नियात्रा : हिलेखर्कमा हाइसन्चो

~युवराज नयाँघरे~Yubaraj Nayaghare

भई त गयो बियाँलो अनेक परिबन्द मिलाउँदा मिलाउँदै ढिला भयो । छिम्काको लेकबाट विदा हुन साह्रै हम्मे प¥यो हामीलाई । धेरैतिर बिदावारी हँुँदाहुँदै ढल्किहाल्यो दिन ।

हिलेखर्क हिँडेर पुग्छु भन्नेहरूको ताइँ ढल्दो दिनले लिने भो मज्जैले । वरपरकाहरू सुनाइरहेथे दुरन्त खबर । छिम्काको लेखकमा मेलाको रौनक गम्किरहेथ्यो बेस्सरी । घन्किरहेथ्यो दोहोरी जमिरहेको थियो कौरा, उर्लिरहेको थियो घाटु र छचल्किरहेको थियो छेलो । लेग्रो तानेर गुर्सिनीहरू झाम्रे गाइरहेकै थिए । मगर्नीहरू सेल पकाइरहेकै थिए । पाखाभरि कर्के नजरमा मोहनी साटासाट भइरहेकै थियो । ओठ टोकेर कटाक्ष चलिरहेकै थियो । तैपनि रोकिएनौं हामी । अडिएनौं हामी छिम्कामा ।
कसैगरी पुग्नु थियो हिलेखर्क । अघिल्लो दिनभरि हिँडिएथ्यो पासुँला बटारुन्जेल । आजकै बिहान पनि सँगै निकाल्ने उकाली र ओहालीमा तीनघण्टा मज्जैले ओहोरदोहोर गरेथेँ मैले पिडुँला फर्केथे बढ्ता हिँडेर ।

अब फेरि हिँड्नु थियो कडैसँग । नहिँडी सुखै थिएन मैले । पैताला नदुखाई धरै थिएन मैले । छेपारी नदोब्राई भएकै थिएन मैले ।
वनतरुल, भ्याकुर र गिठ्ठा खुब खाइयो । सेल गुन्द्रुक र साँधेको भट्ट बेस्सरी खाइयो । पानी अमला, हर्रो र बोजो पटक–पटक चुसियो । घामले पुछेका सुकिला थुम्कामा दगुरेका वायु लिएर फोक्सो बलियो पारियो ।
छातीमा छपक्क छ छिम्केश्वरीको माया †
बल्ल चारबजे हामी छुर्दुराउन पायौँ हिलेखर्क । बियाँलो भइसकेको छ । दोष कसलाई दिने ? कुनै सीमा हुँदो रहेनछ माया गर्नेहरूको । जात न धर्म, उमेर न हैसियत जुनै नि हुने माया गर्नेको अधिकार ।
त्यही अधिकारको चेपुवामा परेथ्यौँ हामी, छिम्कामा ।
झोला काँधमा बोकेर उठेपछि मुस्किलले विदा पायौँ हामीले । छिम्काको हार्दिकतालाई सँगेटेर गाडिएका खुट्टाले बल्ल पाए अनुमति ।
गीतको रम्म रन्को छ कानभरि । आँखाभरि छ यो लेकको खुल्दुली र खित्का परेलीभरि पोतिएको छ पहाडी चमक ।
सात हजार फिट उचाइको लेकको मध्य ढाड छोेडेर पूर्वलाग्दा ओइरिइरहेकै थिए मान्छेहरू । जात्रेको हुल चुलबुले थियो, चञ्चले थियो र चर्तिकले थियो ।
मेलाको लोलोपोतोमा परिसकेथे ती ।
खुइलेका गोडाले भनिसकेका छन्– ‘आज नि हिँडाइमा परियो । अघिल्लो जुनीमा रिनै खाइएको रै‘छ नयाँघरेको †’
आँखैले नभ्याउने आयो घाँसे चौर ।
तनहुँ, गोर्खा, उदयपुर, ललितपुर, भक्तपुर र रोल्पाली साथीहरू मसँगै मिलाइरहेकै छन् पाइला । अरु तन्नेरी मित्रहरू निकै अघि पुगेर सुसेला हालिरहेका छन् । लाग्छ, कुद्न मात्र जानेका छन् तिनले । थामिनु र रोकिनु तिनको जीवनको अपराध हो– त्यस्तै लाग्छ हस्याङफस्याङ र दगुराइ ।
पहाडका थुम्का आँखा सामु टुप्लुकिन्छन् । टुप्पा–टुप्पा टेकेर हिँड्न पाए कति आनन्दी हुने ? दिनभरिको बाटो त घन्टाभरमै सखाप ††
मैले मनचिन्ते लड्डु खाएँ क्वाप्प ।
जात्रा भर्न आउने र जानेको लर्को भेटिरहेको छु म । आँखामा उज्यालो थपेर, शरीरको सारा बैंस बोली र स्वरमा उतारेर बेगिएको त्यो बयान भरे अथवा भोलि कुन गतिमा घर फिर्ला ?
मोदनाथ मरहठ्ठा प्रश्न हु¥याउँछन् हामीतिर । उत्तर छैनन् हाम्रा आँखामा । निकै अक्करे ओराली झरिनसक्दै रमाइलो टारबारीमा थपक्क बसेका भव्य घरहरूले जम्ला हात गरेर हामीलाई । घुमाउने आकारका ती घरका आँगनमा देखिन्थे बाँस ताछेर डोकाडाला बुन्नेहरू । लस्करे घर नाँघ्दै पूर्व हान्निएका छौँ हामी । सबैले छोडे पनि उदयपुरे मातृका र गोर्खाली नारायण घिच्च्याइरहेछन् मलाई ।
टुप्पी पोल्ने तातो छ घामको †
सबै कुरा थाति राखेर हिँड्नु छ । समयका जुइना चुँडाल्दै, समयकै धोक्रा सिउनु परेको छ ।
जलजलाउँदा फोका कति उठे थाहा छैन, गोडामा । नयाँ जुत्ताको निरङ्कुशता हिजैदेखि खेपिरहेका छन् यी गोडाले । कठै, तैँ चुप मै चुप भएर लस्किरहेका एकोहोरो । तिनको बिजोग खप्ने म, सुन्ने धर्ती †
बाटो तल फाँट छ । फाँटतल छङ्गाछुर भीर । तल धेरै तल खोलो दगुरेको देखिन्छ । अझ पर पहाडका धेरै तहमा नीलो, हरियो रङ मिसिएर अनौठो चरित्र छरिएको छ जताततै । पहाडका तरेलीमा देखिन्छ सयौँ रङको मुजैमुजा ।
‘बास बस्न त पुग्ने हो नि । ज्यानै मारेर केको हिँड्नु †
फटाफट हिँडिरहेकाहरूसँग विचार बाझ्छ मेरो । चित्र सोल्टीसँग सारलाई लाई हिँड्छु । तिनको ज्यान नि उकालोमा गुडिहाल्ने भुँड्को जस्तै छ ।
पहाडका बीच, फेद र टुप्पातिर कुदेका गोरेटा हेर्दै आफूले दगुरेको बाटो विचार्छु । गोरेटोको सुन्दरता हेर्नु परे पहाडका थुम्कामा बस्नुपर्छ । अनि देखिन्छ अद्भूत सौन्दर्य †
‘दुई पहराले बाटो छेक्या छ, गाडी आउनलाई । नत्र यति विकट हुने थिएन यो भेग †’ भोलिको सुगमताबारे जान्दै छु अनिल श्रेष्ठबाट ।
महाभारत डाँडाको मझधारमा छु म । यी ढुङ्गेनी र भिराला थुम्कालाई पढ्दै हिँडिरहेको छु । दुख्न थालेका छन् खुट्टा । झोलाको हैरानी त नबिर्सिने कुरो भइगो नि †
बाक्ला वन र बस्तीको द्वन्द्व बढेको देखिन्छ । कतै वन दुब्लो कतै बस्ती निर्धो । बढिरहेको देखिन्छ छेकथुनको ढाँचाकाँचा ।
जिउ गनाएको छ । धुलो, गर्मी र पसिनाको मिश्रणले र बाफिलो गन्ध बनेको छ शरीरमा ।
निरन्तरको लम्काइले जिउ धुलिन मात्र बाँकी छ ।
तेर्छो आयो । ओराली सम्झँदा त रगत समेत जम्छ मेरो । उकालो चैँ तै बिसेक ओरालीमा त लगलग खुट्टा काम्छन् मेरा ?
