संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित डराउनु हुँदैन । त्रास वेगरको सङ्घर्ष वेगर जीवनलाई के जीवन भन्ने ?

समीक्षामाथि प्रतिवन्ध

सम्वत २०३२ सालको भदौ ६ गते साँझ त्यस्तो विचारको मैले सोझै सङ्घर्षबाट गुजि्रनु पर्‍यो । महिना दिन पहिले जुन महिनामा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा सङ्कटकालको घोषणा गरेकी थिइन् । त्यसबेला डा. तुलसी गिरीले राजा वीरेन्द्रमा सल्लाह विन्ती चढाएछन् र भनेछन्-‘ भारतमा अब २५ वर्षसम्म प्रजातन्त्र फर्केर आउँदैन नेपालमा संविधानमा राष्ट्रिय जनमत सङ्घर्ष मार्फत् बहुदलीय व्यवस्था ल्याउनेकि के गर्ने भन्नेबारे सरकारमा किन कुनै चिन्ता ?’

त्यसबेला नेपालमा कुनै राजनीतिक पार्टी वेगर प्रजातन्त्र पुनस्र्थापन बारे नेपालका बहुसङ्ख्यक जनताले बहुदल पक्षमा आफ्नो मत बनाइसकेका थिए । तथापि डा. तुलसी गिरीको पक्षमा आफ्नो मत बनाइसकेका थिए । उक्त प्रश्न र सल्लाहले राजा वीरेन्द्रको चित्त बुझाए र त्यसबेला राजाको उमेर पुगनपुग ३० वर्ष जतिको थियो होला । राजनीति निम्ति नेपालमा त्यो उमेर काँचो ठहरिएको थियो । सिंहदरवारमा आगलागी भएर कीर्तिनिधि विष्टले देशको प्रधानमन्त्री पद त्यागेका थिए । पछि उक्त पदमा नगेन्द्रप्रसाद रिजाल आसिन थिए । उनैको book-cover-madhavi-madanmani-dixitपालामा पहिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य रहेका राधाप्रसाद घिमिरेको हस्ताक्षरबाट सात वटा अखबारमाथि उक्त मितिदेखि प्रतिबन्ध लगाइएको छ भन्ने पूर्जी प्राप्त गरेँ । त्यसरी मेरो साप्ताहिक ‘समीक्षा’ माथि पनि ६ भदौ २०३२ सालको दिन प्रतिबन्ध लाग्यो । त्यसबेला सरकारबाट प्रतिबन्ध लगाइएका पत्रिकाहरूले कुनै अदालतमा उजुर गर्न पाउने कानुनी अधिकार थिएन । सल्लाह डा. तुलसी गिरीको थियो तर पूर्जीमा दस्तखत सञ्चार राज्यमन्त्री राधाप्रसाद घिमिरेको थियो ।

सधैँ माथिको आदेशः

हुन त २०१८ सालदेखि सम्वत् २०३२ सालसम्ममा समीक्षा माथि ४ पटक प्रतिबन्ध लगाइसकेको थियो । त्यो अवधिमा समीक्षा सम्पादक मैले काठमाडौँको प्रमुख जिल्ला अधिकारी तथा बागमती अञ्चलाधिशका पूर्जीलाई खेपेर ४० पटक जति लिखित वयान दिइसकेको थिएँ । प्रत्येक पटक ती अधिकारीहरूले ‘माथिको आदेश अनुसार वयान लिएको’ भनी मलाई बताउने गरेकै थिए । यो पटक पत्रिकामा प्रतिबन्ध लगाउने कुनै कारण थिएन । झण्डै २ महिना पहिले भारतमा प्रधानमन्त्रीले सङ्कटकालको घोषणा गरेको दिन देखिनै म मा नेपालबारे त्रास उत्पन्न भइसकेको थियो । मैले ती दुई महिनादेखि राजनीतिक क्षेत्रमा हात नहाल्ने निर्णय गरेर त्यसको पालना गर्दै आएको थिएँ । परन्तु समीक्षाले निर्दलीय पञ्चायत व्यवस्थालाई समर्थन भने कहिल्यै गरेको थिएन ।

