नियात्रा : जहाँ प्रेमदेखि यमराजलाई पनि ईष्र्या लाग्छ

~हरि थापा~

भोलि ताजमहल हेर्न लगिदिनुप¥यो मीनालाई । भाइ किरण पण्डितले कुरा निकाले । बाआमा आइराख्नु भएकाले समयानुकूल तीर्थस्थलहरू घुमाउनु नै थियो । मथुरा र बृन्दावनको दर्शन पनि हुने ताजमहल र आगरा किल्ला पनि हेरिने ।

टुटेफुटेको हिन्दीमा कुखुरामोलाइ गर्दै प्रतिव्यक्ति २०० रुपियाँमा झारें र बाआमालाई लिएर म, किरण र उनकी श्रीमती जाने भयौं । टिकटको पैसा भोलि बिहान बसमा तिर्दा हुने भयो । यदि मैले सीधा सम्पर्क नगरेको भए पचास रुपियाँ बढी तिनुपर्ने थियो । सीधा सम्पर्क पनि फाइदा नै हुँदोरहेछ यस ठाउँमा । हुनत यस ठाउँलाई मात्र के भन्नु संसारै यस्तै छ । कमिशन कहाँ पो छैन र ?

२०५६ साल माघ १६ गते बिहान ६ः३० बजे ढोकामै बस आइपुग्यो । हामी पाँच जनालाई चढाएर हुइकियो डिएल आईपी. ८८३३ नम्बरको बस । हामीपछि लगत्तै एउटा ११ जनाको समूह निल्यो बसले खप्लक्क उही बाह्रखम्बा रोडबाट । बस पहाडगन्ज गएर रोकियो । ११ जनाको समूहबाट पन्जावी गीत गुन्जन थाल्यो । साथमा राग पनि । एक जना त्यस्तै नौ दश वर्षे बच्ची थिइन् । उनले पञ्जावीका साथै हिन्दी गीत गाइन् मीठो स्वरमा ‘याद पियाकि आने लगे भिगी भिगी रातों मे‘” यात्रा रमाइलो हुने भयो मनमनै सोचें । दिल्लीभित्र घुमाएको घुमाई छ बस हामीजस्तै अरू यात्रीहरू बटुल्न ।

सूर्यले पृथ्वीमाथि आफ्नो प्रभुत्व जमाइसकेको थियो । रातभरिको चिसोले कठाङ्ग्रिएका बोटबिरुवाहरू तातोको स्पर्श पाएर जुरमुराउन थालेको भान हुन्थ्यो । खाते र फुटपाथेहरू रातभरि कक्रिएको जीउ तन्काउँदै थिए । बस कुँदिरहेको छ आफ्नै गतिमा ।

नयाँदिल्लीबाट हिंडेको बस इन्द्रप्रस्थ एपोलो अस्पतालको अगाडि मथुरारोड हुँदै हरियाणा राज्यको फरिदाबाद जिल्लामा पर्ने पलवलमा कुद्न थाल्यो । दिल्लीको व्यस्त ट्राफिकलाई मुस्किलले पार गरेर गएको बस खुला राजमार्ग पाउँदा रमाउने नै भयो ।

मसँग सिटमा बस्ने एक जना भारतीय पुरुष थिए । मैले उनीसँग बोल्ने जमर्को गरें तर सफलताले साथ दिएन । उनी न त हिन्दी बोल्थे न त अङ्ग्रेजी नै । उनको आफ्नै स्थानीय भाषा थियो । मैले पनि उनको भाषा बुझ्न सकिनँ । त्यसपछि यात्रा एक्लो बन्यो मेरालागि । हरियो गहुँ खेतीलाई हेर्दै म प्रकृतिसँग रमाइरहेको थिएँ । एक्कासि बसको ब्रेक लगायो चालकले । अगाडिको सिटमा झन्डै टाउको जोतिएन । घड्याक्क बस कतै ठोकिएको आवाज आयो । झ्यालको सिसाभित्रैबाट चिहाएँ मैले । सानोसानो चोक रहेछ । पलवलभन्दा रहेछन् त्यस ठाउँलाई । दायाँपट्टिबाट गाडा तान्दै आएको गोरु र बस जम्काभेट भएछ । गोरु बिचरा लडेर गाडाको मुनि भट्याकभट्याक गरिरहेको थियो । गाडाको चालक गाडापछाडि समातेर एउटा खुट्टा खोच्याउँदै अगाडि बढ्ने प्रयास गर्दै थियो । पारिबाट एक हूल मानिसहरू दगुर्दै आए । अब बसको चालकको दाह्री उखेल्ने भए भन्ने लागिरहेथ्यो मलाई । दुई तीनपटक भट्याकभट्याक चलेर गोरुले चोला बदल्यो । गाडा घिच्याउने दुःखबाट मुक्ति पायो । मुखबाट निस्केको जिब्रो रगतको पोखरीमा डुबिरहेको थियो । दिनकै कुरा न हो, सकिएपछि कसको के लाग्छ र ?

बस चालकले बसलाई अगाडि बढायो । सोचेको थिएँ, छेउ लगाएर राख्न लाग्यो । अब कति बेला मुक्ति पाइने हो । तर बस सरासर अघि बढेको देख्दा छक्क परें । त्यहाँको भीडले नै चालकको गल्ती नभएको ठहर गरी पठाएर चालकलाई अर्को गल्ती गर्नेमा पारेछ । चालक पनि मुक्तिको अनुभूति बटुल्दै मख्ख परेर हिंडेको थियो । त्यस्तै तीन चार किलोमिटर टाढा पुगेर एउटा खाना खाने होटेलनजिकै रोकियो । चालक बस हेर्न थाल्यो । म पनि उत्रिएँ । साइडलाइट फुटेछ र तीन इन्च जति च्यातिएछ पनि बसको बडी । खलासीले बसमा लागेको रगत पखाल्यो । हामीलाई बीस मिनेट बस रोक्ने कुरा गर्दै चियानास्ता खान भने । हामी होटेलतिर लाग्यौं । होटेलको शौचालयको सदुपयोग गरी चियानास्ताको आदेश दिन लागेको थिएँ ।

आप अठासी तेतीसका पेसिन्जर है ना ।
मैले भनें हाँ जी ।
चलो बस जा रही है ।

हतारहतार बाआमालाई पनि लगेर बसमा हालें । आफू पनि बसें । जताबाट आएको उतै फक्र्यो बस । त्यति बेला पो थाहा भयो । पीडित पक्षले बसलाई आफ्नो कब्जामा लिइसकेछ । अब थानामा गएर कतिबेर कुर्नुपर्ने हो भन्ने लाग्यो मनमनै ।

बस सरासर गएर पलवल शहर थानाको प्राङ्गणमा रोकियो । बस चालक र कन्डक्टर ओर्लेर थानाभित्र पसे । सहयात्रीहरू झरेर जिज्ञासा मेटाउन थाले । बसमा बसेर काम थिएन । झ¥यौं हामी पनि ।

क्या हुवा ? थानाको पालेले सोध्यो ।

बयलको ठक्कर देके मार डाला और गाडी फरार । अब भएन के फसाद । त्यहींका मानिसहरूले बस चालकको गल्ती छैन भनेर पठाए । त्यहींका मानिसहरूले बस चालकलाई भगुवामा पारे । अब मामला चौपट भयो । एक घण्टा जति तिमीहरूले कुर्नुपर्ने भयो । त्यसपछि गइहाल्छ भनेर आश्वस्त गराए प्रहरीले हामीलाई ।

त्यहाँबाट फोन गरेर बस मालिकलाई पनि झिकाइयो । चालक र मालिक अस्पताल पुगे गाडावालालाई हेर्न । सब बेपत्ता भए । पन्जाबीको बाह्र त हामीलाई पो बज्यो । त्यहाँ १० बजे गएर बसेका हामीलाई साँढे बाह्र बज्दा पनि हिंडाउने सुरसार छैन । सबै हतारिरहेका छन् । बल्लबल्ल पौने एकतिर ग्वारग्वारति पसे प्रहरी थानाभित्र सबै । समाधानको नजिकमा पुगेछ समस्या ।

३५०० रुपियाँ दिएर मिलापत्र हुने भएछ । बसमालिकले रु. ३५०० झिकेर दियो । लिने पक्षले फेरि ४००० रुपियाँको माग राख्यो । बसमालिकले ५०० झिकेर थपिदियो । अर्को निस्केर चार हजारले नहुने ४५०० चाहिने कुरा गर्न थाल्यो । निकै गलफति प¥यो ५०० का लागि । चालक गरिब भएको, जहान बच्चा पाल्नुपर्ने कुरा निकाल्यो बसधनीले । चालक गरिब भए बस धनीले तिर्नुपर्ने कुरा निस्के । बस धनीले नतिर्ने कुरा गरेपछि बसको पाङ्ग्रा निकाल्ने कुरा हुन थाल्यो । मान्छेको खुट्टा भाँचिएको छ । ५०० रुपियाँ नथप्ने । ठीक छ तेरा खुट्टा भाँच्छौ र हामी ६००० रुपियाँ दिन्छौं भन्ने कुरा गर्न थाले केही उग्रवादीहरू ।

समस्याले झन् उग्ररूप लिन लागेको देखेर प्रहरी थानाप्रमुखले हस्तक्षेप गरे । बढाउँदा–बढाउँदा ५००० रुपियाँ तिराउन सफल भएछ पीडित पक्ष । समय ठीक एक बजेको थियो । तीन घण्टा लामो समयको अन्तरालपछि बसले पुनः गति लियो । नयाँदिल्लीबाट सत्तरी पचहत्तरको दूरीमा पर्ने पलवलको थानासँग बिदा भएर हिंड्न पाएकोमा खुसी देखिन्थ्यो सहयात्रीहरूको अनुहार । मलाई पनि खुसी लाग्यो । जे भए पनि आगराको दर्शन पाइने भइयो ।

एकबजे पलवलबाट हानिएको बस न बाटोमा पानी पिउन पाउनु छ न त पिसाब गर्न नै । कुदेको कुदेइ ३ः४५ बजे लगेर ताजमहलभन्दा करिब १० मिनेटको बाटो अगाडि झारिदियो । एक घण्टाको छोटो समयको परिधिभित्र बाँधिदिए बस चालकले हामीलाई । ताज महलसँग प्रशस्त गिजिने समय पलवलले खाइदिइसकेको थियो ।

प्रतिव्यक्ति १५ रुपियाँको टिकट किनेर ताजमहलको बाहिरी चौकमा पुग्यौं । फोटो लिना है सर ? एक जनाले आएर सोध्यो । आफैसँग क्यामेरा भएकाले फोटोग्राफर लिनेवाला थिइनँ म । तर भाइ किरणले मिलाइसकेको रहेछ । लामो लाइनमा गएर बस्यौं । क्यामेराबाहेक अरू सलाई, चुरोट, खैनीसमेत लान नपाइने रहेछ ताजमहलको परिसरभित्र जाँदा । सबै जीउ खानतलासी गरेर मात्र छाड्दा रहेछन् प्रवेशद्वारमा बसेका सुरक्ष्ाँकर्मीहरूले । एक रुपियाँ तिरेर झोला राखेर आए । तर चक्कु बगलीमै परेछ र पुनः जानुप¥यो चक्कु राख्न । खानेकुरासमेत लान नपाइने भएकाले पनि होला सारै सफासुघर देखिन्थ्यो मुम्ताजको महल परिसर । जाडोको समय भएर पनि झपक्कै सिंगारिएको छ हरियालीले । दुई अर्थमा खानेकुरा लान नदिएको हुनसक्छ मेरो अनुमानमा । एक त खानेकुरा लान दिएपछि फोहोर हुने । अर्को कुरा खानका लागि मानिसले लामो समय बिताउँछ ताजमहलभित्र जसले गर्दा धेरै भीडभाड हुन जान्छ । खाना लान नदिएपछि खाना खानकै लागि पनि चाँडो निस्कन बाध्य हुन्छन् मानिस । त्यसै त भोकप्यास मेटाउने दृश्यले झन् खाना पनि खाएर भुल्न पाउँदा रात परेकै थाहा पाउन्न मानिस । लठ्ठै पार्छ ताजमहलले दर्शकहरूलाई ।

मुम्ताजको नामको आखिरी दुई अक्षरपछि महल राखेर ताजमहल नामाकरण गरिएको थाहा पाएको थिएँ तर वास्तविकता फरक रहेछ । ‘मुम्ताज महल’ त एउटा उपाधि पो रहेछ । उनको खास नाम भने ‘आर्जुमन्द बार्नु बेगम’ रहेछ । जब उन्नाइस वर्षकी आर्जुमन्द बानु बेगम ३० अप्रिल, १६१२ ए.डि.मा राजकुमार खुर्रामका साथ विवाह बन्धनमा बाँधिइन् तर उनले पाएको उपाधि रहेछ ‘मुम्ताज महल’ अर्थात् ‘महलकी उत्कृष्ट’ । यिनी राजकुमार खुर्रामकी मामाकी छोरी हुन् । बालककालदेखि नै यिनी अति राम्री रहिछन् र स्वभाव पनि त्यस्तै राम्रो रहेछ । दीन दुःखीमाथि दया गर्ने, बुद्धिमान हुनुका साथै पतिपरायण भएकी कारण उनलाई सो उपाधि दिएको हो भन्ने इतिहासकारहरूको भनाइ छ । राजकुमार खुर्राम नै शाहजहाँ हुन् र केटाकेटीदेखि नै यी दुईबीच राम्रो सम्बन्ध थियो भनेर भनिन्छ ।

शाहजहाँकी दोस्री रानीका रूपमा भित्रिएकी मुम्ताज महलले लडाईंका समयमा पनि शाहजहाँको साथ छोडिनन् । भनिन्छ, उनले शाहजहाँको काममा कहिले पनि दखल गरिनन् बरु शाहजहाँले मागेका बेला बुद्धिमत्तापूर्ण सल्लाह दिन्थिन् । शाहजहाँले उनको खुबीलाई कदर गर्दै प्रशासनिक काम मुम्ताज महललाई सुम्पेका थिए । शाहजहाँकी मात्र होइन, जनताकी पनि प्रिय थिइन् दीन दुःखीको हेरचाह गर्ने मुम्ताज महल ।

समयले कसलाई छाडेको छ र ? बाँधिराख्छ आफ्नो परिधिभित्र । इष्र्या लाग्यो शाहजहाँ र मुम्ताज महलको बीचको प्रेमदेखि यमराजलाई । १४ औं बच्चा जन्माउने क्रममा प्रसव वेदनाले छट्पटिएकी मुम्ताज महल नराम्रोसँग बिरामी परिन् । जुन बेला उनी बर्हनपुरमा खानजहाँ लोधीसँग लडिरहेका आफ्ना प्रेमी शाहजहाँका साथमा थिइन् । उनलाई बचाउने शाहजहाँका हरप्रयत्नहरू असफल रहे । बचाउन नसकिने टुङ्गोमा पुगे शाहजहाँ । मुम्ताज महलको अन्तिम इच्छा पूरा गर्ने वचन दिनबाहेक अर्को उपाय थिएन उनका लागि । उनको नाममा विश्वलाई छक्याउने स्मारक बनाउने वचन दिए शाहजहाँले । मुम्ताज महलले आफ्नो अन्तिम इच्छा पूरा गरिदिने शाहजहाँको वचनलाई पोको पारेर सदाका लागि शाहजहाँलाई एक्ल्याइदिइन् । शाहजहाँसँगको १८ वर्षे छोटो दाम्पत्य जीवन नै ताजमहलको निर्माणको मूलकारण बन्न पुग्यो ।