२०६५ फागुन २७ गतेको दिन हुनुपर्छ । आज तनहुँको दक्षिण पश्चिमी यो विकटतातिर लर्किएको छु म घाँस–स्याउलाको संसार छ जहाँ । हलो किसानीको दुनियाँ छ जहा“ । अहोरात्र अभावले खबरदारी गरेको गरेकै छ जहाँ ।
प्रदुषणमुक्त प्रकृति छ । परम्पराको अपारनिधि छ । प्राचीन जीवन पद्धति छ । यी सँगै अप्ठ्याराहरू छन्, अविकासहरू छन्, असहजहरू छन् । विषमताका विशाल गुजुल्टामा बाँचेका यी पहाडका सुन्दरतामा हिँडिरहेछु म हिरिक्किएर ।
समय र बाटोमाथि देखियो भयानक दृश्य । ढुंगैढुंगामा ओकलेका पहाडहरूको शृंखला थपिन्छ । ढुंगेनी लेदोले लिपिएको छंगाछु र भीर ।
‘चुन ढुंगाको खानी हुन सक्छ †’
नारायण पोखरेलको भनाइ सुनिन्छ ।
यो देशका सबै पहाड, खोँच, ओडार, अक्करे भीर कुनै न कुनै खानी वा अमूल्य खनिजका सम्भाव्य भूमि हुन् । तर, तिनलाई निहाल्ने, गम्ने, खोतल्ने र गहिरिने आँटको खाँचो भएको हो हामीलाई । बाटोभरि यही कुराले निकै हिँडायो मलाई ।
गुरुङ मगरको बाहुल्य भएको क्षेत्र यो । असाध्यै सरल लाग्छ यो जाति । हार्दिक र स्नेही पनि । आफ्नो मौलिक कला, संस्कृति र सम्पदालाई जोगाउन लागिपरेको छ यो सम्प्रदाय ।
जनजातिका छोराछोरीलाई अक्षर रटाइरहेका मरहठ्ठा रिठ्ठो नबिराई बताइरहेछन् हामीलाई ।
झन् बढ्यो हिँडाइ । पुग्ने ठाउँ कल्पे र यसो भइरहेको छ । हल्लनटाट ज्यान खुब घिसारिरहेको छु म । लाग्दैछ, हाड–छाला मात्र बाँकी छ ।
डढेलिएको भीर र कान्ला निकै छिचोलिसकेका छौँ । कालो पहाड भन्ठानेको त डढेलाले खाएको थुम्को पो परेछ । हामी हिँडे पश्चिमको अग्लो डाँडा धुवाँइरहेको छ, छ ।
नयाँ घाँस पाउलिएला भनेर लगाइएको आगोले कति कुरा खरानिन्छन् भनी साध्य भए पो † साना बिरुवाको त कुरै छोडौँ, जमिनमुनि बस्ने सयौँ प्रजातिका जीवजन्तु कति स्वाहा होलान् ? बहुगुणकारी वनौषधि कति समाप्त होलान् ?
के यता ध्यान पुग्छ ?
घाम झरिरहेछ डाँडाबाट तल–तल ।
थुम्कै थुम्का । पहाडै पहाडका चेपमा मुस्काइरहेको मौसमको सौन्दर्य । चिसा, हरिया र लहरैलहराले अँगालिएका चेपहरूको सुन्दरता । चराजस्तो उडेर जाने मनले देख्छ– धेरैधेरै थोक ।
भीरसम्म फिँजारिएको छ घामको पखेटा । भीरमुनि देखापर्छ बस्तीको सम्पन्न तस्बिर । विसङ्गत र विषमताको दोहोरो गीत गुञ्जिन्छ मनभरि ।
उत्तरपट्टि देखियो कम्मर छिनेको पहाड ।
‘प्रकृतिले तरुनी बनाउन खोजेको पो थियो कि ?’
‘हैन, उझिन्ड्याउन मिल्ने गरी फर्सी फलाउन खोजेको हो कि ?’
मातृका पोखरेल र नयाँघरेबीच अनुमानका कुरा भए ।
कुराले हँसायो । अलिक भए पनि छोट्टियो बाटो । हो, तेर्छो छ बाटो । आज निकै सहज भएको छ ।
बन छ अलिअलि पाउलिएको । चुत्रो, ऐँसेलु, काफल, पानीअमला फाट्टपुट्ट भेटिन्छन् । टिप्छु, चाख्छु र नयाँ“ स्वाद जिब्रोमा राख्छु । पहाड डुल्नुको मस्ती यै हो– पारख गर्न पाइन्छ प्रकृतिलाई ।
एउटा थुम्को काटिनसक्दै अरु धेरै डाँडा र चुचुराहरू पसारिन्छन् आँखाअघि । दायाँ–बायाँ, अघि–पछि जताततै बग्रेल्ती पहाडहरूका नागी र थुम्काहरू । थुम र थरीथरीका पर्वतहरू ।
मलाई लाग्छ– डाँडाहरू मात्र तन्काए योे देश कति ठूलो हुन्छ होला ? जमीन अनपेक्षित अग्लिएर अनि थुप्रिएर यो देश सानो भएको हुनुपर्छ †
‘सारा देश सम्याउने योजना कुनै दिन विश्वमा आए नेपालको क्षेत्रफल अवश्यै बढ्नेछ †’
यो अनपत्यारिलो तर्कले एकछिन मज्जाले हिँडाउँछ मलाई ।
बाटो हलुका ओरालो छ र तेर्छो पनि । दम्साइलो उकाली र गुडुडु कुद्न नै मिल्ने फराकिलो गोरेटो छ । बाटो छेकेर बसेका पोथ्राका पात चुँड्दै, सुु“घ्दै हिँड्दैछु म । वनस्पतिका हजार गन्धले एउटा भिन्न आनन्द मिल्छ ।
‘खरी, चुनका उद्योग चलाउन मिल्ने पहाडहरू छन्, यतातिर ।’
अगाडिको सेते भीर देखेर अनिलजीको तर्क सुनिन्छ ।
वास्तवमा खोजीनीति गरे अरु थुप्रै सम्भावनाका संकेत देशभरि नपाइने होइनन् । मात्र रह्यो । जाँगर अनि योजना । केवल भागवण्डाको खोंचे थापेर बसिरहेका छौँ हामीहरू । यो हो लुकाउन नमिल्ने तीतो सत्य ।
निकै छिचोलियो तेर्छो ।
अब त कोल्टिएर पछाडि प¥यो पहाड । अनि ओह्रालो र सिधा बाटोले बोलायो हामीलाई । फनक्क फन्को मारेर थुम्को अगाडि अब निकै हिँड्नुपर्ने देखियो । जतिसुकै आनाकानी पनि हाथ्र्यो यो बाटोसामु ।
चरापानी पुगियो ।
रमाइलो, एकदमै रमाइलो नाम । चरालाई खान पुग्ने जरुवा पानी भएको रसिलो पहरोमा थियो, चरापानी । कुनै बेला चरालाई मात्र पुग्थ्यो होला त्यो पानी आजभोलि सिंगै बस्तीलाई पुग्ने पानी संकलन भइरहेको देखियो ठूलो ट्याङ्कीमा ।
