अनूदित कविता : च्यात्न देऊ मलाई तिम्रो लालमोहर

~बुद्ध सायमी~
अनुवाद: इन्द्र माली

आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुन
म राजकुमार होइन ।

हो, म असन्तुष्ट
धुवाँले भरिएको मेरो कोठासित
हो, ममा विद्रोह छ
देखेर पनि नदेखे जस्तै गरी
गुपचुप बस्ने प्रवृत्तिसित ।

बलात्कारका पीडा
वा लसपसका स्वीकारात्मक चिह्न
मेरी आमाको म !
मेरो उत्पत्तिका कारण
मेरा बा !

म नयाँ संस्करण होइन तिम्रो
फगत अनुहार बदलिएको
स्याहास्रेस्ताबाट ऐजन ऐजन गरे जस्तै
ओसार्न सक्दिनँ तिम्रो जीवन ।

सास फेर्न सक्दिनँ म
तिम्रो पूजाकोठामा
जहाँ हत्यैहत्याको दुर्गन्ध छ ।

तिम्रो श्रद्धाका मूर्तिहरू
अवरोध बने आज मेरा पाइलाका
तिम्रा धेरै वस्तुहरूको मूल्य
मेरा आँखामा बदलिसकेका छन् ।

बा तिम्रो त्यो छातीका तक्माहरूमा
किन आज म जुका देखिरहेछु ?

आफ्ना वस्तुहरू गिद्धलाई गाँज्न लगाएर
थुक निली, निली
बा म बाँच्न सक्दिनँ तिमी जस्तै
आफ्ना इच्छाहरू चपाएर !
आज मेरा खुट्टाहरूमा असंख्य बाटाहरू छन्
आफूलाई अभिव्यक्त गर्न
मेरो घाँटी सकसकाइरहेछ ।

तिम्रो होइन, बा !
तिम्रो संस्कार र मनोवृत्तिका लालमोहर च्यात्न देऊ मलाई
म ता त्यहाँ नै कैद छु ।

(नेपाल भाषाबाट अनुवाद- इन्द्र माली)

०२० सालमा मातृभाषा नेपाल भाषामा कविता लेख्न थालेका बुद्ध सायमी नेपाल भाषाका विद्रोही कवि मानिन्थे । नेपाल भाषाका दुई कवितासङ्ग्रहसहित उनका चार कृति प्रकाशित छन् । कलेजो, मिर्गौला र मधुमेहको समस्याबाट पीडित ७२ वर्षीय सायमीको उपचारका क्रममा पुस १० गते आइतबार निधन भएको थियो । उनी पहिलो संविधानसभामा सभासद समेत थिए ।

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.