एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू-

लक्ष्मीः एक अधबैँसे युवती
नरनाथः एक अधबैँसे युवक
रञ्जनाः एक ठिटी
पुष्पकमलः एक बालक

नेपथ्यमा रहने अन्य केही पात्रहरू

-बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे युवती काम गरिरहेकी छिन् । एक ठिटी पढलेख गरिरहेकी छिन् । एक बालक खेलिरहेको छ । त्यसैबेला नरनाथलगायतका केही पुरुषहरूको आवाज आउँछ । नरनाथ भने सिकुवातिर उक्लिन्छन् । अरू पुरुषहरू बाटोबाटै अन्यत्र लाग्दछन् ।)

नरनाथ-ः -झोला राख्दै र लक्ष्मीतर्फ ध्यान केन्दि्रत गर्दै) आउँदाआउँदै ढिलो भइगो, साथीहरूले घेरी हाले ।

रञ्जना-ः -मामा नरनाथतर्फ फर्केर) हिजो तपाईंले बिहान सबेरै खाना तयार पार्नु भन्नुभएको थियो नि । माइजूले हतारहतारमा खाना तयार गर्नुभएको छ । खाना खान बस्नुभए हुन्थ्यो ।

नरनाथ-ः हुन्छ, हुन्छ भाञ्जी, तिमी चाहिँ खाना खाइहाल र फटाफट स्कुल गइहाल ।

रञ्जना-ः -मुस्कुराउँदै) हुन्छ, हुन्छ मामा, म कपाकप भात खान्छु र फटाफट स्कुल जान्छु ।

नरनाथ-ः -हाँस्दै) अनि स्कुल पुगेर थ्याच्च बेञ्चमा बस्नु तर साथीलाई प्याच्च केही पनि नभन्नु नि । -ऊ हाँस्दै झोला लिएर स्कुलतर्फ हिँड्छे ।)

लक्ष्मी-ः -छोरातर्फ हेर्दै) जाऊ नानी, बाबालाई खाना खान बस्नुस् भन ।

नरनाथ-ः छोरो बाबालाई बोलाउन सक्ने भा’को छैन । आमा, छोराले खाना खाए भयो । मैले साथीहरूसँगै होटलमा खाएँ । मलाई पर्खनु परेन ।

लक्ष्मी-ः आमा, नाम मात्रकी आमाले के गर्न सक्छे र ? फेरि तपाईंको संविधानमा छोरो आमाको पनि हुन्छ र ?

नरनाथ-ः नानाथरीको अड्को थापेर कुरो नलम्ब्याऊ है । भेटिएका साथीहरूसँग एक क्षण गफिँदा के अनिष्ट भो त ? ढिलो भए पनि बरालिएको त हैन नि ।

लक्ष्मी-ः -केही रिसाउँदै) मेरा इच्छा आकाङ्क्षालाई बुझिदिनुस् भनेर निवेदन गर्दा मेरो के गल्ती भो ? छोरालाई हर्लिक्स ल्याइदिनुस् भन्दा मेरो के अपराध भो ? चाहिँदा काम कुरा चाहिँ एक कानले सुनेर अर्को कानले उडाउँने र नचाहिँदा काम कुरामा चाहिँ सामलखाजा लिएर लागी पर्ने श्रीमान्लाई श्रीमतीले केही भन्न नपाउने ?

नरनाथ-ः रिसाए कसको अनुहार अँध्यारो हुन्छ र ?

लक्ष्मी-ः उज्यालो अनुहार लगाउन त तपाईँले कहिले दिनुभएको छ र ?

