व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~

दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा ‘खुट्टी हेरेरै’ थाहा हुन्थ्यो !

अहिले परिस्थिति बदलिएको छ । चिल्लो अनुहार देखेर ‘जय नेपाल’ भनेको मान्छे ‘गौरवशाली पार्टी’को केन्द्रिय नेता हुनसक्छ । फुश्रो गाला देखेर ‘लाल सलाम’ गरेको मान्छे ‘गौरवखाली पाटी’को बरिष्ठ नेता हुन्छ ।

यस्तो लाग्छ– अब कसैको जिवनशैली हेरेर उसको ‘सैद्धान्तिक धरातल’ बुझ्न सकिंदैन किनभने उनीहरुले लिएको बिचार र गरेको ब्यवहारमा आकास जमिनको अन्तर छ । ‘क्रान्तिकारी पार्टीको’ नेता ब्यवाहारमा ‘भ्रान्ति’तिर लागेको हुन सक्छ, ‘बुर्जुवा पार्टी’ कार्यकर्ता पनि ब्यवहारमा ‘प्रगतिशिलता’लाई अंगालरिहेको पनि हुनसक्छ ।

सिद्धान्तलाई ब्यवहारमा लागु नगर्दा पार्टी सुभचिन्तकलाइ त मर्का परेकै छ, त्योभन्दा ठूलो मर्का सर्ब साधाररणलाई परेको रहेछ । सुदुर पश्चिमका एकजना ब्यापारी मित्रलाई चन्दा माग्नले हैरान बनएछन् ! उनले मलाइ सोधे- ‘को कुन पार्टीको नेता कार्यकर्ता हो, कसरी चिन्ने ?’ मैले आफ्नो अनुभव सुनाऐं– ‘उनिहरुको सवारी हेरेर पत्ता लगाउनुस न ।’ फेरी सोधे– ‘कसरी ?’ मैले सुझाएँ–‘कांग्रेस हो भने पजेरोमा आउँछन् , एमाले बाईकमा र माओवादी हो भने साइकल वा पैदल आउँछन् ।’ उनले बुझेझैं गरेपछि मैले भनें–‘त्यसैका आधारमा उनिहरुसंग ब्यबहार गर्नुहोला ।’ उनले निधार खुम्च्याउंदै भने– ‘त्यो शुत्र त यो जिल्लामा असफल भैसक्यो नि ।’ मैले सोधें –‘किन र ?’ उनले रहस्य खोले–‘यहाँ त माओवादी ‘स्क्रोपियो’ गाडीमा, एमाले ‘बोलेरो’मा र कांग्रेसहरु प्राडो र पजेरोमा !’

यसो संझिऐं– ‘ए, साँच्ची हो त, अहिले गाडी नहुने त ‘गणतन्त्रवादी’ हुनै सक्दैन नि ।’ त्यसपछि ब्यापारी मित्रलाई अर्को तर्क सुझाऐं– ‘पार्टी चिन्न तपाईं ‘चिया शुत्र’को प्रयोग गर्नोस् ।’ उनी आशावादी नजरले मतिर हेर्न थालेपछि मैले भनें– ‘अब उप्रान्त जो तपाईंकोमा चन्दा माग्न आउँछ, अरु कुनै कुरा नगरी पहिले सोध्नोस् – ‘चिया ल्याऔं कि कफि ?’ यदि त्यो मान्छे ‘पार्टी कार्यकर्ता’ हो भने ‘कफि’ माग्नेछ । किनभने गाडी चढ्ने हैसियतको मान्छे चियामा पक्कै अल्झिने छैन । ’ मित्रले समस्या राखे–‘त्यो त मैले बुझें । तर मलाई त प्रष्ट रुपमा ‘कुन पार्टीको मान्छे हो, त्यो थाहा पाउनु पर्यो हजुर ।’

मैले उपाए बताएँ- ‘पख्नोस् न, त्यसको पनि कुरो आउँदैछ ।’ उनि सम्हालिएपछि मैले थपें–‘ कफि मागे पार्टीको मान्छे रहेछ भन्ने बुझ्नोस्, चिया माग्यो भने ‘पाती पढ्ने मान्छे’ हो भन्ने बुझ्नोस् । यदि चिया र कफि बाहेक ‘चिसोपर्दाथ’ माग्यो भने ‘पार्टी खाने मान्छे’ हो, बुझिहाल्नोस !’

