~एकराज प्रधान~
गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’
‘हो र ! काँबाट था पाइस्’, भान्साकी दिदी फुत्त निस्किन् । मलाई उछिन्दै बोलिन्, ‘लाऽ के भएछ ? बिचल्ली हुने भो भाउजू र छोराको । च्व च्व !’
चुकचुकाउँदै पसिन् भान्सातिर ।
‘तँ हेरेर आ’को ?’, म बोलेँ ।
‘होइन । काठमाडौँ आइपुगेको छ रे’, उसको जवाफ ।
सुनेर मनै भरङ्ग भो ।
मुढा तानेर छेवैमा बस्यो ऊ । मैले जुत्ता खोलेर बलेँसी नजिकै अड्याइसकेको थिएँ । साँझ पर्नै लागेको थियो ।
‘भाग्यै खोटो, दुःख लेखेकालाई कसै गरे फाप्दैन’, उसले मुन्टो हल्लाउँदै ओठ लेप्य्रायो । बलेको बुबा माने काकाप्रतिको सहानुभूति थियो त्यो । मानबहादुर नाम भए पनि अरुले भनेको सुनेर मानेकाका भन्थ्यौँ हामी । बूढा त मुर्छा परे होलान् सुनेर, मनले गम्यो । विचरा चारतिर रिन काडेर पठाएका । दुईचार दिनपछि साहुले घेर्छन् । गा’को तीनै महिनामा के भएछ त्यस्तो ? औडाहा जन्मियो ।
‘काठमाडौँबाट आउन सक्छ त त्यो ?’ प्रश्न गरेँ ।
‘ओमे दाइ लिन गै’सके । भोलि बेल्कासम्म ल्याइपुराउँछन् । भाउजु रोएर तमास छ । छोरालाई बोर्डिङ हुलेका छन् । खै, कसरी पढाउलान् अबो । यसो बेल्काबेला हावा खाउँ भनेर चोकतिर गा’को यस्तो पो सुनियो, मुडै अफ भो मेरो त’, ऊ निरास देखियो । जुरुक्क उठ्यो र भन्यो – ‘हिँडे म त… गा’को है दिदी ।’ लुरुलुरु बाटो लाग्यो । जवाफ पर्खिएन ।
मन आत्तियो । उकुसमुकुस भएँ त्यसैत्यसै । जुरुक्क उठ्ने बलै हराएजस्तो भो । गोडाहरु धर्मराए । आफैँमाथि बज्रपात परेझैँ भो । त्यो खबर यसरी आयो कि खडेरीमा चलेको हुरीले बचेका पातहरु लुछेको रुखझैँ खङग्रङ्ग भएँ म । भाउजूको हालत के होला, कल्पना गरेँ र डराएँ । छोरा राजलाई सम्झेँ र सम्झेँ मानेकाकाको त्यो दुःखी अनुहार । जसले छोराले कमाउला र बुढ्यौलीले गल्दै गएको शरीरले थकाई मार्न पाउला भन्ने सोचेका थिए ।
विस्तारै उठेँ । जिवै भारी भो । गएर ओछ्यानमा लम्पसार परेँ । बलेको कुरा फनफनी घुमे आँखाभरि । उमेरले मभन्दा पाँच वर्ष जेठो हो ऊ । सँगै पढेको । मैले छ कक्षामा भेटेको हो उसलाई । पढ्नमा लद्दु । तर, बाठो । रिसाहा पनि । मसँगचाहिँ नमिठो बोलेन । बरु उसको आड लिएर मचाहिँ अरुलाई थर्काइहिँड्थे । तल्लो गाउँका केटाहरुसँग बेलाबेला लफडा भई नै रहन्थ्यो । नामै बले, बलियोथ्यो । सबै डराउँथे ।
कक्षाको सबैभन्दा सानो म । जान्ने छ, यस्तै सोच्थे सबै । मेरै सङ्गतले बले जान्ने हुँदैथ्यो, उसको सङ्गतले मचाहिँ सुरो । आफ्नो कक्षाकालाई टेरिँदैनथ्यो । बलेलाई नै सरले चुन्नुभाथ्यो, मनिटर । त्यो कक्षामा छँदा झाडु कहिल्यै लाइएन । झाडु लाउने निहुँ गर्दै लाइन बस्न पनि गइएन ।