नरनाथ-ः जहिले पनि ‘के निउँ पाउ”m कनिका बुक्याउ”m’ जस्तो नगर न । श्रीमान्सँग जोरी खोज्नुहुन्न क्या ।

लक्ष्मी-ः -अझ रिसाउँदै) म तपाईंकी को हुँ र, तपाईंसँग जोरी खोज्नु । सानो प्रस्ताव के राखेकी थिएँ, मलाई त परपरै राख्नु भो है ।

नरनाथ-ः तिम्रो नचाहिँदो प्रस्ताव स्वीकार्नुपर्छ भनेर कहाँ लेखेको छ र ? गनगन गर्ने यी आइमाईहरूको बानी नै खराब । चाहिँदो कुरामा त ठीकै छ । नचाहिँदो काम कुरामा पनि बडो गनगन । कहिलेकाँही यिनेरूले श्रीमान्को कोर्रा त खानैपर्ने हो ।

लक्ष्मी-ः -क्रोधी भएर) तपाईं र तपाईंको समाजकै बानी राम्रो । नारीलाई पैतालामुनिको धूलो सम्झने तपाईंकै समाजको परिपाटी राम्रो । समाजको कुसंस्कारी रीतिथितिलाई मलजल दिने तपाईंकै चालामाला नै असल । समय जति छिप्पिए पनि नारीलाई हेर्ने तपाईंका दरिद्र आँखा नै असल । अनेकन् परिवर्तनका बाबजुत पनि तपाईंको पुरातनवादी सामन्ती सोच नै सर्वत्र जाति नै जाति ।

नरनाथ-ः -क्रोधी हुँदै) ऐ तँ निकै बाठी हुँदै छेस् । तँ हरतरहले लक्ष्मण रेखा नाघ्दै छेस् । तैँले उत्पात मच्चाउन मिल्दैन । मेरा लागि तँ को र के होस् भन्ने बुझेकी छेस् ? तँ त मेरा लागि तेरा बाउआमाले दान दिएकी मान्छे मात्र होस् । दानमा पाएको कुरो त्यत्ति अमूल्य र अनमोल हुन्न । के घुर्की लगाउँछेस् ?

लक्ष्मी-ः -क्रोधी अवस्थामा नै रहेर) ए तिमी रातभरि अलप भएर बिहानभरि बरालिएर रहँदा उत्पात भएन ? मैले सुसेधन्दामा अलमलिएर यो चार दिवालभित्र नै थुनिएर बस्दा पनि उत्पात भयो । बदलिँदो समयअनुरूप चलौँभन्दा घोर आपत्ति भो ? तिम्रो यही स्वभावले त म जलिरहेकी छु, गलिरहेकी छु र पाकिरहेकी छु । तिमी अहङ्कारी पुरुषको पैतालाको धूलो बनी जीवन गुजारा गरिरहेकी छु । हेर, अब तिम्रो धम्कीले डराउने जमाना गए । तिम्रो अभावमा मेरा हातगोडा कुँजा हुन्छन् भनेको होला । बरु तिमी पो भ्रममा छौ । यस्तो कदापि नसोच । मेरो साथमा मेरो छोरो छ, छोरो । मसँग के छैन र म तिमीलाई बाउआमाले दिएको दान भइरहने ? अब यस कुराको छिनोफानो हुनुपर्छ । के मलाई तिमीले कोठामा सजाएर राखेका छौ ? दिनभर काम गर्नैपर्छ । काम गरेपछि माम जहाँ पनि पाइन्छ । -छोरातर्फ नजर लगाउँदै) म यसकी आमा हुँ । मेरो थर यसले पाउनुपर्छ । यस बारेमा मैले तिमीलाई पटकपटक भनिसकेकी छु । आज त्यसको छिनोफानो हुनुपर्छ ।

नरनाथ-ः -र्झकंदै) बडो बहस गर्छेस् । तैँल्ो त तेरो बाउको थर पाउँदिनस् भने तैँले जन्माएको यो छोराले कसरी तेरो बाउको थर पाउँछ ? तँलाई तेरो बाउको वंश चलाउने इच्छा रहेछ । तेरो त्यो चाहना पूरा गर्ने ठेक्का मैले लिएको छैन । जा, पहिले तेरो बाउसँग बहस गर अनि मात्र मकहाँ बहस गर्न आइज । अर्को कुरा कान खोलेर सुन- यस घरको र तेरो मालिक म हुँ म । तँ त खोजेर ल्याएकी न होस् । मुखमा ताल्चा लगाएर बस्, बस्नु नै छ भने । हैन यसो गर्न सक्दिनस् भने तँ आफ्नो बाटो आफैँ बना । मनपरी भन्ने र मनपरी गर्ने नै हो भने तेरो आकाश खुल्ला छ । म तेरो आकाशलाई बादल बनेर छेक्दिन । मैले तेरो लागि गर्नसक्ने यत्ति नै हो ।

लक्ष्मी-ः -च्याठ्ठँिदै) भो, तिमी नै बस, यस घरमा, नारीलाई पाल्तु कुकुर सम्झने यस मसानघाटमा । जहाँ नारीको नामै रहँदैन त्यहाँ मैले कसरी बस्ने ? -जोसिँदै) म तिम्रो गुलाम हुँ

र ? के म तिम्रो खेलौना हुँ ? खेलाउन मन लागुञ्जेल खेलायौ खेलाउन मन नलागेपछि तिरस्कारको चरमोत्कर्षमा पुग्यौ हैन ? मैले तिम्रो के खाएकी छु र ? यहाँ तिमीले मलाई के दिएका

छौ ? -रिसको उत्कर्षमा पुग्दै) एक चिम्टी सिन्दूर र एक लुङ पोते दिएँ भन्दैमा मलाई जता मन लाग्यो उत्तै फर्काउँछौ ? तिमीले जति सताए पनि म सहेर बसुँ ? अहँ, अबदेखि मबाट त्यस्तो काम हुन्न । म न तिम्रो मनोरञ्जनको साधन हुँ न सन्तान जन्माउने मेसिन ।

नरनाथ-ः होसमा आएर कुरा गर् । तँ पूरै स्वतन्त्र छु भन्ठान्ने नगर ।

लक्ष्मी-ः म पुरापुरी होसमा छु । तिमी चाहिँ यस धर्तीमा स्वतन्त्र म चाहिँ परतन्त्र ? तिमीले फेर्ने श्वास र मैले फेर्ने श्वासमा के भिन्नता छ ? तिमीले खाने गाँसमा र मैले खाने गाँसमा के भिन्नता छ ? हेर, मात्र तिम्रो स्वार्थ पूरा गर्न म मेरो अन्तस्करणको आवाजलाई तिलाञ्जली दिन सक्दिन । -छोरातिर हेर्दै) यसलाई तिम्रो समाजले तिम्रो छोरो मान्छ तर यो मेरो हो । मुखले तेरो पनि हो भनेर हुँदैन । उधारो सम्झौता गर्ने र नारीलाई सङ्कुचित घेरामा दास बनाएर राख्ने दिन गए । यसको नामसँग तिम्रो मात्र हैन मेरो पनि नाम गाँसिनुपर्छ । एक जिम्मेवार आमा भएर मैले यत्ति चाहेँ त के बिराएँ ? -एकक्षण सन्नाटा छाउँछ ।) तिमीले कुरो बुझ्यौ ? यसको नामसँग तिम्रो मात्र हैन मेरो पनि नाम गाँसिनुपर्छ । यतिखेर एक आमा बोलिरहेकी छे । प्रसवपीडाले आक्रान्त भएकी आमा वात्सल्यप्रेमको साँचो मूल्य खोजिरहेकी छे ।

नरनाथ-ः समाजमा नभा’को कुरो नगर है ।

लक्ष्मी-ः ए तिमीलाई मेरो नाम, मेरो हक दिन डर लाग्यो हैन ? विवाह बन्धनमा बाँध्ने तिम्रो समाजलाई भन्न सक्दैनौ ? म मेसिन हैन, मान्छे हुँ मान्छे । मान्छेले मान्छेको हक खोज्छ । चाहे त्यो पतिले हरण गरेको होस् या अरूहरूले । -अलिक सहज भएर) हेर, दाम्पत्य जीवन सुखमय बनाउन साहसले पुगेन भने दुस्साहसको पनि खाँचो पर्छ । मलाई तिम्रै पत्नीको रूपमा हेर्न चाहन्छौ भने यस पुरातनवादी समाजले धर्मको नाममा, संस्कृतिको नाममा अनि परम्पराको नाममा लादेको यो नियम बाहिर आऊ । बाटाका हरेक तगाराहरू तोड्दै र फोड्दै आऊ । म तिम्रै साथमा रहनेछु । यस समाजले हाम्रासामु घुँडा टेक्नुपर्छ । यसो भएमा मात्र यो एक्काइसौँ शताब्दीको समाज कहलिन्छ ।

नरनाथ-ः -शिर निहुर्‍याउँदै र घोरिँदै) हेर्, यो समाज मलाई पनि चाहिन्छ, तँलाई पनि चाहिन्छ ।

लक्ष्मी-ः चाहिन्छ, चाहिन्छ सबथोक चाहिन्छ । मलाई तिमी चाहिन्छौ, तिमीलाई म चाहिन्छु । यो मलाई पनि थाहा छ । भन, तिमी यस नारीको श्रीमान् बन्न रुचाउँछौ या रुचाउँदैनौ ? तिमीलाई पनि थाहै होला । विज्ञान भन्छ- यो सन्तानको प्रत्येक अङ्गप्रत्यङ्ग मेरो रगतले बनेको छ । मेरो प्रसवपीडाले त भनिरहेछ- मेरो देन कैयौँ गुण ठूलो छ । तिम्रो देन त बालुवाको कणसरह छ । यो कुरा तिमीले कहिल्यै सम्झेका छौ ? विचार गर, अरू सोच । बच्चा जन्माउन लोग्ने नै हुनुपर्छ भन्ने छैन । एकै क्षण लोग्नेमान्छे भइदिए काफी हुन्छ । तिमीलाई थाहा छ ? तिम्रो बाबु यही हो भनेर चिनाउने काम आमाले गर्छे, आमाले । त्यसैले आमा सन्तानको लागि सत्य पात्र हो । बाबु त आमाको विश्वास पात्र मात्र हो । त्यसैले तिमी राजी हुन्छौ त ठीक छ । समानताको अंशियारमा सहभागी बन । म लक्ष्मी रिजाल, तिमी नरनाथ आचार्य । आधा मेरो आधा तिम्रो थर मिलाऔँ । हाम्रो छोराको पूर्ण नाम भयो- पुष्पकमल रिचार्य ।

नरनाथ-ः -छक्क पर्दै) लक्ष्मी, तैँले यो के भनेकी ? मलाई पनि बोल्न दे न । हाम्रो परम्परालाई नतोड् । तेरो प्रस्तावलाई मैले स्वीकारेँ भने यो समाजले तीखा भाला लिएर मलाई घेर्नेछ । त्यस बेला म के उत्तर दिऊँ ? तेरो यो गुलियो भाषणले उनीहरू टेर्नेवाला छैनन् ।

लक्ष्मी-ः टेर्छन्, अवश्य टेर्छन् । हेर, यो समाज कुसंस्कारीको मात्र हैन । यो समाज अग्रगमन चाहने हरेक नर र नारीको पनि हो । नौलो कुरो सुरुमा अपाच्य हुन्छ । विस्तारै पाच्य बन्दै जान्छ । यस कुराको उद्घाटन तिमी र मबाट गरौँ । सारा समाजको घोचो उठ्ला तर आफैँ लत्रेर पनि जान्छ किनभने यो समाजमा महिला अघि र पुरुष पछि हुनुपर्ने हो । महिलालाई चिनाउन पुरुष अनिवार्य छैन तर पुरुषलाई जन्माउन महिला अनिवार्य छे । -नरनाथको हात समाउँदै) आऊ, तिमी र म सँगसँगै नौलो धर्ती टेकौँ । हामीलाई साथ दिने धेरै छन्् । हुनु नै पर्छ । अब त होस्मा आऊ । आऊ छोराको हात समाऊ । यो आधा तिम्रो ः आधा मेरो हो । -दुवैले छोराको हात समाउँछन् र मुस्कुराउँदै कोठाभित्र छिर्छन् । पर्दा खस्छ ।)

तपेश्वरी-१,गल्फडिया,उदयपुर

(श्रोत : मधुपर्क फागुन, २०६५ )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *