व्यङ्ग्य कविता : किनकि म हेडसर

~असीम अज्ञात~

शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ
मैले पढाउने होइन सबैलाई कराउनुपर्छ
किनकि म हेडसर ।

शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ
म आए पनि हुन्छ नआए पनि हुन्छ
किनकि म हेडसर ।

अरू कोही नआउँदा बिदा लिनुपर्छ
बिदाको दिन पनि मैले हाजिरी गर्नुपर्छ
ससुराली गए पनि काज लेखिदिन्छु
मसँग जोरी खोज्नेको बढुवा रोकिदिन्छु
किनकि म हेडसर ।

टेन टु फोर गर ड्यूटी म त जान्छु खोज्न ब्युटी
तलबमात्रै तिम्रो आधार विद्यालयको आम्दानी मेरो संसार
खर्चै नगरे पनि बिल बनाएर हिसाब मिलाइदिन्छु
किनकि म हेडसर ।

क्क्ष्ए को पैसा ख्क्ष्ए भई खर्चिन्छु
नबाँडेर छात्रवृत्तिले आफ्नै गोजी भर्छु
मन लागे छुट्टी मन लागे क्लास
गरिरहन्छु परीक्षामा फेलहरूलाई पास
तैपनि दुनियाले मैसँग राख्छ आस
किनकि म हेडसर ।

गाली गर, कुटपिट गर मलाई फरक पर्दैन
चाहे दल कालोमोसो मेरो इज्जत घट्दैन
कहाँ जान्छौं उजुरी गर्न सबलाई मिलाइलिन्छु
उस्तै परे हात जोडेर माफी मागिलिन्छु
किनकि म हेडसर ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *