~मनोज न्यौपाने~
सन् ४०५६ ईर्वाइन
”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये एउटाको आवाज थियो त्यो । अर्को एकजना नबोलेरै पर सहरतिर हेर्दै टोलाइरहेको थियो । “आज त १४७ डिग्री नै पुगेछ क्यारे ”, फेरी पहिलो नै बोल्यो, आफ्नो देब्रे हाततिर हेर्दै । दोस्रो व्यक्ति अझैपनि केही प्रतिक्रिया नजनाएरै सहरतिर हेरेरै बसैको छ । उसले के सोच्दै छ, अर्को व्यक्तिलाई थाहा छैन । उसलाई पर्वाह पनि छैन, बस् ऊ आफैं बोलिरहेको छ । उसलाई लागिरहेको हुँदो हो दोस्रो व्यक्ति उसको सबै कुरा सुनिरहेको छ । ऊ फलाक्न थाल्छ फेरी, “साँच्चै ! यस्तो गर्मी कहिलेदेखि हुन थालेको होला ? पहिलेपहिलेका मान्छेहरूलाई त आनन्द हुन्थ्यो होला है । धेरै होइन आज भन्दा पचास वर्ष नै अघि पनि यस्तो नहुँदो हो ।” दोस्रो व्यक्तिको धैर्यताको बाँध टुटेछ क्यारे पुलुक्क उस्तर्फ फर्केर थोरै मुस्कुरायो अनि फेरी आफ्नै सुरमा पुनः उसैगरी उतैतर्फ फर्कियो जहाँ ऊ फर्किएर हेरिरहेको थियो सहर, ठूलो सहर, जो सजिलै देखिइरहेको छ तर सायद टाढैबाट देखिनकैलागि सजिलै देखिइरहेछ ।
अझै बोल्दै छ,”यस्तो देशमा बस्नुभन्दा त बरु विदेश नै हानिन पर्ने रहेछ ।” अब मात्रै दोस्रो व्यक्तिले मुख खोल्यो,”असाध्यै अधैर्य देखिन्छौ, कति वर्षका भयौ ?”
पहिलो व्यक्ति ट्वाल्ल परेर हेरिरह्यो ।”कति वर्षको भइयो भन्या क्या !” अलिक जोरले दोस्रो व्यक्ति बोल्यो । “२१ वर्षको भएँ, बुढेस् लागिसक्यो नि !” सुने झैं गरेर पहिलाले उत्तर फर्कायो ।
“ओहो ! म भन्दा ५ वर्ष जेठो हुनुहुँदो रहेछ त ।” दोस्रोले भन्यो । “अनि २१ वर्षमै असाध्यै वैराग्य पलाएको छ त मनमा त ?” प्रश्न पनि सँगसँगै गर्यो ।
“जिन्दगीका आधा भन्दा धेरै उमेर कट्यो, तपाईँ नै पुग्नुभएछ आधाउधी त । हाम्रो उमेर हद नै कति रह्यो र ? अहिले यो संसारमै सबै भन्दा धेरै बाँचेको मानिस भनेको ३४ वर्ष त हो ।” पहिलोले लामो सुस्केरा तानिसकेपछि त्यति बोल्न भ्यायो । केही बेर सन्नाटा छायो, लाग्यो दुवैजना आफ्नो मृत्यु तर्फको गति असाध्यै द्रुत भएको आभाष भएर होला केही बोल्न सकिरहेका थिएनन् । उनिहरूका पसिनाले भिजेको अनुहारमा निराशा स्पष्ट टल्किरहेको थियो ।
पहिलाले फेरी बोल्यो, “जवानी पनि त्यसै खेर गयो । यहाँ नारीको सुख त ठूलाबडाले मात्रै लिन थालिहाले, त्यो पनि प्रायः त विदेशबाट झिकाएर । त्यसैले त विदेश जान पाएको भए भन्या नि !” नैराश्यता अझ बढी छायो उनको अनुहारमा ।
