमसला हुन्थ्यो । त्यति राशनले महिना धानिदैंन भन्ने मलाई थाहा थियो र त म कति दिन भोकै बस्थें । कहिलेकाँही ठूलो छोरा सोध्थ्यो “आमा खाना किन नखानुभएको ?” मेरो रेडिमेड जवाफ हुन्थ्यो “बाबु आज खान मन छैन वा आज साहूको खाएर आएँ ।” त्यतिखेर म झुट त बोलिरहेको हुन्थें तर मेरा आँखाहरुले साथ दिइरहेका हुन्नथ्यो । आँखाहरु ओसिला हुन्थे । अँ चुपचाप धोतिको सप्कोले त्यो असफलतालाई पुछ्ने असफल नै कोसिस गर्थें ।
हामी दिनभर सुरक्षित महसुस गथ्र्याैं किनकि दिउँसो त्यो क्रुर मान्छे आहारा खोज्न गएको हुन्थ्यो अथवा भनौं आफ्नो गुफाबाट बाहिर लुते कुकुर झैं हल्लिरहेको हुन्थ्यो । साँझ परेपछि भने दुवै छोराहरुको अनुहार हेर्न लायकको हुन्थ्यो । भयमिश्रित अनुहार अनि कम्पित शरीरको साथमा दुवै हावामा हल्लिरहेका ध्वजाझै देखिन्थे । अनि म चाहिँ फलामको जीउ बोकेर त्यो क्रुर मान्छेको मुक्का खान तम्तयार हुन्थें । कतिखेर लड्खडाउँदै आउने हो ,के निहुँ पारेर कुट्ने हो पत्तै हुन्नथ्यो । उसो त त्यो क्रुर मान्छे पनि कहिलेकाहीं त फलाम नै चपाएर आएको हुन्थ्यो र रक्सीका जीवाणुले पुरै शरीर जीर्ण भैसकेको हुन्थ्यो तै पनि कस्तो अज्ञात शक्ति थियो कुन्नि हरेक रात मलाई झारपात मिचेझैं मिचिदिन्थ्यो । पहिले त बेस्सरी कुट्थ्यो अनि मन लागुन्जेल मेरो निर्जिवतुल्य शरीर नोच्थयो, लुछ्थ्यो, चुस्थ्यो मानौं म हाड मासुबाट बनेको नभई फलाम अथवा कुनै साह्रो धातुबाट बनेको मान्छे हुँ । त्यो निर्दयी मान्छेसँग म वर्षाैंदेखि यसरी नै बस्दै आइरहेको थिएँ । जाउँ पनि कता ? माइत ? यो शब्दले मलाई जीवनभर नराम्रोसँग चिमटीरह्यो । नचिमोटस् पनि कसरी माइत झापा भन्ने ठाउँमा त थियो तर माइतमा कोही थिएन । यदि हुँदो हो त सायद मेरो विवाह नै त्यो क्रुर मान्छेसँग हुन्न थियो होला । म सानो छँदै बुबा बित्नु भएछ । आमाले हामी स साना हुँदैमा काकाबाउसँग विवाह गरेर ताप्लेजुङ्गतिर लाग्नु भएछ सारा जग्गा जमिन बेचेर । सात वर्षकी म, पाँच वर्षकी बहिनी र चार वर्षको भाइलाई छाडेर जाँदा आमाको त्यो मुटु किन छेडिएन ? मलाई गज्जब लाग्छ अहिले पनि । बहिनी बडाबाउकहाँ, भाइ मामाघरमा म मात्रै फाल्तु भएथें । नियतिको खेल नै होला सायद त्यतिबेलै म गाउँकै दाइ पर्ने सँग काठमाडौ छिरें । अनि त के मेरा दिनहरु लगातार त्यो थापाथलीको अँध्यरो कोठाभित्र कैद भयो, हातहरु नजाँनिदो तरिकाले गलैंचाका तानहरुमा सलबलाउन थाल्यो । कम्तिमा दुईछाक खान र आङ ढाक्न सफल भएँ । यति काफी थियो मेरो लागि । अठार वर्षसम्म त्यो बन्धन स्वीकार्य भयो । अझै पनि स्वीकार्थें सायद उही दाइले त्यो क्रुर मान्छेसँगको विवाहको प्रस्ताब नल्याएको भए । छब्बीस वर्षकी भइसकेकी थिएँ । मेरो विवाह गरेर घर बसाउने कुनै सपना त थिएन तर तारा झारेर ल्याईदिने झुटा आश्वासनले म गलत्तै गलें र विवाहको लागि तयार भएँ ।
प्राकृतिक नियमअनुसार म पनि गर्भवती भएँ विवाहपश्चात तर यो खुशीको कुराले मेरो मन भरिन नपाउँदै पोखिएर गयो । म गर्भवती भएको तीन महिनादेखि नै त्यो क्रुर मान्छे बेपत्ता भयो । असनको गल्लीमा म दिनहुँ हराएको मान्छे खोज्न जान्थें र निराश भएर डेरामा फर्कन्थें । अहँ भेटिएन । हराएको, बाटो बिराएको भएपो भेटिनु । भागेको मान्छे कसरी भेट्नु ? हरेक दिन सुर्याेदयसँग म आशाहरु फुलाउँथें अनि सुर्यास्तसँगै झार्थें ।
ठुलो बाबु पाएको तीन महिनापछि असनकै गल्लीमा चुरोट सल्काउँदै गर्दा त्यो मान्छेलाई देखें । सुटुक्कै दाइलाई बोलाएँ । त्यतिबेलासम्म त अलप भैसकेको थियो त्यो क्रुर मान्छे । अर्काे दिन फेरि उसरी नै कुरियो । मेरो भाग्य बलियो थियो कि कमजोर भोलिपल्ट त्यो मान्छे त्यही ठाउँमा भेटियो । दाइले कठालो समातेर डेरामा पु¥याउनु भयो । निक्कैबेर सम्म वाकयुद्ध चलिरह्यो । उसको स्पष्टीकरण थियो “म कामको सिलसिलामा भैरहवा गएको थिएँ बल्ल फर्किएँ ।” सम्झौता गरियो अब नछाड्ने भयो हामीलाई त्यस मान्छेले ।
ठुलो छोरा दुई वर्षको पुग्दा नपुग्दै म पुनः गर्भवती भएँ । एक किसिमको डरले हृदयमा बास गरेको थियो कतै फेरि पहिले जसरी छाडेर जाने त हैन? भनेर । तर यसपटक त्यो मान्छे भागेन । सँगै बस्यो तर संवेदनारहित । मैले फेरि सानो छोरालाई जन्माएँ । त्यो मान्छेको बानी भने जस्ताको तस्तै थियो । अझ बढी बिग्रेर गएको थियो । बाहिरै बढी बास हुन्थ्यो । अँधेरोले बर्काे नओढाएसम्म डेरामा खुट्टा राख्दैनथ्यो । भट्टीमा पसेपछि के साँझ के बिहान पत्तै हुन्नथ्यो । भट्टीमै बास बसिदिने । महिना दिनमा मुस्कीलले आधा महिना काम गथ्र्याे त्यो पनि भट्टीमै रक्सी पिएर सकाउँथ्यो ।
त्यो मान्छेमा बिस्तारै बिस्तारै अकल्पनीय परिवर्तन देखें । झ्याउँकिरी कराउन सुरु गरेकै हुन्नथ्यो त्यो मान्छे लड्खडाईसकेको हुन्थ्यो रक्सीको मातले । डेरामा हामी खाना खान कुरेर बसेका हुन्थ्यौं, ऊ भने डकारेर आउँथ्यो । खै के कुरामा असन्तुष्टी थियो मैले कहिले जान्न सकिनँ । हामीबीच सम्वाद पनि कम हुन थालेको थियो । ठूलो छोरा बुझ्ने भैसकेको थियो । उसले आफ्नो होश सम्हालेदेखिनै बाबुलाई मन पराउन छाडेकोथ्यो । माया लाग्ने त्यस्तो खासै केही गरेको पनि थिएन मात्रै हामीलाई छोडेर भागेको थिएन । त्यो मान्छे यति निष्ठुर भएर गयो कि उसले एकपल्ट पनि छोराहरुको बारेमा मसँग कुरा गरेन । के गर्दैछ, कति कक्षामा पुगे ? अहँ कहिल्यै सोधेन । सायद त्यसैले होला ठुलो छोराले त्यो मान्छे नभएको बेलामा “क्रुर मान्छे” भनेर सम्बोधन गथ्र्याे । ऊ भित्र भित्रै त्यो क्रुर मान्छेलाई घृणा गथ्र्यो र पनि प्रतिवाद गर्न भने डराउँथ्यो । कोठाभित्र त्यो क्रुर मान्छे पस्नासाथ दुबै छोराहरु सिरकभित्र छिर्थे निन्द्रा नलागे पनि निदाएको बहानामा । साँच्चै निर्दयी थियो त्यो मान्छे ।
दिनहरु झन कष्टकर हुँदैथ्यो । मैले ज्यानले सकेको काम गरेँ । उनीहरुको पढाईको लागि म निरन्तर घोटिरहें । कहिले साहुहरुको घरमा जुठो भाँडाहरु सँगै घोटिरहें, कहिले आफ्नै लोग्ने भनाउँदाको आलिङ्गनमा अठ्ठिरहें । दिनहरु यसरी नै बित्दै गयो । जसो तसो ठूलो छोराले एस.एल.सी. पास ग¥यो । मेहनतको फल आशातित नै पाइयो । जीन्दगीको परीक्षामा जे जस्तो भए पनि पढाईमा अब्बल नै ठहरियो । अगाडिको पढाई बढाउन सम्भव थिएन । उसले पनि पढ्ने रहर देखाएन सायद सपनाहरु झुण्डीरहेको थियो । ऊ त्यही टिप्ने निहुले निस्कियो । सपना टिप्ने क्रममा ऊ अरब पुग्यो । पहिले त सपना फुल्नै पाएन तर केही महिनापछि उसका सपनाहरु फुलेर झुल्न थाल्यो । बेला बेलामा मलाई फोन गथ्र्याे । भाइको बारेमा चिन्ता ब्यक्त गथ्र्याे । मेरो दुखाईमा मल्हम लगाउँथ्यो तर कहिल्यै बाउको बारेमा सोधेन । मलाई थाहा थियो उसले सोध्ने पनि छैन भनेर । उसलाई दुखेको थियो बाउबाट । त्यसैले छाम्दैन थियो बाउको घाउहरु जुन जर्जर भएर आएको थियो रक्सीले मुख र नाकबाट एकै साथ रगत निस्कँदा ।
चार वर्ष यसरी नै दुख्दै, दुखाउँदै बित्यो । दुखे यसकारण त्यो क्रुर मान्छे झन क्रुर भएको थियो र ममाथिको दुराचार झनै बढेर गएको थियो । दुखाएँ यस कारण त्यो क्रुर मान्छेलाई छाडेर अन्तै बस्न ठूलो छोराले गरेको आग्रहलाई टेरिन । किनकि त्यो क्रुर मान्छे अब बिस्तारै गलेको थियो र बिरामी पर्न थालेको थियो । रक्सीले पुरै नपाके पनि सुरुचाँहि भैसकेको थियो । यस्तोमा पनि रक्सी नल्याईदेको भन्दै चिर्पट उठाउन भने छाडेको थिएन ।
मेरो दयनीय अवस्था देखेर छोरो फर्केर आयो । साथमा एउटा छाप्प्रो बनाउन पुग्ने सपनाका फल पनि थियो । उसले रानी वननजिकै चार आना घडेरीमा उही सपनाको महल बनायो । भाइलाई राम्रो स्कुलमा हाल्यो अनि मलाई आफंैसँग बस्न पुनःआग्रह गर्याे । यसपटक भने मैले मान्नै पर्ने थियो । म आफैं जीर्ण भैसकेको थिएँ । कुनै काममा जान सक्ने अवस्था थिएन । सायद बुढ्यौलीले अलि बढी नै च्यापेर ल्याएकोथ्यो । त्यसमाथि त्यो क्रुर मान्छेको सहन नसक्ने कुटाई । बाध्य भएँ । बाउलाई पनि साथमा लान मैले भनें तर उसले कुनै चासो देखाएन त्यसप्रति । ऊ कठोर भएको थियो ।
आज ठ्याकै छ महिना बितेछ मैले त्यो डेरा छाडेर यहाँ आएको । हामीले छाडेर आएपछि ल्यो क्रुर मान्छेको हविगत जे हुनुथ्यो त्यही भएछ । काम गर्ने क्रममा हातमा परेको एसिडले हात पुरै पाकेको कटहर जस्तो गलेछ । पिपै पिपले भरिएछ । उमेरले पनि तीन बिसा छोईसकेको थियो । कमजोरी अनि रक्सीको स्लो प्वाईजनले ओछ्यान परेको सुनेकोथेँ तर जान सकिरहेको थिइन । “बिजोग भएछ सुब्बा दाइको त । सँधै रक्सी पिएर स्वास्नी कुट्थ्यो । अहिले सबैले छोडेर गएपछि हेर पाप धुरीबाट कराएको । कस्ले स्याहार्ने ? मर्छ होला अब यहि कोठामा डुङ्गडुङ्गती गन्हाउने भयो । ऊफ् !” यस्तै हल्ला ल्याईपुर्याउँथे कानेखुसी गर्नेहरुले ।
म कसरी त्यो क्रुर मान्छे जसरी निठुर भएर बस्न सक्थें ? जे भए पनि नारी हृदय थियो मेरो । करुणाका लहरहरु सामुद्रिक आँधीझैं लहरिंदैथ्यो । अन्यायी, अत्याचारी, दुराचारी जे जस्तो भए पनि त्यो मान्छे मेरो लोग्ने थियो । दुई छोराहरुलाई नाम दिएको थियो । आधा पेट भए पनि खान दिएको थियो । आपत बिपत सन्चो बिसन्चोमा कुकुरलाई त माया गरिन्छ भने त्यो त मान्छे थियो भलै विवेकहिन थियो तर मान्छे त थियो ।
मनले मान्दै मानेन । छोरा नभएको मौका पारेर हेर्न गएँ त्यो मान्छेलाई । साँच्चै बोली बसिसकेछ । घाउले हात पुरै ढाकिसकेछ । कपाल, दाह्रीजँुगा बढेर जोगीजस्तै देखिन थालेछ । कोठा पुरै गन्हाईरहेथ्यो । मलाई देखेर बररर आँशु झा¥यो । बोल्न खोजेजस्तो लाग्यो । पानी पिलाई दिएँ झन दर्के झरीझैं दर्कियो । कस्तो नमिठो लाग्यो । त्यस्तो कठोर मान्छे पनि रुँदोरहेछ । पहिलोपटक देख्दै थिएँ । जाउलो पकाउन खोजें । भाँडा सबै रित्तै । अन्न भनेको केही भेटिनँ । के खाएर बाँचेको होला जस्तो लाग्यो । भक्कानो फुट्यो । अंगालो मार्ने मन भयो तर सकिनँ किनकि मैले कहिल्यै त्यसरी आफुखुशी हात समातेको समेत थिइन धक लाग्यो । तातो पानी ताईदिएँ । घुटुघुटु पिउँदा रुद्रघण्टी हल्लेको प्रष्टै देखिन्थ्यो । नशा सबै निला देखें । सायद यही अवस्थामा अब केही दिन रहने हो भने बाँच्दैनन् भन्ने लाग्यो । त्यो मायै नभएको मान्छेप्रति असीम माया पलाएर आयो ।
म फर्किएँ । रातभरि निन्द्रा लागेन । त्यो क्रुर मान्छेको दुब्लो ख्याउटे अनुहार रातभर् छल्न आइरह¥यो । बिहान चिया खाने समयमा छोरालाई सबै सुनाएँ । त्यो क्रुर मान्छेलाई घरमा ल्याउने आशय प्रकट गरें । ऊ मौन रह्यो । सायद बिगतले घोच्यो त्यसैले काँडा हुन मन परायो । कुनै उत्तर नै नदिई उठेर गयो । मैले पनि बालहठ गरिरहें । लगातारको मेरो आग्रह भनुँ वा करलाई अन्त्यमा उसले स्वीकार्यो र आज त्यो क्रुर मान्छे मेरो अगाडि लमतन्न छ ।
(श्रोत :- Everesttimes)