~युवराज मैनाली~
“ए बूढा बा के बाटो रोकेर उभिराख्या ?”
यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई चुम्बकझैँ तानेर ठिङ्ग उभ्याइदिएको थियो । त्यो बाहेक धुलो पनि छिर्न नसक्ने गरी म ढक्क फुलेर उभिएको रहेछु । पछाडि थापाथली पुलदेखि कुपण्डोल सम्मको वाहन जामझैँ जोडी जाम भइसकेको रहेछ । त्यत्रो बागमतीतिर म जस्तो ख्याउटे उभिँदा जाम नहुनुपर्ने उदेक आश्चर्य मान्दै मलाई आफूतिर हेर्नै पर्ने भयो । ओहो ! म त यति फुलिसकेको रहेछु कि आफूलाई देखेर मनै सिरिङ्ग जिरिङ्ग बन्यो । अनि आफ्नो अवस्था देखेर मलाई लाज पनि लाग्यो । डर पनि उम्लियो । के गरूँ के नगरूँको अवस्थामा म त दौडन पो थालेछु । पछाडिबाट विजयघोषको आवाज घन्कियो “भाग्यो भाग्यो बूढो भाग्यो ।” अलिक सानो स्वरमा केहीका आवाज गुन्जिए” समात् समात् बूढो भाग्न नपाओस् ।”
म झन् भएभरको तागत निकालेर भाग्न थालेछु । निकै पर पुगेपछि कुन्नि केमा ठेस लागेर म गुजुल्टिएछु ।
केही बेरपछि आफूलाई समालेर आफ्नो उभ्याइको दृश्य एकाएक गरी नियाल्न थाले । आफ्नो वयको परिचयपत्र लिन हिँडेको म मान्छे कता पो अलमलिएछु । शङ्खपार्क तिरको त्यो पापी झाङको वार्तालाप नै दोषी रहेछ जहाँ सम्मोहित आवाज चल्दै थियो । खै त्यो आलाप कसरी सुनाऊँ ? ममा कहिल्यै यस्तो सुर आएको थिएन । त्यसैको झङ्कारले मुग्ध म कामदेवको श्रापमा परेर यो दशा भोग्नु भोगेँ । अब हिँड्दिनँ कहिल्यै पनि यो बागमतीको तिरैतिर ।
(स्रोत : बिआरटी नेपाल डट कम)