~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् बाघ, भालु, हरिण, मृग मारे । समय यसरी नै बितिरहेको थियो ।
उता त्यसै समयमा पत्थरघट्टामा बस्ने एक तामाङ (थोकर) युवकको भर्खरै बिहे भएको थियो । दुलही अति सुन्दरी थिइन् जसको चर्चा पत्थरघट्टाभरि हावासरि फैलियो । एक कान दुई कान मैदान भनेझैँ यो कुरा जङ्गबहादुरको कानमा पुग्यो । भोगविलासका साथै सुन्दरी भनेपछि हुरुक्कै हुने जङ्गबहादुरको स्वभाव थियो । उनले ती नवदुलहीलाई अनेक प्रलोभनमा पारी रखौटी बनाए ।
कालान्तरमा एक दिन एकजना तामाङ युवकले श्री ३ जङ्गबहादुर बसेको दरबारमा पुगेर सरकार जार काट्न पाऊँ भनी बिन्ती चढायो । जङ्गेले पनि तत्कालीन कानुन अनुसार जार काट्ने हुकुमी प्रमाङ्गी लेखाउन लगाए । दरबारभित्रबाट मुलढोकामा निस्केर आफैँले ती युवालाई हुकुमी प्रमाङ्गी दिए । हुकुम पाउनेबित्तिकै युवकले आफ्नो दौरामाथि कम्मरमा भिरेको खुकुरीले जङ्गेलाई मुलढोकामै प्रहार गरे ।
गर्धनमा गहिरो चोट लागेको कारण जङ्गे तत्काल घाइते भई भुइँमा ढले । सिपाहीहरूले ती युवकलाई तुरुन्तै पक्रे । बिस्तारै होस आएका जङ्गेले सबै कुरा बुझेपछि युवकलाई छोडिदिए ।
त्यसपछि जङ्गबहादुर उपचारका लागि सर्लाही पत्थरघट्टाबाट हिँडे । बाटोमा घना जङ्गल थियो, जहाँ थुप्रै बाघहरू घुमिरहेका थिए । आँखा बिस्तारै कमजोर हुँदै गएकाले उनले ती बाघहरूलाई समेत सेतो देखे । यसरी आफ्नो कुकर्मको फलको कारण सिरहाको फरहवा गाँउमा पुगेपछि उनी अत्यधिक रक्तस्रावको कारणले मरे । ऐतिहासिक तामाङ लोककथा
भनिन्छ, यसै घटनाको आधारमा तामाङहरू बिहेमा केटी पक्षको ढोकाको सङ्घारमा कुखुरालाई जारको प्रतीक मानी काट्ने गर्छन् ।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)