नाटक : स्वप्नसंवाद

~रविकिरण निर्जीव~

(सङ्ग्रामपुरका पूर्वअध्यापक, वर्तमान लेखक, शिलादीप पलङमा सुतिरहेको छन्, कलापूर्ण मस्त निन्द्रामा । मत्र्यमण्डल साप्ताहिक, शिवघाटका प्रधानसम्पादक गगनदीप आफूलाई भुसुनोमा परिणत गरी सुटुक्क ढोकोको चरबाट छिरेर उनको सयनकक्षमा आइपुग्छन् र शिलादीपसँग सम्वादमा जुट्छन् ।)

दृश्य–१
गगनदीप : कविजी ! कविजी ! आच्या किन बिउँझाउन लागेको हुँला ! म त उहाँको स्वप्न अन्तर्वार्ता पो लिन आएको हुँ त ।
शिलादीप : ङर ! ङुर ! ङर ! ङुर ! ङुर्र…ङुर्र….।
गगनदीप : कत्रो घुरन हो ! जत्रै भए पनि काठमाण्डुको जस्तो घुरान त होइनन् हुन त । न्यूयोर्कसिटीको न्यूटन रोड हुन् । सुकिलै छन्, लेखक हुन् ।
शिलादीप : सधैं कालो चिया खान्नँ । बकेर्नु भैंसीको दूध, टोक्ला चियापत्ती र वीरगञ्ज चिनी कारखानाको चिनी मिलाएको चिया ल्याऊ, मधुमेह भागिसक्यो ।
गगनदीप : १ महिनाको तलवभत्ता नदिंदा तपाईंको पुनर्बहाली कार्यान्वयन भएन, हगि ?
शिलादीप : हो, कसरी थाहा पाउनुभो ?
गगनदीप : पत्रकारका पैतालामुनि पनि कान हुन्छन् ।
शिलादीप : १ महिनाको तलवभत्ता माग्नेको नाम पनि था छ ?
गगनदीप : नाम त कुन्नि, तर अध्यक्ष हुन्, प्रधानाध्यापक भने होइनन् ।
शिलादीप : अँ, फेरि झुटा कुरा त नलेख्नुहोला नि !
गगनदीप : किन लेख्थेँ !

दृश्य–२
शिलादीप : घारघुर ! घारघुर !
गगनदीप : घिउ परेन अब त ?
शिलादीप : परे नि घिउ पाउन्नौ क्यारे !
गगनदीप : मही त पाउँथेँ कि !
शिलादीप : अँ …. ।
गगनदीप : त्यो क्षेत्राधीशको पाउ परेको भए जेल पर्नुहुन्थेन, हैन ? बुस्नुतको!
शिलादीप : कसरी था भयो ?
गगनदीप : कानेगुजीले टालिए पनि हामी कान सुन्छौं ।
शिलादीप : कानेगुजी फ्याँक्नुहुन्न ? कनकर्नु छैन ?
गगनदीप : कनकर्नु–दनकर्नु केही पनि छैन ।
शिलादीप : ए …. ।

दृश्य–३
शिलादीप : घर्र…घुर्र…।
गगनदीप : टोक्नुहोला नि फेरि ! तपैंकै काम गर्न आएको हुँ ।
शिलादीप : टोक्ने दाँतै छैनन् । गिजामात्र छन् । नडराउनुस् ।
गगनदीप : ६ महिनाको तलब दिएको भए जिस्नी कलबहादुर मतियारले तपैंलाई सेकेण्ड क्लासमा चढाइदिन्थे, हैन्त ?
शिलादीप : हो थापाउनु भएछ ।
गगनदीप : थापा होइन, दीप हुँ ।
शिलादीप : दीयो भने पनि भो नि, बल्नुहुन्छ क्यारे !
गगनदीप : बल्ने मात्र होइन, जल्छु पनि ।
शिलादीप : ए …. जलेर खरानी हुनुहुन्छ ?
गगनदीप : हो, जल्छु र अरुलाई पनि उज्यालो बनाउँछु । तपैंपनि त्यस्तै हो नि ?
शिलादीप : हो, तपैंजस्तै हो ।
गगनदीप : अँ …. ।
शिलादीप : कुरा चपाउनुभो नि ? उकेल्नुस् । मैले किन घुस नदिएको हुँला ?
गगनदीप : त्यसलाई भूस ठानेर होला नि !
शिलादीप : हो, कसैले घूसलाई भूस, कसैले जूस ठान्छन् ।
गगनदीप : यो उत्निखेरै पुसजस्तो फासफुस हुन्छ, अर्को पल्ट काम लाग्दैन ।
शिलादीप : अँ तनि ।