हामी लाइन लागेर भित्र पुग्यौं । फोटोग्राफर अघि नै मुख्यद्वारबाट भित्र पुगिसकेको रहेछ । यता बस र उता बस भनेर पटापट खिच्न थाल्यो फोटो । प्रति खिचाइको ३० रुपियाँ लाग्ने महङ्गो फोटो खिचेर पैसा उडाउनु थिएन मलाई । भयो पर्दैन भन्दाभन्दै पनि चार स्न्यापका लागि तयार हुनु परेको थियो हामीले । तर उसले ६ स्न्याप भ्याइसकेछ । समयमा नसोच्ने हो भने प्रशस्तै ठग्छन् क्यामेरा म्यानहारले आर्जुमन्द बानो बेगमको महलमा । फटाफट फोटो खिचेर तुरुन्त धुलाउन लगाउँछन् र बसमै पु¥याउन पनि आउँछन् यिनीहरू ।

ताजमहललाई आफ्नो क्यामेराभित्र भित्याएँ र आफूहरू पनि भित्रियौं । त्यसपछि ताजमलहको मस्ती लुट्नतिर लाग्यौं हामी । हेरेर अघाइनसक्नु ताजमहलको कला उभिएको छ एकातिर भने अर्कातिर एक घण्टाको समयले साँगु¥याएको छ ।

ताजमहलको अग्र भागमा लामो पोखरी बनाइएको छ । त्यसै पोखरीलाई दायाँ पारेर ताजमलहको नजिक पुग्यौं । जुत्तालाई प्रतिबन्ध लगाइएको सानासाना सूचनापाटीहरू सजिलै देखिने गरी राखिएको रहेछ । जुत्ता गोदामहरूको खाँचो थिएन । जुत्ता जिम्मा लगाएर जुत्ताको साक्षीलाई बगलीमा राखेर उक्लियौं हामी ।

धार्मिक हिसाबले प्रख्यात यमुना नदीको दायाँ किनारमा अवस्थित यो महललाई चारैसुरबाट पहरा दिइरहेछन् तीन तले स्तम्भहरूले । आफ्नी प्रियसीको जीवनको अन्तिम अवस्थामा आफूले गरेको वाचा पूरा गर्ने क्रममा शाहजहाँले बनाएको यो ताजमहल आगरा शहरबाट झण्डै तीन किलोमिटर टाढा पर्दछ । भारतलगायत टर्की तथा इरानका कालिगढहरूको सीपले सिंगारिएको यो ताजमहल बनाउन जयपुरका राजा मानसिंहको बगैंचा बराबरको आफ्नो जग्गा शोधभर्ना दिएर लिएका हुन् शाहजहाँले । सम्भवतः आगरा किल्लाबाट सजिलै देख्न सकिने भएका कारण पनि यो ठाउँ रोजेको हुनसक्छ शाहजहाँले ।

यसको डिजाइनका बारेमा अलिकति मत विभाजित छ । युरोपियन इतिहासकारहरूले ताजमहलको डिजाइन इटलीका जरनिमो बेरोनियो वा फ्रान्सका चित्रकार आस्टिन डिवारेडक्सले तयार गरेको बताए तापनि भारतीय इतिहासकारहरूले यसलाई स्वीकारेका छैनन् । उनीहरूको कथन छ, शिराजका एक निपूर्ण कलाकारले आफ्नी श्रीमतीका लागि एउटा चिहानको नमुना बनाएका थिए । उनी त्यो लिएर शाहजहाँकहाँ गए । शाहजहाँलाई त्यो डिजाइन मन परेकाले त्यसैअनुसार आजको ताजमहलले आफ्नो रूप धारण ग¥यो । २२ वर्ष लगाएर तयार गरिएको ताज महलको उचाई नदीको सतहदेखि २७० फिट छ भने ताज बगैंचाको सतहदेखि २४३ फिट छ भन्ने उल्लेख पाइन्छ । १८ वर्ष ६ महिनासम्म दैनिक २०,००० मजदुरको पसिना पोखिएको यस महलको लागत यति नै हो भनेर किटान गरिएको पाइन्न । ५०,००,००० देखि ३ करोडसम्मको खर्च ताज महललाई उभ्याउन लागेको कुरा व्यक्तिएको पाइन्छ । सत्यता कति छ थाहा छैन । ३० वटा गाउँबाट प्रतिवर्ष करस्वरूप उठ्ने तीस लाख रुपियाँ यस महलको निर्माणमा खर्चिएको कुरा उल्लेख भएकोसम्म पाइएको छ ।

विभिन्न देशका कलापारखीहरूको नमुना झिकाइएको भए तापनि शाहजहाँलाई टर्कीका उस्ताद इसा अफान्दीले पेश गरेको नमुना मन परेकाले सोहीअनुसार बनाइएको हो भनेर अर्को एक ठाउँमा उल्लेख भएको पाइन्छ ।

ताजमहल बनाउन प्रयोग भएको सङ्गमरमर राजस्थान राज्यको नागौर जिल्लामा पर्ने मकराना भन्ने ठाउँबाट गाडाहरूमा ढुवानी गरी ल्याइएको कुरा उल्लेख छ । भिन्नाभिन्नै लेखकहरूले भिन्नाभिन्नै तर्क दिएका छन् ताजमहलको निर्माणमा प्राविधिक सेवाका लागि । जसले जे तर्क दिए तापनि उस्ताद महमद लाहोरीको प्रविधिक रेखदेखमा बनेको हो भन्ने कुरालाई सबैले स्वीकारेका छन् ।

ताजमहल निर्माण अवधिमा काम गर्ने कामदारहरूले एक पैसा पनि पाएनन् भनेर पनि भनेका छन् कसैकसैले तर यस भनाइसँग म सहमत छैन । जुन शाहजहाँले ६ महिनाअगाडि बर्हनपुरमा मरेर अस्थायी रूपमा गाडिएकी आफ्नी अति मनपरेकी मुम्ताज महलको लासलाई डिसेम्बर १ देखि २९, १६३१ ए.डि. २९ दिन लगाएर बाटोमा गरिबगुरुवाहरूलाई खाना र कपडाहरू आफ्नी प्रेयसीका नाममा बाँड्दै ल्यायो त्यसैले उसैको नाममा बनाएको महलमा चुहिएको गरीबको पसिनाको मूल्य चुकाएन भनेर कसरी विश्वास गर्ने ?

बर्हनपुरबाट ल्याएको मुम्ताज महलको लासलाई अस्थायी रूपमा राजा मानसिंहको बगैंचाको उत्तर पश्चिम कुनामा गाडिएको थियो । कतिबेला त्यस ठाउँबाट उठाएर ताजमहलमा सारियो त्यो भने उल्लेख भएको पाउन सकिन्न । ताज ढोकाको माथिल्लो भागमा २२ वटा स–साना बुर्जाहरू छन् जसले ताजमहल बनाउन २२ वर्ष लागेको कुराको प्रमाणित गर्दछ भनेर पनि भनिन्छ ।

ताजमहलको तीनतिर आकर्षक कलात्मक ठूलाठूला ढोकाहरू छन् । यमुना नदीपट्टि ढोका राखिएको छैन । ताजमहलमा आर्क शैलीका २४ वटा झ्यालहरू छन् भने मुख्य बुर्जाको अतिरिक्त चारसुरमा साना–साना एक–एक बुर्जाहरू छन् । दोस्रो तलाको माथि प्रत्येक सुरमा बनाइएका साना तर कलात्मक खम्बाहरूले महललाई अरू सिंगारेको छ । टाँसिएका सङ्गरमरमरमा कुँदिएका बुट्टाहरूको वर्णन गर्न त त्यस्तै कलाकार हुनुपर्छ जसले कोरे । चारसुरमा ठड्याइएका ठूलाठूला स्तम्भहरू केही मात्रामा बाहिरतिर ढल्काएर बनाएको छ । भुइँचालो वा अन्य कारणले स्तम्भहरू ढल्न गएमा बाहिरतिर नै ढलुन् र मुख्य महललाई कुनै क्षति नपुगोस् भन्नाखातिर यसरी बनाइएको हुनसक्छ । यी प्रत्येक स्तम्भको भित्रभित्र माथि जाने भ¥याङ बनाइएको छ, जहाँबाट माथि बुर्जासम्म जान सकिन्छ । वियोगी प्रेमी–प्रेमिकाहरूले यहाँबाट फाल हालेर आत्महत्या गर्न थालेकाले यसलाई हाल बन्द गरिएको छ । २१३ फिट चौडाइ र २१३ फिट लम्बाइको जग्गा ओगटेको छ ताजमहलले ।

टिकट लिएपछि दुईवटा ठूलाठूला ढोकाबाट छिरेर पुगिने ताजमहलको बगैंचाले १८०० फिट उत्तर दक्षिण लम्बाइ र १००० फिट पूर्व पश्चिम चौडाइको जमिन ओगटेको छ । यस बगैंचाको लम्बाइ १८६० फिट छ भन्ने उल्लेख गरेको पाइन्छ । बगैंचामा एउटा बूढोरूख छ । जसले साँढेचार सयभन्दा बढी शिशिरको झापट खाइसकेको छ । सम्भवतः ताजमहलको सच्चामित्र पनि हुनसक्छ यो रूख जसले आजसम्म ताजमलहलाई साथ दिइरहेछ ।

अगाडिपट्टि ताजमहललाई पौडाउने लामो पोखरी छ । यसको दायाँबायाँ रातो ढुङ्गा छापेर बुट्टा बनाइएको छ जसले ताजमहललाई गहना पहिराउने काम गरेको छ ।

मुगल शासनकालमा संसारमा पाइने सबै प्रकारका फलफूलका बोटबिरुवाहरू ताजमलहको बगैंचामा पाइन्थे अनि शाहजहाँ र मुम्ताज महलको प्रेमको वासनाले सिन्चन्थे प्रत्येक आउने आगन्तुकहरूलाई । आज त्यो छैन तापनि यस बगैंचामा घण्टौं बिताएर ताजमहलमा सीमित प्रेमी–प्रेमिकाको प्रेमलाई मनन गरेर जान्छन् मानिसहरू ।

ताजमहलको ढोकाबाट भित्रिएपछि बीच भागमा एक चिहान बनाइएको छ । त्यस ठाउँमा पुग्नुअगाडि एउटा मोटो फलामको जालीले छोपिएको छ तल झर्ने भ¥याङलाई जसरी गाउँघरमा छोपेको हुन्छ घोप्टेले । त्यहाँ सुतेर हेर्दा अन्दाजी ३५÷४० फिट जति तल एउटा सानो आँखीझ्याल देखिन्छ । मुम्ताज महल र शाहजहाँको वास्तविक चिहान त्यहीं छ ।

वास्तवमा शाहजहाँले आफ्नो लागि यमुना नदीमा तीन लाखको लागतमा एउटा पुल बनाएर ताजमहलको ठीक पारिपट्टि एउटा कालो महल ३ करोड ८० लाख रुपियाँको लागतमा तयार गर्ने योजना बनाएका थिए । एउटा सानो बुर्जा बनिसकेको थियो जुन आज पनि देख्न सकिन्छ र त्यसलाई ‘महताब बुर्ज’ भनिन्छ । त्यसै समयमा शाहजहाँ बिरामी भए । उनका छोरा औरङ्गजेवलाई बाबुको यो योजना मन परिरहेको थिएन । अतः यही बिरामी भएको अवसर छोपी शाहजहाँलाई बन्दी बनाएर उनको योजनालाई समेत कैद गरिदिए र आफू दिल्लीमा बसेर शासन चलाउन थाले । बाबुको मृत्युपछि बाबुआमाको बीचमा अगाध प्रेम भएकाले यिनीहरूलाई छुट्याउन हुन्न । एकै ठाउँमा राख्नुपर्छ भनेर मुम्ताज महलको लासको नजिकै शाहजहाँको लास राख्न लगाए । भनिन्छ, बाबुको मृत्युको समयमा उपस्थितसम्म भएनन् औरङ्गजेव ।

शाहजहाँले मुम्ताज महलप्रतिको आफ्नो अगाध प्रेमलाई ताजमहलमा कैद गरेर संसारलाई भुलाउन सके तापनि आफू स्वयं भुल्न सकेनन् । आफ्नो जीवनको अन्तिम अवस्थामा छोरी जहाँआरा बेगमलाई अलिकति आफ्नो टाउको उठाउन लगाएर ताजमहलको अन्तिम दृश्य आँखाभरि पोतेर निदाएथे सदाका लागि । आफ्नो इच्छाअनुसार अर्को महल बनाउन नसकेपछि मुम्ताजको प्रेमले तान्यो उनलाई सायद र नै छोरीसँग आफ्नो लास मुम्ताज महलसँगै राखिदिन आग्रह पोखेका थिए । ठूलो धनरासीलाई जोगाएर बाबुको अन्तिम इच्छा पूर्ति गरेका थिए सायद औरङ्गजेवले पनि ।

भनिन्छ, शाहजहाँ मुम्ताज महलको मृत्युपछि शोकाकुल बनेका थिए भने अर्कातिर उनको मृत्युपछि पनि विभिन्न राम्राराम्रा निर्माण कार्यहरू गरेको पाइन्छ । जस्तै १६३२ ई मा शिश महल, १६३६ ई मा खास महल, १६३७ ईमा दिवाने खास, १६४४ ई मा अमरसिंह दरबाजा, १६४७–१६५४ ई मा मोती मस्जिद र १६३९ ई मा दिल्लीको लालकिल्ला । यसले के देखाउँछ भने शाहजहाँ त्यति सारो चिन्तित थिएनन् कि जति मानिसहरूले अड्कलेका छन् । अरू साम्राज्ञीहरूको तुलनामा मुम्ताज महललाई अवश्य बढी मन पराउँथे त्यसमा दुईमत रहन्न । ताजमहल बनाउनु त उनको वाचा थियो पूरा गर्नैप¥यो ।

ताजमहलको तारिफ दर्शकहरूले आ–आफ्नै पाराले गरेका छन् । कसैले कलाको उत्कृष्ट नमूना भनेका छन् भने कसैले अवर्णनीय कला भनेका छन् ।

मेजर जनरल डब्लु. एच. स्लिम्यान आफ्नी श्रीमतीका साथ ताजमहलको अवलोकन क्रममा उनले कस्तो लाग्यो भनेर सोद्धा श्रीमतीले दिएको जवाफ आफ्नो किताब ‘भ्रमण तथा स्मरण’ मा उल्लेख गरेका छन्, ‘‘म भन्नै सक्तिनँ, कसरी यसको समालोचना गरौं, तर यति भन्न सक्छु कि म भोलि नै मर्छु यदि यस प्रकारको अर्को भवन ममाथि बन्छ भने ।’

शाहजहाँले श्रीमती मुम्ताज महलमाथिको प्रेमलाई भुल्नै नसकेर ताजमहल बनाएका होइनन् कि उनले मुम्ताज महलको चाहना पूरा गरिदिएका हुन् । ताजमहलमा गएर प्रेम सीमाड्ढित भएको कुरामा सहमत हुन सकिन्न । प्रेमको प्रतीक ताजमहल होइन । प्रेमप्रतिको इमानदारिताचाहिं अवश्य हो । जेहोस्, हट्नै मान्दैनन् शाहजहाँको प्रेमको प्रतीकमाथि अल्झिएका आँखाहरू ।

एकजना बामपन्थी कविले ताजमहलकै बारेमा आफ्नो विचार यसरी पोखेका छन्ः

‘एक शाहजहाँ ने बनवा के हँसी ताजमहल,
हम गरिबोंकी मुहब्बतका उडाया है मजाक’

हाल ः नयाँदिल्ली

(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.