~गीता थापा (दोषी)~
पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो चेतना गुमाइसकेको थियो। त्यसैले उसले घरको बाटो भुलेसकेको थियो।
पानी पँधेरो मेलापात जाँदा भेला भएका दिदीबहिनीहरू अन्तरीलाई देख्ने बित्तिकै भन्ने गर्थें, “अन्तरेले शहरमै स्वास्नी ल्याएर मोज-मस्ती गरेको होला, तँ भने यहाँ के दाउरा सुकेको जस्तै सुकेर बस्छेस् है अन्तरी?”
अब त अन्तरीसँग उनीहरूलाई दिने जवाफ पनि थिएनँ। त्यसकारणले गर्दा अन्तरी कुपोषणले बत्तिस मुजा परेको सात बर्षको मरन्च्यासे छोरो च्यापेर सहर पसी। त्यहाँ उसले कोही चिनेको र जानेको थिएन।
लोग्ने खोज्दै हिँड्ने क्रममा अन्तरी सिंहदरवार अगाडि पुगी र केहिबेर त्यहाँ अगाडि उभिएर आफ्नो स्याउले झुप्रो सम्झिदै सिंहदरवारलाई नियाली। उसको मरन्च्यासे छोराले पनि मनमा उथलपुथल भएका सब्दका झटारो आमा समक्ष हुत्यायो, “आमा!हामी यो घरमा बस्न पाइदैन ?”
आमा अन्तरीको जवाफ -”पाईन्छ।”
“कहिले आमा?”
“मन्त्री भएपछि। ”
“त्यो मन्त्री कहिले भइन्छ आमा ?”
“भाषण गर्न जानेपछि।”
“त्यो भाषण कहिले गर्न जानिन्छ आमा?”
“ठुलो भएपछि।”
“अनि म ठुलो कहिले हुन्छु आमा?”
“कुपोषणले छोडेपछि।”
“मलाई कुपोषणले कहिले छोड्छ आमा?”
“अघाउन्जेल खाना पाएपछि।”
“यो अघाउन्जेल चाहिं कहिले खाना पाईन्छ त आमा?”
“जब नेताले आफ्नो स्वार्थभन्दा माथि उठेर हामी जस्ता गरिब दुखीका लागि पनि सोच्ने गर्छन्, त्यसदिन।”
अनि मरनच्यासे आमाको हातको औंला निमोठ्दै भन्छ, “आमा! नेतालाई भेटेर छिटो हाम्रो लागि पनि सोच्नु भनौं न!”
आफ्नो छोराको अन्तिम जिज्ञासा पनि टाउको सुम्सुमाउँदै लामु सास बाहिर फ्याक्दै मेटाइदिन्छे अन्तरी, “त्यो हामीले भनेर हुदैन बाबु । त्यस्ता कुरा त व्यक्ति स्वयमको मनबाट उत्पन्न हुने कुरा हो।”
आमाको त्यो जवाफबाट खै मरनच्यासेले के बुझ्यो मौन भयो।
त्यसपछि अन्तरी मरनच्यासेलाई डोर्याउँदै लोग्ने खोज्ने यात्रामा अगाडि बढी।
(श्रोत :- अन्तर्जाल )