~हेमन्त श्रेष्ठ~
त्यो एकदिन
सम्पूर्ण कुराहरू हुनेछन्
जो कहिल्यै हुँदैन
आँखाले
वरण गर्नेछन्
यावत यथार्थहरू
सदृश्य
सूर्य हिमदह बन्नेछ
र तप्कनेछन् हिमकिरणहरू
फूलले
आँसु झार्नेछ
अग्निदह बनेर
बग्नेछन् नदीहरू
पहाडहरू
बाफ बनेर उड्नेछन्
हावा हिमाल भएर जम्नेछ
रुख
हिँड्न थाल्नेछ
ढुङ्गाहरू हाँस्न थाल्नेछन्
मान्छेको समुंद्र बग्नेछ
एकदिन
बादलको पर्दा
उघ्रनेछ
र एकाएक खस्न थाल्नेछन्
धरतीमा
जून र ताराहरू
पोल्टाभरि
खल्तीभरि
कोचिनेछन् ताराहरू
खोसाखोस् हुनेछ चन्द्रमा
मान्छेले
धरतीमा हैन
आकाशमा रोपेर खानुपर्नेछ ।
भर्जिनिया
(स्रोत : बसन्त श्रेष्ठको कवितासङ्ग्रह “देश भोकाहरूको रोटी होइन” बाट सभार)