~निशा के.सी.~
असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् । फाट्टफुट्ट मान्छे नियाल्दै दिउँसोको खाना खाएँ । पसल खोल्ने हतारोमा थिएँ । मेरो पसलको अगाडि रहेको कस्मेटिक पसलमा झट्ट आँखा पुग्यो । एउटा अन्दाजी बाह्र-तेह्र वर्षको केटोलाई कस्मेटिक पसल अगाडिको कालोपत्रे सडकमा पसारो परिरहेको देखेँ । मैले प्रश्नसूचक भावले पसलकी बहिनीलाई हेरेँ । उनी निकै डराएकी थिइन् साथसाथै त्यस केटालाई त्यहाँबाट भगाउने प्रयास गर्दै थिइन् ।
खोल्दै गरेको ढोकालाई पुनः बन्द गर्दै म उनको पसलतिर तानिएँ । मलाई देख्नेबित्तिकै उनले भनिन्- “लौ न दिदी ! के गर्ने होला ? कत्ति धपाउँदा पनि यो केटो यहाँबाट डेग चल्दैन । सारङ्गी चाहियो रे यसलाई ! पैसा दिएको मरे लिँदैन ।”
म त्यस केटोको नजिक गएँ । उसले पुलुक्क मतिर हेर्यो । गोलभेँडाजस्ता राताराता उसका आँखा रसिला थिए । ओठ लत्रिएर चिउँडो झरेको थियो । नाकबाट पातलो सिँगान र मुखबाट र्याल चुहिरेको थियो । उसको दयनीय अवस्थाले मन चसक्क छोयो । एक छिनसम्म टोलाएँ । उसलाई हेरिरहेँ । कसको छोरो होला ? कहाँबाट भौँतारिँदै यहाँ पाइपुग्यो ? यसका पनि त बाबुआमा होलान्, घरपरिवार होला ! किन यो सानो केटो बेवारिसे भयो ? किन छिःछिः र दूरदूरको पात्र बनेर सडकमा झोक्राइरहेछ ? त्यस केटाको अवस्था देखेर एक्कैचोटि अनेकौँ प्रश्नले झकझकाए मलाई । उसको नजिकै गएँ र मायालु भावले सोधेँ- “बाबु ! के भयो तिमीलाई ?”
ऊ केही बोलेन । खिरिलो परेको औँला सोकेसमा टँसाएरै सारङ्गी देखाउँदै आशावादी नजरले मलाई निर्मिमेष हेरिरहृयो ।
सोकेस रङ्ग्ािचङ्ग्ाी खेलौनाले भरिएको थियो । गाडी, प्लेन, पेस्तोल र अन्य प्लास्टिकका खेलौना छोडेर उसले किन सारङ्गीकै माग गरिरहेछ ? पुनः अर्को प्रश्न उब्जियो मनमा ।
मैले पसलकी बहिनीलाई हेरेँ । उनी नजिकै आइन् र भनिन्- “यस्तो महँगो खेलौना यसलाई कसरी दिने ? अघिदेखि ढिपी गरेको गर्यै छ । लौ न दिदी यसलाई सम्झाएर पठाइदिनु न, तपाईंले भनेको टेर्छ कि ?”
मैले तथ्य कुरा बुझ्नै सकिनँ । कुनै पनि माग्नेले त्यस्तो ढिपी गरेर पसलमा बेच्न राखेको कुरा मागेको मैले देखेको, सुनेको छैन । यो कस्तो खालको केटो रहेछ ! चार पाँच वर्षको अबुझ बालकले ढिपी गरेको भए कुरो अर्कै हुन्थ्यो । बिराम ग्रसित देखिने त्यस केटोको सारङ्गीको रटले मलाई थप कौतूहल बनायो । मैले उसलाई फकाउने पारामा भनेँ- “हुन्छ म किनिदिन्छु तिमीलाई सारङ्गी । तिमीलाई के भएको छ पहिले भन ।”
ऊ निकै खुसी देखियो । ओठका कापबाट बग्दै गरेको र्याल हत्केलाले पुछ्दै टाउको निहुर्याएर भन्यो- “ज्वरो आयो ।”
अनायास मेरो हात उसको निधार छाम्न पुग्यो । हलका तातिएको थियो उसको निधार । मैले उसको निधारबाट हात हटाउन नभ्याउँदै मेरो पसलसँग रहेको मेडिकलकी बहिनी उनकै पसलबाट चिच्च्याइन्- “दिदी ! के गरेको त्यस्तो ? पहिले चिन्नु त त्यो कस्तो खालको केटो हो ।”
मैले झट्ट उसको निधारबाट हात तानेँ । मेरो सोचाइ बौलाहा कुकुरले टोकेको मान्छेतिर गयो । आँखाअघि बौलाहा कुकुरले टोकेको मान्छे र्यालसिँगान काढेर झोक्राइरहेको टीभीको दृश्य झलझली आउन थाल्यो । अलिकति हच्किएँ म । मैले मेडिकलको बहिनीपट्ट िपुनः हेरेँ । उनले भनिन्- “त्यसको कचौरामा हेर्नु त के छ ?”
एक छिनअघि सम्झिएको बौलाहा कुकुरले टोकेको मान्छेको दृश्य आँखाबाट ओझेल पर्यो । एउटा सानो त्यस केटाको स्थिति देखेर केही छिनकै लागि म पनि त डराएको थिएँ, भुक्दै झम्टँदै त्यस्तो मलाई पनि टोक्ला कि भन्ने डरले ।
केहीबेर मैले उसलाई त्यत्तिकै एकाहोरो हेरिरहेँ । कपाल खौरिएको मुडुलो टाउको घाँटीमा मयलका काला बाक्ला पत्रैपत्र परेका थिए । ठाउँठाउँमा फाटेको कालो टिसर्ट र थोत्रो चेन खुस्किएको पेन्टबाट उसको पिसाब फेर्ने देखिरहेको थियो ।
बिस्तारै उसको पेटमा घोप्टो पारेर टाँसेको स्टिलको कचौरा तानेर हेरेँ, पेटबाट कचौरा छुट्टनिेबित्तिकै, आँखै पिरो हुने गरेर तिखो गन्ध नाकमा हृवास्सै पस्यो । प्लास्टिकको सानो थैलोमा मुख बटारेर राखेको त्यस गन्ध डेन्डराइटको थियो ।
म स्तब्ध भएँ, हातखुट्टा फत्याकफुतुक गले । म सोकेससँगै टाँसिएँ । भुइँमा थुचुक्क बस्न पुगेँ । एकछिनसम्म केही बोल्नै सकिनँ । कल्पनै नगरेको यथार्थ मेरो सामुन्नेमा लम्पसार परिरहेको थियो ।
सुनेको त थिएँ सडक बालबालिकाले डेन्डराइट सेवन गर्छन् भन्ने । गौशालामा एक पटक ठूलो होडिङ बोर्डमा लेखिएको डेन्डराइटसम्बन्धी नकारात्मक सूचना पनि पढेको थिएँ तर डेन्डराइट कसरी खान्छन् म अनभिज्ञ थिएँ । आज आˆनै सामुन्नेमा रहेको त्यस केटोको अवस्थाले मेरो रेसारेसालाई कम्पायमान बनाएको थियो । दुई बच्चाको आमा भइसकेको मेरो मातृत्व छचल्किएर पोखिन खोज्दै थियो । ऊ कसैको छोरो मात्र थिएन । सिङ्गो नेपालआमाको काखमा हुर्कंदै गरेको भविष्यको कर्णधार थियो, जो बेवारिसे भएर । आˆनो सुनौला पलहरू, जीवनका श्वासहरू डेन्डराइटको गन्धमा विलय गरिरहेथ्यो ।
सडकमा घुइँचो बढ्न थालेको थियो । केही भीड हाम्रै वरिपरि पनि जम्मा भइसकेका थिए । के, किन र कसरी ? जस्ता अनेकौँ प्रश्नहरूले हामीलाई घेरिरहेथे । उसले ती आवाज, प्रश्नहरू सुनेन वा ध्यान दिएन । चुपचाप मेरो अनुहारमा टुलुटुलु हेरिरहृयो र अचानक मेरो हात च्याप्प समात्यो । सारङ्गी देखाउँदै उसले भन्यो- “त्यो किनिदिनु न ।”
मैले सारङ्गी दाम सोधेँ । २५० पर्ने रहेछ । त्यत्रो महँगो सामान किनिदिने क्षमता ममा थिएन ।
मैले उसलाई सम्झाउँदै भनेँ- “त्यो त महँगो रहेछ । मसँग त्यति धेरै पैसा छैन । के गर्ने ? ऊ एकछिन टोलाइरहृयो । भीड उल्लासपूर्ण हाँसो हाँसेर हामीलाई उडाउँदै थियो । कोही भन्दै थिए- “किनिदिनू नि त ! निक्कै माया लागेजस्तो छ नानीलाई ट्यापेको ।” म आँखा चिम्म गरेर सोचिरहेँ, त्यस केटाको माया के मलाई मात्र लाग्छ ? अरूलाई लाग्दैन ? वा लाग्नु पर्दैन ? माया भन्ने शब्दको कति दुरूपयोग हुँदैछ हिजोआज । एउटा चेतनशील मान्छेले मान्छेबीचको मायालाई उपहासमा उडाउने हो भने मायाको परिभाषा चाहिँ कस्तो होला ? के कुनै पनि बच्चा आमाको गर्भबाट जन्मँदै ट्यापे, चोर, डाँका र अन्य आपराधिक मानसिकता लिएर जन्मेको हुन्छ त ? एउटा १२-१३ वर्षको केटो सडकमा बेवारिसे भएर लागुपदार्थको दुव्र्यसनीमा फसिरहेछ । प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तवरले के हामी यसमा दोषी छैनौँ ?
