~शैलेश भट्टराई~
करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा कलम लिएर पुस्तकको मन परेका हरफहरू बीच बीचमाअन्डरलाइन पनि गर्दै हुनुहुन्थ्यो | टिक पनि लाउँदै हुनुहुन्थ्यो कतै कतै | घरी घरी मन्द मुस्कान पनि छर्नुहुन्थ्यो |
”कुन पुस्तक पढिराख्नु भाको हो हजुर ?” मैले सोधें |
जवाफ आएन | वहाँ पढि मात्रै राख्नु भो | केही बोल्नु भएन
| फेरि सोधें | फेरि मौन |अझै सोधें अझै मौन | किताब ठुलै छ | निधार खुम्च्याई खुम्च्याई पढिरहनु भाछ | सोध्यो केही बोल्नु हुन्न | फेरि सोधें | फेरि मौन !
”हजूर किन बोल्नु हुन्न कमरेड ?”
यति मैले के सोधेको थिएँ वहाँ त रिसले चूर हुनु भो | शायद मैले निकै डिस्टर्ब गरें | वहाँको एकाग्रता भङ्ग गरें | तर वहाँले केही बोल्नै नपाई जनवादी गाली खाने डरले कुलेलम ठोकें |
त्यसको दुइचार दिन पछि म महाराजगन्ज दरबार जानु पर्ने भयो | गएँ | त्यहाँका सभापति पनि त्यहीं पुस्तकको धूलो टक्टक्याउँदै हुनुहुँदो रैछ | रुप रंग आकार प्रकार सबै उस्तै सबै उही | तौल पनि उस्तै हुँदो हो | जोख्ने कुरा त भएन | अनुमानै त हो | धूलो हल्का फुल्का भएपनि वहाँलाई हाच्छिउँ आयो नै | मलाई पनि छोडेन | मैले पनि एक थान हाच्छिउँले आफ्नो उपस्थितिको जनाउ दिएँ | मैले सोधें-
”किन हजूर यस्तो धूलो मैलो किताब… … ?” प्रश्न पूरा हुन नपाउँदै भाइ मलाई डिस्टर्ब नगर्नुस है भन्ने रूखो जवाफ पाएँ | नयाँ बजारले नै मेरो सातो लिइसकेको थियो | अझ बढी सोध्दा प्रजातान्त्रिक खप्की खानु पर्ला भन्ने डरले थप केही नसोधी म हिंडे तर मेरो कौतुहलता बिस्तारै बिस्तारै बढ्दै जान थालेको थियो |
त्यसको करीब एक महिना पछि होला मैले डल्लु दरबार गएर त्यहाँका अधिपतिको अन्तर्वार्ता लिनुपर्ने भो | गएँ | पुस्तकै पुस्तकले भरिभराउ दराज वरीपरी वहाँ खत्र्याक खुत्रुक के के के के गरिरहनु भाको रहेछ |
सोधें- ”हजूर कुनै महत्वपूर्ण पुस्तकको खोजिमा हो ?”
”कहाँ हुनु भाइ ! महत्वपूर्ण किताब त भेटिसकेको छु खाली त्यसलाई राख्न एउटा स्पेशल ठाउँ बनाऊँ भनेर लागेको |”
सोधिहालें-” हजूर त्यस्तो कुन पुस्तक रहेछ हजूर जसलाई राख्न ठाउँ नै स्पेशल बनाउनु पर्ने ?”
”नाम भन्न मिल्छ होला नि हजूर” मैले आफ्नो जिज्ञासा प्रकट गरें |
पछि थाहा पाईहाल्नुहुन्छ नि भन्दै किताबको नामै बताउन चाहनु भएन |
तीनवटै नेताको चालढाल देख्दा यस्तो लाग्थ्यो कि कसैले वहाँहरूलाई यो किताब दिएको छ तर त्यसको नाम कसैलाई नभन्नु है भनेको छ | बाहिर हेर्दा किताबको नाम पनि देखिंदैन |
त्यसको भोलिपल्टै त्यस्तै केही काम विशेषले शीतल दरबार जानु पर्ने भो | गइयो | त्यहाँ पुग्नासाथ यसो हेरेको त एउटा ठूलो किताबलाई धेरै सैनिकहरू मिलेर ओल्टाई पल्टाई गर्दै के के के के गर्दै रहेछन् |
घरपटीलाई सोधिहालें -”हजूर यो ठूलो किताब के हो र यसलाई किन यस्तो गर्न अह्राउनु भाको ?”
के हो को उत्तर नआएपनि किनको उत्तर आयो -”यसलाई हार्डकभर बाइन्डिङ् गर्न लगाएको |”
वहाँले थप्नुभो – ”यति महत्वपूर्ण यो किताब चाँडै च्यातिएला, पेजहरू उक्किएलान्, भनेर सुरक्षाको राम्रो व्यवस्था गरेको नि |” गाँठी कुरो यानेकि किताबको नाम त बताउँदै बताउनु भएन | फेरि सोधें तर नाम आएन | धेरै कर पनि गरिन |
त्यसको करीब आठ दश दिन पछि होला मैले बालकोट दरबार गएर त्यहाँका कमरेडको बिषयमा डकुमेन्ट्री तयार गर्नुपर्ने भो | म गएँ | त्यहाँ पनि उस्तै ताल छ | वहाँ त बडो प्रफुल्ल मुद्रामा त्यही किताबलाई ओल्टाई पल्टाई हेरिराख्नु भाको रहेछ | घरी अगाडी छाम्नु हुन्छ घरी पछाडी छाम्नु हुन्छ | घरी वरीपरी सुम्सुम्याउनु हुन्छ | घरी किताब पल्टाएर मन्द मुस्कान दिनुहुन्छ | घरी फरर्र किताब पल्टाएर त्यसको हावाले आनन्दित हुनुहुन्छ | घरी चिल्ला चिल्ला दुइटै गालामा किताब दल्नुहुन्छ | एकदुई लाइन यसो पढ्नु पनि हुन्छ | एकछिन पछि त भित्रबाट गजबको जिल्द ल्याएर आफैँ पो त्यो किताबमा जिल्द हाल्न थाल्नु भो | शीतल दरबारको जस्तो हार्ड कभर थिएन त्यो | मेरो कौतुहलताले अब चाहिं सीमा नाघ्न थाल्यो | आखिर कुन किताब हो जसलाई हाम्रा जम्मै दलका नेता यतिसारो माया गरिरेछन |
”कमरेड हजूर लालसलाम !”
कमरेड दङ्ग पर्नुहोला भनेर कमरेड लालसलाम भनेको त मेरो सातो खानु भो |
”कसलाई लालसलाम भनेको ? अनि कसलाई कमरेड भनेको ? के हो लाल सलाम भनेको ? यस्तो भन्ने जमाना गए अब बुझ्नु भो ! यस्तो त अब फटाहाले मात्र भन्छ | मुख सम्हालेर अविवादन गर्नुस् !” आफूलाई कुरो धुत्नु छ | तुरुन्तै माफी पनि मागीहालें |
”आइन्दा लालसलाम पनि भन्ने छैन र कमरेड पनि भन्ने छैन हजूर गल्ती भो माफ पाउँ |”
”एउटा प्रश्न सोधौँ हजूर ?”
”सोध्नुस् !” च्याँठिंदै वहाँले भन्नु भो |
”त्यो बडेमानको पुस्तकको रहस्य के हो हजूर ?”
”त्यो पुस्तकको रहस्य तपाईंलाई भन्नु र बाँदरलाई भरयाङ् लाउनु उस्तै हो त्यसैले अहिलेलाई यति मात्रै बुझ्नुस् |” वहाँको टर्रो जवाफले म निराश भएँ | नामै भन्न नमिल्ने वहाँले कुन किताब पढ्दै हुनुहुन्छ | म भित्र भित्रै झन् अचम्मित पनि भएँ |
अब केही पनि फुत्किने सम्भावना नदेखेपछि म अब कोटेश्वर दरबार तर्फ लागें किनभने अब मेरो मिशन त्यो किताबको रहस्य पत्ता लगाउनु भै सकेको थियो | ‘छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म यौटा मानिस खोजिरहेछु’ भन्ने शिशिर योगीको गीत झैं म सारा अरू काम छोडेर त्यै यौटा किताबको खोजिमा आफूलाई केन्द्रित गरिरहें | घर परिवारमा समेत यसको कालो छायाँ देखियो तर मैले त्यसको परवाह गरिन |
कोटेश्वर दरबार जसै छिरें कम्पाउण्ड भित्र शीतलमा वहाँ त मस्तसंग सुत्नु भाको रहेछ तर तकिया चाहिं त्यही पुस्तक नै लाउनु भाको छ | शायद हराउला भन्ने चिन्ताले हुनुपर्छ | बिउँझै भएका नेताहरू त त्यो पुस्तकको रहस्य सोद्धा रिसाए भने सुतेकालाई उठाउँदा त दुई थप्पडै थाप्नु पर्ने हो कि भन्ने डरले त्यहाँबाट टाप ठोकें | रहस्य थाहा नपाई आफूलाई निन्द्रै लागेन | धरो धर्म रातैभरी अचम्मै लाग्यो |
