कथा : मुक्ति

~दीक्षा भट्ट~

कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ?

घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ?

दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका नै ! बस् माथी एक सानो प्वाल छ जहाँबाट सिन्कोझै पातलो किरण आउँछ। आफूसँग  अलिकति उज्यालो लिएर, थाहा छैन यो आशाको किरण हो वा समाप्तीको सूचक।

म अक्सर हैरान हुन्छु तर जीवनको कठिनाईसँग हो वा मृत्युको सरलतासँग , त्यो चाहिँ थाहा पाएको छैन। आफ्नो वर्तमान खङ्ग्रहङ्ग सुकेर भुइँमा झरेको पातजस्तो लाग्छ, जसमाथी कसैको पैताला पर्यो भने ! कल्पना गर्नै डर लाग्छ। घटनाहरूले होइन मलाई दुर्घटनाहरुले यो अवस्थामा पुर्याएका हुन्। म यस्तो वर्तमानका लागी स्वयंलाई जिम्मेवार ठहर्‍याउँछु।

बिहानमा चिहानबाट उठेको मुर्दाझैँ आफूलाई अनायसै ऎनामा बेरुप हाँसो हासिरहेको पाउँछु। हिजोका कुरुपताहरू बिर्सेर आजको सुन्दरता महसुस गर्न खोज्दा प्रमुख पात्र भै मेरो खुइलिएको हाँसो ऎनामा प्रतिबिम्बित भइरहन्छ। मलाई अनावश्यक पीडा हुन्छ ।पैतालामुनिदेखि आएको कुनै जोडदार शक्तिले मुटुलाई माथीतिर धक्का दिएजस्तो लाग्छ।

राती खोलेको डायरी र कलम सधैँ अनिदै हुन्छन्, मैले बन्द गर्न बिर्सेर ! म कलमको सहायताले हर रात आफूलाई पानामा जस्ताको तस्तै उतार्ने प्रयास गर्छु तर सफल भने हुनसकेको छैन।

नुहाउन जान्छु। आमा जहिल्यै यो कुरामा बढी कराउनुहुन्छ कि नुहाउन एक घण्टा लाग्दैन कसैलाई !

सावर तल खै कति समय बिताउछु म आफूलाई भने पत्तो हुँदैन। नग्न शरिरमा लगातार झरिरहेका ती पानीका थोपाले कौमार्य लुटिरहेको जस्तो अनुभुति पनि हुन्छ तर मलाई त्यो क्षणमा स्वर्गीय आनन्दको प्रत्याभूति हुन्छ। लाग्छ मभित्रका सारा फोहोरमैला पखालिदै छन्। म पवित्र हुँदै छु। हलुका महसुस हुन्छ। ढोकामा कसैका औँला बजारिदै गरेको थाहा पाएपछी मात्र म पुनः पृथ्वीमा फर्कन्छु। हतार हतार लामो गाउन लगाएर आफ्नो कोठामा छिर्छु।

आमा चियाको कप लिएर आउनुहुन्छ। केही नबोली टेबलमा राख्नुहुन्छ। मलाई थाहा छ सबै थाकिसके, सायद दिक्क पनि भएका छन्। उमेरसँगै थुप्रै बानी बद्लिए तर चियाको लत भने छुटिसकेको छैन। म एकछिनसम्म आमाको उपस्थिति र अस्तित्व बिर्सेर, केही सोचमा डुबेको के थिए पौडिएर किनारसम्म आइपुग्दा आमा गइसक्नुभएछ। हुन त प्रतीक्षा गर्न समय कसलाई छ र ? अचेल समय महँगो र मान्छे सस्ता जो भएका छन्।

म चियाको चुस्की लिँदै झ्यालबाहिर हेरिरहेको हुन्छु। अलि पर मन्दिरभित्र सानो झुप्रोमा बस्ने लाटी माता एउटा आधा भरिएको थैलो दैलोमा राखेर कराइरहेकी हुन्छे। भित्रबाट आमा “पर्ख ! आए आए” भनिरहेकी हुन्छिन् । म उसलाई एकतमास हेरिरहेको थिए। त्यत्तिकैमा हाम्रो नजर जुध्छ। उ अपरिचयको भावले हो वा अविश्वासको भावले, मलाई केही बेरसम्म घुरिरही। मलाई थाहा छैन उसको हेराइ नै त्यस्तो हो वा उ मान्छेलाई त्यसरी नै हेर्छे। यद्यपि उ पनि मान्छे नै थिई तर उसको हेराइ मानवविरोधी थियो। आमाले केही चामल र पैसा दिएपछी, उ हात जोडेर केहि बरबराउदै हिँडि। थाहा छैन त्यो बरबराइ आशीर्वाद थियो वा सराप ! सुनेर पनि केही बुझिन। मेरा कान लाटाको भाषा बुझिसक्ने भएका छैनन् जस्तो लाग्यो।

घडीमा नाैँ बजेको देखेपछी हतार हतार ह्याङ्गरमा झुण्डिएको सर्ट ,पयान्ट, कोर्ट आफ्नो शरिरमा झुण्ड्याउँछु। टाइ बाध्छु, बेल्ट कस्छु र मोजा छिराउछु। किन हो कुन्नी यी लुगा मेरा लागि बनेका होइनन् जस्तो अनुभुती सधैँ हुन्छ। मुखमा सन्स्कृम, पाउडर दल्छु, ओठमा चिबिस्टिक रगड्छु, कपाल मुर्को पार्छु। ब्यागमा एक बोत्तल पानी, एउटा कापी र केहि किताब राखेर काँधमा झुण्ड्याउछु। आफ्नो न्यानो सुरक्षित संसारबाट निस्केर मूल ढोका बाहिर आमाले सधैँजसो टक्लाइदिने गरेका काला जुत्ता देखेर भन्न मन लाग्छ, “म यती गह्रुङ्गो प्रेम बोक्न सक्तीनँ, आमा ! म प्रेमको भोको होइन, भोगी हुँ ।”

खुट्टा जमिनमाथि टाउको जमिनतिर गरेर हिड्ने बानी उहिलेकै हो। हो मलाई पढ्न मनपर्छ तर म कलेज चाहिँ स्वैच्छाले जादिन। जानू बाध्यता बाहेक अरु केही होइन भन्दा सायद केही फरक नपर्ला। भन्नलाई बि.बि.ए पढ्छु तर खै मेरो मन भने सेकेण्ड सेमेस्टरको अन्तिमसम्म आइपुग्दा नि त्यहाँ लागेको छैन।

सायद यो पदयात्रा जीवनयात्रा हो र मेरो सहयात्री म नै हु, आत्मबोध हुन्छ। म आफ्नो हिँडाइमा तिव्रता महशुस गर्छु।

कक्षाको अन्तिम बेन्चको कुनामा ब्याग राख्छु । म अघिको बेन्चमा बस्ने पुष्पा मतिर फर्की फर्की हेर्दै हास्दै गरिरहेकि थिइ। “छ्या” भन्न नसकेर हासेको हासो जस्तो ! डन्डीफोरका केही आला त केही काला पुराना घाउहरूले डेरा जमाएको मेरो विकृत मुहार देख्दा कसलाई “छ्या” भन्न मन नलाग्ला र! आखिर मुखले जतिसुकै “Beauty doesn’t lie on your face. It lies within your heart.” जस्ता ठूल्ठूला कुरा गरेपनि आँखाले पहिले मुहारको सुन्दरता नै खोज्छ । मलाई सुन्दरतालाई गलत ढंगले परिभाषित गरिएझैँ नि लाग्छ। सायद आफू त्यो परिभाषाको परिधिभित्र नपर्ने भएर पनि होला।

“के भयो पुष्पा?” मैले सोधिहाले। उ त्यसपछि एकपल्ट पनि पछाडि फर्किन। एउटा सामान्य प्रश्नको यति असामान्य प्रतिक्रिया किन ? म अचम्म पर्छु।

कक्षामा पुगेपछि घडी हेर्दै बस्छु कति छिटो छुट्टि होला भनेर तर छुट्टि भैसकेपछी भने मलाई घर जाने मन पट्क्कै लाग्दैन। तर जाने अन्त ठाउँ पनि त छैन। 

म आखिर यहाँ किन छु ? त्यहाँ किन छैन जहाँ जीवन छ।

“अजीब दास्तां है ये

कहाँ शुरू कहाँ खतम…” 

गीत आफ्नै गतिमा अघि बढिरहेको हुन्छ ।

म ज्यान नभएको सालिकझै भित्तालाई घुरिरहन्छु। तर मेरा आँखा भित्तालाई छेडेर मलाई उज्यालोसम्म पुर्याउन सक्दैनन्। बाहिरको हल्लाखल्ला सुनेपछि निद्रा खुल्छ। डायरी माथी पल्टिएको रहेछु। पाना भिजेर पनि सुकिसकेका रहेछन्। पानाको रुप बद्लिएको हुन्छ।

गीत रातभर लुपमा चलिरहेको रहेछ। 

” किसी के इतने पास हो के सबसे दूर हो गए…” 

मैले आँखा खोल्दा, यो पंक्ति दोहोरिरहेको थियो। गीत  बन्द गरेर मोबाइल चार्जमा हाली हलतिर लागे। एक हुल आइमाई आमासँग एकछिन कतै जाने कुरा गरिरहेका थिए। कुनै कार्यक्रम होला सोचेर मैले त्यतातर्फ खासै ध्यान दिइन। शनिबार हुनाले मरन्च्यासे शरीरलाई केहि बोकाएर मलाई कहि जानू थिएन। चिया बनाएर  कप हातमा लिई आफ्नो कोठातर्फ लाग्छु।

लगभग दश मिनेटपछि आमा मेरो कोठामा आउनुहुन्छ। 

“लाटी माताको आज स्वर्गबास भएछ । बिचरी बिरामी रै छे, आफ्नो कोहि नभएपछि त्यस्तै त हो। जिउँदै त कहिल्यै सुख पाइन अब बरु पाउलि। म एक्छिन मन्दिरसम्म पुगेर आउँछु। घर हेर्नू है !” भनी जानुभयो। 

मलाई कताकता दुख्छ, यद्यपि म बुझ्छु आज कुनै एउटी  लाटी माता बितेकी होइन, एभरेज मगन्ते नेपालीको जिन्दगी यसै गरि सकिन्छ। मसित दुख्नका लागि पहिल्यै ठाउँठाउँमा थुप्रै घाउहरू थिए। आज एक अझ थपियो बचेको खाली ठाउँमा । थाहा छैन म फाइदामा परेको छु वा घाटामा तर आज म वेश्याको यौनीझै दुखिरहेछु।

घडीमा साँझको सातभन्दा बढी बजेको छैन तर एउटा डरलाग्दो सपनाबाट तर्सिएर ब्युँझिएको अनुभूति हुन्छ। कलमको ढक्कन खोलेर म केही लेख्ने प्रयास गर्छु तर मेरा औँला घायल भएका हुन्छन्। आत्मा कापिरहेको हुन्छ। मस्तिष्क टम्म भरिएको ! मनमनै सोच्छु “”छच्ल्किएर यी पानामा पोखिए हुने!”

लाइट अफ गर्छु। पंखा फुल पाउरमा लगाउँछु ।ओछ्यानमा शरीर खुम्च्याउदै पल्ट्न्छु। हो म अहिले उदास हु, घायल उहिले देखि नै थिए। मुख च्यापेर रुन्छु। आँसुका केही थोपा कानभित्र गइरहेका हुन्छन् त केही सिरानीको रुवाभित्र! 

मस्तिष्क रित्तिदै जान्छ। म शून्य हुन्छु र निदाउँछु।

केहिका विगत यस्ता हुन्छन् जो फुर्सदमा सोचेर व्यस्ततामा बिर्सन सकिदैनन् तर निद्रामा सबथोक बिर्सन सकिन्छ। 

मलाई अघिबाटै थाहा छ टुट्नुसम्मको कथा र जोडिएपछिको व्यथा। कुराहरू जति सामान्य सुनिन्छन्, अनुभवहरू किन त्यति नै असामान्य हुन्छन् ? म आफैंलाई प्रश्न गर्छु।

कुकरको सिट्टी कानमा लगातार बजेपछी मेरो निद्रा खुल्छ। पहिले घडी हेरे साढे आठ बजेको रहेछ अनि ऎना हेरे आँखा सुन्निएका रहेछन्। मलाई यस्ता आँखाहरू सुन्दर लाग्छन्।

नयाँमा पनि किन पुरानै रङ्गढङ्ग खोज्छन् मान्छेहरू ? नयाँलाई अपनाइसकेपछी उसको रङ्ग, गुण, आकार, प्रकार, व्यवहारलाई किन अप्नाउने प्रयत्न गर्दैनन् ? किन दाज्छ्न् ? हुन त म पनि यहि नअपनाउने प्रजातिभित्र पर्छु तापनि म अरुलाई प्रश्न गर्न चाहन्छु किनभने यसको उत्तर मसँग छैन। नयाँ दिन, नयाँ मिति, नयाँ मौसम तर उहीँ पुरानो म । म किन हरेक नयाँ आज हिजोका पुराना घाउहरू कोट्याएर आफूलाई सजाय दिइरहेको छु त्यसको कारण पनि मलाई थाहा छैन ।

म अहिले आफ्नो प्राणलाई साक्षी राखेर भन्न सक्छु। मलाई व्यक्ती वा वस्तुप्रति कुनै मोह छैन। केवल मुक्ती को आश छ ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.