अनुसन्धान, अनुसन्धाता र निर्देशक
- अनुसन्धान, गवेषणा, शोध, अन्वेषण, खोज, खोजी सबै शब्द उस्तै अर्थमा प्रयोग भइरहेका हुन्छन् ।
- ज्ञान आर्जनका पाँच प्रक्रिया (अनुभव, आप्तवाक्य, निगमन,आगमन र अनुसन्धान) मा पछिल्लो चाहिँ सर्वोत्तम हो ।
- अनुसन्धानलाई विषय (भाषा,साहित्य,दर्शन,विज्ञान,आदि) समय ऐतिहासिक,समसामयक), अनुसन्धाता (एकल, सामूहिक), स्थल (पुस्तक, प्रयोगशाला, क्षेत्र), तर्कपद्धति (निगमन, आगमन), लक्ष्य (सैद्धान्तिक, प्रायोगिक) र प्रयोजन (उपाधि, परियोजना), आदि विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ ।
- अनुसन्धातामा केही विशेष गुण छन् । तिनीहरुमा प्रमुख हुन् – आवश्यक अध्ययन र प्रशिक्षण, सत्यान्वेषणको प्रवृत्ति, चिन्तन, पूर्वाग्रहको अभाव, वस्तुनिष्ठता, धैर्य, इमान्दारी, कर्तव्यबोध र गुरुपरम्पराप्रतिको निष्ठा ।
- असल निर्देशकका पनि केही विशेष गुण छन् । ती हुन – सिकारुहरुप्रति सामन्जस्य र सहयोगी भावना, नियमित र योजनाबद्ध निर्देशन, रचनात्मक प्रोत्साहन, नवीनतम् जानकारी दिने र नवप्रवर्तनप्रति रुची राख्ने ।
अनुसन्धान प्रस्ताव
- शोधप्रस्तावमा १) शीर्षक, २) विषयप्रवेश÷शोध परिचय, ३) समस्याकथन, ४) उद्देश्य, ५) प्राक्कल्पना, ६) पूर्वकार्यको समीक्षा, ७) अनुसन्धान विधि, ८) औचित्य÷उपलब्धी, ९) समयावधि, १०) जनशक्ति र खर्च, ११) प्रतिवेदनको संभावित रुपरेखा, १२) सन्दर्भकृतिसूची, १३) व्यवक्तित्ववृत्त जस्ता विषयवस्तुहरुको समावेश गर्नुपर्दछ ।
- शोधप्रस्तावमा छुट्नै नहुने विषयवस्तुहरु हुन् – समस्याकथन, उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको समीक्षा, शोधविधि, र सन्दर्भकृतिसूची ।
- प्राज्ञिक प्रकृतिका अनुसन्धानहरुमा समस्याकथन प्राक्कल्पनाको निर्माण, सिद्धान्त र अनुसन्धानका ढाँचाको निर्माणमा विशेष जोड दिइन्छ ।
- शोधवृत्ति, आर्थिक सहयोग तथा आत्मोन्नति बिदा, आदि प्राप्त गर्नका लागि परियोजना तयार गर्दा अन्य कुराहरुका साथै औचित्य र उपलब्धि, जनशक्ति र खर्च जस्ता कुराहरुको स्पष्ट र चित्तबुभ्mदो किसिमले उल्लेख हुनुपर्दछ ।
- शोधप्रस्ताव लेख्न पर्याप्त समय दिनुपर्दछ र आवश्यक ठानिएमा लेखेर कसैलाई देखाई रायसल्लाह लिन सकिन्छ । प्रस्तावलाई टंकित गरी गल्तीहरु सच्याएर एक प्रति आपूmसँगै राखी आवश्यक प्रति सम्बद्ध संस्थामा बुझाउनुपर्दछ ।
- स्वीकारयोग्य शोधप्रस्ताव लेख्न सक्नु अनुसन्धानमुखी प्राज्ञिक जीवनको सबल एवम् सफल पक्ष हो ।
पूर्वकार्यको समीक्षा
- पूर्वकार्यको समीक्षालाई वांग्मय समीक्षा पनि भनिन्छ ।
- पूर्वकार्यको समीक्षाले अनुसन्धानलाई समस्याकथन र उद्देश्य निर्धारण गर्न सहयोग गर्दछ ।
- पूर्वकार्यको समीक्षाका निम्ति चाहिने सामग्री, पुस्तक, लेख, शोधप्रबन्ध, प्रतिवेदन, विद्युतीय माध्यममा समेत उपलब्ध हुन्छन् ।
- विवरणात्मक कृतिसूची, पुस्तक समीक्षा र पूर्वकार्यको समीक्षामा अन्तर छ भन्ने कुरा अनुसन्धाताले राम्ररी बुभ्mनुपर्दछ ।
- चाहिनेभन्दा धेरै पढ्दा, टिपोट बनाउँदा र कृतिसूची समयमै नराख्दा अनुसन्धाता समस्यामा पर्न सक्दछ ।
पुस्तकालय कार्य
- अनुसन्धाताहरु सैद्धान्तिक अध्यय र पूर्वकार्यको समीक्षा गर्दा पुस्तकालयमा भर पर्दछन्, तर अभिलेखपरक अनुसन्धान गर्नेहरुका निम्ति सामग्रीका स्रोत नै पुस्तकालयहरु हुन् ।
- पुस्तकालयमा पढ्ने व्यक्तिले पठन, सीप र पुस्तकालयको प्रयोग गर्ने सीप विकसित गर्नुपर्दछ ।
- पुस्तकालयमा पढ्न जानेले प्रचलित पुस्तक वर्गीकरण पद्धति र पुस्तक सूचीपत्रको प्रयोगबारे जानकारी राख्नु आवश्यक छ ।
- अनुसन्धाताले सन्दर्भकृतिपत्र र टिपनपत्रको प्रयोग व्यवस्थित रुपमा गर्नु आवश्यक छ ।
- प्रत्येक अनुसन्धाताले पुस्तकालयबाट संकलित गर्ने सामग्रीबारे निश्चित गर्नुपर्दछ, चाहिनेभन्दा न कम न बढी ।
तथ्य संकलन
- तथ्य, तथ्यांक वा सामग्री जे भने पनि अनुसन्धानका क्रममा तथ्यको विशेष महत्व रहन्छ ।
- तथ्य संकलन कार्य पुस्तकालयमा गरिन्छ, विभिन्न व्यक्ति वा समूहसँग सोधनी गरिन्छ, खास क्षेत्रमा गएर अथवा प्रयोगशालाभित्र अवलोकन गरिन्छ ।
- तथ्यको जानकारी र संकलन, संभाव्यताको अध्ययन तथा समस्याहरुको कारण पत्ता लगाउन गरिने अनुसन्धान कार्यलाई सर्वेक्षण भनिन्छ ।
- तथ्य संकलनका निम्ति समष्टिबाट केहीलाई छान्दा विभिन्न प्रकारका नमूना छनोट पद्धतिहरुको प्रयोग गरिन्छ ।
- क्षेत्र कार्य आज विशिष्टीकृत कार्य भएको छ र नेपालका सन्दर्भमा क्षेत्र कार्यको विशेष महत्व छ ।
- लोकसाहित्यको अध्ययनका निम्ति क्षेत्रकार्य गर्नैपर्दछ, किनभने यसको सामग्री पुस्तकालयमा होइन, लोकमा पाइन्छ ।
अध्ययन र विश्लेषण
- तथ्य संकलन गरेपछि निम्न बमोजिमका ६ कार्य भुल्नुहुँदैन – सम्पादन, व्यवस्थापन, संगठन, संहिताकरण, वर्गीकरण र तालिकीकरण ।
- तथ्यको संगठन गर्दा विषयको प्रकृतिअनुसार तिनलाई क्षेत्रीय, उत्तरोत्तर महत्वपूर्ण, कार्यकारण, आगमनात्मक वा निगमनात्मक ढाँचामध्ये कुन उपयुक्त छ भन्ने कुरा हेर्नुपर्दछ ।
- प्राथमिक र गौण, गुणात्मक र परिमाणात्मक, कालगत र स्थलगत, सरल र जटिल जस्ता आधारमा वर्गीकरण गर्ने कुरामा र वर्गीकरण र विभाजनको भिन्नतामा पनि स्पष्ट हुनुपर्दछ ।
- सामग्रीको विश्लेषणका क्रममा बनाइने र सामग्रीको प्रस्तुतीकरणका निम्ति बनाइने तालिकाहरुमा भिन्नता हुन्छ । तालिकाका तथ्यलाई आरेख र आलेखहरुमा प्रस्तुत गर्ने ढंगबारे पनि विचार गर्नुपर्दछ ।
- तथ्यको वर्णन र व्याख्या गर्दा, तथ्यबाट निष्कर्ष निकाल्दा र सामान्यीकरण गर्दा वस्तुनिष्ट दृष्टि रहनुपर्दछ ।
प्रतिवेदन लेखन
- अनुसन्धान प्रबन्ध निश्चित, आदि मध्य र अन्त्य भएको एक प्रकारको सूचनात्मक आलेखन हो ।
- अध्यायहरु, शीर्षक, उपशीर्षक, प्रकरण र वाक्यहरुले बनेको प्रबन्धमा तार्किक भाषाको प्रयोग हुन्छ ।
- शोधप्रबन्धहरुमा जानी वा नजानी भावहरण गरिने संभावना भएकाले यसबारे सतर्कता अँगाल्दै उद्धरण र सन्दर्भसंकेत गर्ने उपयुक्त विधिको छनौट गरी सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ ।
- अनुसन्धान प्रबन्धको लेखनको क्रममा संक्षिप्त रुप, वर्णविन्यास, तिथिमिति, परिगणन, संख्यांकन, अधोरेखांकन, क्रमांकन जस्ता पक्षमा विचार पुर्याउनुपर्दछ ।
- प्रतिवेदनको पहिलो मस्यौदा निश्चित अवधिभित्र पूरा गर्नुपर्दछ । पूरा गरेपछि केही समयका लागि राखी अर्कै काममा लाग्न सकिन्छ । केही समयपछि त्यसलाई अद्योपान्त पढ्नुपर्दछ र त्यसको संशोधन र परिमार्जनमा लाग्नुपर्दछ ।
लेखकपृष्ठ पद्धतिमा सन्दर्भ र टिप्पणी
- लेखकमिति पद्धति र एपीए शैली एउटै हो ।
- लेखकमिति पद्धतिमा लेखकको थरपछि रचना प्रकाशित भएको मिति आउँछ, अरु मिति होइन ।
- लेखकमिति पद्धतिको प्रयोग गर्दा कृतिसूचीमूलक पादटिप्पणीको प्रयोग गरिन्न, मूलपाठमै सन्दर्भ संकेत गरिन्छ ।
- एलएसएले पनि केही भिन्नताका साथ लेखकमिति पद्धतिको प्रयोग गर्न सिफारिस गर्दछ ।
- एएएले पनि लेखकमिति पद्धतिको नै प्रयोग गर्न सिफारिस गरेको छ ।
- नेपाली लेखकमिति पद्धतिमा एकभन्दा बढी लेखक हुँदा पहिलो लेखकको मात्र थर अगाडि आउँछ, अन्यत्र अर्धविरामको प्रयोग गरी प्रविष्टिको अन्त्यमा मात्र पूर्णविराम राखिन्छ ।
- नेपाली लेखकमिति पद्धतिको एकीकृत कृतिसूचीमा अन्य लिपिका सामग्रीको प्रयोग गरे पनि प्रविष्टिमा लेखकको नाम र थर देवनागरीमा राख्न सिफारिस गरिएको छ, किनभने मूल पाठमा नाम र थर देवनागरी लिपिमा रहन्छ ।
अनुसन्धान प्रतिवेदनको सम्पादन
- अनुसन्धान प्रबन्धहरुको भाषा मानक, वस्तुगत र स्पष्ट हुनुपर्दछ र विचलन गरिएको भाषाको प्रयोेग गर्नु हुँदैन ।
- आदरार्थी प्रयोग, वाच्य, विशेषणहरुको प्रयोग, पारिभाषिक शब्दावली, आदिको प्रयोगमा ध्यान दिनुपर्दछ ।
- आवश्यकता अनुसार संश्लिष्ट वाक्यको प्रयोग गरी अभिव्यक्तिमा स्पष्टता ल्याउनुपर्दछ ।
- लैंगिक असमानता, जातीय विभेद तथा अपांगताजस्ता सामाजिक मर्यादामा प्रभाव पार्ने भाषाको प्रयोग गर्नु हुँदैन ।
- छपाइशुद्धिका चिन्हहरुसँग राम्ररी परिचित भई टंकित अनुसन्धान प्रबन्धको संशोधन गर्नुपर्दछ ।
प्रतिवेदनका अंगहरुको संयोजन र प्रस्तुतीकरण
- मूलपाठ, सन्दर्भ (वा कृतिसूची) र टिप्पणी (वा पादटिप्पणी) जस्ता मुख्य अंग प्रायः सबै किसिमका अनुसन्धान प्रतिवेदनमा परे पनि शोधपत्र र शोध ग्रन्थहरुमा प्रारम्भिक र अन्तिम भागका सबै अंग पुगेको हुनुपर्दछ ।
- शोधप्रबन्धजस्तै प्रकाशनका निम्ति तयार गरिएका ग्रन्थहरु, लेखहरु र अनुदित ग्रन्थहरुका पनि अंग हुन्छन् । तिनका बारेमा पनि विचार गर्नुपर्दछ ।
- पाठ्यपुस्तकहरु र संकलनहरु तयार गर्दा पनि आवश्यक विषय समाविष्ट गरी स्तरीय बनाउने प्रयास हुनुपर्दछ ।
- अनुसन्धानमूलक लेख, कक्षापत्र तथा गोष्ठीपत्रहरु आकारमा छोटा हुनाले यिनलाई अध्यायहरुमा होइन, खण्डमा विभक्त गर्नुपर्दछ ।
- अनुसन्धान प्रतिवेदनको टंकन गर्दा अन्तरालन, पृष्ठांकन र शब्द विभाजनमा ध्यान दिनुपर्दछ ।
- टंकित शोधप्रबन्धमा भएमा त्रुटिलाई सच्याई सम्बद्ध संस्थाको आवश्यकताअनसार जिल्दबन्दी गर्नुपर्दछ ।
- प्रतिवेदनको विद्युतीय रुपान्तरण पनि सीडीमा सुरक्षित राख्नुपर्दछ ।
अनुसन्धान प्रतिवेदनको रुजु र मूल्यांकन
- अनुसन्धान प्रबन्धमा चाहिने कुरा परेनपरेको राम्ररी हेर्नुपर्दछ ।
- विद्यार्थीका अनुसन्धान प्रबन्धलाई अन्तिम रुप दिनुभन्दा अघि तिनको समीक्षा वा मूल्यांकन हुनुपर्दछ ।
- शिक्षक तथा विशेषज्ञका अनुसन्धान प्रतिवेदनहरुको पनि मूल्यांकन हुन्छ ।
- अनुसन्धान कार्यको स्तरलाई सापेक्षतामा हेर्नुपर्दछ ।
- मूल्यांकन कार्यलाई विभिन्न चरणमा सम्पन्न गर्न सकिन्छ ।
- परिशिष्टमा राखिएका तीन थरी समीक्षापत्र र मूल्यांकन पत्रहरुको प्रयोग गर्न सकिन्छ ।
सन्दर्भ – चुणामणी बन्धुको रिसर्च एण्ड रिपोर्ट राइटिङस्