भोलिपल्ट विहानै जुरुक्क उठें र सोचें आज नारायणथानको दर्शन पनि गर्नु पर्यो अनि देउवा दरबारको पनि दर्शन गर्नु पर्यो भनेर लागें त्यसतर्फ | आखिर किताबको रहस्य जो पत्ता लगाउनु थियो | नारायणको दर्शन गरी लागें देउवा दरबार तिर | भित्र जाने अनुमति पाइयो | वहाँ त आफ्ना गूटका गन्यमान्यहरूलाई गजबसंग एउटा त्यत्रै किताब समाएर प्रवचन दिई राख्नु भाको रहेछ- धर्मगुरूले आफना चेलालाई प्रवचन दिए जस्तो | मलाई देख्ने बित्तिकै आफ्नो प्रवचन बन्द गर्नु भो | वहाँको अलिक नजिक गएँ | किताब झन् प्रष्ट देखें | तर किताबको नाम बाहिर देखिएन | सोध्न करै लाग्यो | सोधें तर उत्तर पाइन | तर त्यो त्यही किताब हो जो शीतल दरबार , नयाँ बजार दरबार , बालकोट दरबार ,महाराजगन्ज दरबार, कोटेश्वर दरबार, डल्लु दरबारमा देखेको थिएँ | खाली नाम मात्र थाहा पाउन सकिन | अब के गर्ने त ! जबर्जस्त्ती खोसेर हेर्ने कुरा पनि भएन | कसैले नाम भन्दै भन्दैन | कति वटा नेताका दैला चाहार्ने ! थकित भै सकेको थिएँ | आखिर जम्मै नेता त्यही किताबकै सेरोफेरोमा छन् भन्ने प्रमाणित भै सकेको छ | तर किताबको नाम कसैले बताउँदैनन् | कामै त्यही भएपछि अलिकति बढी दुख गर्नै पर्यो भनेर एउटा जुक्ति निकालें | देउबाजीको पछिपछि लाग्ने जुक्ति | जबसम्म त्यो किताबको नाम पत्ता लाग्दैन तब सम्म पछिपछि लाग्ने | लागिरहने | आखिर त्यही गरें | वहाँलाई इरिटेट नै गरें | बिहानै ओछ्यायानमै वहाँलाई भेट्नु अनि बेलुकी ओछ्यानमा नपुगुन्जेलसम्म पछिपछि लाग्नु मेरो दिनचर्या बन्यो | आखिर ऊनी हारे मैले जितें | लगातार उन्नाइस दिनको यस्तो आन्दोलन पछि मैले रहस्य थाहा पाएँ | मेरो यस्तो चाला देखेर वहाँकी श्रीमतीलाई मेरो माया लाग्यो या मेरो कृयाकलाप देखेर वाक्क-दिक्क लाग्यो थाहा छैन | वहाँले किताबको नाम उन्नाइसौं दिनको दिन बिहानै भन्दिनु भो -त्यो किताब भन्दा पनि प्रतिवेदन हो रे | रायमाझी आयोगको प्रतिवेदन रे | उहिले उहिले यस्तै अर्को प्रतिवेदन पनि यसैगरी पढ्थे रे वहाँ लगायतका अरू नेताहरूले | त्यसको नाम चाहिं मल्लिक आयोगको प्रतिवेदन थियो रे |
विहानैको समय थियो यसो पूर्व तिर हेरें घाम त सदा झैं पुर्वतिरबाटै उदाईसकेको थियो | आफूलाई चिमोटें | दुख्यो | आँखा मिचें | अनि बाहिर हेरें | सपना त होइन रहेछ | वास्तबमै हाम्रा नेताहरू यो प्रतिवेदनको गहन अध्ययनमै व्यस्त रहेछन् | र पो यसका सिफारिशलाई भटाभट कार्यान्वयन गरिरहेका रहेछन् | प्रतिवेदनमा जसजसलाई कारवाही गर्नु भनेर किटिएको छ तीन तीनलाई छानी छानी कारवाही गरिरहेका छन् | लोकमान लफडा,कटवाल काण्ड र त्यसको प्रायश्चित, गणतन्त्र दिवसका दिन भएको पदक प्रहसन जस्ता घटनाले यस्तो कारवाहीको उच्चतम् प्रतिनिधित्व गर्दैनन् त ? अनि बल्ल बुझें किन त्यो किताबलाई त्यस्तो उत्पात माया गरेका रहेछन् भन्ने कुरा !
(स्रोत :- Onlinekhabar )