“सहरमा वेश्यालयहरू छन्, त्यहीँ जानुस् ।” दोस्रोले उपाय सुझायो ।
“आफ्नो सम्पत्ती बेचेर आफैंलाई डिग राख्दा पनि अहँ, त्यहाँ छिर्न तक पाइँदैन, साह्रै महङ्गा छन्, कालोबजारी पहिले भन्दा मौलाएको छ ।” अझै चित्त बझाएनन् पहिलाले ।
“त्यसो भए लिङ्ग परिवर्तन गर्नुहोस्, टण्टै साफ, महिला हुनुस् । फेरी त्यो निकै सस्तो पनि छ क्यारे । यहाँ धनी भनाउँदाहरू गरीबहरूलाई त्यही गराउँछन् र प्रयोग
गर्छन् । तपाईँ पनि त्यही गर्नोस् स्वेच्छाले ।” बडो अदवसाथ बोल्यो दोस्रो व्यक्ति ।
हा ! हा ! हा ! बडो जोडले हाँस्यो पहिलो र फेरी एकैछिनमा निरस देखियो र भन्यो,”अब बुढो हुँदै गइयो, फेरी मलाई चाहिएको नारी सुख हो पुरुष होइन । उहिले उहिले हुन्थ्यो भने यो बेला हाम्रो भर्खर युवावस्था आउनु पर्ने हो ।”
”कसरी ? उहिले भन्या कहिले ? ” दोस्रो केही अधिर बन्यो ।
”उहिले भनेको आजभन्दा ३, ५ हजार वर्ष अगाडीको कुरा रे । जतिबेला मानिसको सरदर उमेर १०० वर्ष जति पो हुन्थ्यो रे त ! यसरी उखुम गर्मी पनि हुँदैनथ्यो रे । ३० देखि ५० डिग्री मात्रै हुन्थ्यो रे । आक्कलझुक्कल ४० डिग्री पुग्थ्यो रे । पुरुष भन्दा महिलाको सङ्ख्या धेरै थियो रे। मानिसहरूले गर्भमा छोरी छ भन्ने थाहा पाउने बित्तिकै गर्भपतन गर्नुको नतिजा हो यो । करिब १०० माइलमाथि एउटा मानवनिर्मीत ओजोन लेयर छ, हेर त देखिरहेका छौ ? त्यतिबेला हजार माइलमाथितिर प्राकृतिक ओजोन तह हुने गर्थ्यो ।” पहिलाले एकै सासमा यतिका थोक भनि सिध्यायो ।
” त्यो बेला भगवानहरू बस्दा हुन्, जिउँदा हुन्, हैन ? ”दोस्रोले अझै जान्ने प्रयत्न गर्यो ।
त्यसपछि आँखिभौँबाट तपक्क आँखामै चुहिन आँटेको पसिना देब्रे हातले पुछ्दै बोल्न थाल्यो ।
” त्यस्तो भगवान नै हुन् भनेर ठोस् प्रमाण त दिन त सकिँदैन, तर ति मानिसहरू तुलनात्मक रुपमा हामी भन्दा ज्यादै खुसी हुन पर्छ । भगवान त म पनि मान्दिन । उनिहरूको दिमागपनि तेजिलो थिएछ क्यारे, नत्र आफ्नै डि. एन. ए. सँग खेलेर यत्रो घाम सहन सक्ने बनाइदिएका छन् हामीलाई पनि । तर खत्रै हुन् ।”
” त्यस्तो खुसी हुन्थे भने किन आफ्नै शरीरसँग छेडखानी गर्थे होला, मैले बुझ्न नसकेको कुरा । फेरी त्यसो गर्न सक्नेले डि. एन. ए. मा उमेर बढाउने भागचाहिँ भेटेनछन् कि खोइ ? मैले सुनेको मानिसहरूको त्यतिबेला दिमागको क्षमतापनि १६०० सि.सि. थ्यो रे । ति त के मान्छे होलान्, भगवान नै होलान् नि ।” यति बोलेर दोस्रो व्यक्ति चुप लाग्यो ।