खेत बेचेर पत्रिका प्रकाशन

६ भदौमा सातवटा पत्रिकामा प्रतिबन्ध लाएको थियो । साप्ताहिक राष्ट्रपुकार बारे एक शब्द पनि भन्ने सक्ने अवस्थामा थिइन । बाँकी ५ वटा अखबार माथि समेत प्रतिबन्ध लगाइनुको एउटै कारण थियो । त्यो कारण हो यी दुई पत्रिकाले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्रोतका उपयोग नगरी आफ्नो अखवार चलाइ राख्नु हो । समीक्षा भनेको सोभियत सङ्घबाट खर्च बेहोरिएको र त्यो देशको जासुसी गर्ने अखबारको रूपमा प्रशस्त चर्चा चल्ने गथ्र्यो तर सत्य कुरा के थियो भने मैले पर्सा जिल्लामा रहेको आफ्नो खेत र बारीहरू विक्री गर्दै पत्रिका चलाउने गरेको थिएँ । हो २०२५ साल तिर होला बनारसबाट मैले झिकाएको छाप्ने मेसिन काठमाडौँ आइपुग्दा मसित १४ सय रूपियाँ नपुग भएको हुँदा कीर्तिनिधी बिष्टसित मेले त्यति रूपियाँ सापट मागेको थिएँ तर उहाँले भारू १००० को नोट मलाई दिनुभएर मैले पछि गएर त्यो रूपियाँ फिर्ता गर्न नपर्ने भन्नुभएको थियो । त्यस्तै २०१७को पुष १ गतेमा दुइ महिनादेखि समीक्षा बन्द रहेको थियो पैसा नभएर २०१७ को पुस १ गतेको परिवर्तनबारे लेख्न म छटपटाइ रहेको थिएँ । त्यसबेला राजदरवारका कर्मचारी मधुसुदन राजभण्डारीले मेरो उकुसमुकुसबारे अनुमान गरे हो वा थाहा पाएर मलाई सात सय रूपियाँ दिएको हुँदा अखवार सुरू गरिएको थियो ।

दरवार अगाडि नै आत्मदाह गर्ने सोच

२०३२ सालको पुसमा नगेन्द्रप्रसाद रिजालको मन्त्रिपरिषद् खारेज भएर डा. तुलसी गिरीको फेरि सरकार बन्यो । दोस्रो दिन निजले ‘समीक्षा’ र ‘राष्ट्रपुकार’ बाहेक अरू ५ वटा अखवारबाट प्रतिबन्ध फिर्ता गरे । त्यो देखेपछि मैले प्रधानमन्त्री तुलसी गिरी,सञ्चारमन्त्री रविन्द्रनाथ शर्मा तथा राजदरवारका सम्वाद सचिव चिरन शमशेर थापाका ढोकामा गएर निकै भनसुन र चाकरी गर्दै अखबार खोलाउन ठूलो कोसिस गरेँ । मेरो प्रयास विफल भयो । त्यस्तैमा सम्वत २०३४ को मङ्सिरको २८ गते मैले एउटा निर्णय गरँ त्यो निर्णय थियो । राजाले देशको हित गर्छु भन्ने आधारमा लागू गरिएको दलविहीन पञ्चायत व्यवस्थाले गरेको प्रजातान्त्रिक कार्य यो हो भन्ने देखाउन राजदरवारको दक्षिण ढोका ट्राफिक प्रहरी चौकी अगाडि उभिएर शरीरमा पेट्रोलको बोतल खन्याएर पुस १ गतेको दिउँसो ४ बजे आत्महत्या गर्ने ।

