कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~Uttam Krishna Majgaiyan

झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि
संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि
आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ
ढाँटेरै जनतालाई गुमराह बनाउँछ !

स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा
उन्मुक्तिका कुरा गर्छ आफैँ पर्दछ जालमा
नचाएँ भन्छ लौ आफैँ इसारा मिल्छ नाच्द
उज्यालोको कुरा गर्दै भ्रम ओढेर बाँच्दछ !

निर्लज्ज भै कुरा गर्छ आफ्नो त्यो मोहभंगको
पीडा हजार खप्दै छन् जनता स्वप्नभंगको
खेलाडी क्रूर झैँ हाम्रो भावनासँग खेल्दछ
विश्वास छैन आफैँमा क्रान्तिको ध्वाँस पेल्दछ !

उच्च जीवनशैली छ धनको भोक मात्र छ
आफू मात्र सही बाँकी सबैको दोष देख्दछ
जनता निमुखा लाटो ठानेरै भ्रान्ति छर्दछ
सत्तामा भाग खोज्नेले कसरी क्रान्ति गर्दछ ?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.