आँत शितल पा¥यो चिसो पानीले ।
थकाइ मारियो । खुट्टाको दुखाइ र गनगन चर्कै छ । सुन्ने ठाउँ र भन्ने निकाय कतै भए पो † अचाक्ली हिँडियो हिजो । आज बिहानै झन् बेस्मारी हिँडियो । खुट्टाका औंला ढुट्टिएर सकिएकि भन्ने लागिरा‘छ । नयाँ जुत्ताको दगल्याइमा परेका छन् खुट्टाहरू ।
होलीको दिन आज । बिहानका रङ लोला सम्झन्छु ।
उकाली छ तर्पाया । हावाको फुइँकी चल्छ । निकै चिसो हुन्छ । तेर्छिएको बाटोले गुलियो चटाएर तानिरहेछ हामीलाई । उकाली र ओरालीभन्दा तेर्छो हाम्रा लागि अघोरै आकर्षण भएको छ । आज पनि घन्काएँ घडी खल्तीमा । अब उसको खटनपटन रहेन । मेरो उर्दी र आदेशमा समय चल्ने भो । नारीमा घडी बाँध्यो कि एकखालको आतंकमा बाँच्नुपर्ने । त्यही रिसले खल्तीमा कोचेको मैले, घडीलाई ।
लौ खास् त समय †
मुस्किल छ चट्टानबाट जोगिन तिखा, चुच्चा, चिप्ला र उबडखाबड ढुंगाहरूले कब्जा गरेका छन् सर्वत्र । लर्बरिन्छन् खुट्टाहरू ।
हिँड्नु छ अनि फेरि हिँड्नु †
नौला–नौला फूल देख्छु । जंगलभरि सुवा छ अनौठो अनौठो । फूल चँुडेर हेर्छु– प्रकृतिले सबै कुरा मिलाएर दिएको छ ।
सिर्सिरे हावाले वनको सुवास हाम्रा छातीभरि हुलेको छ । स्याबास फूल हो तिमीहरूका सुगन्धले मेरा पाइलालाई जाँगर दिएको छ आँधीसँग ।
घाँस काटेर वनबाट फुत्त निस्केका आइमाई भेटिए । पहरे ढुंगामा भारी बिसाएर निधारको पसिना पुछ्दै थिए ती तिनको राताम्मे अनुहार अझ उज्जर र चकिलो देखियो ।
‘तलको बस्तीको नाम के प¥यो ?’
मैले जान्न खोजेँ ।
‘घलडाँडा ?’
अलिक अधवैंसेले एकशब्दसँगै दुई पाथी मुस्काई ।
‘वनमै छ त घर तपाईंको † किन घाँस काट्न वन पस्नुभा‘नि ?’ ठट्टा पस्केँ मैले ।
‘घाँस काट्ने त निहुँ मात्र पो †’
जब्बरिएर बोली अर्की ।
उसको ‘निहुँ’ बुझ्न त मन थियो नै । म गफिएको देखेर साथीहरूले थालिहाले बोलाउन । कुरा अधुरो भो । अपुरो मन लिएर बुर्कुसिएँ म ।
बस्तीमा डुब्ो घामको सुन्दरता आकर्षक थियो निकै । हावामा फिर्फिराएको घामको छिरबिरे रङ मोहक थियो ।
फेरि रमाइलो बस्ती आयो । खरले छाएका राम्रा घर । बस्ती दक्षिण थियो बाँसघारी । हावाले पर परसम्म पु¥याएको देखिन्थ्यो बाँसका पट्यास ।
थकाइ, भोकले शरीरलाई निमोठ्न गरेको भान भएकै हो । के गर्नु, ओठमा नल्याई किलकिलमै दबाइरहेको छु म ।
तिघ्रा जोडिएर हिँड्न नसकिरहेका मोटा सोल्टी र म पथ्र्यौं सँगसँगै । म ढिलो हिँड्ने, उनी हिँड्नै नसक्ने– खुब हल मिलेका गोरु भयौँ । अनि त दाँवल भएर पाइला घिसारिरहेछौँ हामी । अरुहरू छोड्थे, प्रायः हामी दुई सँगै हुन्थ्यौँ गनगन, गुनासो गर्दै बाटोलाई सराप्दै ।
हन, कति हिँडियो ?