पातलिँदै गएको भीडझैँ उसलाई चटक्क छोडेर हिँड्नुपथ्र्यो आˆनो पसलतिर । आँखा चिम्म गरेर लाग्न सक्नुपथ्र्यो काममा तर मभित्र संवेदनाका हल्का छायाहरू जीवित रहेछन् । भावुकताले भरिएको मन यथावत् रहेछ । त्यसैले त त्यो मन नगरी नहुने आˆनो काम छोडेर त्यस केटोको सामुन्नेबाट टसको मस नभई बसिरहृयो । हेरिरहृयो टुलुटुलु ।
उसको अनुहारको रङ्गमा केही परिवर्तन आउँदै थियो । नाकको सिँगान र र्याल पटकपटक हत्केलाले पुछेर ऊ केही चनाखो देखिँदै थियो । सायद डेन्डराइटको असरले उसलाई बिस्तारै छोड्दै गरेको हुनुपर्छ ।
“तिम्रो घर कहाँ हो बाबु ?” मैले सोधेँ ।
“पोखरा ।” उसले हलका लरखरिएको आवाजमा भन्यो ।
“पोखरा कुन ठाउँमा ? मेरो घर पनि पोखरा हो नि !” मैले आत्मीयता दर्साउँदै भनेँ ।
“छोटोपाटन सुकुम्बासी टोल ।” उसको अनुहारमा एकाएक खुसीका केही धुमिल छायाहरू आए र पलभरमै बिलाए ।
“तिम्रो नाम के हो ?” मैले सोधेँ ।
“सुरज ।” उसले छोटो उत्तर दियो र पुनः सोकेसमा राखिएको सारङ्गीमा एकटक आँखा लगाइरहृयो ।
सारङ्गीप्रतिको उसको चाहना र अव्यक्त भावहरू देखेर मैले आफूलाई रोक्न सकिनँ । सोचेँ, पक्कै पनि सारङ्गीसँग यो केटोको सुखद् वा दुखद् अतीत जोडिएको हुनुपर्छ । मैले पसलकी बहिनीसँग सारङ्गी लिएँ र उसलाई दिँदै भनेँ- “म तिमीलाई यो सारङ्गी किनिदिन्छु, त्यसको बदलामा तिमीले मैले सोधेको प्रश्नको जबाफ दिनुपर्छ । हुन्छ सुरज ?”
