सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र ‘प्लेकार्ड’ होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै ‘प्लेकार्ड’हरु स्टोरमा थन्काइए ।
मजदुर साथीहरुले भन्दा व्यवस्थापनले उनको प्रशंसा ज्यादा गर्न थाल्यो । उनी एक-दुई-तीन-चार-पाँच गर्दै घरका छतहरुसँगै अग्लिँदै गए । उनको सिमेन्ट कारखाना टाट उल्टिने भयो, लिलाम गरियो । अनि आफैंले कारखाना किने ।
नयाँ कुल्लीहरु, मजदुरहरु आए, पाले नयाँ आयो । समस्या पनि नयाँ आए । इन्जिनियर पनि नयाँ आए । मजदुरहरुको हडताल पुनः शुरु भयो । स्टोरको खिया परेको चावी फोरेर भित्र पसे र मजदुरहरुले फटाफट पुरानै ‘प्लेकार्ड’ निकाले । धुलो झारझुर पारेर मुठ्ठी कसेर नारा लगाए ‘मजदुर एकता जिन्दावाद !’
(श्रोत :- अन्तर्जाल अर्थात Internet)