~राजेन्द्र पराजुली~
गोधुलि साँझले त्रिशुलीको पानी सुनजस्तै टल्किरहेको थियो । हिउँदको याम, त्रिशुली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो ।
तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए । त्रिशुलीका वारीपारीका सालका बोटमा झुण्डिरहेका हरिया पातहरुलाई म कालो देख्दै थिएँ । नदीको पानी कहिले ह्वात्तै बढेर मलाई छोप्न आएजस्तो लाग्थ्यो । कहिले पानी सुकेर ढुङ्गा र बालुवामात्र बाँकी रहेको लाग्थ्यो । म फेरि आँखा मिचेर हेर्थें, शान्त त्रिशुली उस्तै थियो, सुन्दर र एकाग्र । एउटै प्रवाहमा त्रिशुली बहिरहेथ्यो ।
भित्री मन भन्थ्यो, निधारमा अयोग्यताको टीका लगाएर बाँचिरहनुभन्दा त समाप्त पारिदिउँ यो जिन्दगीलाई त्रिशुलीको शान्त प्रवाहमा ! तर त्यसो गर्नुलाई कायरता नाम दिइएको थियो समाजद्वारा । त्यसकारण ‘कायरता’ भनिएको त्यो ‘बहादुरी’ देखाउने मेरो हिम्मत थिएन ।
केही छिनअघि छेउबाट माझीदाइ उही पुरानो गीत गाउँदै डुङ्गा लिएर आएको थियो । उसको डुङ्गा गाई-भैंसीलाई खुवाउने घासले भरिएको थियो । माझीदाइ त्यही थियो, जसलाई मैले बर्षौअघि देखेको थिएँ । अहिले फेरिएको छ केवल उसको उमेर । तर, गीत उही छ, उत्साहप्रद र लयात्मक । उसले गर्ने काम पनि उही र उस्तै छ । नदी त्यही छ, केवल पानी फरक छ ।
तर, म ! मेरो जीवन !!
म संसार बदल्न हिँडेको मान्छे । क्रान्ति गर्न हिँडेको मान्छे ।
मभन्दा त्यो माझीदाइ धेरै गुना बढी योग्य देख्छु अहिले । ‘अयोग्य’ ममात्रै । घोषित अर्थात् प्रमाणपत्रधारी ‘अयोग्य’ ।
अयोग्यताको यो प्रमाणपत्र भिरेर अब कुन शिविरमा जाउँ म ?
हरेक वस्तु फेरिएका छन् ।
म श्यामसुन्दरबाट ‘भीषण’ भएको छु ।
सबैभन्दा ठूलो कुरो, अब मैले बाँकी जिन्दगी बिताउनु पर्ने मेरो पि्रय गाउँ फेरिएको छ ।
मेरो समाज फेरिएको छ ।
मेरा आफन्त फेरिएका छन् ।
तिनले मलाई हेर्ने दृष्टिकोण फेरिएको छ ।
म जन्मेको मेरो आफ्नै घर-आँगन फेरिएको छ ।
केही वर्षअघिसम्म यो गाउँ, समाजमात्र होइन पूरै क्षेत्र नै मसँग डराउँथ्यो । र, मैले जे भन्यो त्यही गथ्र्यो । अर्थात्, मैले यो क्षेत्रभरि डर वितरण गरेको थिएँ । यो मेरो परिवार पनि अहिले पूरै फेरिएको छ । बाबुले अर्कै श्रीमती ल्याएपछि नै उनी मेरा थिएनन्, अर्कैको भएका थिए । न त म नै उनको थिएँ । मेरी आमा कस्ती थिइन्, मलाई थाहा छैन । सायद दुई वर्षको थिएँ म, उनको निधनताका । त्यसैले मलाई उनको अनुहार पनि सम्झना छैन । आमाको ममता कस्तो हुन्छ, म भन्न सक्तिनँ ।
बाबु र सौतेनी आमा दुबै मसँग डराउँथे । म कहिलेकाहीँ यसो घर पस्दा उनी भागेर छिमेकमा लुक्न पुग्थिन् । अहिले उनी पनि मलाई देख्दा आँखा तर्न थालेकी छन्, बाबुले जस्तै ।
मेरो चाहना अब पनि उही पुरानै ‘डर’ को पुनरावृत्ति होस् भन्ने छैन । अब मलाई यो समाज र मेरा आफन्तले अलिकति स्नेह र विश्वासका आँखाले हेरिदिएमात्र पुग्छ । आज मेरो यो सामान्य चाहना पनि किन पूरा हुँदैन ?
मलाई ममाथिको यो आकाश फेरिएको महसुस हुँदैछ । किन यो आकाश सधैं धुम्म देख्छु म ! यो आकाश नै यस्तो हो कि मेरो दृष्टिदोष ? कसलाई सोधूँ म यो प्रश्न ! किन खुल्न जान्दैन छ्याङ्ङ यो आकाश ? मेरो अहिलेको अवस्थासँग के यो आकाश पनि परिचित छ ? यो धर्ति किन यति अनुर्वर ?
यो त्रिशुली किन यति शान्त ? म उभिएको यो जमिनमा मैले कुनै बङ्कर खन्न दिएको थिएन । कुनै बम पड्काउन दिएको थिएन । मेरो आदेशमा यो भेगमा कुनै हत्या भएको थिएन । तर पनि किन यतिविघ्न कृतघ्न भएको यो गाउँ ?
मैले आफ्नो जीवन समर्पित गरेको पार्टीले त मलाई ‘अयोग्य’ घोषित गर्यो नै, यो गाउँले पनि मलाई किन अयोग्य मान्दैछ ?
किन मलाई अस्वीकृत गर्दैछ ?
शिविरबाट अयोग्य भनी निकालिएपछि म गाउँ फर्किएको ६ महिना भएको छ । यो अवधिमा मसँग निकै थोरैमात्र मान्छे चाहेर बोलेका छन् ।
घरको कोठामा म एक्लो छु । गाउँका एउटै छिमलका दौंतरीहरु अधिकांश पलायन भैसकेका छन्, यु्द्धअवधिमै । सबैले छाडेको यो गाउँमा म फेरि फर्किएको छु । म बसेको लडाकू शिविरबाट सयभन्दा बढी योद्धा एकै पटक अयोग्य घोषित भइ निकालिएका थियौं । अयोग्यमध्ये हिक्मत, बादल, प्रभात, हर्क र म अलि बढी नै मिल्थ्यौं । हामी लडाकूमा प्रवेश गरेको मिति करिव एउटै थियो, युद्ध घोषणा भएको झण्डै दुई वर्षपछि ।
कमाण्डरसँग बेलाबेलामा विमति भइरहन्थ्यो । त्यसबखत हामी एक हुन्थ्यौं । त्यो शिविरबाट हामी पाँचै जना अयोग्य घोषित भएका थियौं ।
कमाण्डरले माथिको आदेश भन्दै ‘देशमा दीगो शान्ति र प्रगतिका लागि’ केही नबोली शिविर छाड्न आदेश दिएका थिए, केही हजार रुपैयाँ थमाएर । तैपनि, हामीले आफूहरु अयोग्य हुनाको कारण सोधेका थियौं । तर, जवाफ बिलकुल चित्तबुझ्दो थिएन । लडाकूमा प्रवेश गर्दा र हालको उमेर, शारीरिक अवस्थालगायतका सामान्य प्रश्न गरेर हामीलाई अयोग्यको कोटीमा राखिएको थियो ।
दुनियाँमा त्यस्तो के होला, जुन क्षणभरमै महान हुन्छ र फेरि क्षणभरमै अत्यन्तै खराब पनि हुन्छ ? विश्वास वा अविश्वास घट्न तथा बढ्न पनि त केही समय लाग्छ ! तर, योग्यबाट अयोग्य हुन किन यति हतार ? योग्यदेखि अयोग्यसम्मको दूरी यति छोटो होला भनेर मैले सोचेको पनि थिइनँ ।
यी सबै प्रश्न तथा सफाइहरुको प्रक्रिया म आफूसँगमात्र चलिरहेको छ । मसँग अब प्रश्न सोध्ने मान्छे पनि कोही बाँकी छैन । मेरो प्रश्नको उत्तर दिने झन् को होला र ! फगत मसँग मेरो एकाकीपन छ । आठ वर्ष देश र जनताका नाममा भनिएको लडाइँमा लागेका स्मरणहरु छन् । र, तिनले दिएका झिनो आनन्द र भयङ्कर ग्लानी तथा पश्चात्तापहरु छन् ।
म यही निश्छल त्रिशुलीलाई साक्षी राखेर युद्ध मैदानमा उत्रिएको थिएँ । प्रवेशको छोटै समयमा ‘योग्य’ भन्दै काँधमा फुली थपी पाएको थिएँ ।
त्रिशुली यहीँ छ, मेरो घरको छेवैमा- उस्तै र उही लयमा बग्दैछ । मेरो जिन्दगीका भने सारा लयहरु भङ्ग भएका छन् । लयहीन, बेसुरा, अभाव, एकाकीको पर्याय भएको छ जिन्दगी । अपमान, हेय, अविश्वास आठ बर्षबीचमा मैले कमाएको सम्पत्ति हुन पुगेको छ ।
अयोग्य भइ शिविर छाडेको एक महिनामा आत्महत्या गर्ने मेरो पि्रय साथी हिक्मतसँग सुरुमा त मलाई असाध्यै रिस उठेको थियो । तर, पछि मैले महसुस गरेँ, उसले किन जिन्दगी अगाडि बढाउन सकेन भनेर । मजस्तै हिक्मत पनि शिविरबाट सोझै आफ्नो गाउँ हानिएको थियो । मैले अहिले जे भाग्दै छु, ऊ पनि त्यस्तै अथवा त्योभन्दा दुरवस्था भोग्दै थियो । उसले मलाई भनेको थियो, ‘भीषण म र मेरा लागि यो दुनियाँमा अब बाँकी केही छैन । म अब कि त भारत पलायन हुन्छु कि त घरछेउको यही कोशीमा हाम्फाल्छु ।’
त्यसबेला मैले उसको चित्त बुझाउन कुनै बेग्लै ढङ्गको राजनीतिक पार्टी खोलेर हामीसँगै अगाडि बढौं भनेको थिएँ । तर, उसले मानेन । ‘म कुनै राजनीति गर्न चाहन्नँ, यो शब्दसँग नै मलाई अरुचि छ,’ उसले भनेको थियो ।
हिक्मतको देहान्तको २ साता पनि नपुग्दै अर्को साथी हर्क जिल्ला सदरमुकामको व्यस्तबजारमा मृत फेला परेको खबर आएको थियो । ऊ अर्की एउटी ‘अयोग्य’ घोषित लडाकूसँग बिहा गरेर बसेको थियो । उनीहरुले बजारमा उउटा पत्रिका पसल चलाएका थिए । तर, अचानक उसको मृत्युको खबरले मभित्र एकप्रकारको अत्यास पैदा गरिदिएको थियो । त्यसपछि मभित्रका बचेखुचेका साहसहरु खल्र्यापखुर्लुप भए । बादल र प्रभात त शिविरबाट घर नगइ भारत पलायन भएका थिए । उनीहरुको हालको अवस्थाबारे मलाई कुनै जानकारी छैन ।
मलाई राजनीतिक अभीष्टसिद्धिका लागि मारिएका हजारौं मान्छेहरु सम्झिएर अहिले ठूलो विस्मात् लागको छ ।
त्यो भयङ्कर कालावधिभित्रका विविध घटनाप्रति विस्मात् छ ।
बन्दुक चलाउन जति सिपालु थिए मेरा हात, त्यति नै गाउँका मान्छेहरुलाई सम्झाइबुझाइ गर्न पनि निपुण थिए मेरा शब्दहरु । बास माग्न वा सहयोग माग्न पनि मलाई नै अगाडि साथ्र्यो मेरो टोलीले ।
सधैं मैले साथ दिएको, सम्मान गरेको, विश्वास गरेको कमाण्डरले नै मलाई अयोग्य भनेको देखेर विस्मात् लागेको छ ।
अर्को ठूलो विस्मात्, मेरो क्रान्तिकारी पार्टी केही दिनअघिमात्र गठबन्धन सरकारमा साझेदार बनेकोमा लागेको छ । साझेदारीमा उसले ३ वटा मन्त्री, २ देशमा राजदूत, ७ सरकारी निकायमा अध्यक्ष तथा महाप्रबन्धक पद हात पारेको छ ।
मेरो खल्तीमा रहेको रातो रङको रुमाल झिकेर त्यसमै थुकिदिन्छु म । यो साँझ पुनः उल्लिखित घटना मेरो मानसपटलमा ताजा भएर आएको छ । टाउको दुखेजस्तो, रिङटा लागेजस्तो, वाकवाकी लागेजस्तो हुन थालेको छ मलाई । आँखाअगाडि हिक्मत र हर्क नाच्न थालेका छन् ।
‘एकबारको जिन्दगीमा अयोग्य भएर कति समय बाँच्छौ भीषण ?’ दुबैले एकै स्वरमा प्रश्न गरेजस्तो लागेको छ मलाई ।
त्रिशुलीको पानी एकाएक रगतजस्तो रातो भएको देखेँ मैले ।
झ्वामलाङ्ङ……!!
म त्रिशुलीमा खसेको आवाज मलाई निकै सुमधुर र लयबद्ध लागेको छ ।
तर, कति गाह्रो हो यो रगतको नदीमा पौडी खेल्न……..!!!
(श्रोत :- Onlinekhabar )