यही सोचमा त्यसदिन म विहान ४ बजे व्युझिएँ ‘अब त मेरो जीवनको १२ घण्टा मात्र बाँकी छ’ भन्ने मनमा लागेर फेरि सुतेँ । एक घण्टा पछि ५ बजे फेरि व्यूझिएँ र ‘टेलिफोनको मुखलाई रूमालले छोपेर आफ्नो आवाज नचिगिने गरी काठमाडौंमा रहेका, विदेशबाट समेत आएका, संवाददाताहरूलाई भरे ४ बजे राजदरवारको दक्षिण ढोका अगाडि कुनै दुर्घटना हुने भएको छ , रूचि भए हेर्न जानुहोस्’ भनेर टेलिफोन गर्ने बिचार बनाएँ ।

त्यति निर्णय गरेर दोस्रो पटक निदाउन खोज्दा मलाई निद्रा लागेन । ‘समीक्षा विरूद्ध अपराध गर्ने सञ्चार राज्यमन्त्री राधाप्रसाद घिमिरे हुन् । पूर्जिमा तिनको दस्तखत छ । अपराध गर्ने तिनी हुन् भने मैले जानी जानी आफूलाई पेट्रोल खन्याएर आत्मदाहद्वारा आफूलाई दण्डिन किन गर्ने ? अहिलेको सरकारले मेरो अखवार खोस्न सक्छ, तर वुद्धि र कलम त मेरो आफ्नो भएको हुँदा यी दुईलाई म बाट खोस्न सक्दैन । म आफ्नो कलम चलाएर समीक्षा भन्दा धेरै माथिल्लो स्तरको साहित्यिक कृति लेखेर त्यो कृति मुलकलाई दिने छु भन्ने प्रण ममा जन्मियो ।

माधवी यसरी लेखेँ

हुन पनि त्यही दिन अर्थात् मैले आत्महत्या गर्दिन भन्ने निर्णय गरेको दिनको दिउँसो ४ बजे मैले ‘माधवी’ उपन्यास लेख्न थालँ। सम्वत् २०३९ चैत्र मसान्तको दिन साझा प्रकाशनले माधवी को प्रकाशन गर्यो । कुन प्रकारको कस्तो उग्र परिस्थितिबाट के कारणले ‘माधवी’ लेख्न थालियो र प्रकाशन भयो भन्नेबारे साझा प्रकाशनमा ज्ञान नहुनु सर्वथा स्वाभाविक हो तथापि त्यो प्रकाशनले माधवीको गाताको रङ्ग तथा गाताको अन्तिम पृष्ठमा लेखकको परिचयबाट एकप्रति झिक्ने निर्णय गरेछ ।

त्यसबेला समीक्षा माथिको प्रतिबन्धले ममा असैहृय सङघ्र्षको छुट्टै व्याख्या जन्माएको छ । अहिले, सम्वत २०५२ देखि अर्थाभावले गर्दा समीक्षाको प्रकाशन भएको छैन । यसबीच नेपालमा थुप्रै नबधाड्य र करोडपतिहरू जन्मिएका छन् । तिनीहरूसित वा विदेशी लगानीकर्तासित पैसा लिएर अखबार चलाउनु म देश प्रति ठूलो अपराध ठान्दछु । जीवनमा सम्वत् २०३२ को भदौमा एउटा सङघ्र्ष सुरू गरेको थिएँ ।मैले पछि २०३९सम्म त्यो सङ्घर्षलाई सफल अन्त्य गरेको थिएँ । अहिले फेरि समीक्षा बन्द छ तर मलाई अफसोच छैन किनभने यो पटक मैले कुनै आदर्श वा नैतिक चरित्रको बलिदान गर्नु परेको छैन ।

यसरी प्रतिबन्धित भएको समीक्षा २०३५ तिर मङ्सिरमा खुल्यो । सम्वत २०३६ को राष्ट्रिय जनमत सङ्ग्रहमा त्यो पत्रिकाले दिल खोलेर बहुदलको पक्षमा र निर्दलको विरूद्धमा कडा सङ्घर्ष चलायो । त्यो जनमत संग्रहको परिणामले निर्दल पक्षलाई जिताए पनि समीक्षा र मेरो सङ्घर्षले भने बहुदललाई जिताएको र जितेको ठहर अहिले पनि गर्ने गर्छु ।

(स्रोत : गोरखापत्र)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *