खोजपत्र : देउडा लोकगीत: एक विवेचना

~नारायणप्रसाद तिमिल्सेना~

देउडा लोकगीतको परिचय

मूलत: मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा प्रचलित लोकगीतको एउटा स्वरूपलाई देउडा लोकगीत भनिन्छ । नेपाली लोकगीतजगत्मा नेपाली भाषाको आदिकालदेखि होस या मानवले सामाजिक प्राणीको मान्यता पाएदेखि,अझै भन्नुपर्दा लेख्य साहित्यको बीजारोपणपूर्वदेखि नै आफ्नो अस्तित्व र वर्चस्व कायम गर्दै आएको देउडा लोकगीतले कर्णाली प्रदेशको लोकजनजीवनको सेरोफेरोमा महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ ।

कुसुम कोपिलाले देउडाको परिचयका क्रममा व्यक्त यी भनाइले देउडाको वास्तविक स्वरूपको परिचय गराउँछ डयौडाको अर्थ एकातिर दोहोरी भन्ने लगाइन्छ भने अर्कोतिर घुम्ने प्रक्रिया भन्नेलगाइन्छ, ड्यौडाको शाब्दिक अर्थ घुमाउरो (दोहोरो) नै हो। अहिले आएर देउडा लोकगीत विशाल स्वरूपमा फैलिएको पाइन्छ । उठेर गाइने गीतदेखि डाँडापाखा, रोदी, रत्यौली, मेलापर्व आदिमा यसले आफ्नो स्वरूपलाई फैलाएको छ ।

उठेर सवालजबाफ गरी आठदस जना गायकहरूले गाउने चलनलाई कर्णाली क्षेत्रमा देउडा खेल र धम्क्याको संज्ञा दिइन्छ भने बसेर गाइने देउडालाई देउडा मात्र भनिन्छ । यो महिलामहिला, पुरुषमहिला, पुरुषपुरुषबीच गीतिसवालजबाफ गरेर गाइन्छ । घुमीघुमी गाइने भएकाले मात्र देउडालाई देउडा भनेको नभै यसमा बेसी घुमाउरोपन हुने भएकाले पनि यसलाई देउडा भनिएको हुन सक्छ । देउडाको भाका वा शैली निकै घुमाउरो हुन्छ । सङ्गीतको साथमा यसलाई गाउन अलि मुस्किल हुन्छ र त्यति स्वाभाविक पनि हुँदैन।

देउडा लोकगीतका विभिन्न पक्षलाई हेर्दा सामान्यतः देउडाको परिचय गर्नु पर्दा, जात्रामेला, पर्वरत्यौली, रोदी, वनपाखा,धारापंधेरा, उकालीओराली वा गोठकरेसामा नै किन नहोस् घुमीघुमी, समूहगत बसीबसी सुखको हाँसो, दुःखको व्यथा र वेदना, मायापिरतीका सङ्ला भावना, परिस्थितिजन्य विद्रोहका साथै सामाजिक जनजीवनका तीतामीठा क्षणहरूलाई लयात्मक रूपमाभाका वा शैलीमा अभिव्यक्ति गरिने लोकगीतको एक प्रकारलाई देउडा लोकगीत कल, युगल वा सामूहिक रूपमा होस्, भन्ने गरिन्छ । देउडा लोकगीतको उत्पत्ति र बनौटकाव्यका तत्त्वहरू छन्द, अलङ्कार, रस र सङ्गीतको उत्पत्ति ऋग्वे दबाट भएको मानिन्छ । ऋग्वेदकालीन परम्परासँगै देउडा लोकगीतको उत्पत्ति भएको कुरो सहजै स्वीकार गर्न सकिन्छ । योगी नरहरिनाथको यस भनाइले पनि यस कुराको पुष्टि गर्दछ-अग्निको सुषुप्तिबाट उठान गरिएको त्रिपदा गायत्री छन्दको शैली कर्णाली अञ्चलमा यद्यपि विद्यमान छ त्यस वैदिक शैलीले लोकगीतको रूप लिएको छ ।’

ब्राह्मणद्वारा पाठ गरिने वैदिक मन्त्रको स्वर र सारसँग झन्डै मेल खाने देउडा लोकगीत उत्पत्तिकालमा देउतादेवीका धानमा उनीहरूलाई खुसी पार्न केही मान्छे हरू भेला भएर गाइने गीतबिस्तारैबिस्तारै अन्य मनोरञ्जनको साधनका रूपमा फैलिदै गएको पाइन्छ । समयले समाजलाई परिवर्तन गर्दै लैजाँदा देउडा गीतले पनि आफ्नो साँघुरोपनलाई फैलाउने अवसर पाएको देखिन्छ।

देउडा लोकगीत प्रचलित शास्त्रीय छन्दमा नभए पनि त्रिपदा गायत्री छन्दको  प्रयोगमा पाइने कुरा योगीको कथनबाट पुष्टि हुन्छ । अलङ्कार र रसको स्थान भने प्रधान रूपमा रहन आउँछ। देउडा लोकगीतको बनौट पक्षलाई हेर्दा केही अपवादका रूपमा चौधदेखि अठार वर्णसम्मको प्रयोग भएको पाइए तापनि मूलतः सोह अक्षरको प्रधानता रहन्छ । आठौं र छैटौं वर्णमा यति हुन्छ तापनि हस्व र दीर्घको त्यति ख्याल गरिदैन । गायक- हरूले आफ्नो सुविधानुसार हस्वलाई दीर्घ र दीर्घलाई हस्व उच्चारण गरी गाउने गर्दछन् ।

देउडा लोकगीतको पहिलो पङ्क्तिभन्दा दोस्रो पङ्क्तिमा भन्न खोजेको भाव छर्लङ्ग भएको हुन्छ । कुनैकुनै गीतमा बाहेक लगभग सबै गीतका दुई पङ्क्तिहरू आपसमा असम्बन्धित हुन्छन् । दुई पङ्क्तिबीच अन्तसम्बन्ध नभए पनि गायन र श्रवणका दृष्टिले भावानुभूति भने अवश्य भएको हुन्छ । देउडा लोकगीतमा प्रयोग गरिने लयअन्तर्गतगीतको अन्त्यानुप्रास भएको पछिल्लो अंशपहिले उच्चारण गरी अल्पविश्रामपछि प्ररम्भिक अंश थपिने प्रचलन पनि छ ।

गीतमा भएको रसामाधुर्यतालाई बढीभन्दा बढी रसास्वादन गर्ने र गराउने उद्देश्यले देउडा लोकगीतमा थेगो जोडेर गाउने प्रचलन धरैजसो स्थानमा पाइन्छ। यसरी थेगो जोडेर गाइने देउडालाई घुमाउरो देउडा र थेगो नजोडेर गाइने देउडालाई सोझो देउड़ा लोकगीत भनिन्छ । यस्ता प्रचलित थेगाहरूमा नौलीहदेली, साइअ भिनाजु, न्याउलै, हैक्या राजापुर चम्क्याको छैक्या, घंगारूकी लट्ठी, कुरूरूरू, राइक्या आदि छन् । यी थेगाहरूमध्ये नौलीहदेली, साइअ भिनाजु, न्याउलै धेरै पुराना धेगाहरू हुन् ।देउडा लोकगीतमा हासपरिहास सुखदुःख, व्यथावेदना, रिसडाह, घोचपेच, मायापिरतीको भावानुभूति देउडा लोकगीतको एउटा पाटो हो भने व्यङ्ग्यबाट प्राप्त हुने हाँसो यसको सिङ्गो अर्को पाटो हो । दोहोरी देउडामा मायापिरती दाँजिन्छ भने देउडाखेल वा धम्क्यामा ठट्टा र हाँसो उजागर गरिन्छ । हास्यरसमा आधारित देउडाखेल वा धम्क्यामा गीतात्मक सवालजबाफका माध्यमले प्रतिपक्षको गोप्यता र वास्तविकता खोतलेर उरन्ठ्याउलो र उत्ताउलो गीतिभाव प्रकट गरिन्छ । हास्यरसमा आधारित देउडा गीतका केही अंशहरू यस प्रकार छन्-

सवाल-हिउँद उँदै वर्षा उँदै यो पानी

काँ जान्छ,

तम्रा गाव खसी काटया राज-

खानीको खान्छ

जवाफ- राजखानी काँ नेर हुन्छ सबैक

चाल दिन्छन्

धामी भया धामी खान्छ नतर

फाल्दिन्छन् ।

उल्लिखित गीतांशमा सवाल गर्नेले खसीको राजखानी (गुप्ताङ्ग) को खान्छ भनी सवाल गरेको छ भने जबाफमा धामी भए धामीले खान्छ नभए फालिदिने कुरा प्रस्ट्याइएको छ । यहाँ सवाल गर्ने धामी भएकाले जवाफमा धामीलाई तीखो प्रहार गरिएको छ । अरू केही उदाहरणहरू-

सवाल बानियाँ साहुँ कपडाले जुम्ली साउँ उनले

नूनको बीउ राखें मैले खाइदियो घुनले

जवाफ– लेखका चुडैनी साप औलै दुला घन्की

नूनको बीउ राख्न्या ठाव मुसा जोत्ता

छन्की ?

गाउँ मात्तै चनाखो बनाइ कुकुर

मात्तै भुकाई

तिर्सना मेटाउँछु भनी आत्मा मात्तै

सुकाई।

केटी– ठाडो खामु तेर्यो बलो बाँकीमा ओटाला

दूद् मिठो कि जोइ पियारी भन् त भन् गोठाला

केटो-दिनभरि कामथी गइ र क्या अरी

क्या अरी

खान्तक भैसली प्यारी सिन्तक जोई

प्यारी ।

विषयवस्तुका आधारमा देउडा लोकगीतको वर्गीकरण

देउडा लोकगीतलाई समय, स्थान, लय, तरिका, रस, अलङ्कार, विषयवस्तु आदिका आधारमा वर्गीकरण गर्न सकिन्छ। यहाँ विषयवस्तुका आधारमा देउडा लोकगीतको वर्गीकरण गरिएको छ।

(क) पौराणिक देउडा लोकगीत

हिन्दूधर्मका रामायण, गीता, महाभारत, पुराण आदि धर्मग्रन्थमा आधारित लोकगीतलाई पौराणिक देउडा लोकगीत भनिन्छ । यस्ता गीतहरूका केही अंश यस प्रकार छन्-

केटी– दूद् पैदा भैसलीबाट मै पैदा दैबाट

रामचन्द्र दशरथबाट दशरथ कैबाट ?

केटा– बानियाँ कपडा बेच्दो नापेर गजबाट

रामचन्द्र दशरथबाट दशरथ अजबाट ।

ख) धार्मिक परम्परागत देउडा गीत

हिन्दू, मुस्लिम, बौद्ध, इसाई आदि धर्मसँग सम्बन्धित देउडा लोकगीतलाई धार्मिक परम्परागत देउडा लोकगीत भनिन्छ । आफ्ना धर्मको बढाइचढाइ र अरूका धर्मको आलोचना गर्ने खालको अभिव्यक्ति यी गीतमा पाइन्छ-

हिन्दू केटा– नेपालगन्ज बानियाँको बम्बैको खरेत

गाई काटी अल्लाको पूजा जन्मै नै परेत ।

मुस्लिम केटीपानका बारी पान बसान्छ

काँ बसान्छइ जाया तेरो त निर्गति हुन्छ गु र मुत नखाया

यस गीतांशमा हिन्दू केटाले मुस्लिम केटीलाई गाई काटेर अल्लाहको पूजा गर्ने आक्षेप लगाएको छ भने मुस्लिम केटीले हिन्दूहरू त गाईको गूहुमूत (गहुँत) नखाए गति नै हुँदैन भन्छन् भनी घृणाभिव्यक्ति गरेको पाइन्छ।

(ग) राष्ट्रप्रेम र देशभक्तिबोधक देउडा गीत

राष्ट्रियता र राष्ट्रभक्तिले ओतप्रोत भएका आन्तरिक मनका पवित्र भावहरू सरल र सहजतापूर्ण रूपमा प्रस्फुटित हुन्छन् । जन्मभूमि, क्रीडास्थल, कर्मथलो, मावली-माइती, घरछिमेक आदिप्रतिको सम्झना हुँदा यस प्रकारका गीतहदयमा सलबलाउन थाल्छन्-

(क) वैशाख वैकिनी बान्निन गौजवका पुला जरमभूमि कर्मथलो म किन बिर्सला ।

(ख) रोलका कन्चिरा जोगी बैनाथ बालापिर कस्तो छ सोधनी गर्छ दैलेख जिल्लातिर ।

(घ) सामाजिक जनजीवन भोगाइका देउडा

समाजमा रहँदा, बस्दा, कामकाज गर्दा भएका अनभव र सामाजिक स्तरमा हुने गीत हरेक क्रियाकलापलाई समेटेर यस्तो गीत गाइन्छ । छुवाछुत, जातिपाति, धनीगरिब, सानोठूलो आदि सामाजिक व्यवहारका विविध पक्षको चित्रण यस्ता गीतमा पाइन्छ-

केटा– पादुका ज्वालाजीको बत्ती बलला

कि घर काँ हो कैकी हौ छोरी सुल्पा

चलला कि ?

केटी– लालुशाही मयाका दिन म घर

थियाँकी घर कुराहाँ जात चुड्यारा छोरी

हौं मियाँकी ।

अहिले हाट गोलाघाट खुर्सानी

नौ भयो नदिनु बाबाले पोइल घर खानु

धौ भयो।

सवाल– धान् बेच्चो छ कोदो खान्छ

सातालाको घिन्या घिन्याको छोरो होइ भनी बल्ल

ऐले चिन्या ।

जबाफदुल्लू राज्य जागिर खायौ पाँच

मोहर खाइकन नर्तम्या फुलौटा मयो कोद्याइ

नपाइकन ।

(ङ) स्थान एवम् प्रकृतिबोधक देउडा लोकगीत

प्राकृतिक सौन्दर्यताको व्याख्या, वर्णन, उपमा र महत्त्व दिएर गाइने स्थान एवम् कृतिबोधक देउडागीत यस प्रकार छन्- सदरमुकाम दैलेख भन्ना राम्रा दुल्लू देशजङ्गल नजिक घना बस्ती गाउँल्या परिवेश ।

दुल्लू देह देखिने पारी दैलेखको गडी

पाटीपौवा भक्तिनाई छन् कैको सराप पडी ।

गाँसपानीको पाइपयको छिउडी र

पानीमाथि बलेकाइ छन् ज्योतिका जुवाला 

(च) ऐतिहासिक देउडा गीत

प्राचीन कालीन घटना वा समकालीन सत्यतथ्य घटनालाई गीतका माध्यमले जीवन्त राख्ने र समयानुकूल अभिव्यक्ति गर्ने गरिन्छ । लेख्य इतिहास पुग्न नसकेको गहिराइमा पुगेको लोकगीतले सत्यतथ्य ऐतिहासिक घटना प्रमाणित गर्न सक्तछ । छोटो अभिव्यक्तिमा अनगिन्ती भाव लुकेको हुँदा गीतिलयका माध्यमबाट स्मरण राख्न पनि सजिलो हुन्छ।

२००७ सालको प्रजातन्त्रप्राप्तिपछिको

एक गीतांश-

अगाडि दौडाह आयो पछाडि माल आयो

दुनियाँको बाबु आयो टाउक्याको काल आयो ।

दुल्लुराज्यमा कर तिर्न आएका एक जना व्यक्तिले ल्याएका कम्पनी चाँदीका सिक्का नक्कली हुन् भनी कारिन्दाले नलिँदा जनताबाट भएको सहज र सरल एउटा अभिव्यक्ति-

म धोयान बा पिटयानन् भाइ गयो न गोल

छाप राजाको चाँदी सदर जति बोल्छौ बोल

(छ) राजनैतिक देउडा लोकगीत

राजनीतिमा हुने अनियमितता, भ्रष्टाचार, शोषण, दमनलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरी राजनीतिक मल्य र मान्यताको स्थापना गर्ने गीतहरू यस वर्गमा पर्दछन्- पञ्चायती व्यवस्था गयो काङ्ग्रेसको राज भयो

पाटीपाटी रोज्दारोज्दै जनताकोलाज भयो ।

धनीले सुच्याका होलान् लिउला किनीकन

प्रयोग अर्नु अधिकारलाई मान्छे चिनीकन ।

कुर्सीको ताकेता अर्न कति लाग्याका छन्

देशको भलो अछौँ भन्न्या कता भाग्याका

छन् ।

बाटो नपाइ निसम्मै छ हाम्रो दुल्लू डाँडो

कता छौ कुर्सीका मालिक विकास अर

चाँडो ।

वैनाथ ज्यूउला धान झुल्याको कति राम्रो

चिन्याँ

राजनीतिले अघाइगयाँ अब भोट नदिन्याँ

देउडा लोकगीतमा संवाद

कुनै पनि विषयवस्तु को सन्दर्भमा सवालजवाफको स्थान प्रमुख रूपमा रहन्छ भने त्यसमा संवाद अवश्य हुन्छ नै । गीत गाउँदा मात्र नभएर चिट्ठीपत्र, भेटघाट, समाचार आदानप्रदानमा पनि गीतिसंवाद यथेष्ट पाइन्छ । यस्ता संवाद लोग्नेस्वास्नी, आमाछोरा, बाबुछोरी, केटाकेटीबीच पनिचलेको पाइन्छ-

श्रीमान्त्रीमतीबीचको संवाद-

श्रीमान्-गाँड तर्दा महागाँड तर्दा भैसा नर्तमका

नौ खान कैकन दिथी पहिला पर्थमका ?

श्रीमती-पहिला खान्छ चरोमुसो पछि

खान्छ रीति बैगुनीको बाझो जुनी होइजान्छ

बिथिति ।

केटी-गडा जिउला बग्न्या पानी

भैरवीका जल दुई थोका म रोजाउन हाल्छु

नल खान्छौ कि फल ?

केटा- स्याउल्ला खर्क आगो लाग्यो

पोलियो गोठ पनि

नल खान्छु फल पनि खान्छु

लैजान्छु बोट पनि ।

बावु- आइ क्या छोरी भैंसी गोठ

सामलतुमल ल्याइक्या बात्खबर बढियै छ क्या तेरी

मा बियाई क्या ?

छोरी- को दुई जनी चुरा किन्निन्

साप्याका पसल

आमा बियाई भाइ भएको

बातखबर असल ।

आमा- उठ्यै क्या बा विशाखर चिन्या

घाम लागिगो भैंसली बान्याका बान्यै गोठालो

भागिगो ।

छोरो- असारको पन्ध्र छ क्या पख्थिनौ

उठुला भागीकन कत्थ जाला भेटाया

चुटुला ।

उपसंहार

कर्णाली प्रदेश देउडा लोकगीतका लागि कहिल्यै नरित्तिने अपार सागर हो । यहाँका अधिकांश जनजिब्रोमा सदैव लोकगीतको देउडा स्वर सुसेलिरहन्छ । वनपाखा, घाँसदाउरा, उकालीओराली, धारापंधेरा, एकान्तमा एक्लो व्यक्तिको साथीको रूपमा रहेको पाइन्छ- देउडा लोकगीत । पारि पखेरामा एक्लो स्वर कुर्लिन्छ र वारि भीरबाट भाका छोपिन्छ । मनभित्र गुम्सिएर रहेका मनोविकृतिहरू गीतिमाध्यमबाट ओकलेर मनलाई हल्का बनाउन सकिन्छ ।

अझसम्म पाश्चात्य संस्कृतिको प्रभाव नपरे पनि प्रचारप्रसार सोधखोजको अभावले यो अपार सम्पत्तिको भण्डारमा दिनानुदिन हास आइरहेको छ। यस्तो लोकसंस्कृति र लोकसाहित्यको महत्त्वपूर्ण स्थानलाई आजको परिवेशमा चोखो, पवित्र र जिउँदो राख्न हरेक क्षेत्रबाट त्यत्तिकै महत्त्वपूर्ण योगदान हुनुपर्ने देखिन्छ।

लोकसाहित्यका विविध विधाउपविधाका साथै मूलतः भाषा र साहित्यको संरक्षणमा लागिरहेका सोधअनुसन्धान वा अन्वेषकहरूका प्रयासलाई निरन्तरता दिदै अगाडि बढ्नु सबैको अहम्दायित्वभित्र आउँछ । लोकगीतको क्षेत्रमा सङ्कलन गरेर होस् या गाएर होस् आफ्नो श्रम र समय लगानी गर्ने कलाकारहरूले पुयाएको योगदान निकै मूल्याङ्कनयोग्य छ।

श्री ५ को सरकारले स्थापना गरेका रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रहरूले यस । क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको पाइन्छ । यति मात्र नभै विभिन्न सरकारी वा गैरसरकारी सङ्गसंस्था, सांस्कृतिक केन्द्र, नाट्यशाला आदिले स्थानीय स्तरका लोकसंस्कृति र साहित्यलाई बचाएर राख्ने काम गरेको छ भने त्रि.वि.वि., ने.रा.प्र.प्र., राष्ट्रिय नाचघर, केन्द्रीय साहित्यिक संस्था, लोकसाहित्य र संस्कृतिसँग सम्बन्धित केन्द्रहरूले केन्द्रस्तरबाट यस क्षेत्रको जगेर्ना, प्रचारप्रसार गर्दै आएको पाइन्छ।

देशका अतिविकट दुर्गमस्थानमा लोप हुने अवस्थामा रहेका लोकसाहित्यका सम्पदालाई अझै प्रभावकारी रूपमा सोधखोज, अन्वेषण, प्रचारप्रसार गर्ने प्रयास सबै क्षेत्रबाट  हुने विश्वास लिन सकिन्छ ।

कर्णाली प्रदेशको लोकसंस्कृति निकै मनोरञ्जनपूर्ण छ, हरेक क्षेत्रमा ऐतिहासिकताको छनक पाइने ती संस्कृति, साहित्यहरूलाई चलचित्रका रूपमा परिणत गरी सुरक्षित राजु आजको महत्त्वपूर्ण कार्य हुन आउँछ । मृतावस्थामा पुगेर संरक्षणको हीरन नपाई देउडा लोकगीतले छटपटाउनु नपरोस् । सबैको मुटुमा चस्का जागोस् र यसतर्फ यस्तो अवस्थाले लोकसाहित्यानुरागी डोऱ्याओस् ।

सन्दर्भसामग्री

१. कोपिला, कुसुम, ‘बैतडेली लोकगीतका केही पक्षहरू’ गरिमा ९:९ (२०४८ भदौ।।

२. योगी, नरहरिनाथ, इतिहास प्रकाश, इतिहास प्रकाश काठमाडौँ ।

३. पोखरेल, टीकाप्रसाद, भेलेज प्रोफाइल, एम. ए. नेपाली २०५५ ।

००

(स्रोत : गरिमा, जेठ २०६२, अङ्क ६ बाट साभार)

This entry was posted in खोजपत्र and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.