नारायणजी टोपी मिलाउँदै भन्छन्– ‘गाउँकालाई थोरै, शहरकालाई धेरै †’ व्यंग्य ‘होइन’ भन्छु र आफैलाई हिँडाउँछु म । किनभने पुग्नुपर्ने अझै धेरै पर छ । त्यस कुराको प्रमाण डुबिसकेको घाम पनि हो । बेनाम पहाडको एकान्तले अरु थप आधार दिइसकेको छ । मात्न तयार भएको बजार भेटियो–घलडाँडा बजार ।
नीला प्लाष्टिकका झुप्रे तीन चार पसल थिए, बाटोका बायाँपट्टि । फागुपूर्णिमाको होलीको दिन । रंगिलो चालामाला यता पनि देखियो । सबै पसलमा उसिनेका तरुल, गिठ्ठा, भ्याकुर र तारेभुटेका अनेक परिकार थिए । यो राताम्मे हुने होडबाजीको घलडाँडो बजारमा एकछिन हामी रोकियौँ र गोडालाई विश्राम दियौँ ।
‘पुलामी, चोर्ची, प्राङ्साहरूको बस्ती हो यो । तपैं सर्कारी मान्छे हो भने सत्ते कुरा मात्र लेख्नुस् †’
ठुटे नेताजस्तो लाग्ने एउटा गन्धेले बतायो मलाई । ऊमतिर हेरिहे पनि उसका खुट्टाले राम्ररी ठाउँ टेकेका थिएनन् पटक्कै । सबै झुप्रामा जाँडको खोलो बगिरहेको थियो, दोहोरी घन्किसकेको थियो र रौनकता रन्किसकेको थियो ।
घलडाँडाको मादक साँझलाई बाई बाई गर्नुप¥यो हामीले ।
पारिदेखिएका भोटेस्वाँरा, भकुन्डी, रसौली, मझुवा, खेप्रसिङ, बाथलडाँडाको चकमन्न संसार निमग्न थियो आफैँमा । चुपचाप, ती बस्तीहरूमा देशको रगत अविच्छिन्न बहिरहेथ्यो… बहिरहेथ्यो ।
लौ बाटो फनक्क मोडियो उत्तरतिर ।
अनि फेरि भेटिए जात्रे तरुनीहरू । बाटो छेवैको रुखको फेदमा तीन जोडी डबको जाँडमा दिइरहेथे दिलोज्यान ।
‘मदिरा, मादल, मावली र मायाप्रीति जनजातिका सबैभन्दा प्यारा कुरा हुन् । यिनै चार ‘म’ ले यिनीहरूको जीवनशैली, परम्परा र सभ्यता लियो भएर गएको छ, ।’
चार ‘म’ को महिमा बताउने पनि ‘म’ नै अर्थात मोदनाथ मरहठ्ठा ।
हिजोदेखि हिँडाइको निरङ्कुशता खपेका पिँडुलालाई मैले आश्वासन दिएँ ‘भरे नुनपानी भेटाउनेछौ’ तिमीहरूले । अहिले चाइँचुइँ नगरी हिँड ।’
अब ओह्राली सुरु भोे । ओह्रालीका मुखैमा एउटा जराजीर्ण घर थियो । बाटोसँगैको आँगनमा चारपाँच मृत्युहरू पिइरहेथे निस्लोट भएर ।
‘बुनु, सानो जर्किन ल्याऊ न †’
बाउले अह्रायो ।
त्यस्तै पाँच छ वर्षकी केटीले सि“गानको लत्को ओठले चाट्दै जर्किन ल्याई कनी कनी ।
मलाई लाग्यो नयाँ नेपालको गफगाफ त निकै हुँदो हो यो आँगनमा पनि ?
