कथा : सान्नानी

~विश्‍वेश्‍वर प्रसाद कोइराला~

सृष्टिमा सबभन्दा असहाय प्राणी त्यो कृशकाय पीतवर्ण बालक हो जो एक्कासि शहरबाट चुँडिएर कुनै गाउँमा रोपिन आइपुग्छ । शहरमा जन्मेर शहरकै वातावरणमा त्यो हुर्किन्छ, तर एक दिन त्यो आफूलाई मध्यदेहातको एउटा क्षुद्र गाउँमा पाउँछ । निरीह भएर दुब्लो निर्वर्ण अनुहारमा चम्किने केवल दुई चक्षुले यो देहातको विराट् संसारलाई हेर्छ । स्थानको कत्रो फैलाव नीलो आकाशको कत्रो विस्तीर्णता । मन टुहुरो हुन्छ, घबडाहटले आमाकहाँ टाँस्सिन पुग्छ, त्यो भयभीत बालक ।

जे भए पनि शहरमा चारैतिर आधारका वस्तुहरू थिए; पर्खालहरू भित्तैभित्ता र अल्गा-अल्गा घरहरू । यहाँको यो ह्वाङ्ग खुला विराटतामा जसमा आधारका लागि केही कुरा पाइँदैन- दृष्टिसम्म कहीँ अड्किन पाउँदैन, हराइएला जस्तो भय हुन्छ । शहरका सडकमा, जसका दुवैपट्टि पर्खाल र महलजस्ता घरहरू छन्, निर्दिष्टता छ, त्यसमा कोही हराउन सक्तैन, सोझो बाटो छ त्यो, जसमा अघि-पछि केवल दुई दिशातिर मात्र आउन जान सकिन्छ ।

यो गाउँमा खोइ कहाँ छ सडक, यहाँ त आमालाई छाड्यो कि यो महाशून्यमा कहीँ लोप होइएला भन्ने डर । यहाँको वायु पनि त्यस्तै निर्गन्ध, काशीको हावामा नाना किसिमको गन्ध लादिया हुन्थे, नाला-पनालाको गन्ध, चिसो गल्ली र घामले तातेको अटालिकाको, मिठाईको, ग्वालाहरूले ठूल्ठूलो कराहीमा तताइराखेको दूधको, गङ्गाजीपारिको बालुवाको गन्धले भरिएको विचित्र आत्मीयताको न्यानो लिएर बग्ने बनारसको हावा यहाँ छैन ।

यहाँको निर्गन्ध वायु मानौं कुनै शून्यबाट निस्केर यो गाउँको शून्य हुँदै अर्को कुनै शून्यमा बिलाउन बगिरहेको शून्य । यो वायुलाई जति ताने पनि फोक्सो नभरिने । फेरि गाउँको कत्रो प्रशान्त नीरवता । कुनै शब्द कहीँ छैन । यदि आमाले बोलेको नसुनेको भए यो ध्वनिहीन लोकमा त्यसै प्राणान्त हुने थियो । कानमा केही शब्द पर्दैन; भित्री कानले मात्र छोडेर आएको बनारसको गल्लीको ध्वनि सुनिरहेको छ । खोमचावालाले चाट बेच्दै हिंडेको, पुरानो शीशी, बोतल किन्ने मानिसको लेग्रो तनाइ, माग्नेहरूको आर्तनाद, पानवाला, मिठाईवाला, सियो, धागो, सिन्दूर बेच्ने बाक्सावाला, हींग र मेवा किन्छौं कि भन्दै हिंड्ने काबुलीवालाहरूका विभिन्न तीव्रता र सुरका पुकारहरूको सम्मिलित ध्वनि, त्यसैले हृदयको कानमा एउटा मीठो वर्षा गराइरहेको छ । यो गाउँमा गन्ध छैन, ध्वनि शब्दहीन नीरवलोक हो यो, जहाँ मानौं जीवनको चहलपहल एकदम थामिन गएको छ ।

आमा भन्नुहुन्छ – हट्न, के टाँस्सिरहेको ? जा बाहिर गएर खेल् ।

कहाँ बाहिर ? यहाँ बाहिर, भित्र भन्ने छुट्टिएका दुई तत्त्व छन् र ? यहाँ त सबै कुरा बाहिरै बाहिर छ- उदाङ्ग । तिमीसँग छुटियो कि गन्ध, शब्दहीन महाशून्यमा म निसास्सिन थाल्छु । नपठाऊ मलाई तिम्रो सामीप्यको आधारबाट बाहिर- म एकदम हराउँछ यो पथविहीन निर्जनतामा ।

बनारसमा म जन्में, त्यहीं हुर्कें । कालचक्र हाम्रो परिवारका लागि विशेष द्रुतगतिले चक्का खान्छ । काशीको अन्नजलको हामीले धेरै सञ्चय गरेका रहेनछौं । म पाँच-सात वर्षको हुँदा नहुँदै काशी विश्वनाथले हाम्रो आश्रय खोसे । हामी टेढी दीपनगर भन्ने गाउँमा गयौं । अब यहाँ आएकै दिन आमा भन्नुहुन्छ- के टाँस्सिरहेको छ; जा, बाहिर गएर खेल ।

हो, आमालाई धेरै काम छ, मालमत्ताको राखनधरन गर्नु छ, उहाँलाई फुर्सत छैन । तर मेरो व्याकुलता कसले बुझिदेवस् । यो फुस्सामा म केवल तीनवटै कुरा त पाउँछु- माथिको नीलो स्वच्छ आकाश, मेरो गोडामुनिको पृथ्वी र आमाको पिठ्यूँ, जसलाई वास्तविकताको बोध पाउन म बारम्बार हातले छोइरहन्छु र बीचबीचमा जसमा व्यथित हृदयले टाँस्न पुग्छु । नीलो आकाशको त कुरै भएन, त्यो त यति उचा छ, त्यो यति विस्तृत छ र यति समान रूपले नीलो कि यो देहातको विराट् शून्यताको स्वयं एउटा हिस्सा भएर मेरो कलिलो हृदयलाई कुनै सान्त्वना दिँदैन ।

पृथ्वी भने गोडामुनि ठोस छ, जसमाथि म दृढतापूर्वक उभिएको छु । यो पनि त यहाँ अन्त्य नहुने गरी चारैतिर फैलिएको छ र यसको आकृतिमा कुनै पनि परिचयको सानो झल्को पनि पाइँदैन, जुन झल्कोमा आमाको आग्रह मानेर म बाहिर जाने साहस सञ्चय गर्न सकूँ। पृथ्वी सबैकी आमा होलिन्, तर त्यस दिन ती वृद्धाले मलाई मायाको इशारा गरिनन् स्नेह स्निग्ध दृष्टिले सम्म यसो मलाई हेरिनन् । त्यसो हुनाले, चारैतिरबाट हरेस खाएर म आमाको पिठ्यूँमा टाँस्सिइरहें ।

आमाले खाँडीको छिटको चोलो लाउनुभएको थियो जसको कालो-रातो रङ्गका बुट्टा धुँदा-हुँदा खुइलिसकेका थिए, केवल बुट्टाका अस्पष्ट रेखाहरू मोटो खाडीमा बाँकी बचेका थिए तर त्यसमा कति आफ्नोपना, कति विश्वास र भरको ढुकुटी लिएर मेरा लागि बसिरहेका थिए ती उड्न लागेका राता-काला बुट्टाहरू । मेरो एक्लो हृदयको सारा विकलतामा ती स्नेहका धूमिल रेखा अङ्कण मायामय भएर गए; म भरिए र पुनः आमाको पिठ्यूँलाई अङ्कमाल गर्न पुगें ।

आमाले फर्केर मलाई झार्नुभो । पुनः अपरिचित दुनियाँमा फ्याँकिएँ । आमा मालसामान थन्क्याउँदै हुनुहुन्छ । मेरो मन काशी पुगी पुगी रहन्छ । काशीको मुख्य कुरा हो, त्यहाँका ढुङ्गा, पत्थर जो यहाँ आएर मेरो बालक मनमा तीक्ष्ण अनुभवको रूपमा बारम्बार प्रकट भैरहेका छन्- ढुङ्गाका घर, ढुङ्गाका सडक, ढुङ्गाका घाटहरू, त्यहाँको जीवनको चारैतिरका दृढ स्थिर प्रस्तर आधार- ढुङ्गा ।

