कविता : मेरो नेपाल

~हुसैन खाँ~hussain-khan

धरामा सुमेरू छ नेपाल मेरो
यही नै दिलैको सुसञ्जाल मेरो
तरार्इ-पहाडी-हिमाली स्वरूप
मिलेरै बनेको छ मायालु रूप
।१।

कहीँ देउराली कहीँ दून-डाँडा
यहाँ भीरपाखा रहेछन् हजार
कतै लेक-बेसी कतै खर्च-टार
जडीबूटिकै हो ठुलो नै भँडार
।२।

धरामा छ अग्लो त एभ्रेष्ट मेरो
स्वदेशी-विदेशी सबैमा छ प्यारो
विनोदी रहेछन् यहाँका हिमाल
र छन् आत्मभित्रै निकै कुण्ड-ताल
।३।

वनैमा फुल्यो फूल रङ्गी-विरङ्गी
सबै जीव-जन्तू बने सङ्ग-सङ्गी
कतै जङ्गलैमा फुलेछन् पलाँस
कतै लेकमा मग्मगाए गुराँस
।४।

ठुला निर्झी कालि-कर्णालि-कोशी
बगे नागबेली हुँदै लेक-बेसी
महाकालि-मेची रहेछन् सिमाना
बगेछन् उठाएर मीठो तराना
।५।

रचना मिति : २०६२।०४।२५

हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।
नोटः यो रचना पल्लव साहित्य प्रतिष्ठानबाट प्रकाशित मरूद्यान कवितासङ्ग्रह– २०६५, को पेज नं. २५ बाट साभार गरिएको हो ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.