पहिलो व्यक्ति फेरी बोल्यो, “अहिले हाम्रो देश छ नि, “ईर्वाइन” त्यहाँ पहिले नेपाल भन्ने देश हुने गर्थ्यो रे! नेपाली, अङ्ग्रेजी के के थरी भाषा हुन्थ्यो रे, अहिलेको जस्तो कम्प्युटर प्रोग्राम्ड भाषा हैन । ति भाषा त लोप भए । हामी जस्ता ७४० सि.सि . दिमाग भएकाले त बुझ्नै गाह्रो ।”
“पोहोर उत्खनन् गर्दा खै के लेख्या त भेट्या त थियो रे, तर त्यहाँ के लेख्याथ्यो कसले जानोस् । जान्ने पनि थियौं होला सन् २१६१ मा विश्वयुद्द नभएका हुन्थ्यो त । उक्त विश्वयुद्दले सबै तवाह पार्यो रे केही बचेनछ । हामी त ठूला देशहरूसँग हारेका दासीका सन्तान हौं र अझैपनि दासी नै छौं । अहिलेको जिमाना भन्ने देश छ नि, त्यो पहिले अमेरिका भन्ने देश थ्यो रे । त्यो युद्दमा त्यहाँबाट केही मानिस अर्को ग्रह पनि गए रे भन्ने लोककथन छ । तर कत्तिको सत्य हो थाहा छैन किनभने त्यसपछि न कोही आयो न कोही गयो ।”
“अहिले यो छ नि हामी बसिरहेको प्रतिक्षालय यो पनि त्यतिबेलै बनेको भन्ने सुनिन्छ ।” पहिलो बुढाले लामो लामो सास फेर्दै सुनाए ।
“अनि यस्तो अवस्था आउने गरी युद्दचाहीँ किन भएको होला? त्यस्तो धेरै दिमाग भएकाहरू पनि किन त्यसो गर्थे होला?” दोस्रो व्यक्ति उत्सुक भइरहेको छ ।
“सत्तामोह, अन्ध देशभक्ति, जातका नाममा लडाईं, धार्मिक असहिष्णुता, जस्ता संवेदनशिल चिज थिए रे । त्यो भनेको के हो नसोध । मलाई देशभक्ति भनेको अलि अलि थाहा छ, जस्तो हामीलाई हाम्रो देशको धेरै माया लाग्छ नि त्यस्तै ।”
“मलाई त लाग्दैन है !” भन्दै हाँस्यो दोस्रो मान्छे ।
“त्यति बेला शासकहरू हुन्थे रे, अनि ति केही शासकको इगो र हामीले भगवान मान्ने मानिस जातिले प्रकृतिसङ्ग खेलबाड गर्दा यो अवस्था आएको पनि हुन सक्छ ।
“भगवान भएको ठाउँमा, राक्षस पनि त हुँदा हुन् । त्यो दुई शक्तिबिचको लडाईंमा राक्षसहरूको जित भएको पनि त हुन सक्छ, हैन र ? ”
“खै, तर भगवान पनि हार्छन् होला त कहीँ ? बरु जितको खुसी अहम्मा बदलिएर, ति मानिसहरू नै पो दानव भएकी ? ”
“यस्ता कुरा हामी कहाँ बुझ्थ्यौँ, छोड्नुस् ।” दोस्रो व्यक्ति उठ्यो ।
“हुन्छ त ! म पनि जान्छु ।” भन्दै पहिलो पनि उठ्यो र कुप्रिएको ढाड दोस्रो व्यक्तितर्फ फर्काउँदै आफ्नो निवासतिर लाग्यो ।
दोस्रो व्यक्ति पनि फेरी सहरतर्फ हेर्दै के के सोच्न थाल्यो । सायद सोच्दै होला डि. एन. ए. मा केही फेरबदल गर्न पाए त उमेर बढ्दो पो हो कि ?
यो सायद नयाँ युगको सुरुवात हो ।
– बाँसगढी नगर् पालिका ०८ लक्ष्मणा
हाल कोटेश्वोर, काठमाडौँ
(स्रोत : शब्दसोपान डट कम)