“हुन्छ ।” उसले टाउको हल्लायो र निकै खुसी भयो । खुसीले उसको ओठ थरर काम्यो ।
उसले मेरो हातबाट हत्तपत्त सारङ्गी लिएर केहीबेर सारङ्गीलाई सुमसुम्याइरहृयो । ओल्टाइपल्टाइ हेर्यो र आँखा आँखाबाट दुई थोपा आँसु पुर्लुक्क झार्यो । घामको किरण आँसुको ढिक्कामा ठोक्किएर हीरा चम्किएझैँ चम्किए फलभरका लागि र गालाको बाटो हुँदै मयलका पत्रैपत्र भएको उसको घाँटीसम्म गएर बिलाए ।
केही बेरअघि देखेको सुरज र अहिलको सुरजमा आकाशजमिनको अन्तर थियो । ऊ अबोध र निश्छल देखिन्थ्यो । उसको आँखाबाट झरेको आँसुले मेरो हृदयमा अनौठो हलचल उत्पन्न गराइसकेको थियो । मैले आफूलाई संयम राख्दै उसलाई मेरो पसलमा लिएर गएँ ।
हामी सजिलोसँग आमनेसामने भएर बस्यौँ । उसले चारैतिर आँखा घुमाएर पसललाई सरसरी हेर्यो र केही उज्यालो अनुहार लगाउँदै भन्यो- “दिदी ! म तपाईंलाई सप्पै कुरा भन्छु-
छोटोपाटनभन्दा केही पर एकान्तमा हाम्रो सानो स्याउलाले बारेको झुप्रो थियो । बुबा, आमा र हामी चारजना दिदीभाइ । दिदी र आमा घर बनाउने ठाउँमा ज्यामी काम गर्न जानुहुन्थ्यो । बहिनी बिरामी भाइलाई हेरेर घरमै बस्थी । भाइलाई सुकेनास लागेको आमा भन्ने गर्नुहुन्थ्यो । कति धामी झाँक्री गर्दा पनि भाइलाई निको हुन सकेको थिएन । पेटमात्र ठूलो र जीउ थाङ्नामै बिलाएको भाइलाई हेरेर आमा बेलाबेलामा आँसु झार्ने गर्नुहुन्थ्यो ।
बुबा सधैँ रक्सीले मातेर आउनुहुन्थ्यो र आमालाई भक्कु कुट्नुहुन्थ्यो । घरमा सधैँको रुवावासी । हामी नरोएको दिन नै हुँदैनथ्यो । त्यस निर्जन एकान्तमा हाम्रो आवाज सुनिदिने कोही थिएन । आमाले ज्यामी काम गरेरै भए पनि मलाई ३ कक्षासम्म पढाउनुभएको थियो । कक्षामा पढिरहँदा पनि भाइबैनी रोएको, आमा रोएको आवाज कानमा आइरहन्थ्यो । साँझ पर्न आँट्यो कि जँड्याहा बाउलाई सम्झेर मन आत्तिन्थ्यो । त्यसैले स्कुल छुट्टी भएपछि म एक्लै यताउति भौँतारिन थालेँ । धेरैजसो ड्यामसाइडमा गएर परपरसम्म फैलिएको पानीलाई हेरिरहन्थेँ । त्यहाँ सारङ्गी बजाउने थुप्रै सारङ्गीदाइहरू थिए । तिनले सारङ्गीबाट आˆनो मनको कुरा गीत बनाएर पोख्थे । त्यो सुन्दा मलाई पनि सारङ्गी बजाएर आˆनो दुःखका कुरा गीतबाट पोखूँपोखूँझैँ लाग्थ्यो । खुब ध्यान दिएर सुन्थेँ तिनका भाकाहरू र नक्कल गर्ने गर्थैं । नक्कल गर्दागर्दै म गाउन जान्ने भइसकेको रहेँछु । एक दिन एउटा सारङ्गी दाइले मेरो आवाज सुुनेर मलाई सारङ्गी सिकाइदिन्छु भनेको थियो । त्यस दिन म धेरै खुसी भएको थिएँ । त्यो दाइले माया गरेर केही पैसा पनि दिएका थिए ।
भाइबहिनीका लागि केही खानेकुरा किनेर दौडीदौडी घर पुगेँ । त्यस दिन खुसीले मेरो खुट्टा भुइँमै थिएनन् । कतिखेर आमालाई भेटेर खुसीको कुरा सुनाउनुझैँ भएको थियो । स्याँस्याँ गर्दै आँगनको छेउमा पुगेँ । आँगनमा आमा लडीबुडी गर्दै रोइरहनुभएको थियो भाइको मरेको शरीरलाई छातीमा च्यापेर । झ्याप्पै अँध्यारोले छोप्यो मलाई हातखुट्टा थरथर काँपेँ । ओठतालु जम्मै सुक्यो । कतिखेर खानेकुरा हातबाट खसिसकेछन् थाहै पाइनँ ।
साँझ बुबा घरमा आउनुभयो । भाइको लास च्यापेर रुँदै गरेकी आमालाई घिसार्दै दैलोमा लगेर थचार्नुभयो । आमाको काखबाट उछिट्टएिर भाइ मझेरीमा पछारियो । म भाइको लासलाई अठ्याएर चुपचाप बसेँ । ‘तँ बोक्सीले मेरो छोरो खाएरै छोडिस् होइन ?’ भन्दै बुबा आमालाई पिटेको पिट्यै हुनुहुन्थ्यो । दिदी र बहिनी आमालाई अँगालो मारेर रुँदै थिए र आमाको लुङ्ग्ाीले मुखबाट भलभली बगेको रगत पुछ्दै थिए ।
सक्ने भए त मेरो बाउलाई दाउराको चिर्पटले हानेर ठहरै पार्थें हुँला- सुकेनास लागेर मरेको भाइको आरोप आमालाई लगाएकोमा । बुबालाई रक्सीले छोडेपछि बुबासँगै गएर भाइको लासलाई बगरमा खाल्टो खनेर पुरेर आएँ ।
त्यस दिनदेखि आमा ओछ्यानबाट उठ्नै सक्नुभएन । दिदीले काम गरेर ल्याएको पैसाले हामीलाई पेटभरि खानै पुग्दैनथ्यो । मैले स्कुल जान छोडिदिएँ । ड्यामसाइडमा गएर सारङ्गीदाइहरूसँगै गीत गाउन थालेँ । कहिले तिनले दस/पन्ध्र रूपियाँ हातमा हालिदिन्थे त कहिले दिँदैनथे । मलाई लाग्थ्यो आˆनो छुट्टै सारङ्गी भएर एक्लैले गीत गाएर केही पैसा कमाउने थिएँ, आमाको औषधिका लागि । कसैकसैबाट सुनेको थिएँ, काठमाडौँमा राम्रो काम पाइन्छ रे, होटलमै भाँडा माझेर पनि थुप्रै पैसा कमाउन सकिन्छ रे ! त्यसैले एक दिन केही नभनी सारङ्गी किन्ने धोको लिएर झसिमिसेमा सुटुक्क उठेर काठमाडौँको बस चढेँ ।
काठमाडौँको जाडोमा थुरथुर काम्दै भोकले आलसतालस पर्दै बिहानीको आसमा एउटा ठूलो पसलको ओतमा बसिरहेँ । मान्छेहरू पातलिँदै गए । सडक सुनसान हुँदै गयो । म डरले आँखा चिम्म चिम्लिएर स्याउलाले बारेको आˆनो घर सम्झिरहेथेँ । बिरामी आमा, दिदीबहिनी र सम्झिरहेथेँ राक्षस बाबुलाई । त्यस्तैमा चारपाँच जना मजत्रै केटाहरूले समातेर कताकता गल्लीतिर लिएर गए । त्यहँँ अरू ठूलाठूला केटाहरू पनि थिए । एउटा नाइके जस्तोले ‘यो मेरो ग्याङ, यसको जिम्मेवारी म लिन्छु’ भनेपछि मलाई त्यहीँ छोडेर ती अँध्यारो गल्लीतिर लागे । त्यो नाइकेजस्तोले मलाई पाउरोटी खान दियो । बिरानो ठाउँमा आफूलाई माया गरेर खान दिएकोमा दङ्ग परेँ । जताजता उसले डोर्यायो म उसलाई पछ्याउँदै हिँडिरहेँ । रात पूरै सुनसान भइसकेपछि त्यसले एउटा पाटीजस्तो ठाउँमा लगेर मलाई गर्नु नगर्नु गर्यो । पीडाले छट्पटिएर म खुब रोएँ, कराएँ, त्यसले खल्तीबाट धारिलो चक्कु निकालेर मार्ने धम्कीसमेत दिएपछि म चुपचाप पीडा सहेर बसेँ ।
त्यस रात तीन जना केटाहरूले मलाई गर्नु नगर्नु गरे र अन्त्यमा यो औषधि हो सुँघे निको हुन्छ भनेर जबरजस्ती डेन्डराइट सुँघ्न सिकाए । नाइँनास्ती गर्न सक्ने सामथ्र्य ममा थिएन । बीचबीचमा त्यो भन्दै पनि थियो-यो सडक मेरो एरिया हो । म यहाँको डन । मैले भनेको मानिनस् भने टुक्राटुक्रा पारेर फालिदिन्छु ।
दस बाह्र दिनसम्म तिनले मलाई एक्लै छोडेनन् । बेलाबेलामा खानेकुरा पनि दिइरहन्थे र डेन्डराइट पनि सुँघाइरहन्थे । डेन्डराइटको नशाले मैले पीडालाई बिर्सिंदै घर, आमा, दिदी, बहिनी सबैलाई बिर्सिएँ र अँध्यारो रातको त्यो पीडादायी क्षणहरूलाई झेल्दै गएँ । पन्ध्र दिनको दिन त्यस डनले ‘सधैँ अर्काको खाएर बस्छ मोरो
जा ! गरिखा’ भनेर लात्ताले हिर्काएर त्यसको बन्धनबाट मुक्त गर्यो ।
म जान्थेँ कहाँ र ? दिनभरि यताउता भौँतारिरहेँ, फोहोरमा खानेकुरा खोज्दै गर्दा मभन्दा अलि ठूलो एउटा दाइसँग मेरो भेट भयो । उसले मलाई पनि आफूसँगै लिएर हिँड्न थाल्यो । दिनभरि प्लास्टिक, फलामका टुक्रा, बियरका बोतल खोज्दै हिँड्थ्यौँ । त्यो कवाडीमा बुझाएपछि जति पैसा आउँछ त्यही पैसाले खानेकुरा र डेन्डराइट किनेर खाएर राति पेटीमा बोरा ओछ्याएर सुत्ने गर्थे ।
जाडो महिना थियो, दिउँसो फोहोरको थुप्रोमा प्लास्टिक खोस्दै गर्दा मेरो खुट्टामा काँचको फुटेको टुक्रा बिजेर निक्कै गहिरो चोट लागेको थियो । थुप्रै रगत बगेको हुँदा राति हनहनी ज्वरो आयो । जाडो र खुट्टा दुखेको पीडाले म रातमा सुत्न सकिनँ । बिहानीपख निदाएँछु । ब्यूँझँदा त्यो दाइ थिएन । उज्यालो भइसकेको थियो । मान्छेहरू बाटोमा हिँड्न थालिसकेका थिए । उठेर आँखा मिच्दै पेटीमा बसिरहेको थिएँ । मान्छेहरूले मेरो बोरामाथि पैसा ˆयाँक्न सुरु गरेँ । त्यस दिनदेखि मैले फोहोरमा प्लास्टिक टिप्न जान छोडिदिएँ । जति पैसा आउँछ त्यसैले डेन्डराइट किनेर सुँघ्न थालेँ ।” उसको आत्मकथा सुरु भएको थियो वा अन्त्य मैले बुझ्न सकिनँ तर मेरो श्रवणशक्तिको अन्त अवश्य गएको थियो । आँखाबाट बग्दै गरेको आँसु र नाकबाट बग्दै गरेको पानीलाई सलको टुप्पोले पुछेँ, यति सानो र कलिलो उमेरमा उसले भोगेको दुःखदायी यथार्थले मलाई कान नसुन्ने बहिरो र आँखा नदेख्ने अन्धो बनाइसकेको थियो । अन्धकारमा छामछामछुमछुम गर्दै अन्तरमनलाई सुमसुम्याएँ । जहाँ उज्यालोको हल्का छायाँसम्म थिएन ।
ऊ जाने तयारीमा थियो । उसका लागि म केही गर्न सक्तिनथेँ । एक मन त लागेको थियो उसलाई आफूसँगै राखूँ । माया र प्रेमले धोएर उसको मयलका टाटाहरूलाई सफा र स्निग्ध बनाउ”m तर त्यो सम्भव थिएन । मेरो पनि त आˆनै बाध्यता र विवशताहरू छन् । दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नुपर्ने मेरो बाध्यताले उसको बोझ खेप्न कसरी सक्नु ? भनिन्छ नि ! मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन ।
ऊसँगै रहेको सारङ्गी टिपेर उसको हातमा दिँदै भनेँ-
“सुरज ! यो लिएर जाऊ । यो तिम्रो सारङ्गी हो ।”
सारङ्गी हेर्दै फिस्स हाँस्यो ऊ । सारङ्गी मतर्फ बढाउँदै नम्र भावमा भन्यो- “दिदी ! यो मैले खोजेको सारङ्गी होइन रहेछ । यो त बज्दै बज्दैन ।”
