~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो ।
सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि बाँदर शीतको थोपा मात्र खाएर बाँचेको छ । त्यसपछि बुद्धले ङासिन डोल्मा (बोधिसत्त्व तारा) लाई बाँदरको जीवनको बाँच्ने आधार के होला भन्ने बुझ्न पठाउनुभयो । डासिन डोल्माले शीतका थोपाहरूमा
मादक पदार्थ ब्रामा छरिन् । ध्यानमा बसेका बाँदरलाई शीतका थोपामा कसैले ब्रामा मिसाइदिएको थाहा भएन ।
बाँदरले ब्रामा मिसिएको शीतका थोपाहरू घटघटी पियो । पहिले उसले एक भाँडो शीत पिउँथ्यो । शीतका थोपाहरू मदयुक्त भएपछि दुई वा त्यसभन्दा बढी भाँडो शीत पिउन थाल्यो । त्यसपछि ऊ मातियो । त्यसको प्रभावले उसले गीत गाउन थाल्यो । मातेको बाँदरलाई डासिन डोल्माले मायाप्रिती गाँस्न आग्रह गरिन् । तर बाँदरले “बुद्धको अनुमति नभएकाले त्यसो गर्न सक्तिन” भनेर डोल्मालाई भन्यो ।
बाँदर यो कुरा लिएर बुद्ध कहाँ पुग्यो । बुद्धबाट बाँदरलाई आज्ञा भयो कि “अब मानव जातिको उत्पत्ति हुने समय आइसकेको छ । त्यसैले तिमी तोर्मा बनाएर ल्हासिङ देग्लेई (आठ देवता र आत्माको समूह) लाई चढाऊ । छ प्रकारको जीवात्माहरूः ल्हा (देवता), मी (मानव), आसुर (राक्षस), दुदा (प्रत), (जनावर), ड्याल्वा (नाग), हीडव-वेतालाई चढाऊ । उपयुक्त समय भयो कि तिमीहरू सहवास गर । जसबाट मानव जातिको उत्पत्ति हुन्छ ।” यसपछि माटो र ढुङ्गा, पानी र माछा, चराचुरूङ्गी र रूख, पहाड र बाँदरबीचको सम्बन्ध गहिरो भयो । सार्वभौमरूपमा संसारमा मानव र प्रकृति जगत् सञ्चालन हुन गयो । यसै घटनाका आधारमा पृथ्वीमा मानव र प्रकृतिको सृष्टि हुन गएको हो भनी तामाङहरू विश्वास गर्दछन् ।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)