~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको ठानेर दुखी हुन्थे । उनी सधैँ आफ्ना त्रिदेवलाई चढाउने वस्तु अत्यन्त पवित्र होस् भनेर सोच्दथे ।
मन्त्रीहरूले पनि सैनिकहरूलाई डफ्फा बनाएर खोज्न पठाउँथे र राजाले भने जस्तो पवित्र होस् भनी आदेश दिन्थे । अनि दरबारमा बैठक बसाएर आफ्ना कुरा मन्त्रीहरू र भाइभारदार सामु राख्थे । तर राजाले भने जस्तो पवित्र वस्तु उनीहरूले पाउन सकेनन् । त्यसको कारण राजा चिन्तन गर्न थाले । बिस्तारै-बिस्तारै दुब्लाउँदै गए । तैपनि आफ्ना त्रिदेवको आराधना र ध्यान गर्दै रहे । ऐतिहासिक तामाङ लोककथा
एकदिन उनलाई सपनामा त्रिदेवले भने- “तिमी आफ्नो राज्यको दक्षिण भेगको बेँसीतर्फ जाऊ । जहाँ तिमीले वृक्षहरू देख्नेछौ । तीमध्ये एउटा वृक्षमा तरबारको दापजस्तै फूल हुनेछ । जसभित्र असङ्ख्य फूलहरू हुनेछन् । त्यही टिपेर मलाई चढायौ भने म प्रसन्न हुनेछु, जो तिमीले सोचेझैँ न माछाले जुठो पारेको पानी न भमराले चुमेको फूल न त बाच्छाले चुसेको दुधझैँ हुनेछ ।” कोको राजा सपनाबाट झल्यास्स बिउँझिए । तुरुन्त दरबारमा भाइभारदार, मन्त्री डाकी बैठक गरे ।
अनि राजा सैन्यसहित सपनामा देखेको ठाउँतर्फ लागे । राजाले सपनामा आफ्ना त्रिदेवले भनेझैँ फूल फेला पारेर दरबारमा लगे । राजाले ठूलो अनुष्ठान गरी त्रिदेवालाई चढाए । त्यस दिनदेखि क्रमशः राम्रो हुँदै गयो । सबै जना आनन्द र उल्लासले रहन थाले ।
यसै घटनाका आधारमा कोको राजाले त्यसरी पत्ता लगाएको फूलको नामै ‘कोको म्हेन्दो’ रह्यो र यसलाई अत्यन्त पवित्र मान्न थालियो । नेपालीहरू कोको म्हेन्दोलाई टोटलाको फूलको रूपमा चिन्दछन् ।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)