~खगेन्द्र संग्रौला~
देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म ! भक्तजनले रहर पुगुन्जेल प्रिय देउताको अन्तिम दर्शन गर्न पाउन् भनेर होला सायद ।
पुच्छर लिँडो हुनाले देउताको नाउँ थियो– लिँडे । लिँडे देउताका बाउको नाउँ थियो– साँढे । साँढे बाउका सिङको निर्मम हनाइमा परेर लिँडे देउताको अकाल मरण भयो । जिउँदो छउन्जेल लिँडेले अचाक्ली अनिकालको जुनी बितायो । उसका ढाडमा कतै ताता छड डामिए । कतै बडा बडा ढुङ्गा हानिए । कतै उसका शिरमा झ्यालमाथिबाट मलमूत्रको वर्षा भयो । कतै उसका करङमा बडा बडा घोचाको निर्मम स्पर्श भयो ।
लिँडे देउता लम्पसार परी मरेको पेटीमा पवित्र पिपलका जराको सिरानी हालेर एउटी नारी लम्पसार परेकी थिई । ऊ थिई एक असहाय भिखारी नारी । भोक, तिरस्कार र ताडनाको पर्वतले किचिएर मृत लिँडे झैँ लम्पसार परेकी थिई ऊ । ओठतालु सुकेको उसको ख्याउटे नानी आमाको पेटमाथि घोप्टो परेर दुध चुस्न खोजिरहेथ्यो । जीवनरस निख्रिएको सुकुटी ज्यानबाट केको दुध रसाओस् र ? बालक आमाको सिद्रा समानको स्तन लुछ्दै थियो तर एक थोपो दुध आओस् त मार्दिनु ! भोकले प्याकप्याक भएको बालक जिउने उत्कट इच्छाले प्राणवायुको त्राण खोज्दै शुष्क स्वरमा रोइरहेको थियो ।
गुडिया जस्ती एउटी नारी उताबाट आई । सुकोमल मुहार । मोटो ज्यान । रङरोगनका बुट्टाले चिरिच्याँट्ट सिँगारिएको अनुहार । हाई हिल जुत्ताको टकटक आवाजले हुलमाझ उसको बेग्लो चिनारी झल्क्यो । उसको सुकुमार चर्मबाट उठेको अत्तरको बास्ना फोहोरको डङ्गुरबाट वायुमण्डलमा उठेको कुहिगन्धमा एकाकार भयो । फुटपाथमा लिँडे देउताको सड्न लागेको देह देखेर झस्किँदै ऊ अडिई । उसले ओठ टोकेर एक टकले देउतालाई हेरी । उसले ब्यागबाट एक रुपियाँको नोट झिकेर परम भक्तिभावले देउताको देहमा अर्पण गरी । अनि अलिकता निहुरिएर उसले देउतालाई विनयसाथ ढोग चढाई । ठिक त्यसैबखत मानौँ, उसका दयालु दृष्टि आफूतिर खिच्न खोज्दै छेवैको बालक रोयो । भक्तिनी नारीले बालकको जीवनको पुकार सुनेर पनि सुनिन ।
अलिबेरमा एक जना बलवान् तन्नेरी उताबाट आयो । घुँडासम्म आउने होर्ल्याङे जाँगे । नाडीमा चाँदी रङको चुरो । खुला छातीमा काला रौँको बिचमा सुनको रोबदार सिक्री । हुलको बिचमा बेग्लो र भड्किलो चिनारीले सजिएको थियो त्यो बलवान् तन्नेरी । बैँस चढेको बहर झैँ फुङ्कार गर्दै, बाटामा जो आइलाग्यो, उसलाई तुजुकको तेजले दायाँबायाँ ठेल्दै आउँदै के थियो, देउताको लम्पसार र निश्चेष्ट देह देखेर ऊ त्यसै त्यसै स्तब्ध भयो ।
देउताको मृतदेहमा अर्पण गरिएको अबिर सुकुमार औँलाले उठाएर उसले आफ्नो चौडा निधारमा लगायो । उसको दाहिने हत्केलो आफ्नै छाती छोएर भक्तिभावले छताछुल्ल हुँदै आफ्नै शिरमाथि उठ्यो । उसले होर्ल्याङे जाँगेको खल्तीबाट एउटा नोट झिक्यो । देउताको देहमा नोट चढाउँदै उसले निकै निहुरिएर दश औँलीको ढोग चढायो । ठिक त्यसैबखत मानौँ उसको चित्त आफूतिर खिच्न खोज्दै छेवैको बेसहारा बालक रोयो । चौपाया देउताको परमभक्त तन्नेरीले बालकको जीवनको पुकार सुनेर पनि सुनेन ।
त्यसपछि एक जना महात्मा भनीकन कहलिएको जोगी कमण्डलु बोकर आयो । रातोपिरो देहमा उसले खुकुलो गेरु वस्त्र धारण गरेको थियो । लोककथनमा उसले आत्मा र परमात्मा चिनेको थियो । जगत्को आडम्बर र क्रूरता बुझेको थियो उसले । अनाथहरूका नाथ श्री परमेश्वरको पत्यारिलो वारिसे भनीकन यश कमाएको विख्यात जोगी थियो ऊ । लिँडे देउताका पसारिएका खुट्टानेर खुट्टा जोडेर जोगी उभियो । नाकमाथिसम्म हात उठाएर निलो आकाशलाई उसले नमस्कार गर्यो । यो ठुलो भक्तका वरिपरि मझौला र साना भक्तभक्तिनीहरूको घुइँचो लाग्यो । अस्पष्ट ध्वनित हुने सङ्गीतमय स्वरमा उसले एउटा तोत्र उच्चारण गर्यो । आखिरमा उसले कमण्डलुबाट एउटा नोट झिकेर परम भक्तिसाथ लिँडे देउतालाई चढायो । ठिक त्यसैबखत मानौँ, उसको दिव्यज्ञानको दर्शन पाइसकेको महान् आत्मालाई आफ्नो दीनहीन अवस्थातिर खिच्न खोज्दै छेवैको बालक मुटु चिरिएर फुटेको स्वरमा रोयो । परम ज्ञानी जोगीले बालकको जीवनको पुकार सुनेर पनि सुनेन ।
लिँडे देउताको महिमागानले सेरोफेरोको वातावरण गुञ्जायमान भयो । ‘बरा !,’ कसैले भन्यो, ‘बालखैमा गएछन् ।
‘अँ त नि,’ कसैले सही थाप्यो, ‘कति लामो जिब्रो निकालेर मर्त्यलोक छाडेछन् ।’
‘बरा, कुन पापीका किरा परेका हातले होला !’
‘कठैबरा ! यस्तो झरीमा कति गाह्रो परो होला !’
लिँडे देउताका देहको छेवैनेर भिखारी आमाको प्राण गइसकेको थियो । उसको बेसहारा बालक आमाको दुधको मुन्टोमा मुख गाडेको गाड्यै ओइलाउँदै, सुक्दै र गल्दै गएको थियो । लिँडे देउताप्रति भक्तजनको असीम भक्तिको छायामा परी बालकको जीवन, उसका अबोध आशा, उसका अस्पष्ट सम्भावना र उसका आकारहीन सपना सबै एकसाथ लोप हुन लागेका थिए ।
उताबाट एउटी दोजिया नारी आई । उसको पेटमा सात महिनाको शिशु थियो र पिठ्युँका डोकामा थियो इँटाको यामानको भारी । नाकमा पोतोका गाढा कत्ला । भित्र गाडिएका गाला । फुत्त बाहिर उठेका चल्ली । पटपटी फुटेका ओठ । दबिएका आँखा । कङ्कालसमानको जिउ उसको विशाल पेटतिर लच्केर ढल्न लागे जस्तो देखियो । भारी बोकेर ठसठस कन्दै, एक हातले पेट थामेर सकिनसकी घिस्रिँदै आउँदा देउताका खुट्टामा उसको खुट्टो ठेसिन पुग्यो । बिजुलीको झट्का लागे झैँ ऊ झस्किई । आँखा फारेर हेर्दा उसले देखी– लिँडे देउताको ढाड फूलले छपक्कै ढाकिएको छ । फूलमाथि यत्रतत्र नोट छन् । भुइँ छुने गरी लत्रेको देउताको जिब्रोमा हरिया झिँगाको बिगबिगी छ । दोजिया नारीले पोल्टाबाट एक रुपैयाँको डबल निकाली । ऊसँग भएको सिरीखुरी त्यत्ति थियो, त्यही एक रुपैयाँको डबल । आफ्नो सर्वस्व देउतालाई चढाउन हात लम्काउन लागेकी मात्र के थिई, उसका आँखा छेवैमा भिखारी आमाको चिसिएको लास र लासमाथि जीवनको अन्तिम घडी गन्दै प्याकप्याक मुख बाइरहेको बालकमाथि परे ।
बालकको चोयो जस्तो घाँटी चलुँ कि नचलुँ गर्दै सुस्त चालमा चलिरहेको थियो । दोजिया नारीका नसा नसाका कण कणमा एकाएक जहरतुल्य हजार शूलहरू सलबलाए । कालको विकराल मुखभित्र बिलाउन लागेको त्यो बालकलाई उसले आफ्नै पेटभित्रको बालक ठानी । उसको रगतमासुको सिर्जना । उसका तिर्सना र सपनाको साकार रूप । उसका व्यथा र वेदनाको फल । उसको परम प्रिय बालक ! बालकले प्राण त्याग्नुअघि प्याकप्याक बाएको मौन मुखबाट मानौँ, समस्त ब्रह्माण्डमा व्याप्त चीत्कार उसका कानमा ठोक्किन पुगे– आमा !
डबल बोकेर देउताको देहतिर लम्किएको उसका हात थरथरी कामे । उसको काम्दा हात सुस्तरी बालकतिर खिचिए र उसका हातको डबल बालकका छातीमा फुत्रुक्क खस्यो ।