यहाँ गाउँमा केवल छ- खुकुलो माटो, जो सानो हावाको झोंकामा पनि फुकिन्छ र जताततै छापछापती भएर झर्छ । काशीमा माटोलाई घेरेर राखेको छ, दुई-तीन पुष्पबाटिकाहरूमा र केही सौखिन नागरिकहरूको घरमा सजाइएर लाममा राखिएका गमलाहरूमा । काशीको कम्पनी बगैंचा जसलाई चारैतिर फलामको बारले घेरेर राखेको छ त्यो बगैंचा विभिन्न वृक्ष, बिरुवा र फूलले सजेको, सानो पुष्पबाटिका कति मनोहर थियो ।

रूखहरू एक किनारामा- अमलतास, मौलश्री, शिरीष, काइयो फूलका रूखहरू-रुचिपूर्ण ढङ्गबाट लगाइएका छन् । बीच-बीचमा फूलका क्यारीहरू छन्, विभिन्न आकारका- मंडलाकार, त्रिकोण, बहुकोण, सूर्य-चन्द्र नक्षत्राकार- छन्, ती क्यारीहरू, जसमा अनेकानेक रङ्गका फूलका बिरुवाहरू सजाइएका छन्, सानो हावामा पनि चञ्चल भएर शिर हल्लाउन थाल्छन् मानौं उत्साहको लहर तिनीहरूमा फैलिन पुगेको छ । गाढा हरियो दूबो पनि ठूला-ठूला क्यारीमा उमारिया छन् जसउपर गोडा राख्दा मन हरियो हुन्छ, त्यसै पुलकित हुन्छ शरीर ।

कम्पनी बगैंचामा म बिहान- बेलुका जान्थें र एउटा शिल्पीको हातको यो रचनाको मोहनी आँखामा राखेर घर फर्किन्थें । यो देहातमा बारम्बार सम्झना हुन्छ, कम्पनी बगैंचाको । यहाँ पनि रूख छन्, फूल, पात, लता, गुल्मी पनि चारैतिर उम्रिएका छन् । दूबो पनि छ, तर खोइ, त्यो कम्पनीको बगैंचाको संयम यिनीहरूमा ? खोइ, त्यो सुसंस्कृत, सुव्यवस्थित रचना यिनीहरूको ? चारैतिर अनायास उम्रिएका छन्, वृक्षहरू घाम-पानीमा आफ्नै शक्तिबाट उठेर आकाशतिर टाउको उठाइरहेका छन्, एकदम असंस्कृत, रूखो उद्धृत ढङ्गबाट ।

यिनीहरूमा सुकुमारताको पूरा अभाव छ, मानौं, यिनीहरूमा अरू कुरा केही छैन केवल जुनसुकै अवस्थामा पनि बाँच्ने र हुर्किने क्षमता मात्र छ । यहाँको दूबोमा यो गाढा चिल्लो हरितिमा छैन, खस्रो, खैरो, शुष्क हरियोपन मात्र छ । येनकेन प्रकारले चारैतिर उम्रेका छन् अव्यवस्थित किसिमबाट; भूप्रान्त कुनै छैन जसमा यो हरियो जाला नफैलिएको होस् । निर्ममतासँग पृथ्वीलाई यसले आबद्ध गरेको छ, त्यसमा गोडा राख्यो भने दुम्सीको काँडा उम्रेको जस्तो अङ्ग अङ्गका तीक्ष्ण अङ्कुरले बर्बरताको परिचय दिन्छन् । तृण, तरु, लता, गुल्मी साराका सारा बर्बर, असंयम बाढमा हुर्केका छन् । जाऊँ कहाँ आमा, जाऊँ कहाँ ?

ठीक त्यही समयमा हस्याङहुसुङ गर्दै धूलोले भरिएको आँधीको एउटा झोंका घरभित्र हुर्रिएर पस्यो- त्यस प्रान्तको बर्बरताकी अधिष्ठात्री । एउटी मेरै उमेरकी केटी ।

केटी ?

अस्निग्धता, रूक्षता र शुष्कताकी प्रतिमूर्ति, बर्बर धूलि-धूसरित त्यस शरीरले वास्तवमा रमणी कुलमा नै जन्म लिएको थियो । रूखा, साना-साना ऊध्व-केश चौंरी गाईको चमरजस्तो कडा र खस्रो थियो जसको टुप्पो सुकेको परालको जस्तो धूमिल पीत वर्णको थियो । सर्वाङ्ग नग्न, केवल कम्मरमा गाँठो पारेर अड्काएको एउटा कौपीन वस्त्रले येनकेन लज्जाको रक्षा गरिरहेको थियो । शरीरमा धमिलो पानी, हावा र घामको माध्यमले सुकेको हुनाले शरीरभरि धूलो र पानीको रेखाचिन्ह स्पष्ट देखिन्थे ।

आँखा साना-साना, नाकको पोरा सेख बाक्लो, तर डाँडी केही थिचिएको, साँगुरो ललाट; हातगोडा रूखा भए तापनि नराम्रा होइनन् । शरीरको वर्ण छुट्टयाउन गाह्रो, ताम्र, गहुँ र कालो वर्णको सम्मिश्रणबाट बनेको अनिश्चित वर्ण जसलाई देहातको सूर्य र माटोले झन् अस्पष्ट धूमिल पारेको । आमाको पिठ्यूँको आडमा उभिएर मैले उसलाई हेरिरहें । हत्केलाले मुख र नाकलाई पुछ्दै स्वाँ… स्वाँ गर्दै उसले भनी- म पछवरिया (पश्चिमपट्टिको) धारमा नुहाइरहेकी थिएँ । सानो आमा आउनुहुन्छ भनेर मैले चट्ट बिर्सिएछु। भैंसवार ठिटो पछवरिया धारमा भैंसीलाई नुहाउन गएको थियो, हामी दुवैले दुईचोटि कोशीको धारलाई पार गयौं । भैंसवार ठिटो… ।

आमाले मबाट फुर्सत पाउन मलाई भन्नुभो- ल जा, साथी पाइस् खेल्न जा । ल नानी यसलाई गाउँ घुमाएर ल्याऊ ।

उसको दुर्दमनीयतामा लज्जा र सङ्कोचले कुनै ठाउँ पाएको थिएन । दृढतासँग हात समातेर सङ्कोच र लज्जाले भूमिसात् हुन लागेको कलिलो शहरू बालकलाई एउटी हावा-पानीमा स्वच्छन्द रूपबाट हुर्केकी ग्राम-बालिकाले तानेर बाहिर लगी । बाहिर त्यो देहातको विस्तृत जगत्मा, अबाध गतिले बगिरहेको हावाको त्यो मुलुकमा जहाँ सूर्य अविरल रूपले चारैतिर प्रकाश ओइरिरहेका छन्, जहाँ नीलो अनवच्छन्न आकाश अनन्तलाई ढाकेर अडेको छ, त्यो महाशून्यमा- मेरो हातलाई डोऱ्याएर उसले मलाई लगी । म हिचकिचाउँदै, भयले कातर हुँदै, लज्जा र सङ्कोचले गल्दै त्यो अनजान समुद्रमा मानौं उसको जिम्मामा आफूलाई अर्पण गरेर यात्रामा निस्कें । नाउँ उसैको जिम्मामा छ ।

बाहिर आएर उसले मलाई सोधी– तिम्रो नाउँ ?

मैले आफ्नो नाउँ बताएँ ।

‘तिम्रो नि ?’ मसिनो शहरू स्वरमा मैले सोधें ।

पूर्णकण्ठले उसले उत्तर दी– नाउँ- मलाई सान्नानी भन्छन् । नाउँ त अर्कै छ, यो बोलाउने नाउँ हो । तिमीले मलाई सान्नानी भनेर बोलाए हुन्छ । तिम्रो यो नाउँ बोलाउने हो कि न्वारनको हो ?