उसलाई बाउले साइकल किन्देका थिए, सेकेन्डहृयान्ड हिरो जेट । सात सय रुपैयाँमा । सात सय कमाउन त्यसबेला सातै दिन खेताला जानु पथ्र्यो । बलेले पढोस्, दुःख नपाओस् भनेरै मानेकाकाले कत्ति दाउरा चिरे, कति आलीहरु सम्याए, कति डल्ला फोरे अनि कति ठेलाहरु फुटाए । बले साइकल पाएकोमा मख्ख । हातले साइकलको सिट समाएर डन्डीदेखि मुन्तिरबाट खुट्टा छिराएर पाइडल चलाउन उसैले सिकायो मलाई । केरियरमा राखेर थथर्काउँदै कहिले बुधबारे बजार पुर्याउँथ्यो, कहिले सिनेमा घर । कहिले जयपुर फुटबल खेल्न पुगिन्थ्यो, कहिले बिरिङको झोलुङ्गे पुल हेर्न । बेल्का बेला पिँध दुखेर हैरान । साइकल किनेको एक महिनामै थोत्रियो । पार्ट पुर्जाले ठाउँ छाडे ।
‘बाँदरको हातमा नरिवल, थुइक्क बज्या, तँलाई त म…’ भोलिपल्ट काका हपार्दै थिए । पिट्नलाई हात मात्रै के उज्याएका थिए, ऊ फिलिलि । मैले दगुरेर पछ्याएँ । मुर्मुरिँदै कराएको वरसम्म सुनियो, ‘तँलाई डाँका भरेघर आइज मात्रै न ।’ पहिलोचोटि हो, काका रिसाको देखेको । उसलाई ‘बालै’ थिएन, भन्यो, ‘हिँड् पौडी खेल्न जौँ ।’ गइयो हँडियाखोलाको बाँध बाँधेको ठाउँ । ऊ जान्ने थियो, पानीमा उल्टीसुल्टी हान्न थाल्यो । म चाहिँ त्यसबेलासम्म पौडिएको थिइनँ । छेउछेउमा खेल्दै थिएँ, झुक्किएर पुगेछु गहिरोमा । दुई/चार घुड्की फोहारपानी निलेपछि उसैले निकाल्यो किनारमा । पछि जानियो, थुप्रै चोटि उल्टीसुल्टी ट्राइ गर्दा मुन्टो बालुवामा गाडियो ।
कक्षा-७ मा ऊ फेल भो । काकाले डन्ठ्याउँदै भन्दैथे, ‘सिन्को भाँच्न ला’छैन, पढाइमा मन लाउन छाडेर बरालिन्छस्, अनि काँ पास हुन्छस् । थुक्क कुलङ्गार, इत्राइत्रा केटाकेटीसँग पढ्…, लाज लाग्दैन ?’ बाउले भनेको त्यो कुरा मनैमा गढेछ क्यार ! त्यस दिनदेखि लाज लाग्न थालेछ । स्कुलै आउन छाड्यो ऊ । घरबाट हिँड्थ्यो तर स्कुल पुग्दैनथ्यो । कहिले केरेम खेलिरहेको भेट्दा सरको पिटाइखान्थ्यो त कहिले केटाहरुसँग ग्याङ फाइट खेल्दा ।
ऊ कक्षा-८ बाट उक्लन सकेन । विस्तारै खराब केटाहरुसँगको सङ्गतले उसलाई गाँज्यो । कहिले गोसमा जाँड तान्दै गर्दा भेटिन्थ्यो, कहिले स्कुलको ट्वाइलेटमा छलिएर चुरोट तान्दै गरेको । छोराछोरीको मन ढुङ्गा मुढामाथि भनेझैँ भो काकालाई । एक दिन बाउले कुटेकै निहुँमा उसले घरै छाड्यो । कहाँ गयो, कसैले थाहा पाएनन् । ऊ गएपछि काका एक्लै । कयौँ दिन भौँतारिए । बौलाउनु न मर्नु बने । तर उनी भन्थे, ‘बगेको खोला पनि एक दिन र्फकन्छ ।’
मसँग मिल्दा उसले वितृष्णा पोखेकोथ्यो, ‘मेरो बाउ त लास्ट फटाहा, आमालाई त कुटेरै खेदेको रे ! मलाई पनि खेद्छन् ।’ ऊ निक्कै रिस पोख्थ्यो । ममा विरोधाभाष हुन्थ्यो, काकालाई सम्झँदा । वास्तविकता त्यो होइन कि भन्ने लाग्थ्यो । पछि मैले सोचेजस्तै रहेछ । ‘कङ्गालको सन्तान’ भन्दै उनैले छाडेकी रहेछिन्, भौतिक सुखका लागि ।
…
एक वर्षपछि ऊ आफैँ फर्कियो । कानमा हेडफोन खाँदेर । कालो चस्मा, जिन्स पाइन्ट, लेदरको जुत्ता । निकै ठाँटिएर आएको थियो ऊ । वर्णै फेरिएछ । गोरो थियो, काले भएछ । ‘कलकत्तामा ड्युटी थियो, एताउता कर्ने । जो मलाई अच्छा नलागेर घुरेको । तिम्रो के छ ?’ उसले भाषा बिगारेर बोल्यो । त्यो कोलकताको प्रभाव हो कि नक्कल, शङ्कै लाग्यो । यता मानेकाका भने छोरो फर्किएकोमा निकै खुसी थिए ।
…
म क्याम्पसे भइसकेको थिएँ । भेट खासै हुन्थेन । झिल्के देखिएको उसले आएको तीन महिना नबित्दै नन्दितालाई पट्याएछ । घर स्याहार्ने कोही नभएकोले काकाले पनि भित्र्याए बुहारी । हिजोझैँ लाग्छ, उसको बिहेमा डान्स हानेको, ‘चिया बारीमा हो चिया बारीमा…’
बिहेपछि पनि लत चाहिँ छुटेन । उसका पुराना यारले अँठ्याइसकेका थिए उसलाई । कहिले खलाँसी बन्यो, कहिले ट्याक्टरमा ढुङ्गा भर्यो । तर त्यो कमाइले कहाँ पुग्थ्यो र ! धन भन्नु त्यही झुप्रो र बाबुले हली बसेर पाएको घर उभिएको जमिन ।
छेउछाउका सबैले विदेशबाट कमाउँदै पक्की घर ठड्याएको देखियो । मन कुँडियो होला उसको पनि । अचानक विदेश जानेतयारीमा जुट्यो ऊ । त्यसपछि घरजग्गा बन्धक राखेकोले नपुगेर रिन काडेर उसलाई मलेसिया पठाए काकाले ।
‘भाइ, काँ मरिस् तँ ?’ आइज भात सेलायो, दिदीको कर्कस आवाज । म झस्केँ । निद्राबाट ब्युँझिएजस्तै । लोडसेडिङको अँध्यारोमा कुप्पीको सहाराले खाना खाइयो । आमाबुबा खाइसकेर आँगनमा थिए, उही बलेको कुरा गर्दै बसेका । मलाई कहिले बिहान होला भन्ने लागिरहृयो ।
…
बिहानै ल्याइपुराएछन् उसलाई । म हुर्रिएर पुगेँ उसकहाँ । देखेँ, निलो सेन्डो, धुर्मुसे हाफ पाइन्ट लाएर झोक्राइरहेको ऊ । वरिपरि गाउँले । उसका आँखा नियालेँ, आँखा राताराता, आँशु झर्ला झैँ । टोलाएर बसेको ऊ, बोलाउँदा टाउको उठाएर हेथ्र्यो, तर चिन्दैनथ्यो कसैलाई ।
‘मलाई चिनिस् ?’ सोधिहेरेँ ।
निकैबेर घोरियो र नचिनेको शैलीमा मन्टो मोड्यो । उसका बुबा भन्दै थिए, ‘एक महिना अघि फोन गरेकोथ्यो । एकदम डर लाग्छ, यहाँका मान्छेदेखि भन्थ्यो । नेपालीलाई काटेको खै केमा देखायो अरे । म घर फर्किन्छु भन्थ्यो । मैले त यस्तो होला, सोचेकै थिइनँ ।…’
आँखा निचोरियो, आँशु तप्किए । अरुका पनि । कोही मानसिक अस्पताल लैजाओ भन्दै थिए, कोही धामीझाँक्रीकोमा लान सुझाउँदैथे । भाउजु साडीको सप्कोले आँशु पुछ्दै अँगेना छेउ सुँकसुँकाउँदै थिइन् । ओमेदाइले उसका ब्याग खोतल्दै थिए । एउटा चिठी देखियो । हत्तपत्त तानेर खोलेँ र पढेँ, लेखिएको थियो –
‘सबैलाई नमस्ते,
म बलबहादुरको साथी नरेश । हामी सँगै काम गथ्र्यौं । भने जति सेलरी नभएकोले बलबहादुर चिन्तित थियो । यहाँ फलाम बोक्नुपर्छ । लेबर काम नगरेकोले होला, ऊ छिट्टै गल्थ्यो । पढाइ पनि कम भएकाले अरु काम सिक्न पनि सकेन । त्यसैले मालिकले उसलाई कामबाट निकाल्यो । हामीले डेढ महिनासँगै राख्यौँ तर कसरी रिन तिर्नु, कसरी नेपाल जानु भन्दै चिन्ता लिइरहन्थ्यो । मलेसियामा केही जत्थाले नेपालीमाथि आक्रमण गर्यो । त्यसपछि हो, उसले होस गुमाएको । उसलाई तपाईंहरुको माया र स्नेहको खाँचो छ । पागल भनेर हेला नगर्नुहोला । ऊ ठिक हुनेछ । नेपाल फर्किएपछि हामी भेट्न आउनेछौँ ।
उही प्रवासी नेपाली
नरेश’
मैले उसलाई हेरेँ, ऊ झोक्राएकै थियो । रुँलारुँलाझैँ । डराएझैँ । भनेँ, ‘पीर नगर् बले, तेरो रिन म तिरिदिन्छु ।’
उसका आँखा तेज भए । कान चलमलाए जस्तै देखेँ । आश पलायो, ऊ चाँडै निको हुनेछ ।
(स्रोत :- Onlinekhabar )
Thanks sangrahalaya.wordpress.com