उसको कुरा सुनेर म स्तब्ध भएँ । ट्वाल्ल परेर उसलाई हेरिरहँे निर्मिमेष ।
केहीबेर हामीबीच मौनता छाइरहृयो, लाग्थ्यो समय टक्क अडिएको थियो केही छिनका लागि ।
“भोक लागेको होला केही खान्छौ सुरज ?” मैले हामीबीचको मौनता भङ्ग गर्दै सोधेँ ।
उसले विष्मय भावले हेर्यो मलाई र मुस्कुराउने चेष्टा गर्दै भन्यो- “मःमः खान्छु ।”
“ल हुन्छ, हिँड अगाडिको मःमः पसलमा । म भनिदिन्छु तिमी खाएर जानू । यति भनेर हातमा रहेको सारङ्गी अगाडिको कस्मेटिक पसलमा फिर्ता दिने उद्देश्यले म ऊभन्दा पहिल्यै बाहिर निस्किएँ । कस्मेटिक पसलमा सारङ्गी फिर्ता दिएर म उसलाई नै पर्खिंदै थिएँ । ऊ मेरो पसलको खुलै रहेको सिसाको ढोकामा झुन्डिएको साँचोले ढोका बन्द गर्दै थियो ।
साँझ पर्न आँटेको थियो । नीलो निर्मल आकाशमा एकाएक झलमल्ल घाम लागेको अनुभूत गरेँ । मनमा कताकता खुसीको लहर दौडियो । कस्मेटिक पसलको बहिनीले पनि हेर्दै थिइन्, सुरजले ढोका बन्द गदर्ैै गरेको । उनी पनि मुसुक्क मुस्कुराइन् मैले उनको आँखामा अघिको डरलाग्दो छायाको सट्टा आत्मीयताको साथ छचल्किएको पाएँ । ढोका बन्द गरिसकेर साँचोको झुप्पा मेरो हातमा दिँदै मुसुक्क हाँसेको थियो ऊ भर्खरै फक्रेको कमलझैँ ।
चार घन्टा अगाडि सडकमा र्यालसिँगान काढेर पसारो परेको सुरज र ढोका बन्द गरेर साँचोको झुप्पा मेरो हातमा राखिदिने के ऊ एउटै सुरज थिएन त ?
कालो बादलका धर्साहरूले आकाशमा चम्किरहेको सुरजलाई केहीबेर त छेक्न सक्ला तर सुरजको तापले बादल फटाएरै छाड्छ पानी नपरे पनि । यस्तै सोचेँ त्यस क्षण ।
उसलाई मःमः खान होटलमै छोडेर म आˆनो पसलतर्फ फर्किएँ । डेन्डराइटको गन्ध अझै पनि कोठाभरि फैलिएको थियो । अधुरो रहेको काम पूरा गर्ने उद्देश्यले सिउने कलको पाइडल घुमाउन थालेँ- मन लागि-नलागी । जीवनमा कति लुगा सिलाएँ । कति फाटेको, उध्र्रेको ठाउँमा रफु गरेर पुनः प्रयोग गर्न सकिने बनाएँ तर आज उसको चिरा परेको मन सिलाउने सियो धागो मसँग थिएन । उसको भ्वाङ परेको जीवनका अँध्यारा पाटाहरूमा रफु गर्न सक्ने कला र क्षमता ममा थिएन ।
“दिदी ! दिदी !” कसैले बोलाएको आवाजले झस्किएँ म । घुम्दै गरेको पाइडललाई रोकेर ढोकामा उभिएँ । ढोकाबाहिर सुरज उभिरहेको थियो । मुखमा सुप चपाउँदै ।
“दिदी जान्छु ल । नमस्ते ।” उसको उही खिरिलो दसऔँला जोडेर भन्यो । मैले हात मात्र जोर्न सकेँ उसको बिदाइमा । बोल्ने शब्द मसँग थिएनन् । आँखाबाट ओझेल हुँदै गरेको सुरजलाई आँखाले देखुन्जेल हेरिरहेँ । परपर क्षितिजमा सप्तरङ्ग्ाी इन्द्रेणी र घामसँगै उदाएका थिए । प्रकृतिको सुन्दरता र मान्छेभित्रको सुन्दरता उस्तै त हो ! जसलाई अनुभूत मात्र गर्न सकिन्छ । शब्दले बयान गरेर कहिल्यै नसकिने । अधुरो र अपुरो । हे प्रभु ! यो डुब्न लागेको सुरजको रक्षा गर ! चँुडिएको सारङ्गीमा झङ्कार भएर ! यस्तै बरबराएँ म ।
(श्रोत :- मधुपर्क जेठ, २०६८ )