के जवाब दिऊँ ? मेरो त एउटा मात्रै नाउँ छ । शहरमा मलाई यो कुरा कसैले बताएनन् कि मानिसको बोलाउने र न्वारनका भिन्न-भिन्न नाउँ हुन्छन् । मैले भनें- ‘मेरो त एउटा मात्र नाउँ छ ।’ मलाई लाज पनि लाग्यो, केवल एउटा नाउँको अधिकारी भएकोले ।

उसले भनी– होइन, तिमीलाई थाहा होइन होला । न्वारनको नाउँ आमासँग सोध्नू ।

अनि सान्नानीले मलाई गाउँ घुमाउन लगी ।

कहाँ जाने पैले ? …ल, पूर्वरिया धार जाऊँ ।

सहस्रधारा कोशीको एउटा ठूलो भङ्गालो गाउँको पूर्वपट्टि थियो, त्यही हो, पूर्वरिया धार ।

अहिले नदी मन्दगतिले बगिरहेको छ । सूर्यको किरण त्यसमा पर्दा टाढाबाट तपक लाएर टल्केकी कुनै तन्वी नारीजस्ती थी जो अलिक बंकिम भङ्गी (मुद्रा) मा पूर्वपट्टि मुहडा गरेर बालुवाको राशिउपर कोल्टे पल्टेकी थिई । हाम्रो गाउँ त्यो बंकिम आकारको पृष्ठ भागमा कम्मरपट्टि स्थित थियो ।

त्यहाँ पुगेर किनारामा बालुवाको एउटा ढिस्कोमाथि उभिएर उसले भनी- यसलाई चिलौनी धार पनि भनिन्छ । हाम्रो गाउँको पूर्वपट्टिको सिमाना पनि यही नदी हो । योभन्दा पारि दिवानगन्ज इलाका पर्छ । त्यो काइथेहरूको गाउँ हो । हाम्रो गाउँको दिवानजको घर पनि त्यहीं छ । यो ठूलो रूख पाकडको रूख हो । यो इलाकामा यत्रो ठूलो पाकड कहीं पनि छैन । यसमा एउटा वायु निवास गर्छ, त्यसो हुनाले गाउँलेहरू मनौती मान्दै यसमा फलामका कीलाहरू गाड्छन् । योभन्दा अलिक दक्खिनपट्टि मशान छ । पाकडको वायुको नजिकै मशान भएकोले मध्यराति र मध्यदिनमा यहाँ आउनु हुँदैन । अस्ति हाम्रै गाउँकी मुनरियालाई वायु चढेको थियो । एक्लै आइछ यतापट्टि । मेरो दाइ पनि ढुक्कुरको शिकारमा यता आउनुभएको रहेछ, अनि पो, मुनरिया बाँच्न पाई । दाँती लागिसकेको थियो ।

एकैदिनमा कति थोक मैले सिकें, यो गाउँमा आएर । नाककोरेको साग, कोशीले छाडेर गएको ठाउँमा जमेको पाँक र त्यहाँको दलदल जसमा फुलकाहीका बाबूसाहेबहरूको हात्ती भास्सिएर मरेको, अमरलत्ती जसको जरो, पात, हाँगाबिगा हुँदैन, जो रूख र भ्याङहरूमा त्यसै पहेंलो धागोको जालोजस्तो भएर फैलिन्छ साहोडको झ्याङ जसबाट राम्रा-राम्रा दतिउन काटिन्छन्, बकाइनो जो नीमको रूख होइन, पटेर र झाडका जङ्गल जो कोशीको दुवै किनारामा छन्, जसमा बँदेलका दलका दल आहारा खोज्दै हिंड्छन्, बँदेलको एकोहोरो स्वभाव जो सोझोमात्र दौडिन सक्छ, कोशी नदी पनि सोझै तर्छ र जो क्रोधमा आयो भने आँखा देख्दैन र जसदेखि ठूला-ठूला बाघ पनि डराउँछन्; इत्यादि इत्यादि ।

यद्यपि सान्नानीले वायुहरूका कुरा, दलदलको प्राण हर्ने भास, बँदेलको नृशंसताका अनेकानेक कथा मलाई सुनाई। शहरबाट सञ्चित गरेर ल्याएको कातर हृदयको भय उसको सङ्गतमा बिस्तार-बिस्तार लोप हुन लागेको जस्तो भयो । कोशी नदीको पश्चिम किनारमा उभिएर त्यहाँको दृश्यलाई हेर्दा रमाइलो लाग्यो । बालुवामा गोडा राख्दा न्यानो अनुभव हुन्थ्यो र गोडा अलिक भासिन्थ्यो जसले कुतकुती लागेको जस्तो हुन्थ्यो । कहीं बालुवा चिसो छ जहाँ टेक्दा पानी रसाउन थाल्छ । नदीको पानी निर्मल छ, प्रवाह मत्थर छ। पारिपट्टि बाँसका हरिया भर्याङहरू छन् जसको फ्याकबाट फुसका घरहरू देखिन्छन् । उत्तरपट्टि पनि बाँसका जङ्गल छन्, त्यहाँ पनि गाउँका परालका छानाहरू अलि-अलि देखिन्छन् । अलिक टाढा पूर्वपट्टि सुकेका रूखहरूको जङ्गल धमिलो देखिन्छ । हामीहरू उभिया ठाउँनिर नदी यसो बाङ्गिएर पूर्वतिर लागेको छ ।

सान्नानीले भनी- “ल अब फर्कौं । यस्तै धार पश्चिमपट्टि पनि छ- पछवरिया धार । त्यो धारमा धेरै किसिमका माछा पाइन्छन्- रोहु, बुहारी, कतला, काँटी, सिंगी, मुंगरी, बामी । यो धारमा माछा पाइँदैन । पछवरियामा ठाउँ-ठाउँमा पैनी बनेको छ । अर्को दिन जाउँला त्यता..।”

चिलौनी धारबाट घर फर्किंदा मडरको पोखरी हेर्न गयौं । पोखरी सानो थियो । पानी पनि उति सफा थिएन; सडकनिरको दक्खिनपट्टिको घाटको पानीमा झ्याउ र लेउ लागेको थिएन; त्यहाँ आएर गाउँलेहरू भाँडा मल्ने, नुहाउने गर्थे । झ्याउ, काई, लेउ र पानीका लहराहरूले घेरिएर उभिएको थियो, पोखरीको मध्यमा एउटा कालो अग्राखको काठ, जसको माथिपट्टिको हिस्सामा ठाउँ-ठाउँमा चिरा परेका थिए ।

त्यो काठको खामो- जाट हो । पोखरी खनेपछि पूजा गरेर त्यो खामोलाई मध्यजलमा गाड्नुपर्छ । यसले गाउँलाई तडका (बिजली) को डर हुँदैन- सान्नानीले मलाई बताई ।

पोखरीको उत्तरपट्टिको डिलमा पहेंलो चम्पाको रूख थियो जसमा पहेंला फूल फुलेका थिए । हामी त्यहाँ गयौं । उसले फूल टिपेर मलाई दी । आफूले दुइटा फूल कानमा घुसारी, पूर्वपट्टिको डिलमा कदमको सानो रूख थियो । अहिले फूल त्यसमा लागेको थिएन; कुहिएका, सुकेका फलहरू भुइँमा छरिएका थिए जसमाथि भुसुनाहरू भुँ-भुँ गर्दै उड्दै-बस्दै गरिरहेका थिए । पश्चिमपट्टि एउटा ठूलो धूपीको रूख थियो । सान्नानीले त्यसको खोटो नङले कोट्टयाएर मलाई सुँघाई । मीठो गन्ध ।

घर फर्किंदा- लुगामा धूलो, हिलो, कानमा कनेलको सेतो, पहेंलो फूल, हातमा झाडका पातला सिरकना र अमरबेलीको पहेंलो लहरा; मनमा उत्साह र शरीरमा तीव्र थकान लिएर आयौं ।

राति सुत्ने कोठामा धेरै बेरसम्म सान्नानी पनि थिई ।

गाउँमा मेरो पहिलो दिन यसप्रकार सिद्धियो । अर्को दिन, त्यसपछि झन् अर्को गर्दागर्दै दिन बित्न थाले । प्रारम्भमा ग्रामीण जीवनको बाटोमा तै-तै गरेर पाइलो चाल्ने प्रयत्न गर्दा सान्नानीको सहारा नभई हुँदैनथ्यो; पछि-पछि स्वयं आफू नै एउटा शुद्ध ग्रामीण ठिटोमा परिणत भैसकेर पनि सान्नानी नभई मलाई हुँदैनथ्यो । पहिले जो आमाजस्ती भएर मेरो औंलालाई सहारा दिँदै गाउँका आवश्यक वस्तुहरूलाई चिनाउँदै हिंड्थी, त्यो पछि-पछि सहचरी भएर गई।

त्यसका हातबाट मैले सिक्ने कुरा पनि निकै थिए । भोलिपल्टैको कुरा लिऊँ, उठ्नेबित्तिकै चिप्राले भरिएको आँखालाई मिच्दै म उसलाई पर्खिरहें । खाजा खानासाथ मलाई लिएर ग्राम दर्शनमा ऊ हिंडी । त्यस दिनको यात्रामा स्मरणीय कुरा थिए- गोसाईस्थान, नजरियाको पसल, पछवरिया धार; बतहिया चमाइन जो बोक्सी थी र जसको घर गाउँभन्दा छुट्टै दक्खिनपट्टि थियो ।

गोसाईस्थान एउटा बाबाजीको अखडा थियो । त्यो जोगीले हाम्रो गाउँको ठिक्क पश्चिम सडकभन्दा दक्खिनको एउटा सानो पोखरीको पूर्वी डिलमा चारवटा फुसका साना-साना चिट्ट परेका घर बनाएको थियो । त्यही हो बाबाजीको अखडा, ती चार फुसका घरमध्ये एउटामा केही देवमूर्तिहरू पनि थिए, त्यही हो- गोसाईंस्थान । अखडाको द्वारमै एउटा ठूलो बाँसमा सेतो ध्वजा गाडेको थियो; त्यहींनिर तुलसीको बोट उमारेको एउटा माटोको सानो चौतारो थियो । तुलसीको मठलाई सफासँग लिपेर स्वच्छ बनाएको थियो । त्यसैसँग टाँस्सिएको एउटा सानो बगैंचामा आँप, अम्बा, शरीफा, सीताफल, लिच्ची, नरिवल, सुपारीहरूका रूख थिए । गुलाब, चमेली, बेली, सयपत्री, मखमलीहरूका बिरुवा पनि लगाइएका थिए । सुन्दर थलो थियो त्यो, गोसाईंस्थान ।

सान्नानीलाई मैले आदर-स्नेह गर्ने कुनै बाटो पाइनँ, केवल बनारसदेखि बचाएर राखेको एक आना पैसा मेरो खल्तीमा थियो । मैले भोलिपल्ट त्यही दिएर उसका प्रति आफ्नो आदर र कृतज्ञता ज्ञापन गर्न चाहें।

उसले भनी- नजरियाको दुकानमा जाऊँ ।

हामीहरू कुद्दै पुग्यौं नजरियाकहाँ । सान्नानीले बाटैमा मलाई सचेत गरेकी थिई, नजरिया मुसलमान हो, जसकी दुलही गाउँ-गाउँमा काँचका चुरा बेची-बेची हिंड्छे । नजरियाको एउटा सानो छाप्रो मात्र थियो । बनारसको पसल यहाँ कहाँ ? मिश्री, छोहोरा, नरिवलका टुक्रा, राता, हरिया र काला रङ्गका मोटा-मोटा चुराहरू मात्र थिए त्यसको पसलमा । एउटा सानो ढक्कीमा तीन किसिमका चुराहरूलाई अलग्ग डोरीले बाँधेर र अरू सामानहरूलाई एउटा नाङ्लोमा दुई-तीन थुप्रो पारेर राखेको थियो । हामीहरूले छोहोरा, मिश्री र नरिवल किन्यौं ।

पछवरिया धारमा नुहायौं, एकछिन पौड्यौं । एउटा साधारण कुरा; तर कोशीको त्यो अनजान खोलामा त्यसै पस्नु मेरा लागि साधारण कुरा थिएन, तर मलाई सान्नानीमाथि यति भरोसा थियो कि नदीको डर मलाई लागेन । साँच्चै भनौं भने उससँग पछवरिया धारमा नुहाउन र पौडिन मलाई ठूलो रहर लागेर आयो । पानीमा झ्वाम्म हामफालेर दुवै हात किनारमा उभिएको मतिर बढाएर सान्नानीले भनी– आऊ ।

उसको कौपीन वस्त्र दिनभरिमा कतिचोटि भिज्थ्यो र शरीरमै कतिचोटि सुक्थ्यो । म यो बाक्लो धोती पहिरेको के गरी पानीमा ओर्लूँ ? तैपनि म पनि धोती लाएकै पानीमा पस्न थालें ।

के गरेको ? धोती फेरि सुक्छ कसरी ? फुकाल, फुकाल । सान्नानीले पानीबाट कराई।

पहिले त मलाई अप्ठ्यारो लाग्यो, तर पानीमा नुहाउने र सान्नानीलाई आफूले गङ्गाजीमा सिकेको पौडाइको कला देखाउने इच्छा बलवती भयो । मैले धोतीलाई फ्याँकेर हतारिएर नदीमा हामफालें । लज्जाको अवधि यसरी छोट्याउनुपर्ने मलाई आवश्यकता थिएन- सान्नानीको ध्यान मेरो निर्वस्त्रावस्थापट्टि पटक्कै थिएन ।

निर्वस्त्रता गाउँका केटाकेटीहरूको एउटा सहज लक्षण हो । म त्यस दिन सान्नानीसँग नदीमा पानीमा खेल्ने लालसाले गाउँका केटाकेटीहरूका दिगम्बरी सम्प्रदायको सदस्य हुन पुगें । बिस्तार-बिस्तार नितान्त व्यावहारिकताले स्याहार्न नसकेको धोतीको सट्टा ग्रामोपयोगी लँगौटी या कौपीन वस्त्र धारण गर्न थालें । दिगम्बर भएर कम्मरमा एउटा सानो धरो बेरेर समानरूपले वस्त्रखण्ड वेष्टिता सान्नानीसँग दिन-दिनभरि बगैंचामा, खेतमा, नदीमा रमाइलो गर्न थालें ।

गाउँको सूर्य र त्यहाँको माटोले मलाई, मेरो शहरू बानगीलाई पूर्णतया निखारेर एउटा शुद्ध ग्रामीण केटोमा परिणत गर्न धेरै दिन लगाएनन् । सान्नानीको सहवास र उदाहरणले बाँकी रहेको मेरो ग्रामीणताको शिक्षा सम्पूर्ण गयो ।

पछवरिया धारबाट नुहाएर फर्किंदा हठात् सान्नानीको धेरै नजिकै भइसकेको छु भन्ने भावना मेरो मनमा आयो । यसले आनन्दको अनुभव मलाई भयो । नजरियाको पसलबाट कृपणतासँग सञ्चय गरेको मेरो सर्वस्व खर्च गरेर किनेको मिश्री र नरिवललाई बाँडेर खाँदा मलाई अपूर्व सन्तोष भयो ।

मलाई लाग्यो कि कुनै त्यस्तो वस्तु दुनियाँमा छैन जसको उपभोगमा सान्नानीलाई म सम्मिलित नगराऊँ; कुनै त्यत्रो ऐश्वर्य छैन जसलाई उसका लागि म खर्च गर्न नसकूँ । यदि सान्नानीले मलाई आफ्नो रच्छेमा राखेकी छ भने म पनि उसका लागि सर्वस्व अर्पित गर्न तयार छु सदासर्वदा ।

बालकहृदय भावावेशमा आएर विश्वको सारा सम्पत्तिलाई बारम्बार त्यो रूक्षकेशी ग्रामीण बालिकाको माटोले मुछिएको गोडामा न्यौछावरमाथि न्यौछावर गर्न थाल्यो । झन् निर्वस्त्र भएर पानीमा विनोद गरेपछि नदीबाट बाहिर आउँदा नआउँदै ममा उसका प्रति अभिन्नताको भाव जागृत भयो । मेरो जीवनको प्रभातमा भेट्टिएको मेरो प्रथम मित्र- मेरो अभिन्न सखा । मित्र ? अभिन्न सखा ? एउटा बालिका-जतिसुकै ग्रामीण भए पनि- बालिका नै हो । बालकहृदयको मित्र- प्रेयसी होइन ? धत् होइन ।

यो त म निश्चित रूपबाट पूरा विश्वासका साथ भन्न सक्छु कि ममा न त त्यो उमेर नै थियो न सान्नानीमा त्यो स्त्रीयोचित गुण नै कि हाम्रो हृदयमा कहिले पनि नर-नारीको भावना उठ्न पावस् । कुन्नि उसले ममा के पाउँथी, मैले भने उसमा एउटा सहारा र मित्रताको आधार पाएँ ।

पछि एक-दुईवटा त्यस्ता कुरा घट्न आए, धेरै पछि- जो अवसर पाएर परिपक्व हुन पाएका भए, भन्न सकिन्न- परिणाम के हुन्थ्यो । मनुष्य सम्बन्धमा ठूल्ठूला परिणति क्षुद्रातिक्षुद्र कारणबाट अङ्कुरित हुन्छन् । समय पाएपछि अहिलेको त्यो क्षुद्र अङ्कुर कहाँबाट कहाँ जरो हाल्दै चारैतिर ढाक्तै हिंड्छ, कस-कसलाई त्यसले आफ्नो दृढ बन्धनमा अँठ्याउँछ । तर ती घटनाहरूको अहिले विवेचना गर्ने प्रयोजन के रह्यो र ! समय अवसर तिनीहरूले पाए नै कहाँ ? घटना घटे, तर त्यसै सेलाएर गए । आखिर सान्नानीको बिहा भयो, उनी आफ्नो ससुराली गइन्, म पनि पुनः शिक्षार्थी भएर बनारस आएँ ।

अहिले त म पछवरिया धारमा नुहाएर मग्न भएर हृदयमा एउटा नयाँ सुनौलो भावलाई खेलाउँदै सान्नानीसँग घरतिर फर्किरहेको छु । बाटामा इमलीको ठूलो रूखमा झटारो हानेर पाकेको इमली खसाल्छौं । त्यसमा टाँस्सिएको धूलोलाई तिघ्रामा पुछेर बडो स्वादका साथ खान थाल्छौं ।

“ए रे छौंडा, ए गे छौंडी !” सान्नानीले सिकाई केटालाई बोलाउँदा- ए रे छौंडा र केटीलाई बोलाउँदा- ए गे छौंडी भन्नु रे । भैंसवार गोठाला बालकबालिकाहरू इमलीको बोटमुनि बसेर इमलीको गेडाले गुच्चा खेलिरहेका थिए । तिनीहरूलाई सम्बोधन गर्दै भनेकी थिई सान्नानीले-गे छौंडी, रे छौंडा ।

यसप्रकार दिनप्रतिदिनका साना-साना कुराको वर्णन गरेर साध्य छैन; दुई व्यक्तिको सम्बन्धले तन्काएर बाटिएको ठूलो-मोटो, बलियो डोरीको प्रत्येक धागोलाई झिक्दै त्यसलाई सूक्ष्म ढङ्गले केलाउनु सम्भव हुँदैन; देहातको माटोमा त्यहाँको घाम-पानी, मल-जलमा मैले शनैः शनैः हालेका जराका असङ्ख्य रेखाको लेखाजोखा पनि अहिले सम्भव छैन । आकाशलाई झिलिमिली पार्ने असङ्ख्य तारासमूहलाई गनेर कहाँ निर्वाह हुन्छ र ? म यहाँ केवल मोटामोटी कुराहरूको वर्णन मात्र गर्न चाहन्छु । ती कुराहरूमा कुनै विशेष रोचकता छ भनेर होइन; ती अत्यन्त सामान्य घटनाहरू हुन् ।

एक दिन हामीहरू गाउँको दक्खिनतिर गयौं, जहाँ हामी पुगेको भोलिपल्टै सान्नानीले बोक्सी-बतहिया डाइनको टाढैबाट घर देखाएकी थिई । यतापट्टि हामी आएका थिएनौं, बतहिया डाइन, त्यसको ढाडे बिरालो र कालो थुतुनो भएको खैरो कुकुरले यो क्षेत्र हाम्रा लागि वर्जित पारिराखेको थियो । हाम्रो बारीको दक्षिण-पश्चिमतिरको कलमी आँपको बगैंचामा चोरेर काँचो आँप खाँदाखाँदै हामी बिर्सेर कहिले हो कुन्नि डाइनको घरनिर पुगेछौं । गर्मीको याम थियो । एउटा खैरो कुकुर, कालो थुतुनोबाट आफ्नो लामो जिब्रो बाहिर झिकेर स्वाँस्वाँ गर्दै हामीतिर आइरहेको थियो । बतहियाको कुकुर मध्यदिनमा मशानको हाड चबाएर आइरहेछ । छाप्रोको छानोमा एउटा मोटो टाउको भएको बिरालो देखापर्यो- बतहिया राति त्यसैमा चढेर निस्किन्छे र गाउँका असावधान व्यक्तिहरूको, सुतेको मौका पाएर रगत चुस्छे । तिघ्राको मेटिन लागेको एउटा नीलो डाम देखाएर सान्नानीले मलाई भनी– हेर, हिजो राति मलाई बोक्सीले चुसेको ।

मैले भनें– सान्नानी ।

उसको हात अँठ्याएर समातें । हामी बतहिया चमाइनको छाप्रो, उसको कालो थुतुने कुकुर र बिरालोलाई धेरै टाढा राखेर पछवरिया धारतिर लाग्यौं । धारमा पुग्नुभन्दा पहिले एउटा अग्लो ठाउँमा एउटा ठूलो अजङको सिमल वृक्ष थियो- अत्यन्त अग्लो जसको टाउकोमा हावा एउटा अनौठो ध्वनि गरेर बग्थ्यो । निर्जन स्थान; काँस र खरको सानो जङ्गलमा एक्लो उभिएको, बाक्लो बोक्रामा मोटा-मोटा काँडैकाँडा भएको आकाश छुने सिमलको रूख । माथि टुप्पातिर हाँगाबिंगा फाट्टिएका छन् जसमा एक-दुई सुक्न लागेका पात र भद्दा किसिमका राता-राता फूल हावामा हल्लिरहेका छन् । त्यसबाट हावाले झिकेको शब्द सुन्दा त्यसै भयले आङ सिरिङ्ग हुने ।सान्नानीले भनी– यसमा एउटा भयङ्कर प्रेत बस्छ । यहाँ पनि बीच-बीचमा बाटो बिराएका राही र असावधान गाउँलेहरूलाई प्रेतले ङ्याक्छ । अस्ति थाहा पाएनौ, मुनरियालाई ङ्याकेको थियो, मेरो दाइ भाग्यले यता शिकार खेल्न आउनुभएको थियो कि त्यो बाँची ।

नभन्दै त्यो भयोत्पादक स्थल थियो । एक्लो निर्जन ठाउँ, हावा एकनाससँग बगिरहेछ । टाढा पछवरिया धारको पानी सूर्यको प्रकाशमा अवास्तविकताको वातावरण बनाउँदै टल्किरहेको छ, किनारका सेता बालुवाका राशि सूर्यको तापले धू धू गरेर बलिरहेछन् । सिमलको फेदमुनि गाई-भैँसीका हाडहरू छरिएका छन् । एउटा गिद्ध माथिको हाँगामा बसेको छ, जो बीच-बीचमा आफ्नो बाक्लो पखेटा झार्छ, श्मशानमा कुनै-कुनै अघोरीले आफ्नो कालो कम्बल झाऱ्या झैँ । पश्चिमतिरबाट बगेको तातो हावाले जीउ सुकाइरहेछ, तैपनि आङ सिरिङ्ग हुन्छ ।

मैले भनें– सान्नानी ।

उसको हात अब कहिल्यै पनि नछाडुँलाजस्तो गरेर अँठ्याएँ । टाढा कुप्री बतहिया बूढी दाउरा बटुल्दै यतैपट्टि आइरहेको मैले देखें ।

