निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~

 आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर निस्कियो । अझ उग्र भएर निस्कियो । कहिलेकाँही प्रयास भनेको सिर्फ प्रयास मात्र हुन्छन् भन्ने कुरालाई मैले फेरी बुझ्न पर्ने भयो । म प्रयास गर्न गएको थिएँ । र, म प्रश्नमा गएर अडिएको छु । थाहा छैन यो प्रश्न के हो, सुरुवात कि अन्त्य ? ‘‘म उसलाई रोक्न किन प्रयास गरिरहेको थिएँ ?’’ मेरो मनोभावमा उठेको यो ज्वार एकदमै अग्लो छ एकदमै सुनामी ।

‘कुखुरी काँ बासी भात खाँ……………….खोलाले बगायो ’ उसले सुरुवात गर्‍यो । यो नयाँ नेपालमा कोही नेता बन्नलाई यो कविता पढ्नुपर्छ । एउटा नेता हातमा मोबाइल बोके पनि गाउँखाने कथाको जमानाबाट आएको हो । सबले जान्दछ ‘माछा माछा भ्यागुता’ भनेको के हो भनेर । एउटा बासीभाते नेपाली सर्वहारा नै हो । अनि जसको घरमा ‘कुखुरी काँ, बिरालोले खायो, गाईले कुल्चियो’ छ । त्यो एउटा कृषक हो । सर्वहारा नेपाली कृषक । जो यति सबाल्टर्न छ कि ऊ सुक्ने खोलाको बारेमा पनि जान्दैन । र सोधिरहन्छ बारबार कुखरी काँ बिहानीसँगै सिर्फ आफ्नो बासी भात । र उत्तर दिने मान्छे सुकेको खोलामा बगाइरहन्छ ‘बासी भात र खोलाहरू’ । यो हामी नेपाली नै हौँ साथी जो आजीवन त्यहि माछामाछा भ्यागुतामा समातिन्छौँ र ‘ढिकी कि जाँतो’ भन्ने अप्सनहरूमा पारिन्छौँ । र हाम्रा चोरिऔँलाहरू पिसिइरहन्छन् वा थिचिन्छन् । पिडामा पनि खेल छ । पिडामा पनि हाँसो छ । हामी त हाँस्नेहरू हौँ जो आफ्नै पिडालाई पनि बलात्कार गरिरहन्छन् । चोरिऔँलाको भरमा थर्काएर शक्तिशाली बनेको मानिसले सोहि चोरिऔँलालाई भरपुर प्रयोग गर्छ । जान्नुपर्छ साथी । हाम्रा चोरिऔँला माछा माछा भ्यागुताका खेलमा समातिदैँ छन् र उसका चोरिऔँला उसका ओठमा पुगेका भरमा हाम्रा आवाजहरू रोकिएका छन् । वर्गीयताका यी खेलहरूमा हाम्रा छैठिमा लेखिन्छन् यी रमाइला बाल्याकालहरू ।

चोरिऔँलाको डिस्कोर्सले म रन्थिनिएँ । यसै पनि कपालका ‘पंक्स’ खेलाउने कल्पनामा डुब्ने एउटा युवाको अश्लील चाहनाहरूमा यो बिल्कुल वन्डरल्यान्ड थियो । बिल्कुलै मायावी । र वर्तमान जमानाको ग्लोबलाईजेसन समाते पनि लवज र भाषा समाते पनि मैले पढ्ने ‘बा बा ब्ल्याक सिप……….’ प्रवृत्ति पनि आफ्नो एक तिहाइ ऊन आफ्नो मालिकलाई सुम्पन्थ्यो । जो ऊन सोध्ने कोही वक्तालाई आफ्नो रित्तो कहानी सुनाउथ्यो । हाम्रो पठनले जिब्रो फेरेको हो तर पनि हाम्रा पठनमा कतै न कतै एउटा सामन्त लुकी नै रहेको छ । तर पनि हामीले पढाउने पाठमा रहिरहन्छ ‘रो रो रो योर बोट जेन्ट्ली डाउन द स्ट्रिम, मेर्रिली  मेर्रिली मेर्रिली लाइफ इज लाइक अ ड्रिम’ जिन्दगी एउटा सपना जस्तै हो । अनि राइम्सहरूको यो ककटेलमै पढाइराखिन्छ एउटा लुकिरहेको सामन्त ।

उसले आफ्नो बन्द मुठ्ठीबाट माझिऔँला झिक्यो । एउटा विद्रोही औँला जो अराजकताको वर्तमान भाषा बोल्थ्यो । तिमी कसैलाई दिनदहाडै यसरी माझिऔँला देखाउन पाउन्नौ । (यु क्यान नट रेज फक अप साइन) अझ हाम्रो परिवेशमा, हाम्रो यो बर्जित समाजमा त झन पाउन्नौ । यहाँ एउटा हाइरार्की छ, एउटा शास्त्रिय विचार राज गर्छ यो देशमा । हामी लोकतन्त्रको आफ्नो विचार राख्न पाउने स्वतन्त्रतामा त छौँ तर त्यो लोकतन्त्रमा छैनौँ जहाँ विचारहरू सुनिन तयार छन् । हाम्रो नश्ल आस्थाको आधारमा कित्ताकाट भएको छ, जनता अनि भावना पनि । मैले यो उठाउँदै गर्दा सबैभन्दा पहिला मेरो आस्थाको नश्ल जाँचिनेछ । यदि म विरोध गरिएको आस्थाको विपरित कुनै फरक आस्थाको छायाँमा पाइए मात्रै भने मेरो विरोधलाई कुनै भडासको रुपमा लिइनेछ । यो नैतिकताको चेत पनि आजकल कुनै पार्टीको एसेम्ब्ली लाइनमा बोर्डिङ्ग स्कुलको हाउसजस्तै विभाजित छ । बस् एउटा मानिस सिर्फ ऊ बन्न चाहेको मानिस बन्न असमर्थ छ । एउटा सिधा गाली पनि व्यक्तिगत अर्थहरूको बाङ्गोमा रिफ्राक्सन बनिदिन्छन् ।

उसका कुराहरूमा ऊ बोलिरहेको थिएन । वर्तमान समय बोलिरहेको थियो । एउटा साइबर संसारको भर्चुअल दुनियाँमा मानिसहरू वास्तविक संसारभन्दा बढि समय रहने गरेका छन् आजकल र जीवनको अफ्नो अडान सायद भोक र पाचन पक्रियाको अन्तिम बिन्दु मात्र होला । सारांशमा आजकल त मलमुत्रको लागि पनि मोबाइल नभै नहुने जमानाको जन्म भइसकेको छ । यस्तोमा समाज बढि नै प्रतिक्रियात्मक भइरहेको छ । बढि नै प्रतिक्रियावादी जो आपत्ति र समर्थन तत्काल रियाक्ट गर्ने भइसकेको छ । र एउटा सिन्डिकेट समाजको निर्माण वास्तविक संसारमा भन्दा भर्चुअल संसारमा अझ बढि उत्तेजित भएर लागिपरेको छ, अस्वस्थ्य भएर संकथन (डिस्कोर्स) गरिरहेको छ । संसार चिन्तनशील रहेर प्रतिक्रिया गर्नेभन्दा चिन्ता तुल्याउने भइरहेको छ । यसमा प्रभाव पार्ने कुराहरू अनेकन छन् । आस्था, सम्प्रदाय, उमेर समुहको जत्था मानवताको जेनोसाइड गर्न तत्पर छन् आजको समयमा ।

अझ समस्या केमा छ थाहा छ ? ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ । हो मानिम् रे यो उखान मानिम् रे यसको कुरा तर हाम्रो (युवा) को विशेषण चैँ के ? अझै पनि उही बलले मात्तिएर जोत्न गएको गोरु फर्केपछि लोलाएको लोककथा ? के युवाको पर्याय त्यति लोलाएको गोरु मात्र रहन्छ ? त्यो गोरु लोलाएको हैन साथी । लोलाउन बाध्य गराइएको हो । विश्वका हरेक क्रान्तिका निर्णायक सिपाहीहरूमा अधिकांश युवाहरूको नाम आउँछ । युवाको जोश बेगर कुनै क्रान्तिको माङ्गेना उठेको छैन । युवाहरू शासित छन् । युवाहरूको जोशलाई खरायो र कछुवाको कथाले शासन गरेको छ । हो मानिम् कि खरायो निदायो र कछुवाले जित्यो तर फेरी खरायोलाई आफ्नो गल्ती सुधार्ने मौका किन दिइएन ? किन हिनताबोध गराइराखियो खरायोलाई ? वाइ स्लो एन्ड स्टेडी विन्स द रेस ? किन फास्ट एन्ड फोकस्ड नट गिभन अ चान्स ? किनकि खरायो कछुवाभन्दा धेरै नै चाँडो छ । हामी माफी नदिइने गल्तीहरूको पोर्टफोलियोमा छौँ । युवालाई वास्तवमा मौका दिइएन । एउटा सामन्त कछुवा कहिल्यै चाहँदैन कि खरायोले गल्ती सच्याएको प्रेरणादायी कथा पढियोस् । हाम्रा कथाहरूमा गल्ती सच्याउन दिइन्न । बस् गल्ती हुन्छ र गल्तीको सजाय पाउँछन् र फेरि पनि हार भइरहन्छ एक कछुवाको ।

मानिसको सोचाइमा जहिल्यै पनि जेनेरेसन ग्यापको अस्तित्व रहन्छ । हामी हरेक मानिसको जन्म भिन्न समयक्रममा भएको हो र हरेक समयको मापक अलग हुन्छ । र हरेक जेनेरेसन(पुस्ता)को नेतृत्व फरक विचार महत्वले गर्छ । हिजोको लागि पुर्वाधार भन्ने कुरा महत्वपुर्ण थियो हाम्रो बुबा हजुरबुबाको पालामा तर आजको वर्तमान समयमा सिर्फ ती कुरा मात्र महत्वपुर्ण होइनन् । महत्वपुर्ण हुन् त दक्ष जनशक्तिका लागि पुर्वाधार । आजको समयमा सबैभन्दा ठूलो जेनेरेसन ग्याप भनेको स्थानीय निर्वाचनपछि भएका विकास निर्माणका कार्ययोजनाहरू पनि हुन् । हाम्रो विकासनिमार्णका महत्वहरूमा जनशक्ति उत्पादन र विकासका लागि कति लगानी विनियोजन भए त ? के असरल्ल गाउँको घरघरसम्म पुगेको सडकले एक युवाको भविष्य वर्तमान समयको विश्वको मुलधारमा लैजान सक्ला ? यस्तोमा युवालाई साँच्चिकै बुझियो कि शासन मात्र गरियो ? के युवाले आफैँलाई उमेरको कसीमा अंकहरू बटुलेर मात्र पाउने हो अस्तित्व ? यस्तोमा के एउटा युवा कोही बुढा शासकको मृत्यु पर्खिरहेको हुनसक्छ नि, मनैमन ।

एकपटक धेरै परसम्म हेर्‍यो उसले । सर्टको छातीमा रहेको गोजीमा रुमाल हाल्यो र छातीको मध्यमा लट्केको कालो चस्मा झिक्यो अनि लगायो । ‘‘म सन्काहा छु तर भविष्यप्रति चिन्तित पनि छु । यति हो साँझको घामले धान सुकाउन तत्पर छ एक सामन्त ।’’

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.