~दिलिप आचार्य ~
२०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती थीएन ।
त्यत्तीकैमा ति व्यक्तिले आफ्नो ल्यापटप कम्प्यूटर खोले र ताररहित प्रबिधिबाट अन्तर सञ्जालमा प्रवेस गरे । एकैछीनको अन्तरालमा उ डब्लु डब्लु डब्लु डट ई-कर्मकाण्ड डट कमको गृह पृष्टमा पुगीसकेको थीयो । त्यँहा उसले आवश्यक प्रयोक कर्ता नाम र प्रवेश शब्द भिडाएर “प्रवेश गर्नुस” भन्ने ट्याब मा थीच्ने बित्तीकै “अनलाईन कर्मकाण्डमा स्वागत छ” भन्ने वाक्य देखीयो।
लगत्तै उसले आफ्नो वेब क्याम मिलायो र ‘सब उफर’को आबाज ठिक पार्यो। उसको कम्प्युटर पर्दामा एकजना श्वेत वस्त्र धारी अधवैसे उमेरका मान्छे देखा परे । ” नमस्कार गुरु!” उसले दुई हात जोड्यो । “सब कुशल मंगल नै त होला नी !….” भन्दै उताबाट तुरुन्तै आसन ग्रहण गर्न भनीयो ।
“हरि ॐ तत्सत् तत्सत्… का साथ तुरुन्तै श्राध्द बिधी शुरु भयो । उताबाट वेब क्याम र माईकको मद्दतले गुरुले निर्देशन दिदैं गए र यताबाट जजमानले पनि सोहि अनुशार ‘सभ्यन’, ‘अपसभ्यन’ र “तृपन्ताम !” गर्दै रहे ।
करीब एक घण्टाको बिधान पछी गुरुले श्राध्द सम्पन्न भएको बताए । “दर्शन गरौं गुरु!०००” उसले आफनो वेब क्याम तर्फ टाउको निहुर्यायो, उताबाट गुरुले आफनो खुट्टालाई उतैतर्फको वेब क्याम संगै लगे । यता कम्प्युटर पर्दामा गुरुको पाउको “जूम भ्यू” देखीयो र जजमानले त्यसैमा ढोग भेट गरे ।
“ओ हो ! ढीला हुन लागेछ ….” गुरुले आफ्नो घडी हेर्दै भने ” …… एकछिनमा केहि जजमानहरुको सामुहिक गौदान गराउनु छ….. ‘अफलाईन मेसेज’ र ‘अनलाईन युजर’ धेरै भएर सर्भर डाउन हुन लागीसक्यो…. लगअफ गरें है ….” । उता कम्प्युटर पर्दाबाट गुरुको बिम्ब झ्याप्प हरायो यता जजमान अनलाईन पसलबाट ‘सिदा डेलिभरी’ र आफ्नो ईन्टरनेट बैंक बाट गुरुको खातामा दक्षीणा ट्रान्सफर गर्ने तरखरमा लाग्यो ।
(श्रोत :- Laghukatha )