भनें– सान्नानी, घर फर्कौं ।

त्यो दिन बडो भयको दिन थियो मेरा लागि । आज पनि मुनरियालाई दाँती लागेछ, घरमा कसैले त्यसको फिक्री लिएनन्, केवल सान्नानीको दाइ उसको ओखतीमूलो गर्नमा व्यस्त देखिनुहुन्छ । मलाई बडो डर लागेर आयो । मैले भनें– सान्नानी, आज मसँगै सुत ।

हाय, बालकको निर्बाध विश्वासको हृदय ! के यत्रो विराट् विश्वमा जहाँ भूत-प्रेत र वायुको प्रकोप चारैतिर व्याप्त छ, सान्नानीको एउटा सानो हात समातेर त्यसबाट बाँच्न सक्छौं ? सान्नानी मेरो बिछ्यौनामा आएर सुती; दिनभरिको तर्साउने कथाहरू मस्तिष्कमा बिस्तार–बिस्तार बिलाएर जान थाले ।

सान्नानीको देहाती सूर्यले न्यानो पारेको देहबाट निस्केको गन्ध प्रशान्त सागरमा बग्ने मन्द वायुजस्तो लाग्यो जसमा हलुको नून र टाढाको कुनै द्वीपको माटो र बालुवाको उष्णताले भरिएको जीवन्त सौरभ रहन्छ । विस्तार-बिस्तार मेरा आँखा साना-साना हुँदै गए, मस्तिष्कका यावत् चित्रहरू सुदूर क्षितिजमा बिलाएर गएको सन्ध्याको रक्तिम बादलजस्तो बिलाउन थाले । कोठाभन्दा बाहिरका शब्दहरू आपसमा नछुट्टिएर एउटा ध्वनिको पातलो सङ्गीत स्पन्दनजस्तो सुनिन लाग्यो जो क्रमसँगै झन् झन् पातलो हुँदै गइरहेछ ।

मेरै बिछ्यौनामा सुतेकी एउटी ग्रामबालिकाको पातला औंलालाई मैले आफ्नो मुट्ठीमा समातेको छु- त्यसको शरीरबाट आएको न्यानो र गन्धले मलाई अलौकिक सुख र विश्रामको बोध गराइरहेको छ । म अर्कै अर्कै लोकमा गइरहेछु- मधुरो सङ्गीत, नूनिलो गन्ध, माटोको उष्णता, बालिकाको साना औंला- कता, कता…म भुसुक्क निदाएछु ।

यसरी धेरै दिन बिते- वर्षमाथि वर्ष थपिए। नजानिंदा नजानिंदै मेरो जीवनभित्र यो देहातले सुन्दरता र मनोरमताको ठूलो भव्य चित्र अङ्कित गरिरहेको रहेछ । त्यहाँको घाम, पानी, माटोले आमाको स्तनधारबाट आएको जीवनीरसजस्तै मेरो सम्पूर्ण जीवनलाई शारीरिक स्वास्थ्य र हृदयको नैसर्गिक आनन्दले परिपूर्ण गरिरहेको थियो । वर्षा ऋतुमा जब हाम्रो सम्पूर्ण भूखण्ड जलनिमग्न रहन्थ्यो, त्यो ढलपल गरेको पृथ्वी जसउपर आकाशबाट प्रलयको गर्जन गर्दै मेघधार फुटेर बर्सिन थाल्थ्यो- जब एउटा भङ्कर तरलता र सरसताले हाम्रो जीवन आकुल पार्थ्यो, हामी नग्नदेही जलकिन्नरी शिशुजस्ता तमाम दिन नाउमा भिजी भिजी हिड्थ्यौं ।

कोशीमा बाढी आउन आँट्यो भन्ने सूचना हामी गाउँवासीलाई सबभन्दा पहिले दिन्थ्यौं । चिलौनी धारमा खेल्न गएको बेला त्यहाँ पानीमा खेल्दाखेल्दै नदीमा टान आएको, तनाव आएको हामीलाई त्यसै अनुभव हुन्थ्यो । अरू कुराहरू सधैंको जस्तो साधारण निर्दोष अवस्थामा नै छ । केवल नदीमा एक किसिमको टान-तनाव-आउँछ, मानौं कुनै विकराल दानवी हातले यसो जल रज्जुलाई उत्तरपट्टिबाट तान्न लागेको छ, नदी तनक्क हुन्छ, तानिन्छ । एक छिनपछि घाँस-पात बगेर आउँछ । हामीहरू दौडँदै गाउँतिर आउँछौं । नदीमा टान आयो ।

लेलहाकी छोरी फगुनीलाई बाटामा भेट्छौं- हे गे फगुनी !- कोशीमा टान आयो । उसको घर एउटा भङ्गालोको किनारमा छ । ऊ भन्छे मलाई थाहा थियो आज टान आउँछ, हिजो बेलुकीदेखि विराट् राजाको तोप सुनिरहेकी छु । अनि फुर्तीसँग बाबुलाई यो खबर सुनाउन घरभित्र पस्छे ।

हे, गे, जमुनिया ! हे, रे, किसना ! हे, गे सुवासिया ! हे, रे, गोपाल ! नदीमा टान आयो-टान- !

गाउँमा हल्लीखल्ली हुन्छ । हामीहरू कोशीको यो संवादका वाहकहरू आँगनमा खेल्न थाल्छौं, राजाको जस्तो छाती फुलाएर-कोशीमा बाढी आयो चल गे चल ।

भोलिपल्ट हाम्रा आँखा अर्को विश्वमा उम्रिन्छन् । कोशी प्लावित विश्वमा कत्रो चपलता, कत्रो आतुरी कोशी नदीलाई; कत्रो उद्विग्नता उसको तूफानको मदमत्त गतिमा-रातभरिमा सारा दुनियाँलाई उसले ढाकिसकेकी छ । पानी हा हा, गर्दै आकुल गतिले दक्षिणतिर धाइरहेछ । घाँस-पात, ढलेका रूख, मुढा सवेग भइरहेका छन्- पानीका साथ-साथ दक्षिणतिर ।

हामीहरू लग्गी लिंदै साना डोंगीमा यताउति चहारिरहन्छौं । पानीमा रुझ्छौं, पौडी खेल्छौं, र कहिले-कहिले कुनै ओतमा बसेर कागतका नाउ बनाउँदै कोशीमा बगाउन थाल्छौं । यात्रा प्रारम्भ गर्दानगर्दै भुँवरीमा पर्छन्, भास्सिन्छन्, डुब्छन्- ती हाम्रा कागतका नाउ । एकछिन चुप्प लागेर यो विराट् जलदृश्यलाई हेर्छौं- चारैतिर वेगवान जल; कहीं बगैंचाहरू, कहीं गाउँका फुसका घरहरू, कहीं-कहीं बाँसका झ्याङहरू विराट् प्लावनतामाथि टाउको उठाएका देखिन्छन् । त्यो विशाल पाकडको रूख अहिले चिलौनीको मध्य धारमा दृढतासँग उभिएको छ, पछवरिया धारमा सिमलको त्यो अल्गो रूख त्यस्तै दृढतासँग खडा छ ।

हामी हेरिरहेका छौं- जलनिमग्न विश्वको अनन्त विराटता र त्यसमा हामीले बगाई-बगाई रहेका कागजका पत्रतरणी जो अथाह जलराशिमा भास्सिई-भास्सिई रहन्छन् ।

वर्षाभन्दा पहिलेको ग्रीष्म ऋतुको आतपको बहार अर्कै किसिमको । पृथ्वी धू धू गरेर बलिरहेको छ । हामीहरू नग्नदेही-गाउँका छौंडा र छौंडी त्यस आतपमा भौंतारिएर हिंडिरहन्छौं । कसले आमा-बाबुहरूको कुरा सुनिरहन्छ । त्यस इलाकामा कुनै नदी या जलराशि थिएन जसमा हामीहरूले सूर्यको प्रखरतामा जलक्रीडा नगरेका हौं । काँचो आँप, इमली खाएर दिनभरि घाममा नुहाएर आँखा राता-राता पार्दै हामीहरू बेलुकीपख घर फर्किन्थ्यौं- शरीरमा थकान, पीडा र जलन लिएर । कहिले अचानक म ज्वरोले पीडित हुन्थें । सान्नानी दिनभरि मेरो नजिकै बसिरहन्थी र मेरो ज्वरोले टन्केको कन्चटमा आफ्नो शीतल हात राखिदिन्थी ।