उनले समस्या राखे–‘पाती पढ्ने’ वा ‘पार्टी खाने’ भन्दापनि पार्टीमा काम गर्ने मान्छे चिन्नु छ । किनभने को, कुन पार्टीको मान्छे हो, मैले सोही अनुसार ब्यवहार गरिंन भने मेरो ‘राम नाम सत्य’ हुन सक्छ ।’

मैले उनको समस्या लाई समाधान गर्ने थप प्रयास गरें–‘त्यसो भए तपाईं कफिलाई पनि ‘जेनेरेलाइजेसन’ गर्नोस् ।’ उनी आशावादी नजरमा मलाई हेर्न थाले। ‘कुन कफि ल्याउँ’ भनेर सोध्नोस् । उनिहरुको जवाफबाट तपाई प्रष्ट चिन्नु हुनेछ, को कुन पार्टीको मान्छे रहेछ । ’उनले सोधे– ‘कसरी ?’ मैले भनें– ‘माओवादीले भन्ने छ–कडा ‘ब्ल्याक कफी ल्याउनोस् ।’ कांग्रेसले भन्ने छ– ‘मिल्क कफि ल्याउनोस्, चिनी कम गरेर’, अनि एमालेले भन्नेछ– ‘जुन भएपनि भैहाल्छ, एउटा ल्याउनोस् न ।’

उनले सोधें–‘अनि मधेशवादी नि ?’ मैले जवाफ दिऐं–‘मधेशवादीले चिया कदापी माग्ने छैनन् , किनभने उनिहरुलाई लाग्ने छ– पहाडमा उत्पादित चियाले ‘मधेस मुक्ति हुँदैन ! कफिप्रतिपनि उनिहरुको आशक्ति नहुनसक्छ–किनभने उनिहरुलाई लाग्न सक्छ– कफि पहाडिया अहंकारबादको प्रतिक हो । त्यसैले उनिहरुले न कफि माग्ने छन्, न त चिया नै–उनिहरुले पक्कैपनि चिया र कफिको साटो ‘चाय’ अर्डर गर्नेछन् !

मित्र एकछिन घोत्लिएपछि बोले–‘ तर समस्या अझै गहिरो छ ।’ मैले उनलाई ‘इनकरेज’ गर्दै भनें–‘भन्नोस्, समस्याको खाल्डो पुर्न म सहयोग गर्छु।’ उनी भन्न थाले–‘यहाँ त पार्टी चिनेरमात्रै नहुने रहेछ, त्यो मान्छे कुन गुटको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’ मैले उनलाई सुझाऐं–‘माओवादीको ‘गुट’पहिचानकालागि पनि कफिशुत्रकै प्रयोग गर्नोस् ।’ उनले सोधे–‘जस्तो ?’ मैले बेलिबिस्तार लगाऐं– ‘यदी प्रचण्ड गुटको मान्छे हुन् भने उनले कफि पिउने कुरामा ‘कन्फिडेण्ट’ देखिन्छन् । जस्तो कि, उनले भन्ने छन्– ‘मने निश्चित रुपमा कफि नै पिउनुपर्छ भन्ने हाम्रो ‘ठम्याई छ ।’ तर बाबुराम ‘लाईन’ कुनै कुरामा पनि ‘ठम्याई हुंदैन, उनिहरुलाई ‘कफि पिउनुपर्छ कि भन्ने ‘लाईरा’हुन्छ । उता बैद्य लाइनकाले तपाईंलाई आदेश गर्नेछन्–कफि पिउनुपर्छ भनेर भन्नोस् !’

मेरो शुत्र सुनेर उनि दंग पर्दै सोधे–‘एमालेमा पनि गुट छन्, कसरी चिन्ने ?’ मैले जवाफ दिऐं– ‘त्यसकालागि ‘मसला शुत्र’ प्रयोग गर्नोस । प्लेटमा बिभिन्न थरीमा मसला राखेर उसको अगाडी राख्नोस् । यदी उ ‘ओली गुट’को हो भने दुई टुक्रा ‘सुपारी’ मुखमा हालेर चपाउन थाल्ने छ, किनभने भने ओलीजीको जिल्ला झापामा धेरै सुपारी फल्दछ ।

‘खनाल पक्ष’को मान्छेले सुपारी छुंदा पनि छुंदैना, किनभने आफ्नो प्यारो नेताको जिल्ला इलाममा फल्ने ‘अलैंची’तिरै हात लम्काउनेछ । जहां सम्म माधव नेपाल गुटका मान्छेको कुरा छ –उसले सुपारी अलैंची दुवै टिपेर मुखमा हाल्दै भन्ने छ– आफु त ‘पान धेरै खाने’ रौतहट जिल्लाका नेताको मान्छे परियो ।’

मित्र दङ्ग पर्दै बोले– ‘धन्यबाद गुजरालजी ! अब मलाई ‘देउवा गुट’, ‘पौडेलपथ’, ‘सुशील लाइन’, ‘फोरम मोर्चा’, ‘सद्भावना समूह’, ‘तमलोपा वर्ग’,को बारेमा पनि बताई दिनोस् न ।’ मलाई झनक्क रिस उठ्यो – ‘पहिले एक पेट खाजा खुवाउनोस्, अनि बोल्छु ।’ उनले सोधे–‘यो चाहीं कुन लाईन हो ?’ मैले हाँस्दै जवाफ दिएँ– ‘भोक बिरुद्धको लाईन ।’ त्यसपति उनि खाजा लिन निस्किएका, अहिलेसम्म फर्किएका छैनन् । न बसौं कि निस्कियौं, मेरो ‘लाइन’ चाहिं अन्योलमा छ ।

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.