~गोरखबहादुर सिंह~
गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे ।
“चिया, दूध भएको तर चिनी नभएको ।”
“कागती राखेको कालो चिया ।”
“दूध, चिनी राखेको कफी ।”
“कालो कफी चिनी राखेको”
“मात्र तातो पानी, कागती राखेको ।”
“चिया, चिनी भएको दूध नभएको ।”
चिया बाँड्न उभिएका ठिटाहरूले सहभागीहरूलाई धमाधम चिया बाँड्दै गए । तर ठिटाहरूको चिया बँडाइमा गडबड भयो । कतै स्वादै तितो हुने गरी चिया, कफीको मात्र बढी, कतै टर्रो र अमिलो हुने गरी राखिएको कागतीको मात्रा, कतै दूधमा कागती मिसियो, दूध, चिनी खाने नखानेमा उल्टोपाल्टो । “कस्तो पुङ्न पुच्छरको चिया ? चियाको सट्टा कपभरी गाईजात्रा मिसाए जस्तो । सहभागीले गुनासो पोखे ।
“चिया त त्यस्तै हो । कम्तीमा पाउनु भयो त्यसैमा आफूलाई धन्य ठान्नुस् । बरु तपाईंहरूलाई छुट छ चिया नराम्रो लाग्यो भने नपिउँदा हुन्छ ।” केही पहिलेसम्म सहृदयी देखिने ठिटाहरू एकाएक अल्लारे पारामा रुष्ट रूपमा पेस भए । त्यसपछि सहभागीहरूले कुनै गुनासो नगरी खुरुखुरु चिया पिउन थाले । मानौं, उनीहरूले रुचि अनुसारकै चिया पाएका छन् ।
(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )