कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~Prakash Sayami

झोलामा बोकेर आएका थिए
उनीहरूले आफ्नो आँखाको तस्वीर ।
दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै ।
के के थिए झोलामा
के के हराए झोलाबाट
उनीहरू आफैँ अल्मलिए ।

झोला खोज्दाखोज्दै बितेको रात
एउटा सपना बित्यो
रामविलासको जीवनमा ।
झोला पोको पार्नु अगि रामविलासले
धेरै सपना पोको पारेको थियो
बाटो बाटोमै लुटियो उसको सपना ।

ऊ धेरै पटक यो शहरमा
देव दर्शन गर्न आयो ।
ऊ धेरै पटक सिंहदरवारमा
कैँयौ सरकार पुर्याउन आयो
आज उसको सपना लुटिँदा
आज उसको झोला खोसिँदा
न उसँग रुने कुनै सरकार छ
न कसैको सरोकार छ ।
साला सेठले उसलाई लिलाम गरिदियो शहरमा ।
करोडौँ अनुहारका बीच एउटा अमिल्दो
अनुहार लिएर रुँदै गर्दा
उसलाई सम्झाउने अर्को रामविलास
अब यो शहरमा छैन ।
रामविलास भन्छ,
नरो , नरो ।
यो सरकारले आँसु पुछ्न आयो भने
त्यसमा पनि कर लगाउँछ ,
यो साल सेठले हाम्रो आँसु खोस्यो भने
त्यो पनि हिराको भाउमा बेच्छ
आँसुको धेरै किनबेच हुन्छ
यो शहरमा ।

रामविलासलाई हेर्दै
रामविलास आज भन्दैछ,
तिमी रोयौ
तिमी किसान हौ
तिम्रो आँसुमा नून छ
ऊ रोएन
ऊ मसान हो
उसको आँखामा खून छ


करोडौँ अनुहारमा आफ्नो
अनुहार खोज्दै रामविलास
झोला बोकेर आएको थियो
यो शहरमा
झोलामा थियो
उसको सपनाको तस्वीर …
झोलामै थियो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.