~वासु शशी~
एउटी वेश्ये चाहिने जस्तो यो रात,
बुद्धले घर छाड्दाकोजस्तो यो रात
मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु
यो कोही एक्कासि चिच्याएर ल्याउला जस्तो रात
यो कसैले घाँटी थिच्न आउला जस्तो रात
आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन
यो मरीचको पीरोजस्तो रात,
यो सबैले कोठाबाहिर फालिदिएको रात
कदाचित धरतीको आफ्नै स्वभाव-समय रात हो
कदाचित् उपस्थितिको अभिव्यक्ति रात हो,
जडको पनि, जीवको पनि
ए स्वास्नीमान्छे, तिमी कहाँसम्म पुग्न पनि त्यतिकै गाह्रो
तिमी कहाँबाट फर्कन पनि त्यतिकै गाह्रो
यो त्यही गान्होजस्तो रात,
यो तिमीजस्तै रात,
यो मजस्तै रात,
यो तिमी र मको हामीजस्तो रात,
यो आदमले फल खाँदाको जस्तो रात ।
(स्रोत : वासु शशीको कवितासङ्ग्रह ‘यस्तो यौटा फूल चाहिन्छ’बाट साभार गरिएको )
What a great poem