~पुरु लम्साल~
१. थालनी
साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र संस्कृतिको सम्बन्ध नङ् र मासुको जस्तै हुन्छ । नेपाल संस्कृतिमा धनी देश हो । हाम्रो जीवन कला साहित्य आदिमा परम्पराको महत्व निरन्तर बनिरहन्छ । यस कार्यपत्रमा संस्कृति र मिथकको परिचय दिँदै नेपाली नाटकमा यसको प्रयोग केकसरी भएको छ उल्लेख गरिएको छ ।
२. नेपाली नाटकमा संस्कृतिको अस्तित्व
संस्कृति कुनै समाजमा गहिराइसम्म व्याप्त गुणहरूको समग्र रूपको नाम हो जुन त्यो समाजका व्यक्तिहरूले सोच्ने, विचार गर्ने, कार्य गर्ने, खानेपिउने, बोल्न, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्ष्यित हुन्छ । संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घकालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हो ।
संस्कृतिको अर्थ सुध्रेको अवस्था भन्ने बुझिन्छ । मानव स्वभावैले प्रगतिशील सामाजिक प्राणी हो । यो बुद्धिको प्रयोगबाट आफ्नो परिपाटी र प्राकृतिक परिस्थितिलाई निरन्तर सुधार गरिरहन्छ । यस्तो प्रत्येक जीवन–पद्धति, रीति–रिवाज, रहन–सहन, आचार–विचार नवीन अनुसन्धान र आविष्कार, जसबाट मान्छे पशुहरू र जङ्गलीहरूको दर्जाबाट माथि उठ्दछ तथा सभ्य बन्दछ, सभ्यता र संस्कृतिको अन्योन्याश्रित सम्बन्ध रहन्छ ।
सभ्यता (सिभिलाइजेसन) बाट मान्छेको भौतिक क्षेत्रको प्रगति सूचित हुन्छ भने संस्कृतिबाट मानसिक क्षेत्रको प्रगति सूचित हुन्छ । प्रारम्भमा मान्छे आँधी–पानी, सर्दी–गर्मी सबै सहँदै जङ्गलहरूमा रहन्थ्यो, विस्तारै उसले यी प्राकृतिक विपदहरूबाट आफ्नो रक्षाको लागि पहिले गुफाहरू र फेरि क्रमशः काठ, ईटा या पत्थरका घरहरूको शरण लियो । त्यसबाट माथि आएर अब मानवले फलाम र सीमेन्टको गगनचुम्बी भवनहरूको निर्माण गर्न लाग्यो । प्राचीन कालमा यातायातको साधन केबल मानवका दुई खुट्टा नै थिए । फेरि उसले घोडा, ऊँट, हात्ती, रथ र बग्गीहरूको आश्रय लिन थाल्यो । अब मोटर र रेलगाडीद्वारा थोरै समयमा धेरै लामो यात्रातय गर्न सफल भयो । हवाइ जहाजद्वारा आकाशमा पनि उड्न थाल्यो मानव । पहिले मान्छे जङ्गलका कन्दमूल, फल तथा रूखका बोक्रबाट आफ्नो जीवन निर्वाह गथ्र्याे । त्यसपछि उनले पशुपालन र कृषिको आविष्कारद्वारा आजीविकाका साधनहरूमा उन्नति ग¥यो । पहिले त्यो आफ्नो सबै कार्यहरूलाई शारीरिक शक्तिबाट गथ्र्याे । पछि उसले पशुहरूलाई पालेर र तालिम दिएर उनको शक्तिलाई जमिन जोत्न र यातायात आदिमा उपयोग गर्न थाल्यो । अन्तमा मानवले हावापानी, वाष्प, बिजुली र अणुको भौतिक शक्तिहरूलाई प्रयोग गरेर यस्तो यन्त्रहरू बनायो जसबाट उसको भौतिक जीवनमा व्यापक परिवर्तन आयो । मान्छेको यो सारा प्रगतिलाई सभ्यता भन्न सकिन्छ ।
मान्छे केवल भौतिक परिस्थितिहरूमा सुधार गरेर सन्तुष्ट भएन । भौतिक सुविधा भोगबाटमात्र खुसी भएर रोकिएन । शरीरसहित मन र आत्मा पनि छ सँगै छ मान्छेसँग । भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सक्ला तर यसको अस्तित्व मन र आत्मामा अतृप्त नैं रह्यो । यसनलाई सन्तुष्ट गर्नको लागि मान्छे आफ्नो जुन विकास र उन्नति गर्यो यसलाई संस्कृति भनिन्छ । मान्छेको जिज्ञासाको परिणाम धर्म र दर्शन हुन्छन् । सौन्दर्यको खोज गर्दै त्यो सङ्गीत, साहित्य, मूर्ति आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक सङ्घठनहरूको निर्माण गरे ।
यसप्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उसको प्रत्येक सम्यक् कृति संस्कृतिको अङ्ग बन्यो । यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान–विज्ञानहरू र कलाहरू, सामाजिक तथा राजनीतिक संस्थाहरू र प्रथाहरूको समावेश भयो । यो सांस्कृतिक पक्षहरू हिजोदेखि आजसम्म निरन्तर गतिशील छ र विकसित पनि छ ।
नेपाली नाटक र रङ्गमञ्चमा सांस्कृतिक कुराहरू हिजोदेखि आजसम्म निरन्तर छ । साहित्यमा समाजको छायाँ मात्र होइन संस्कृतिको प्रभाव पनि देखिन्छ । प्राथमिककालीन नाटक ‘हस्यकदम्ब’ र ‘मुद्राराक्षस’मा तत्कालीन समाज र संस्कृतिको प्रभाव देखिन्छ । माध्यमिककालीन नाटकमा त्यस समयमा सांस्कृतिक पदचापहरू देखिन्छन् । आधुनिक नेपाली नाटक र रङ्गमञ्चमा पनि संस्कृतिको अमिट छापहरू देख्ना सकिन्छ ।
३. नेपाली नाटकमा मिथको अस्तित्व
छोटकरीमा भन्दा आदी मानवले मिथलाई सारथि बनाइ जीवन बाँचेका थिए । यो निरन्तर क्रियाशील रह्यो । विकसित बन्यो र आजको पुस्तालाई पनि पछ्याइरह्यो छायाले जस्तै । नेपाली साहित्यका अन्य विधामा जस्तै नाटकमा पनि पूर्वीय आर्य मिथलाई आधार मानेर नाटक लेखियो । मोतीराम भट्टले मञ्चन गराएर दरबारमा स्यावासी पाएको नेपाली शाकुन्तला नाटक मिथकीय नाटक हो । नेपाली नाटकमा मिथकको प्रयोग एक प्रवृत्ति हो । नेपाली नाटकमा मिथकको परिकल्पना एवं प्रतीकविधान नयाँ अवधारणा हो । पौराणिक विषयलाई लिइएको थुप्रै नाटकहरू रहेका छन् । मिथकीय नाटक पौराणिक नाटकको भन्दा सर्वथा भिन्न कुरा हो । पौराणिक नाटकमा पुराणका कथाको पुनः प्रस्तुति मात्र हो । मिथ पुरानो भएर पनि नयाँ लागिरहन्छ । आजको मान्छेले आफ्नो युग सुहाउँदो त्यसमा विविध लेपन दल्दै आउने भएकाले नवीन लागेको हो । मिथ प्रतीकात्मक हुने भएकाले पनि आजको मान्छेलाई सजिलो भएको प्रयोगमा ल्याउन । आफ्नो छाया खोज्न र आफ्नो अनुकूलको पुनव्र्याख्या गर्न । बहुविद हुनु मिथकको विशेषता हो । पश्चिमी साहित्यमा धार्मिक–कृषि–हावापानी सम्बन्धी विविध मिथको अस्तित्व भेटिन्छ । ग्रिसेली नाटक दियोनिस देवताको मिथमा आधारित छ ।
देउता मान्नुस् नमान्नुस् तर तपाईँ नाटक रङ्गमञ्चमा चासो राख्नु हुन्छ भने दोस्रो छुट छैन । देउता मान्नै पर्छ तपाईँले । चाहे पूर्व होस् वा पश्चिम नाटक उत्पत्तिको दैवी मिथकीय व्याख्या रहेको छ । पूर्वमा ऋग्वेदको हवला दिँदै उर्वशी पुरुरुवाको दृष्टान्त दिँदै नाटकलाई देववाणीका रूपमा स्वीकार गरिएको छ । देउतालाई दुःख पर्दैन भन्ने सोच्नु भएको छ भने पनि यो सोचाइ हटाइदिनु पर्छ किनभने सत्य युगको समाप्ति र त्रेता युगकको आरम्भमा देउताले दुःख भुल्न चाहे र मनोरञ्जनको साधनको अपेक्षा गरे फलतः बह्माले एउटा काइदा रचे त्यो हो ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्व वेदबाट क्रमशः कथा, गायन, अभिनय र रस लिएर विश्वकर्मालाई रङ्गमञ्च बनाउन लगाएर नाटक जन्माएको मिथकीय कथामा चाखलाग्दो छ ।
पुर्वीय साहित्यमा भरतको नाट्यशास्त्रम् विशाल ग्रन्थ हो । यसमा पूर्वीय मिथका विविध आयामलाई प्रट्स्याउने प्रयास गरिएको छ । पञ्चमवेद र ब्रह्माले सिर्जेको मानेर यसलाई एक प्रकारको यज्ञ मानिएको छ । अनुष्ठान ठानिएको छ । नाट्यदेवीको बिम्बको रूपमा यसलाई उपस्थान गरिएको छ । यो मान्छेको आन्तष्हृदयलाई छुने प्रकारको पाँचौँ वेद हो । नाटक र मिथको नजिको साइनो छ ।
हिजोदेखि आजसम्मका रङ्गकर्मीले नाट्यशालालाई मन्दिर र नाट्यदेवीको उपस्थिति स्वीकार्छन् । नाटक आरम्भ गर्दा नाट्यदेवीको पुजा गरिए भने अनिष्ट हुन्छ । नाट्यदेवी रिसाएकाले नाटककै क्रममा थुप्रै अनिष्ट भएको कुरा पनि स्वीकार गरिएको छ । आफूमा विश्वाष्स नभएको कि एउटा मिथलाई सहारा लिएको हो ? यसको जवाफ एउटै छैन । जे होस् नाट्य विधाको सम्मान भने यो हो ।
आधुनिक कालमा त्यसमा पनि समकालीन कालमा मिथकीय नाटक लेख्ने परम्पराको विकास भएकै छ । आजका नाटका पात्र, घटना, मञ्चसज्जा आदि विविध ठाउँमा मिथकको प्रयोग गरेको भेटिन्छ । पछिल्लो समय रङ्गमञ्चमा प्रस्तुत भएका युमा र चिरिएका साँझ दुवै मिथकीय नाटकहरू हुन् । हेछाकुप्पा र सुम्निमा र पारोहाङ पनि रङ्गमञ्चमा देखाइएका मिथकीय विम्बहरू हुन् ।
आधुनिक नेपाली नाटकको आरम्भमै ध्रुव नाटक सिर्जेपछि नाटकमा मिथको प्रयोग हुनेक्रम बढेर गयो । समकै प्रल्लाद पुर्वीय मिथलाई प्रयोग गरिएको सशक्त नाटक हो । उनले यसकै निरन्तरताका लागि ऊ मरेकी छैन नाटक सिर्जना गरे । यसै गरी पाश्चात्य मिथिलाई लिएर नाटक लेख्ने क्रम पनि रोकिएन । विजय मल्ल गोविन्द गोठाले आदिले पनि मिथकीय नाटकको सिर्जान गरे ।
समकालीन कालखण्डमा पनि मिथलाई नाटकमा उतार्ने प्रचलन बढेर नै गयो । ध्रुवचन्द्र गौतमले भस्मासुरको नलीहाड नाटकको सिर्जना गरे । यसमा प्रबल मिथकीय आतङ्कको सिर्जना गरे । शक्तिशाली हड्डी वा शक्तिलाई एउटा मिथको रूपमा प्रयोग गरेर यसमा समकालीन टेररलाई प्रस्ट्याइएको छ । यसै गरी सडक नाटकका अभियान्ता अशेष मल्लले रामायणको अर्को पृष्ठ नाटकमा पनि मिथकीय नाटक हो ।
नेपाली सांस्कृतिक तथा मिथकीय नाटक
लिच्छवि तथा मल्लकालमा के कति सांस्कृतिक र मिथकीय नाटक लेखिए त्यसको अभिलेख नभेएिकाले त्यसको लेखाजोखा गर्न सकिएन । नेपाली नाटकको माध्यमिक कालमा शक्तिबल्लब अर्यालले संस्कृतमा नाटक लेखे । त्यस नाटकको नाम हास्यकदम्ब थियो । त्यसलाई उनले नेपालीमा उल्था गरे । त्यहाँ केही सांस्कृतिक कुराहरूको उठाउनको प्रयास गरियो । त्यसपछि भवानीदत्त पाण्डेले मुद्रा राक्षस नाटक लेखे त्यसमा पनि केही सांस्कृतिक कुराहरूको उठान गरियो । माध्यमिक कालमा मोतीराम भट्ट, पहलमान सिंह स्वाँर, सम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौड्याल, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवालीहरूले मिथकीय नाटक लेखे ।
बालकृष्ण समको आगमनपछि ध्रुव, प्रह्लाद, अज, ऊ मरेकी छैन जस्ता मथकीय नाटकहरू लेखिए । सात साल धन्दा अगाडिको समयमा पनि नेपाली नाटकमा उल्ेख्य रूपमा सांस्कृतिक तथा मिथकिय नाटकहरुको लेखन तथा मञ्चन भएको पाइन्छ ।
नेपाली नाटकमा थुप्रै मिथकीय नाटकहरू लेखिएका छन् । त्यसमा ध्रुवचन्द्र गौतमको भष्मासुरको नलीहाड (२०३७), अशेष मल्लको रामायणको अर्को पृष्ठ (२०३९), कुमारजी आज्ञा गर्नुहुन्छ (२०५०), कुमारी (२०५६), रक्तबीज (२०६०), शकुनी पासाहरू (२०६८), अविनाश श्रेष्ठको अश्वत्थामा हतोहत (२०४५), श्रवण मुकारुङको यलम्बर (२०५३), विप्लव ढकालको अन्तिम नायिका (२०५४), कृष्ण शाह यात्रीको समय अवसान (२०६१), मृत्यु सम्पादन (२०५९), बामियानका चिसा बुद्धहरू (२०६७), सरुभक्तको एस धम्मो सनन्तनो (२०४६), जस्तो दन्त्यकथा (२०४७), सरुभक्तको ईथर (२०४७), सत्य मोहन जोशीको मृत्यु एक प्रश्न (२०४२), अभि सुवेदीको पाँच नाटक (२०६०) आदि । यसै गरी मोहनराज शर्मा, फणीन्द्र राज खेताला, विजय मल्ल, कृष्ण उदासी, सरुभक्त, पुष्प आचार्यजस्ता व्यक्तिहरूको नाटकमा पनि परिधीय विषयवस्तुका रूपमा मिथकलाई प्रयोग गरिएको छ ।
बहुदलकाल २०४६ पछि
नेपाली संगमञ्चका लागि उर्वर समयको रूपमा यो काललाई लिन सकिन्छ । २०४६ साल चैत २६ गते निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य बहुदलीय व्यवस्थापछि नेपालमा उल्लेख्य रूपमा नाट्य संस्थाहरू समेत दर्ता भएर विभिन्न रङ्ग गतिविधि गरेको पाइन्छ ।
प्रभाकरदेव शर्माले निर्देशन गरेका नाटकहरू बोक्सी उद्योग, लगायत नाटकहरुमा पनि नेपाली संस्कृति र मिथकको प्रयोग र प्रभाव पाइन्छ ।
बिरेन्द्र हमालको निर्देशनमा मञ्चन भएका धेरै नाटकहरूमा सांस्कृतिक पक्षको राम्रो प्रभाव पाइन्छ । बरै, बर्खेली हमालले लेखन तथा निर्देशन गरेका नाटकहरुमा सास्ंकृतिक प्रभाव छ । हमालकै निर्देशन रहेका नाटकहरू मोदिआइन्, सोरठी, देउकासी लगायत नाटकहरूमा सांस्कृतिक बिम्बहरूको उठान पाइन्छ ।
अनुप बरालको आगमनपछि नेपाली नाटकमा सांस्कृतिक र लोक मिथकीय बिषयहरूको उठान फरक तर कलात्मक रुपमा प्रस्तुत भएका छन् । सरुभक्तको लेखन रहेको नाटक मलामीमा बरालले शारीरिक हाउभाउ (फिजिकल मुभमेन्ट)हरूमा घाटुका मुद्राहरुलाई प्रस्तुत गरेका छन् । बरालकै निर्देशनमा तयार भएको नाटक बरी लै र खुमामा पनि सांस्कृतिक प्रभाव रहेको छ ।
सत्यमोहन जोशीको लेखन रहेको नाटक सुनकेसरी, मजिपा लाखे, वाघ भैरव, नरसिंह अवतार लगायत नाटकहरूमा सांस्कृतिक तथा मिथकीय प्रभाव रहेको छ । सरुभक्तको लेखनमा केही मिथकीय तथा सांस्कृतिक नाटकहरू प्रकाशन तथा बिभिन्न निर्देशकहरूले मञ्चन गरेका छन् । सरुभक्तका एसो धम्म सन्नतनो, सिरुमा रानी तथा अभि सुवेदीको चिरिएका साँझहरू, सुवेदीकै मायादेवी सपना, आरुका फूलका सपना, अग्निको कथा, युग पाठकको युमा, प्रवीण पुमाको सुम्निमा र पारुहोङ, महेश्वर शर्माको एक क्रुर कथा लगायत सुवसेन ओली, इन्द्रबहादुर राई आदिका नाटकहरूमा मिथकीय र सांस्कृतिक विषयमा प्रस्तुत भएका छन् । त्यसैगरि डा. कुसुमाकर न्यौपानेको गोपीचन, सारदा सुब्बाको यसोधरा, भराती खरेलको भाइटीका, नाटकमा पनि सांस्कृतिक तथा मिथकको प्रभाव रहेको छ ।
निष्कर्ष
नेपाली रङ्गमञ्चको इतिहासमा सांस्कृतिक नाटक लेखिएका छन् । मिथकीय नाटक लेखिएका छन् । नेपाल आर्य सभ्यताको एउटा केन्द्र हो । हिन्दू संस्कृतिसँग आबद्ध भएर नेपाली नाटकको प्राथमिक कालदेखि नै लेख्ने र रङ्गमञ्चमा खेलाउने प्रयास गरियो । मिथक र संस्कृतिको सम्बन्ध निकट र हुने भएकाले साथसाथै मिथकीय नाटक पनि उत्तिकै गरियो र आज पनि उत्तिकै गरिँदैछ । नाटक लेखेर मात्र यसको उद्देश्य पूरा हुँदैन । सचेत रूपमा यसलाई मञ्चन गरेपछि मात्र यसको उद्देश्य पूरा हुने हो । नेपाली सांस्कृतिक र मिथकीय नाटक विषयमा थप बहस हुनुपर्छ ।
सन्दर्भग्रन्थ सूची
- उपाध्याय, केशवप्रसाद, नेपाली नाटक तथा रङ्गमञ्च उद्भव र विकास, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार, २०५९ ।
- पोखरेल, रामचन्द्र (सम्पा.), रङ्गदृष्टि, पोखराः नेपाल नाट्य प्रतिष्ठान, २०७४ ।
- मल्ल, अशेष, सडकनाटक सिद्धान्त, सिर्जना र प्रस्तुति, काठमाडौँः एकता बुक्स डिष्ट्रिब्युटर्स, २०६६ ।
- रिजाल, शिव, नेपालमा रङ्गमञ्चः स्रोत, साधन र सृजना, काठमाडौँः गुरुकुल स्कुल अफ थियटर,२०६३ ।
- सुवेदी, अभि, नेपाली थियटर यज आइ सि इट, काठमाडौँः अरोहण, सन् २००६ ।
(स्रोत : शब्द सोपान)