नवीन विभासले अर्का मगर भाइ भेटेछन् । ‘ओइ राना, सँगै जाम के रे ?’ भन्दै अँगालो हाल्दै रोल्पाली निष्कपटता, हार्दिकता प्रकट गरिरहेथे । तिनको सरसता बिघ्नै मिठो लाग्यो मलाई ।
‘महाअँध्यारोमा पनि पुगिन्न कि क्या हो ?’
उदयपुरे पोखरेलको संशय ।
‘त्यसो नहोला ?’
गोर्खाली पोखरेलको ढाड्स ।
बडेमानको ढु्रगामा ज्यान बिसाएर सुनिरहेको छ म तिनका कुरा । वास्तवमा म यति साह्रो थाकेँ– नयाँ जुत्ताले पारेको जलजलाउँदा पानीफोकाको पीडाले दिएको हैरानीसमेत भुल्दै थिएँ म । बेला–बेला लाग्थ्यो– ‘जिन्दगीको राजपत्र यत्ति नै हो कि क्या हो ?’
ढुंगेनी तेर्छो निकै छिचोलेपछि फाँटहरू देखापरे । उता बन्दीपुरबाट आएको धुले सडकले मुख देखायो पुलुक्क । हामी हिँडिरहेकै थियौँ– केही ठिटाहरू रङका बोहोता लिएर माथिल्ला गराबाट आए गुरुरुर्र ।
‘होली हो नि आज त †’
गाला, निधार, नाक, मुख, अनुहारैभरि दलिदिए हामीलाई तिनले । अब नौलो गाउँमा त्यसलाई अस्वीकार्ने हिम्मतसमेत थिएन हाम्रो । फेरि स्वतन्त्रताको घोर दुरूपयोग गर्ने समय र समाज छ यतिबेला ।
अनिच्छालाई खोकिलामा च्यापेर रातै अनुहार लिएर उजेली साँझमा हामी हिँडिरह्यौँ… हिँडिरह्यौँ ।
‘हिले खर्क पुगियो । अब बस्ने ठाउँ पो कता हो ?’ सोधखोजमा जुटे अनिल ।
उपत्यकाजस्तो लाग्ने यो पहाडी मनोरम बस्तीलाई मनभरि उतार्दै थिएँ म ।
‘चन्द्रको घर म देखाउँछु †’
एकजना पुड्का मान्छेले डो¥याए हामीलाई ।
अब त सिद्धियो होला हिँड्न भनेको त … ? अनि फेरि निकै ओह्राली, तर्पाया र समथर बाटो नहिँडी सुखै भएन । गरामाथिका आली टेक्दै, कुलेसो नाघ्दै अनि मूलबाटो समात्दै बाक्लो साँझमा हामी पुग्यौँ झुरूप्प बस्तीभित्र । खास हिलेखर्क त्यो रहेछ ।
खुइले कुकुरका भुकाइले स्वागत गरे हामीलाई
पसल चलाएका रहेछन् चन्द्रप्रकाश गुरुङले । दुईचारजना पाहुना पाल्ने ल्याकत समेत रहेछ तिनमा । गुरुङको पिँडीमा भेला भयौँ हामी ।
खाने गाँस र सुत्ने बासको जोहो मिलाए फरासिला चन्द्रले । उनले त्यो झुरूप्प बस्तीबारे थुप्रै सूचना दिए ।
सेल, चिउरा, चिया र वन तरुल खाँदै चन्द्रका कुरा सुन्दै छु ‘२०२१ सालमा यहाँ ठूलोे विपत्ति आइप¥यो । पैरोले सबै घर र बस्तीलाई स्वाहा पा¥यो । त्यसपछि हामीलाई सुरक्षित पार्न सरकारले तल दमौली, दुलेगाँैडा, खैरेनीमा लान खोज्यो । तर यो गाउँका मान्छेले एकै ठाउँमा जग्गा पाए जाने, नत्र नजाने भनेर अड्डी लिएपछि सरकारी योजना आफैँ थन्कियो । अहिले यो खर्कमा चौवन्न घर गुरुङका छन् । त्यस्तै विक र परियारका एक एक गरी जम्मा छपन्न घरधुरी यहाँ छन् । यो एउटा नमूनाको गाउँ हो । यहाँ कौरा, घाटु, चुट्का, छेलो, झाम्रे नाच हेर्न पाउनुहुन्छ । तपाईंले गुरुङहरूको मन हेर्न सक्नुहुन्छ ।’ खराबरी बताए चन्द्रले ।
बस्तीका सबै कुनाकानी डुलेँ म । उहिलेको तेल पेल्ने कोल हेरियो । परस्पर मिलेका घुमाउने घर, मौरीका घार, दाउराका चाङ, मकैका सुली र परेबाका गुँड हेर्दै बस्तीको फन्को मारेँ, मातृकाजीस“ग मैले । परम्परालाई आधुनिक ढंगले लैजान सकिँदो रहेछ भन्ने लाग्यो मलाई ।
ठाउँ ठाउँमा सूचना थियो– ‘दिसामुक्त क्षेत्र ।’ राति त थियो नै । तैपनि हिलेखर्कको शुभ्र र शान्त चरित्रले तानिहाल्यो मलाई । बस्तीलाई तीनचार फेर हेरेर औडाहा शान्त पारेँ मैले ।
बतासे, आहालडाँडा र जोगिनी डाँडाको काखमा थपक्क बसेको रहेछ हिलेखर्क । १६०० मिटर उचाइमा रहेको यो सुन्दर बस्तीको हार्दिकता सौम्य र शालीन लाग्यो मलाई ।
राति कुखुराको ताततातो झोलमा मज्जाले खाइयो भात । जीवनको मज्जा यो पनि त हो नि । यस्तै तरंगले ह्याकुलो भरियो टम्म । देशभरि यस्तै माया, ममता र मिठास सधैँ रहोस् भन्ने कामना पनि गरेँ मैले ।
मातृकाजी, मोदनाथजीस“ग यस्ता मायालु बातचित निकै भए । देश, समाज, पद्धति र व्यवहारिकतालाई कहिले यस्ता अन्य विकट ठाउँमा ल्याइपु¥याउने होला ? हाम्रा कुराका विषय थिए । साथीहरू आफू अनुकूलका दौँतरी छान्दै मनखुसी संवादमा जुटेका थिए । नबिटुलिएको गाउँले मायामा निथु्रक्कै भिजेथ्यौँ हामी ।
गर्मी कम र जाडो नभागिसकेको मौसमको रहलपहल रहेछ हिलेखर्कमा । अघिल्लो दिन लेकमा पिँढीको सुताइले जिउ अरर्रिएको थियो । तर आज त्यस्तो हुन नदिने प्रचण्ड वाचा गरे मरहठ्ठाले । अनि त खाट कोठाको मेलमिलाप भए ठाउँमा मातृकाजी र म लुसुक्क लाग्यौँ सिरक तताउन । बल्ल भो हाइसन्चो ।
अन्ततः हाम्रो दश जनाको बटालियन मध्यराततिर तितरबितर भयो । चन्द्रले मिलाएको चौवन्न घरमा सुत्ने ओच्छ्यान खोज्दै मित्रहरू भन्दै गइरहेथे– ‘यस्ता मौका कमै आउँछ जीवनमा †’
जूनको टहटह झ्यालभित्र पसिरहेथ्यो । वरपरका थुम्काहरू जुनेली किरणमा धोइएर सफा र सिनित्त देखिरहेथेँ म । परका घरहुँदो मादल र खैंजेडी बजिरहेकै थिए ।
तीनदिनदेखि आङको आङै भएका लुगा फेरी सिरकभित्र पसेँ । जिउ त फूलको थुँगाझैँ हलुँगिएछ– यो पहाडी गुरुङ बस्तीको आतिथ्यले, स्नेहले र मेजमानीले । भोलि बिहानै फेरि बन्दीपुर लम्किनु छ हामीले । अब आँखामा निन्द्रा आओस् तुरुन्तै… एकदमै चाँडो ख्याल ख्यालको थिएन हिलेखर्कको खातिरदारी

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.