कविता : रापिलो कविता

~नरेन्द्रकुमार नगरकोटी~

खोरमा बाख्रालाई ओछ्यान हालिएको छ किताब
यसमा मेरी आमाको कुनै दोष छैन
अक्षरमा रङ र किताबमा कागत मात्र चिन्ने
मावलका हजुरबुबाको पनि दोष छैन
किताबको ओछ्यानमै पिसाब फेर्ने बाख्राको पनि दोष छैन
दोष छ त
मेरी आमालाई कहिल्यै पनि अक्षर नसिकाउने
यो देशको व्यवस्थाको
यो व्यवस्था निर्माताहरुको।

किलोको दरमा बेचिएको छ किताब
किताबलाई आलु र नूनसँग साटेर लैजाने
भाइको कुनै दोष छैन
किताब बेचेको पैसाले चाउचाउ किनेर खाने
बैनीको पनि दोष छैन
मान्छेलाई कुमान्छे पनि बनाउन सक्ने
भोकको पनि दोष छैन
दोष छ त
भोकाहरुलाई झन्झन् भोका बनाउन लागिपर्ने
अरुको मुस्कान खोसेर आफ्ना ओठमा सजाउने
तमाम शासक र शोषकहरुको।

चूलोमा आगो सल्किंदैछ कविताको किताबले
‘किताबले आगो त बल्यो नि’
यसो भन्नुभयो आमाले
सोच्दै होला सत्ताले
‘आगोभन्दा रापिलो कविता पनि आगोले नै जलायो’
मूर्ख सत्तालाई के थाहा
कविता जलेपछि जन्मिने कविता
झन् बढी रापिलो हुन्छ।

(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *