कथा : भोकको संगीत

~भूपिन व्याकुल~Bhupin Byakul

छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो समयपछि प्रश्वास गर्ने बाको मलाई मन नपर्ने एकमात्र बानी थियो। अब बा यो संसारमा हुनुहुन्न।

गाउँको तत्कालीन जनता माविबाट एसएलसी गरेपछि बा मलाई जीवविज्ञान पढाउन चाहनुहुन्थ्यो तर मैले जीवविज्ञानमा भर्ना भएको तीन महिनापछि भौतिकशास्त्र पढ्न सुरु गरेँ। जीवविज्ञान पढेपछि मात्र तेरो छोरा डाक्टर बन्न सक्छ भनेर केही शिक्षित आफन्तले उक्साइदिएका थिए। उहाँ मलाई डाक्टर नै बनाउन चाहनुहुन्थ्यो। त्यो सायद उहाँको जीवनको सबैभन्दा चर्को महŒवाकाङ्क्षा थियो। मैले भौतिकशास्त्र पढ्न थालेको पत्र पाएपछि प्रतिउत्तरमा उहाँले तमसुके अक्षरमा लेख्नुभएको थियो, ‘इन्जिनियर बन्नु पनि कम ठुलो कुरा होइन छोरा। मेहनत गरेर पढ्नू।’

बाका महŒवाकाङ्क्षा भत्काउँदै अन्ततः म कवि बनेँ। यो सम्भवतः उहाँले मेरो लागि कहिल्यै नदेखेको सपना थियो। यो अनपेक्षित सपनामा जम्मा दुईपटक उहाँ खुसी हुनु भएको थाहा छ मलाई। पहिलोपटक क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट गाउँबारे लेखिएको मेरो लेख प्रसारण हुँदा र दोस्रो पटक मैले दमौलीमा आयोजित राष्ट्रिय साहित्य सम्मेलनमा स्वर्णपदक प्राप्त गरेर गाउँ फर्कँदा। उहाँलाई मैले प्रयोग गर्ने उपनाम पटक्कै मन परेको थिएन। आफ्नो जातीय पहिचान खड्का मेटेर उदासीनता अभिव्यक्त गर्ने शब्द व्याकुल राख्यो भनेर पछिसम्म पनि मेरा साथीहरूसँग उहाँ दुखेसो पोखिरहनुहुन्थ्यो। मनका नरम भित्ताहरूमा प्रत्येक दिन घोचिरहने जातिवादी सोचका तिखा काँडा उखेलेर फाल्न नै मैले उक्त उपनाम रोजेको थिएँ, आठ कक्षाको विद्यार्थी हुँदा। यो मेरो जातीय अन्धताविरुद्धमा एक विद्रोह थियो। नयाँ अस्तित्वको खोजी पनि।

एउटा असल पिता वा माता संसारका कुनै पनि महान् व्यक्तिभन्दा महान् हुन्छन् छोराछोरीका लागि। बा महान् हुनुहुन्थ्यो किनकि उहाँ असल हुनुहुन्थ्यो। आइएस्सी पढ्दै गर्दा ओशोको कुनै किताबमा महानता र असलपनबारे गरिएको सार्थक व्याख्या पढेपछि म यस्तो निष्कर्षमा पुगेको हुँ। ओशो भन्छन्, महान् होइन असल बन्ने कोसिस गर। किनभने सबै असल मानिस महान् हुन् तर सबै महान् मानिस असल नहुन पनि सक्छन्। पछि बीपी कोइरालाको लघुकाय उपन्यास मोदिआइन पढेपछि झन् असल बन्नु जीवनको साध्य रहेछ भन्ने लाग्यो। मेरो बा चलनचल्तीका अवधारणामा कुनै महानताको कारणले नभई असलपनको कारणले गाउँमा समेत प्रिय हुनुहुन्थ्यो। भारतीय सेनामा आफ्ना जीवनका सर्वाधिक महŒवपूर्ण २८ वर्ष बिताएर प्रतिष्ठित पदमा निवृत्ति पाएकाले भन्दा पनि एउटा असल मानिसका रूपमा उहाँको प्रशंंसा हुन्थ्यो। सर्वजित सुइदारको छोराका रूपमा परिचय पाउँदा मलाई भयंकर गर्वबोध हुन्थ्यो।

एसएलसी पछि उच्च अध्ययनको लागि बाले मलाई लिएर पोखरा आउनुभयो, देशले प्रजातन्त्र प्राप्त गरेकै वर्षको असार महिनामा। यो स्मरण त्यही समयको हो। उपल्लो गाउँ पैँयुपाटामा त्यही वर्षदेखि क्याम्पस खुलेको थियो र क्याम्पस प्रमुख एक प्रसिद्ध साहित्यकार थिए- पूर्णप्रकाश नेपाल यात्री। साहित्यप्रति हुकर्िँदै गरेको अनुरागको कारण साहित्यकार प्रमुख रहेको क्याम्पसमा पढ्ने इच्छा थियो तर त्यहाँ विज्ञान पढाइ हुँदैनथ्यो। म विज्ञान पढेर पाइलट बन्न चाहन्थेँ र बा मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो। मैले मेरा लागि देखेको सपना र बाले मेरो लागि देख्नुभएको सपनाका आआफ्नै उडान थिए।
गाउँमा स्वास्थ्य सेवा अत्यन्त कमजोर थियो। निकै अनुभवी तर मेडिकल डिग्री हासिल नगरेका डाक्टर विश्वबहादुर जिसीको पलायनपछि गाउँका बिरामीलाई उपचारका लागि ठूलो तनावबीच डोकोमा राखेर सदरमुकाम बागलुङ बजारको सरकारी अस्पतालमा पुर्‍याइन्थ्यो। जटिल अवस्थाका बिरामीलाई त्यसपछि सिधै पोखरा पुर्‍याउनुपर्थ्यो। गाउँबाट पोखराका लागि हवाईसेवा त उपलब्ध थियो तर गाउँका अधिकांश दुःखी छानाहरूको लागि उक्त सेवा निकै महँगो लाग्थ्यो।

यस्तो स्थितिमा मलाई डाक्टर बनाई गाउँको सेवा गर्ने बाको सपना अत्यन्त पवित्र थियो। तर म छमर्केको डाँडामाथिबाट हवाईजहाज ओराल्ने र पन्चासेको डाँडाबाट जहाज गायब पार्ने सेतो सर्ट, कालो पाइन्ट र टाइ लगाएका पाइलटहरूको चुरिफुरीबाट आवश्यकताभन्दा बढी नै प्रभावित थिएँ। संसारको सबैभन्दा रोमाञ्चक पेसा त्यही नै हो जस्तो लाग्थ्यो मलाई। कतिसम्म भने ती पाइलटले जहाज बिसाएपछि छेउमा उभिएर धेरै रमितेले देख्ने गरी निर्लज्ज पिसाब गरेकोसमेत मन पर्थ्यो मलाई।

आ-आफ्ना सपनाका बिउहरू लिएर बा र म पोखरा आयौँ र छविरमण रेग्मी दाइको बागबजारको डेरामा पाहुना भयौँ। छवि दाइ पृथ्वीनारायण क्याम्पसमा विज्ञानमा स्नातक गर्दै हुनुहुन्थ्यो। उहाँकै परामर्श अनुसार जीवविज्ञान र भौतिकशास्त्र दुवै विषयमा मैले फर्म भरेँ तर भौतिकशास्त्रको अन्तिम लिस्टमा पनि नाम ननिस्केपछि मेरो पाइलट बन्ने सपनाको सिसमहल चकनाचुर भयो। जीवविज्ञानको लागि म योग्य ठहरिएँ। बाको सपना झन् बलियो भयो। म हारेँ, बाले जित्नुभयो।

रामघाटस्थित पोखराको पेन्सन क्याम्पमा पेन्सन बुझेर पृथ्वीनारायण क्याम्पसमा मलाई भर्ना गरिदिएपछि बा ढुक्क हुनुभयो। पढाइ तुरुन्तै सुरु नहुने भएकाले त्यसपछि हामी गाउँ फर्किन बस चढ्यौँ- नौडाँडाको लागि। त्यो समयसम्म पृथ्वी राजमार्ग तन्किएर बागलुङ बजारसम्म पुगिसकेको थिएन। पोखरादेखि बागलुङसम्मको ६७ किमी लामो भूपी मार्गको सपना सायद चीन सरकारले मात्रै देखेको थियो। तसर्थ गाउँ र पोखरा गर्न कार्कीनेटाको डाँडो छिचोल्नै पर्थ्यो। वायुसेवा हामीजस्ता सर्वसाधारणको लागि पहुँच बाहिर नै थियो। नौडाँडाबाट जुग्ले हुँदै आँधीखोला काटेर कार्कीनेटा उक्ेलपछि रातो माटोको सौन्दर्यले बनेको मेरो गाउँ देखिन्थ्यो। कार्कीनेटाबाट पनि कस्सिएर चार पाँच घन्टा हिँडेपछि मात्र मेरो गाउँ बलेवाचौर पुग्न सकिन्थ्यो।

घुम्तीहरूमा फन्फनी घुमेको सडक काटेर करिब एक घन्टामा नै बा र म नौडाँडा आइपुग्यौँ। नौडाँडामा बसको भाडा तिर्ने समयमा मलाई अनपेक्षित रूपमा थाहा भयो, बाको पकेट पुरै रित्तिसकेको रहेछ। मेरो भर्ना र पोखराको केही दिनको बसाइमा बाको पेन्सन चिलिम भएछ। बा यो कुरा मलाई भन्न चाहनुहुन्नथ्यो। नौँडाँडामा ओर्लेपछि गाउँ पुग्न कस्सिएर आठ नौ घण्टा हिँड्नु थियो र कम्तिमा पनि बिहानको सादा खाना अनि दिउँसोको सामान्य खाजाको लागि हामीसँग पैसा हुनु जरुरी थियो। तर बासँग पैसा थिएन। पाइलट बन्ने सपना गुमाएर क्याम्पस भर्ना भई पहिलोपटक गाउँ फकिदा नै यसरी जीवनको एक क्रूरतासँग मेरो भेट भएको थियो। जीवन असङ्ख्य अप्ठ्यारा घुम्तीले बनेको पोखरादेखि नौडाँडासम्मको सडकजस्तो लाग्यो मलाई जहाँ डरलाग्दा भालु भिरहरू यात्रीको सातो उडाउन उभिएका छन्। पैसा मलाई त्यही भालु भिरजस्तै डरलाग्दो लाग्यो।

नौडाँडाबाट सेतीदोभान झरेपछि बाले मलाई खाना खान आग्रह गर्नुभयो र आफूलाई भोक नलागेको कुरा राख्नु भयो। तर मलाई बाको खल्तीको वजन थाहा भैसकेको थियो र बा अनिच्छापूर्वक मेरो परीक्षण गर्दै हुनुहुन्छ भन्ने पनि बोध भैसकेको थियो। भोक उत्कर्षमा थियो तर मैले आफूलाई पटक्कै भोक नलागेको जिद्दी गरेँ। बलपूर्वक अनुहारमा उज्यालो ल्याउने र बालाई सन्तुष्टि दिने कृत्रिम प्रयास पनि गरिरहेँ। मलाई थाहा थियो, मेरो अँध्यारो अनुहार बाको जीवनको ठूलो असफलता थियो।

हामीले खानको लागि कतै नरोकिई हिँडिरहने मौन सम्झौता गर्‍यौँ। कतै रोकिनुको अर्थ हुन्थ्यो भोक सम्भि्कनु जुन अत्यन्त घातक थियो दुवैका लागि। नागबेली पर्दै बगिरहेको आँधीखोलाको किनारैकिनार कार्कीनेटाको बेंसीसम्म पुग्दा बाले आफ्नो सैनिक जीवनका केही रोचक प्रसङ्ग सुनाइरहनुभयो। दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट विभिन्न सात मुलुकका अनाम र युद्धग्रस्त भूमिमा दुस्मनसँग लड्दाका कारुणिक स्मरणले मलाई लगभग त्यही समय र स्थितिमा झैँ पुर्‍याइरहे। इन्डोनेसियाको घना जङ्गलमा आफू हराएको र भोलिपल्ट मात्र फौजी साथीहरूसँग भेट भएको पीडादायी क्षण उहाँको छातीभित्र अझै ताजै थियो। दुस्मनको हातबाट मारियो होला भनेर आसै मारेको आफ्नो प्यारो भाइ भोलिपल्ट सपनामा झैँ भेटिँदा अँगालोमा बेरेर जयबहादुर माइलाबा रोएको क्षण पनि उहाँको हृदयमा आलै थियो।
बाका युद्ध सम्बन्धी वर्णनहरू नजिकैको आँधीखोलाझैँ मनका किनाराहरू छुँदै बगिरहेका थिए। तर मनलाई हल्लाइरहेको थियो भोकको प्रवाहले। मैले फगत एउटै रहर पालिरहेको थिएँ कि कतै थोरै पैसा बाँकी भए बाले केही खाइदिए हुन्थ्यो। म त भोकलाई बिर्सेर गाउँ पुग्ने सङ्कल्पमा प्रतिबद्ध थिएँ तर बाको उमेरले त्यो अनुमति दिँदैनथ्यो। उहाँ ६७/६८ वर्षको दुब्लो पातलो मानिस हुनुहुन्थ्यो र ग्यास्ट्रिकको सिकार पनि। मैले दुईचार पटक उहाँलाई अनुरोध गरिरहेँ तर पसिनाले भिजेको मुडुलो टाउको पुछ्दै बाले मेरो अनुरोध साफ इन्कार गरिरहनुभयो।

भोको शरीर, आँधीखोलाको प्रवाह र सुसाइमा कुनै एस्थेटिक्स महसुस हुने सम्भावना थिएन। आँधीखोलासँग जोडिएको श्रवणकुमारको कथा याद आइरहेको थियो। राजा दशरथले श्रवणकुमारको हत्या गरेको प्रसङ्गले भन्दा पनि बाप्रति आफूले केही गर्न नसकिरहेको यथार्थले मलाई भित्रभित्रै विघटित पारिरहेको थियो। सफा पानी बगिरहेको आँधीखोला रोइरहेको जस्तो सुनिन्थ्यो। धेरैअघि बालककालमा पढेको श्रवणकुमारको आँधीखोला यही थियो र श्रवणकुमारको रगतले लत्पतिएका रक्ताम्मे ढुङ्गाहरू यिनै हुन् भनी स्वयं बाले मलाई देखाउनुभएको पनि थियो। ढुङ्गाहरू साँच्चै रगतमा लत्पतिएका जस्ता राता थिए तर उहिलेको कथामा बगेको रगतले ती ढुङ्गाहरू रङ्गिएको कुरामा भने मेरो ठुलो सन्देह थियो। मातापिता भक्त श्रवणकुमार आफ्ना नेत्रहीन पितामाताको लागि पानी लिन जाँदा राजा दशरथको बाणले मरेका थिए र यता म ज्युँदै मरिरहेको थिएँ।

सकेसम्म बढी पानी प्युँदै कार्कीनेटाको उकालो काट्यौँ। ठाउँठाउँमा राखिएका ढुङ्गेधाराको पानी प्युँन पैसा खर्च गर्नु पर्दैनथ्यो। सायद यति मुस्किल उकालो जीवनमा कहिल्यै चढिएन। कार्कीनेटाको टाकुराबाट पूर्वतिर हेरेँ, आँधी खोलाले विभक्त गरेर बनेका व्यावसायिक बस्तीहरू र किसानका सपनाले रङ्गिएका हरिया फाँटहरू टाढासम्म प्रस्ट देखिन्थे। बाटोमा ओहोर दोहोर गरिरहेका बटुवाहरू पसिना पुछ्दै लखरलखर हिँडिरहेका देखिन्थे।

‘तिनीहरूमध्ये कति बटुवाहरू हामीझैँ भोकै होलान्?’ म बटुवाहरूको अनुहारमा बाको झैँ भोकको चटक खोजिरहेको थिएँ। भोको मानसिकतामा जूनलाई फगत रोटीजस्तो देखिन्छ भन्ने कुनै किताबमा पढेको वाक्य बारम्बार स्मरणमा आइरहेको थियो। जुग्ले हुँदै फेदीसम्म आइपुग्दा दर्जनौँ पटक ‘भात खाएर जानुस् है बा’ भनेर गरिएका आग्रहहरूले बाको हृदय भूकम्प आएको पृथ्वीझँै हल्लिएको मैले मात्र बुझ्न सक्थेँ। त्यो कम्पनले म उभिएको सोचको जमिन समेत हल्लिँदै थियो। होटलका साहुनीहरूले स्नेहपूर्वक गरेका निमन्त्रणाहरू यन्त्रणा र व्यङ्ग्यजस्ता लागिरहेका थिए। लगातारको हिँडाइ र भोकको आक्रमणले आँखाआघिका दृश्यहरू पहेँलापहेँला जस्ता देखिन थालेका थिए। बाको के हाल भएको होला? म बारम्बार यहि सोचिरहेथेँ। टाकुरानेर पुग्दै गर्दा बाले भनेको सुनेँ, ‘यो डाँडो त बम हानेर उडाए पनि हुने।’ यो आक्रोशभित्र भोकदंशको निर्मम पीडा लुकेको थाहा पाउन मलाई कठिन भएन। नत्र योभन्दा कति अग्ला पहाडहरू कैयन पटक चढ्नु भएको थियो बा।

अधिकांश ब्रत बस्ने मानिसहरूले पापको बारेमा बढी सोच्छन्। म कुनै आध्यात्मिक सोचले सम्मोहित भएर भोकै बसेको थिइनँ। पाप नगर्न व्रतालुले भोक बिर्सन जरुरी भएझैँ मैले भोक बिर्सनु जरुरी थियो तर त्यसैको बारेमा अनियन्त्रित सोचाइहरू मनमा बगिरहेका थिए।

कार्कीनेटाको डाँडोमा एउटा ससानो चौतारी भेटियो। हामीहरू विश्रामको लागि त्यहाँ अडियौँ। त्यसको उत्तर दक्षिण दुवैपट्टि पानीले भित्ताको रङ खुइलाइदिएका केही होटल र चिया पसलहरू थिए। भर्खरै रातो माटोले भुँइ लिपेर सफा गरिएको जस्तो देखिने नजिकैको चिया पसलबाट बाले एक प्लेट चना र दुईवटा दुनोट मगाउनु भयो। उहाँसँग त्यत्तिको लागि पैसा बाँकी रहेछ, सो मलाई देखाउनुभयो। ‘केही त खानु बा’ भन्ने मेरो अनुरोधको दवाबले उहाँलाई पैसा सम्बन्धी स्पष्टीकरणको जरुरत पनि थियो। मैले बाका आँखाहरू हेरेँ। लाचार ती आँखाहरूले मलाई भनिरहेझैँ लाग्यो, ‘माफ गर्नु छोरा, तिमीलाई यत्रो बाटो भोकै हिडाएँ।’

अपुग भए पनि खाजा आएकोमा म खुसी भएँ। अब बाको सारङ्गी पेटमा जीवनको सङ्गीत बज्ने भयो। म त्यही सङ्गीत सुन्न व्यग्र थिएँ। तर चना र दुबै दुनोट बाले मेरो अघि राखिदिनु भयो र भन्नुभयो, ‘अझै चार पाँच घन्टा हिँड्नु छ, खाऊ।’

‘हैन, हैन मलाई भोक लागेको छैन। यो सबै हजुरले खानुस्।’ मैले खाजा बाको छेउमा सारिदिएँ। सुख्खा जिब्रो खाजा देखेपछि अनायास थुकको पोखरीमा डुबिसकेको रहेछ। रोक्छु भन्दाभन्दै बासङ्ग संवाद गर्नु परेकोले त्यो घुटुक्क निलियो। म बाको विपरीत दिशातिर फर्किएँ।

यो प्रेमपूर्ण विवाद दुईतिन पटकसम्म दोहोरियो। अनि अकस्मात् बाका आँखाहरू रसाए। घाँस पलाई नसकेको नयाँ चौतारीको भुइँ हेरिरहेका मेरा आँखाहरू पनि हिउँदको टौवाझैँ शिताम्मे भइसकेका थिए। चौतारी अघिको तेर्सो ढुङ्ग्याने बाटोमा काँधमाथि लौरी र लौरीमाथि हात अड्याउँदै हिँडिरहेका फाटफुट बटुवाहरू देखिन्थे। कतै उनीहरूले चाल पाउँछन् कि भनेर मैले आँसुलाई जबरजस्ती रोक्ने कोसिस गरेँ। सकेसम्म दुख कसैलाई देखाउन नचाहने संस्कारमा हुर्किएको मलाई अपरिचितहरूको अघि आँसुको एक बुँद पनि खसाल्न मन भएन। बालाई पनि म मेरो आँसु देखाउन चाहँदिनथेँ। त्यसको मारले बाको मन झन् बढी ध्वस्त हुनसक्थ्यो।

यति महŒवपूर्ण खाजा समाधान हैन झन् समस्या पो बन्यो। हाम्रो दुःखप्रति बिल्कुल बेखबर घाम भैरवथानको डाँडोतिर ओर्लिँदै थियो र हामी अँध्यारो नखस्दै त्यहीँ डाँडाको बेसीमा रहेको हाम्रो गुँडमा पस्नु थियो। खाजाको विवादलाई लम्ब्यायो भने उज्यालोमा गाउँ पुग्नु असम्भवप्रायः थियो। तसर्थ मैले बासँग खाजा बाँडेर आधाआधा खाने प्रस्ताव राखेँ। यद्यपि बाले पूरा खाजा नखाइदिए म अलिकति पनि सन्तुष्ट बन्न सक्दिनथेँ। बाको हालत पनि त्यस्तै थियो। बाले मेरो प्रस्तावलाई बडो कठिनतापूर्वक स्वीकार गर्नुभयो। हामी दुबैले आआफ्ना जिद्धीहरू छोड्यौँ र त्यो अनिकालको महँगो खाजा आधाआधा खायौँ- एक प्लेट चना र दुई वटा दुनोट।

त्यति मिठो खाजा मैले जीवनमा कहिल्यै खाएको थिइनँ। त्यसपछि सान्त्वनाले आफूलाई अलिक सन्तुलित बनाउँदै बा र म उज्यालोमा गाउँ पुग्न मल्याङ्दी खोलाको ओरालो झर्न थाल्यौँ। गाउँको अग्लो न अग्लो पाटेभिर देखियो। त्यसको डिलमा उभिएका सल्लाका झ्यापुल्ले रुखहरू हेर्दै मैले कल्पना गरेँ, घरमा आमा भात पकाएर बा र मलाइ कुर्दै हुनुहोला। तर अझै आधी बाटो हिँड्न त बाँकी नै थियो

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.