दृश्य–४
शिलादीप : एस …. एस …. ।
गगनदीप : भो, आगो बल्यो । अब फुक्न पर्दैन ।
शिलादीप : ल, हुन्छ ।
गगनदीप : छयास्नी दुनु श्रेष्ठले तपैंलाई फस्टक्लास नबनाउँदा जिन्दगीभरि रुनु पर्‍यो, हगि ?
शिलादीप : हैन, तर किन रुनु पर्‍यो भनेको ?
गगनदीप : एउटा मुठो दिनुभएको भए वर्षौं मुठैमुठा लिन पाउनुहुन्थ्यो ।
शिलादीप : त्यस्ता दुनु–टपरीका कुरा नगर्नुस्, म हाँसीहासी बाँचेको छु ।
गगनदीप : अरुका गरुङ्गा….पट्टा देख्ता पश्चाताप उम्लिदैन ?
शिलादीप : तिनीहरुका पट्टा गरुङ्गा भए पनि आफू हलुङ्गा छन् । ठट्टा होइन ।
गगनदीप : मान्छे सालजस्तो तर बोली खयरजस्तो !
शिलादीप : सोझो औंलाले घिउ आउँदैन ।
गगनदीप : खूब झिक्नुभो घिउ, बाङ्गो औंलाले ! अध्यक्ष, जिस्नी र छयास्नीबाट घिउ झिक्न औंलो बाङ्गो बनाउनुभो ?
शिलादीप : म खुसी छु ।
गगनदीप : भित्र राप छ, अझभित्र ताप छ ।
शिलादीप : जसमा जीवन छैन, ऊ चिसो हुन्छ ।

दृश्य–५
शिलादीप : अफुर्र….अफुर्र…..।
गगनदीप : नाच्नुभा हो ?
शिलादीप : गाएको नि ! देख्नुहुन्न ?
गगनदीप : सिन्डिकेट, मिडिलम्यान र दलाललाई फिप्टी र आफूलाई फिप्टी गरेको भए सदनप्राइज जिप्ट्याइन्थ्यो भन्ने कुरा अखबारमा आएका छन् नि ! सत्य हो र ?
शिलादीप : सत्य हो तर मत्र्यमण्डलमा नछाप्नुस् ।
गगनदीप : भनेपछि छापियो ! छापियो !
शिलादीप : भनिएका कुरा सबै छापिन्छन् र ?
गगनदीप : त्यो त हो ।
शिलादीप : तपैंहरु कर्म त गर्नुहुन्छ तर धर्म धान्नुहुन्न ।
गगनदीप : लेखकहरुको धर्म पनि देखिएको छ ।
शिलादीप : भो, द्वन्द्व नगरौं, मिलौं ।
गगनदीप : सिंहदरबारदेखि स्यालदरबारसम्म, घरदेखि घाटसम्म, उम्मेदवारदेखि भोटरसम्म, मलामीदेखि जन्तीसम्म, बन्दुकदेखि रवन्तीसम्म, द्वन्द्व कहाँ छैन ?
शिलादीप : म उठ्ने बेला भो, भाषण रोक्नुस् ।
गगनदीप : बोल्ने लेख्ने दुबै गरिन्छ ।
शिलादीप : म पनि उहिले मुखबाज र कलमबाज दुइटै थिएँ । आज मुख टालियो, कलम ओकल्दै छ ।
गगनदीप : भैगो, पुग्यो ।

दृश्य–६
शिलादीप : साप आयो ! साप आयो ! बचाओ ! बचाओ!
गगनदीप : सपेरा हाजिर छ ।
शिलादीप : त्यसो भए बाँचँे, उठेर नाचेँ ।
गगनदीप : हाकिमलाई प्याराडाइज सहरको १ टुक्रा सुनको घडेरी चढाउन नसक्ता ‘बेलायत जाने’ टिकट गुम्यो, सुख र हाँकको जहाज डुब्यो, हैन ?
शिलादीप : गलत !
गगनदीप : कहीँ त चुहिएको थियो नि ! हैन र ?
शिलादीप : चुहिए पनि पोखिएको थिएन ।
गगनदीप : दुवै कुरा एउटै होइनन् र ?
शिलादीप : चुहिएको देखिन्न, पोखिएको देखिन्छ ।
गगनदीप : पोखिएकोभन्दा चुहिएको बढी देख्छन् पत्रकारहरु ।
शिलादीप : कहाँ देख्नुभो ?
गगनदीप : चेरिस थुम्कोमा ।
शिलादीप : सुक्नुपर्ने ।
गगनदीप : चिसैथ्यो ।
शिलादीप : छाम्नुभाथ्यो ?
गगनदीप : नछामे पनि छाप्छु ।
शिलादीप : ओहो ! घाम छिप्पिसकेछन् ! को भाग्यो बाहिर !
गृहिणी : ल, चिया पिउनुस् !
शिलादीप : नराम्रा सपना देखिएछ ।
गृहिणी : भोलिदेखि राम्रा देख्नुस् ।
शिलादीप : गगनदीपलाई सिकाएर पठाउनू ।
गृहिणी : को ? को ? को गगनदीप ?
शिलादीप : जो भाग्यो भर्खर ।
गृहिणी : म आउँदा भित्र कोही पनि थिएन ।
शिलादीप : तिमीले देख्तिनौ ।
गृहिणी : मैले नदेख्ने को त्यो ?
शिलादीप : सपनाको पत्रकार ! स्वप्न–सम्पादक !
गृहिणी : स्वप्न–सम्पादक ! के भन्या ?
शिलादीप : पत्रकार भन्या क्या ! पत्रकार ।
गृहिणी : ए ……।

This entry was posted in नाटक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.