तिनै गर्मीका ताका आँप पाक्न थाल्थे । मचान बनाएर हामीहरू बगैंचाको रखवाली गर्थ्यो । मचानमा उत्तानो परेर सन्नानीसँग पल्टिएर नाना किसिमका कुरा गर्थ्यो । कुनै रूखबाट पाकेको आँप झर्थ्यो । हामी मचानबाट हामफालेर कुद्दै जान्थ्यौं ।

सान्नानी भन्थी– यो तिम्रो भाग खाऊ ।

म भन्थें– तिमी खाऊ, तिम्रो भाग ।

होइन, अर्को खसेको आँप मेरो भाग, यो तिम्रो ।

यो विवादमा मैले कहिले पनि जित्न सकिनँ । यति दिनपछि यो कुरा सम्झिंदा म भन्छु– हाय, किन त्यस दिन आफ्नो सम्पूर्ण पौरुष झिकेर सान्नानीलाई मैले परास्त गरिनं । हाय, किन त्यस वर्षको पाकेको पहेँलो आँप मैले उसलाई खुवाइनँ ? जीवन के यस्तै पराजयहरूको पिरामिड हो ? जसको शिखरमा म आज उभिएर अनुतापको उष्ण श्वास बारम्बार हृदयहीन आकाशतिर फ्याँकिरहको छु ? के उसको जीवन नि ? विजयको भ्रममा के उसको जीवन धावित भइरहेको छ त अनवरत ? म भन्न सक्तिनँ । म त जहिले पनि पराजित भइरहें । राम्रो राम्रो आँप मैले नै खानुपर्थ्यो, दाग लागेका बिग्रेका आँप ऊ आफू खान्थी । दाग लागेको आँपलाई देखाएर ऊ भन्थी– यो कोइलीले चुसेको ।

मधुरकण्ठी अदृश्य गायिका पन्छी- कोइलीले आफ्नो चुम्बन दिएर दाग पारेको फल ।

फागुन र चैतका कुरा म आज सम्झिन चाहन्नँ । गाउँभरिका वृक्ष, लता, तृण कलिला, हरिया भएर चञ्चल हुन्थे । उनीहरू नयाँ टल्किने पालुवा हाल्थे । आँपमा मञ्जरी लाग्न थाल्यो। सारा वातावरण मर-मर गरेर उठ्थ्यो । फूल र मञ्जरीको गन्धले बोझिल भएको मलयानिल अलस गतिले सबै ग्रामवासीलाई छोई-छोई हिँड्थ्यो ।

एक दिनको कुराको मलाई सम्झना हुन्छ । जाडोका समाप्तिका दिन थिए । धान काटिसकेको थियो । धमाधम खलियान-खलियानमा दाउनी हुँदै थियो । भूस उडाउने काम पनि चलिरहेको थियो । बतासमा बन्न र भूसको विभिन्न किसिमको गन्ध छाएको थियो । धान काटिएका खेतमा खेसरीका हरिया, नीला झाङ उम्रिएर पहेँलो र नीलो बुट्टा बनाइरहेका थिए । ठाउँ-ठाउँमा आलसका फिक्का नीला रङ्गका फूल फुलिरहेका थिए । आँपका बगैँचामा रूखहरू ताम्रवर्णका मञ्जरीले ढकमक्क ढाकिएका थिए जसबाट तीखो गन्ध फैलिएर वातावरण व्याप्त थियो । भँवरा र नानाथरीका मौरीहरूका गुञ्जनले तमाम प्रान्त झङ्कृत थियो । जामुनको कुनै झ्याप्प परेको हाँगामा नदेखिने गरी कोइली हठात् कू हू गर्न थाल्थी र एक छिनसम्म तीव्रतर स्वरमा तीक्ष्ण वेदना पोखेको झैँ गरेर आफ्नै भावावेगलाई थाम्न नसकेर फेरि हठात् चुप्प हुन्थी ।

सान्नानी र म खलियानमा गएर दाउनीमा जोरिएका गोरुहरूको पुच्छर निमोठ्दै दाउनी गर्न थाल्यौं, एक छिनपछि उडाउने काममा लाग्यौं । अनि अतहड तरङ्गमा आएर बयर खोज्दै गोसाईंको पोखरीनिरको बयरको झ्याङमा पुग्यौं । अपरान्हको अवसर छ । फागुनको महिना । बयर टिप्दै खाँदै हामीहरू मग्न थियौं । एउटा ढुक्कुरको जोडा तर्सिएर उड्यो ।

सान्नानीले भनी– भाले-पोथी– बिचरा ।

के सान्नानी ? काँडाले कोरेको तिघ्रालाई कन्याउँदै मैले सोधें । ढुक्कुरको जोडा, भाले-पोथी ।

के सान्नानी ?

एउटा घाँस उखेलेर सान्नानीले चिरेर मलाई देखाई– त्यो घाँस कहिले भाले भएर चिरिन्थ्यो, कहिले पोथी ।

मैले सोधें– के सान्नानी ?

उसले भनी– तिमी भाले म पोथी ।

के सान्नानी ?

सान्नानीले भनी– ल आऊ, भित्र झ्याङमा हिँड म बताउँछु ।

के सान्नानी ?

भाले-पोथीको रहस्य– जीवनको आदिकालमा विश्वरचनाको प्रथम फागुन मासको प्रथम दिवसमा रचिएको बारम्बार नूतन-पुरातन भइरहने रहस्य, बिचरी सान्नानीले मलाई कसरी बताउन सक्थी । काँडैकाँडाले घेरिएको त्यो झ्याङमुनि क्षतविक्षत शरीरलाई केही कुप्याएर सान्नानीले आफ्नो कम्मरमा गाँठो पारेर लगाएको लज्जाको वस्त्रखण्ड यसो सारी र भनी– म पोथी ।

म अवाक् भएर हेरिरहेँ ।

बयरको झ्याङबाट हामीहरू निस्क्यौं । बयरको तीखो काँडाले कोरेर सारा शरीर टट्टाइरहेको थियो । सान्नानीले भनी– मानव दुई जातिमा विभाज्य छ- पुरुष र नारी । बाबु, दाजु, भाइ, पति, छोरा, काका, भतिजाहरू – एक जातिका, आमा, दिदी, बैनी, पत्नी, छोरीहरू – अर्को जातिका ।

मैले निर्वाक् भएर यो गम्भीर सत्यलाई पहिलोपल्ट अनुभव गरिरहें । मेरो कण्ठमा बोली थिएन ।

हामीहरूको सामुन्ने गोसाईंस्थान थियो । सान्नानीले भनी– हिँड, गोसाईंजीको दर्शन गरौं ।

म नबोली हिँडिरहें । मन्दिरको अगाडि घुँडा टेकेर करबद्ध भएर सान्नानीले आँखा चिम्ली । मलाई पनि त्यसै गर्न भनी । मैले पनि त्यसै गरें । तर मेरो ध्यान सान्नानीपट्टि थियो । उसको रूक्ष केश, चिम्लेको आँखा, नग्न देह । उसको मुखमा हलुका चिल्लोपन मैले देखें, गालाका मध्यमा गुलाफी रङ्ग, बाक्लो ओठ स्निग्ध, छाती पुष्ट जसमा स्तनाङ्कुरको तीक्ष्ण आभास । कम्मर पातलो, नाभि गहिरो, तिघ्रा र पिँडुलाले केही गोलाइ धारण गर्न लागेको । बाबाजीसँग पर्साद मागेर हामी घर फर्क्यौं ।

एउटा साधारण घटनाले, जीवनको अत्यन्त क्षुद्र अनुभवले एउटा स्वाभाविक ढङ्गबाट सुदृढ भएको मानव सम्बन्धलाई कत्रो झट्का दिन्छ, त्यस दिन मैले थाहा पाएँ । त्यस दिनदेखि त्यसै एउटा पार्थक्यको अनुभव मलाई हुन थाल्यो, सान्नानीसँग । के साँच्चै नर-नारी दुई जातिका प्राणी हुन् ? जुन भेदलाई नबुझेर नै बालक-बालिकाहरू अभिन्न भएर हुर्किन्छन्; तर त्यो विभेदको ज्ञान हुनेबित्तिकै लज्जा र सङ्कोचको दुर्लङ्घ्य व्यवधान वारिपारि एक दिन हठात् तिनीहरू आफूलाई पाउँछन् ।

तिनताका आँपको बगैंचालाई कुर्दा सान्नानीले मलाई मुनरियाको कुरा बताई जो एक दिन गाउँबाट बेपत्ता भई । त्यसै दिनदेखि सान्नानीको दाइको पनि पत्तो लागेन । नानाथरीका कुरा भए, यी दुई जना यसरी बेपत्ता भएको देख्ता । धेरैले अडकल लाए । सान्नानीले बताई– ती दुवै मिलेर भागेर गए । मचानमा माथि फर्किएर पल्टी-पल्टी म गमिरहें- किन भागे ! सान्नानी पनि सँगै टाँस्सिएर लेटेकी छ र मुनरियाको कुरा भनिरहेकी छ ।

पाकेको आँपको गन्धले बगैंचा भरिया छ । प्रकृति पाकेको आँपजस्तो भरिया छ, परिपूर्ण ।

त्यसै बखतमा सान्नानीको आमा आएर रिसाउन लाग्नुभयो– सान्नानी, यत्री लाठे भइसकी, हेर यसको बेहोरा । चोलो किन नलाएकी ? एक्लै यसरी हिंड्ने हो… घरमा बसिरहनु भनेको होइन ?

सान्नानीलाई एक-दुई लपटा हान्दै, तान्दै वहाँले लिएर जानुभयो । सान्नानीले मलाई भरखरै भनेकी थी- चोलो मलाई लाउनै मन लाग्दैन । कोठामा एक्लै बसिरहन पनि मन नलागेर आएकी ।

अहिले पो थाहा पाएँ आज किन सान्नानी, बिहानै मकहाँ आइन । भात खाएर म यहाँ मचानमा आएर कति बेरसम्म उसलाई पर्खेर बसिरहें । धेरै बेरपछि मात्र ऊ कुद्दै आई र भनी- चोलो म लाउन्न ।

त्यहीं बस्दाबस्दै हामीहरूको भेटघाट पनि कम्ती हुन थाल्यो । चोलो र धोती लाएकी सान्नानी मबाट टाढा टाढा हुन थाली । म भने उही नग्न देह लिएर कहिले चिलौनी, कहिले पछवरिया धार जान्थें । एक्लै मचानमा बसेर सान्नानीको कुरा सम्झन्थें । चोलो र धोती लगाएकी सान्नानीको कुरा होइन ।

फूलकाही मेलाबाट राति नाटक हेरेर फर्किंदा हातमा हात हालेर नाटकको कुनै गानालाई गाउँदै मसँग आइरहेकी कम्मरमा केवल एउटा सानो टालो मात्र बाँधेकी सान्नानीलाई सम्झिन्छु: जाडोको रात्रिमा घरको अगाडि बसेर शीतबाट बच्नका लागि कपाल, कान र छातीलाई गांतीले राम्ररी बेरेर ओरहा, पोलेको आलु खाइरहेकी सान्नानीलाई, गाउँका जङ्गली फलको खोजीमा चहारी हिंड्ने- बडहर, बेल, बयर, शरीफा, इमली-सान्नानी; जसले मलाई यी फलहरूको सञ्चयको जुक्ति बताएकी थी– रूख चढेर हाँगा लच्काएर टिप्न, झटारो हानेर ।

उसको बिहाको कुरा चल्यो । झन् ऊ टाढा भई । रङ्गाएको धोती र चोलो लाएको म उसलाई देख्थें । ऊ आमाहरूसँग बसेर पात गाँस्थी भान्छामुनि बसेर । अगेनामा दूध उमाल्थी, दही जमाउँथी, भण्डारको राखनधरन पनि गर्थी । मेरो व्रतबन्ध भयो । अब मेरो पनि काशी जाने कुरा चल्यो । म पनि उहीं पढ्ने रे । उसको ससुराली र मेरो काशी । सयकडौं कोसको पार्थक्य; पृथ्वीको एउटा कुनामा त्यो, अर्को कुनामा म ।

तीस वर्षपछि, एउटा युग बितेपछि मैले सुनें कि सान्नानी विराटनगर आएकी छ रे, दुलाहा र छोरा-छोरीका साथ ।

म गाउँलाई छाडेर काशी पढ्न जाँदा उसको बिहाको तरखर भइरहेको थियो । उसको बिहाको लागि म बस्न सक्दिनथें; विद्यालय खुलिसकेको थियो । म बिदा हुन उसको घरमा गएँ । त्यहाँ कसैलाई फुरसत थिएन । भान्साघरको पछिल्तिरको बगैंचामा हाम्रो भेट भयो ।

मैले भनें– म बिदा हुन आएको ।

उसले ठूला-ठूला आँखाले मलाई हेरिरही । मलाई लाग्यो, उसका आँखा सरस हुँदै आउन थाले; बुट्टे चोलो लगाएकी थिई उसले; कपाल कोरेकी थी ।

नबोलेर केवल निर्निमेष दृष्टि ममाथि गाडिरही । म पनि त्यसै रसाउन आँटेजस्तो भएँ । वाणी मेरो पनि थामियो। हामीहरूले त्यसै एकछिन हेराहेर मात्र गर्यौं । अनि म फर्किन थालें । उसले भनेको सुनें– मलाई नबिर्सिनू ।

यो तीस वर्षसम्म उसको गहभरिको आदेशलाई नबिर्सिएर बसिरहेको छु । आज सुनें कि त्यो आएकी छ । एकछिन पनि नथामिएर म उसकहाँ पुगें ।

खोइ सान्नानी ?

एउटा कोठामा एउटा अर्धवयस्क पुरुष छ, जो टीनको ठूलो बाकसबाट मालमत्ता झिक्नमा व्यस्त छ । त्यहींनिर उभिएकी एउटी पूर्णवयस्का नारी; गाढा नीलो रङ्गको धोती लगाएकी र त्यस्तै रङ्गको चोलो, जसको माथिल्लो तुना उघारेर एउटा काखको बालकलाई स्तनपान गराइरहेकी छ । केटाकेटी उसको गोडानिर बसेर दूध-चिउरा खाइरहेका छन् । झींगा भन्किरहेका छन् ।

खोइ सान्नानी ?

‘सान्नानी !’ मैले भनें ।

त्यो नीलवस्त्रा नारीले अनुत्साहको दृष्टिले मलाई हेरी; दूध पिइरहेको बालकले मुन्टो बटारेर एकचोटि मतिर हेर्यो र फेरि स्तनपान गर्न थाल्यो । गोडानिरका बालकहरू आपसमा झगडा गर्दै, दूध-चिउरा पोख्दै खाइरहेका छन् । पुरुषले थामिएर मलाई हेयो ।

मैले भनें– सान्नानी ।

को…

ए… चिनेर पनि जीवनको बोझले दबेकी, शिथिल भएकी नारीले केवल एउटा अनुत्साहको दृष्टि ममाथि फ्याँकी ।

तीस वर्षदेखि जोगाएर हृदयमा स्थापित गरेर राखेकी मेरी सान्नानीलाई यत्रो लामो जीवन-यात्रा तय गरेकी प्रौढामा मैले पाइनँ ।

कोठाभन्दा बाहिर आएर म एकछिन उभिएँ । र हातलाई जीवनका स्मृतिहरूको गहन अरण्यभित्र पसाएर तीस वर्षपहिलेकी सान्नानीलाई समात्न खोजें । मेरो खाली हात फुस्सालाई समातेर आकाशतिर उठेको थियो ।

सुन्दरीजल बन्दीगृह,
१२.११.२०१८

(स्रोत : विश्वेश्वरप्रसाद कोइरालाको “श्वेतभैरवी” कथासङ्ग्रह संस्करण: पाँचौँ २०६४ बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.