~राजेन्द्र कुमार आचार्य~
सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । साइँलाबूढाका घरभित्र पसेर उनलाई ढोगभेट गरेपछि आफू अनिकाल लागेर पाथीचार कोदो माग्न आएको कुरा दर्शाएछन् । आफ्ना नातेदार भएर पनि ‘कोदो छैन, कहाँ हुनु, अस्तिनै सिद्धियो’ भनेर टारेछन् । त्यसो त उनका चारोटा भकारीभरि कोदो थियो रे । यसै त सानाचौर कोदो हुने ठाउँ त्यसमाथि गतिलो खायलबारी साइलाबूढाकै थियो । उनी पौरख पनि त्यत्तिकै गर्थे रे । उनी हृदय नभएका र असामाजिक प्रवृत्तिका थिए । त्यसैले गाउँछिमेकमा पनि कसैलाई केही काम चलाउन्नथे । यस्तालाई कति हारगुहार गर्नु, ‘नबर्सिने बादल र नदिने गाईको के आस गर्नु’ भन्ने सोचेर परवीर लुरूलुरू पएँपाटेकातिर लागे ।
पएँपाटेकहाँ पकछ्याल्तै अन्न त थिएन तर उनी बाँडीचुँडी खाऊँ भन्ने सामाजिक भावना भएका किसान थिए । अरूको वेदनामा उनको हृदय पग्लिन्थ्यो । उनले भने, “मामा, लौ चारपाथी कोदो लानुस् । कोदाले मात्रै छाक ठेल्न गाह्रो हुन्छ, त्यसैले पाथीचार काँत्रा पनि लैाजानुस् र केटाकेटीले आलोपालो मुख फेर्लान् ।” परवीरले साँझ धोक्राभरि अन्न लिएर घैयार झर्दा नउका लालाबाला साह्रै खुशी भएर उफ्रे ।
साइँलाबूढाको छुच्चो र निर्दयी व्यवहारले गाउँछिमेकीका सबै मान्छेहरू भित्रभित्रै कुँडिएका मात्र हैन चिढिएका पनि थिए । त्यसैले उनलाई खसाल्ने वा घाटा पारिदिने दाउ हेर्दै थिए । यस्तैमा साइँलाबूढाले घर छाउने विचार गरेर छाउन सिपालु मानिस बोलाए । उनले गरेको छुच्चो र निर्दयी व्यवहारको बदला लिने दाउ खुल्यो । छाउनेहरूले खासखुस सल्लाह गरेर उनका चारोटा कोदाका धनसार (भकारी) मा ठिक्क चुहुने गराई छानामा डौँडारा वा खौला छाडे । खौलामाथि भने आँखा छल्न खर पातलो गरी ढाकेर बर्खाको पानी बेसरी चुहुने बनाइदिए । बेलुका साइँलाबूढा छटपटाउने गरी मागीमागी घिउ र भात खाएर घर फर्के ।
बर्खा लागेपछि पनि सिपालु मान्छेले छाएको ठानेर उनले छानाको चियोचर्चो गरेनन् । त्यसो त ती चारोय खौला बाहेकको पानी बलेनीबाट झर्थ्यो नै । असारभरिको पानी थोरथोरै चुहुँदाचुहँदा धनसारको चौपाँजे -चार पाथी दिएर एक पाथीब्याजसहित हिउँदमा पाँच पाथी लिने तरिका लगाएर सेँठ पल्टिने सोचेका साइँलाबूढाको सपना चकनाचुर भयो । साउनका आधाआधीमा अन्त कहीँ नपाएर अनिकालले पीडित केही मान्छे चौपाँजे कोदो माग्न आए । बडो भाउ कँस्दै उनले ‘खुप्पै छैन, धेरै जनाले भनेका छन्, तैपनि मङ्सिरमा राम्ररी सुकाए निफनेको कोदो खुरूक्क घरै ल्याइदिने भए लैजाऊ भने । ती मान्छेले ‘हुन्छ त साइँल्दाइ भनेअनुसार तिरौँला, झिकिदिनुस्’ भनेपछि उनी धनसारतिर लागे । धनसारको कोदेभकारी खोल्दा ता कोदो हकुवाएर बाहिरै हस्को आयो । तलसम्म हातहाली हेर्दा कुहुनै लागेको । चारोटै उस्तै ! पुर्पुरो ठोके साइँलाबूढाले । चौपाँजे खोज्न आएका मानिसले ‘कोदो झिकेर मलखातामा फालि दिउँला, अझै किन फाँडो पार्नुहुन्छ’ भनेपछि ‘हुन्छ फालिदेओ’ भन्दै उनी दलानमा पल्टे । साइँली बूढीले सुटुक्क ‘राम्रो राम्रो बिनेर घर लैजाओ र केटाकेटीको तरान आउलान्’ भनेकीले उनीहरूले एकएक धोक्रो हकुवाएको कोदो सित्तँैमा लान पाए । बूढालाई पीरैपीरले ज्वरो आयो । उनी दलानमा हनहनाउँदै थिए । चौपाँजे वालाहरूले धनसारका कोदेभकारी सफा गरी आफ्ना धोक्रो बोकेर जस्केलढाकाबाट सुटुक्क निस्के । हदैसम्मको छुचो र निर्दयी हुनाले साइँलाबूढाले त्यतिका अन्न गुमाउनपर्यो ।
(श्रोत :- शनिबार – गोरखापत्र – असोज १६, २०६७ )