~रामसुन्दर देउजा~
(बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । )
पात्रहरू
भीमनाथ : बलेका बा
पातली : बलेकी आमा
बले : ३८ वर्षको अधबैँसे युवक
चम्पा : बलेकी श्रीमती
अरुण : बलेको छोरो
दीपा : बलेकी छोरी
माधव : बलेको गाउँको युवक (गाउँलेहरू उसलाई माधे भँन्छन् )
मखमली : माधवकी श्रीमती
बेली : माधवकी छोरी
सन्तोष : माधवको छोरा
श्याम : बलेको दौंतरी
गोपालसाहु : गाउँका साहु महाजन
शिवः बलेको दाइ
र गाउँका केटाकेटीहरू
पहिलो दृश्य
(बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । )
भीमनाथ : हर हर गङ्गे ॐ नम शिवाय ः (मुख धुदै ) पातली ! ए पातली ! आज बले कता गयो ? उठेको नि देख्दिन । घाम झुल्किसक्यो । भोलि देशतिर जाने नि भन्थ्यो त्यो काफला पाटो कबोलेर गोपाल साहुसँग एक लाख रुपैयाँ ऋण खोजिदिएको थिएँ । आज पठाइदिनु भन्थे ! कि उठेकै छैन ।
पातली : ट्वाइलेटतिर गइरछ क्यारे ।आज दिउँसो टिकस किन्न जानुछ भन्थ्यो बिहानै पठाइदिनु भनेका थिए भन्या हैन र बुढा ? (पारी पाखातिर बेलीले घाँस काट्दै गीत गाएको सुनिन्छ ।
बेली : घाँसै काट्ने खुर्केर………………………….आयो जोवन हुर्केर…………….कसलाई दिउँ यो जोवन……….
भीमनाथ : ( हात निधारमाधि राखेर घाम छेक्दै पारितिर हेरेर ) त्यो माधे पनि नसुध्रिने भो बा ! छोराछोरी लाठे भइसके । छोरोचाहिँ नौ दस कक्षा कतिमा पढ्छ कुन्नि ! बेलीलाई त्यत्तिकै पढाइ छुटायो मोराले पढ्नै जान दिएन । बीस बाइसकी त भइहोली बेली पनि । यताउता हिँड्दा नि निकै छनकमनक गर्छे मोरी । धारामा पानी लिन आउँदा पनि धेरैबेर लगाएर गोडा घोटीघोटी धुन्छे । माधे मोरालाई चाहिँ केही मतलव छैन । हिजो पनि धोकेर आएर स्वास्नीलाई बेसरी ठटायो भन्थे । त्यसै कुकुर बिग्रिएझैँ बिग्रिने भो ।
चम्पाः (चियाको गिलास हातमा लिएर आउँदै ) बुबा चिया ल्याइदिएको छु मैले ।
भीमनाथः रामे आयो त बुहारी ?
चम्पाः आउनु भा छैन ।
भीमनाथः यी अहिलेका केटाकेटीहरूलाई नि बिदेशाँ जान पाए के के न हुन्छ भन्ठान्याछन् । रुखमा टिप्ने नै सम्झन्छन् । अर्का देशाँ न भाषा बुझ्छन् । न पढाइ छ । न सीप छ । व्यर्थैमा दुःख पाउन मरिहत्ते ग¥याछन् । यहीँ आफ्नै देशमा, आफ्नो माटोमा पसिना चुहाउनु नि । (खोक्दै) भन्या टेर्दैनन् । लौ ज ेजे गर्छन गरुन् । अर्ती दिइए गाली गरेको सम्झन्छन् ।
दोस्रो दृश्य
(माधे धरखरराउदै हिँड्दै छ । उसका वरिपरि गाउँका केटाकेटी पछि लागेका छन् ।)
माधेः त्यो मखमली मैले भन्या नटेर्ने ?ठटाए मैले त्यसलाई । खाओ तिमीहरू पनि खाओ । (बिस्कुट बाँड्दैछ ।) राम्ररी पढ । ठूलो र ज्ञानी बन । खाओ । खाओ । तिमीहरूले पनि खानुपर्छ । तिमीहरूलाई नै खान बनेको त हो यो बिस्कुट । म छउन्जेल खाओ न । कसले हेरविचार गर्छ र तिमीहरूलाई (केटाकेटी मलाई मलाई भन्दै बिस्कुट मागिरहन्छन् । माधे पाकेटबाट झिक्दै दिँदै गर्छ ।) मलाई कसले माया गर्छ र ? यिनै केटाकेटीहरूले त गर्छन् नि । त्यो मखमलीको त मुखै छुच्चो , देख्यो कि कराइहाल्छे । (त्यत्तिकैमा मखमली आइपुग्छे ।)
मखमल : फेरि आज पनि धोकेर आयौ बिहानै ? हे भगवान् के गर्नु म त ! ( पुर्पुरोमा हात राख्दै) रक्सी धोक्यो केटाकेटी पछि लगायो हिँड्यो । के काम छ र यिनका । केही नभने पनि कुट्न आइलाग्ने । (पाखुरामा समाएर तान्दै लौ हिँड खुरुक्क घर । यी बानहरुचाहिँ किन पछि लाग्या नि । –केटाकेटीहरुलाई गाली गर्दै , धारे हात लगाएँदै) । घरमा खानेकुरा केही छैन । कहिले बिस्कुट बाँड्दै हिँड्या छन् । कहिले चकलेट, कहिले चाउचाउ । घरमै मुन्टिए नि हुने नि बरु ।
माधेः फेरि निहुँ खोज्न थाली । ठटाउँ हिजोको जसरी ? (मुक्का बजार्न खोज्छ, ढुनमुनिदै आफै लड्छ ।
मखमलीः खुच्चिङ ! त्यत्तिकै अर्कालाई कुट्न आइलाग्नेलाई त्यस्तै हुन्छ । (मखमली घरतिर लाग्छिन् । ) केटाकेटीहरूले माधेलाई उठाउँछन् ।
माधेः गइहाली र पो नत्र मैले जान्या थिएँ नि त्यसलाई । यसरी हान्ने थिएँ कि ! (लात्ती उचालेर हावामा हिर्काउँछ)
तेस्रो दृश्य
गोपालसाहुः तमसुक लेखेर भीमनाथलाई एकलाख रुपैयाँ दिन्छन् ।
बलेः भोलि त मलेशिया उडिने भइयो । त्यहाँ गएपछि त बेलाबेलामा घरमा पैसा पठाउन पाइयो । आफू पनि देश डुलिने भइयो । छोराछोरीलाई पनि राम्रैसाग पढाउन पाइने भइयो । कति आनन्द कति…………..। विदेश गएर आएको भनेपछि गाउँमा पनि फूर्ति नै बेग्लै । गोपालसाहुले दिए है, व्याज अलि महाँगै भए पनि । धन्य हुन गोपालसाहु त । एउटा चिनो ल्याइदिनुपर्ला बूढालाई बाक्लो ओभरकोट , जाडोमा लाउँछन् नि ।
श्यामः ए बले के एक्लै भट्भटाउदै हिड्या नि ! खुस्क्यो कि क्या हो तेरो । अँ ….साँच्चै तँ त विदेशतिर पो जान आटिस् रे भनेको सुन्छु ।
बलेः हो श्याम, म भोलि जाँदैछु मलेशिया २ वर्षकोे लागि । के गर्नु त हेर न स्थिति यही हो क्यार । न कतै काम पाइन्छ ,न रोजगारीको अवसर नै छ । भाउ बिक्री दिनदिनै महँगो , खेती किसानी गर्न नि न भन्या बेला मल पाइन्छ । न सिचाइँको सुविधा नै छ । बल्लबल्ल्ल अनेक गरी उब्जनी ग¥यो हामीले बेच्ने बेलामा त भाउ पनि दिदैनन् व्यापारीहरुले । सरकारले किनिदिने व्यवस्था छैन । बरु उतै २÷४ वर्ष दुःख गरेर कमाएर ल्याउने सोच गरेँ मैले त ।
श्यामः जान आँटिहालिस् त । फेरि आफ्नो देशलाई र गाउँलाई सम्झनु नि । फर्केर आइहाछु नि ।
श्यामः लौ आफ्नो देशलाई चाहिँ नबिर्सनु नि । यही माटोमा खेलिस्, यही माटोमा फलेका अन्न फलफूल र सागसब्जी खाएर तँ यत्रो भइस् । यही कुरालाई ख्याल गरेस् । आफ्नो मातृभूमिलाई सधैँ हृदयमा राखेस् । अब पछि भेटौलाँ । फोन गर्न चाहिँ नबिर्सनु नि उता गएपछि ।
बलेः सम्झिहाल्छु यार तिमीहरुलाई । सँगैै खाएको खेलेको कहाँ विर्सन सकिन्छ र !
चौथो दृश्य
(मखमली, चम्पा र अरु २ –३ जना महिलाहरूको जमघट)
मखमलीः (चम्पातिर हेर्दै) यसका बूढा त गइहाले विदेश । आफ्नाले भने धोकेरै हैरान पारे । कहिले कता लडिराख्या छ भन्छन् , कहिले घरै आउँदैनन् । म त दिक्क भइसकेँ । बरु हाम्रा नि गए हुन्थ्यो नि बाहिर देशाँ ।
चम्पाः हुन त हो नि मोरी । एक महिना पनि भा’को छैन र त आफूलाई कस्तो न्यास्रो लागिसक्यो । कहाँ पुगे ? के खाए ? यहाँ नहुँदा त भन्न बढी माया पो लागेर आउँदो र छ ।
मखमलीः आ……………..म त न्यास्रोस्यास्रो मान्ने थिइनँ । यहाँ हैरान बनाइसके ।
चम्पाः साँच्ची भोलि महिला समूुहको मिटिङ भन्या होइन र ? मखमली हो भन्थे कति बजे रै छ ?
चम्पाः बिहान दश बजे भन्याजस्तो लाग्याथ्यो ।
पाँचौ दृृश्य
माधेः (गीत गाँउदै कम्मर मर्काइमर्काइ नाच्दै) पानको पात मखमलीलाई सम्झन्छु दिनको रात मस्याङ्दी सलल……
मखमलीः हेर हेर आज नि यिनको चाला ! वहाँ छिमेकी विदेश पुगिसके, यिनको भने मति कहिल्यै सुध्रेन । जाउ बरु तिमी नि विदेश । माधे जान्न म विदेश सिदेश । यहीं रमाइलो छ आफुलाई त । त्यहाँ त नेपालीलाई कति हेप्छन् रे । यहाँ त आफैले हेपेर बस्न पाइया त छ । कि तँ जान्छेस् त मखमली विदेश ?
मखमलीः (आँखा तर्दै) ताल हेर न ताल फेरि ।
छैठौँ दृश्य
गोपालसाहुः (भीमनाथ, चम्पा र केटाकेटीहरु बसिराखेका हुन्छन् ।) हैन खोई बलेले पैसा लगेको नि १ वर्ष नाघिसक्यो । न व्याज आउँछ न साउँ आउँछ । यसरी त चल्दैन नि । गाह्रो साङ्ग्रो पर्दा काम फुकायो अनि वास्तै नगर्ने ।
भीमनाथः हेर्नुस् गोपालसाहु बलेले फोन पनि गरेको छैन । पैसा पठाउने त कुरै छोड्नुस् । आफ्नो यहाँ अर्कै पीर छ । तपाईको जसरी भएनि तिरौँला ।
गोपालसाहुः जसरी भन्या कसरी ? ल मलाई त चाहिन्छ है ।
चम्पाः तपाईको पैसा म गहना बेचेर भए नि तिर्छु । अहिले नच्याप्नुस् न । बूढा त आउन दिनुस् ।
सातौँ दृश्य
(माधे धरमराउदै आइरहेको हुन्छ । सन्तोष पनि पढेर घर फर्कदै हुन्छ । उसलाई नमज्जा लाग्छ । बाबुको चर्तिकला देखेर ।घरमा पुगेपछि दुःखी हुँदै बुबालाई सम्झाउन थाल्छ ।)
सन्तोषः तपाईँ सधै यसरी खाने भए अब म पढ्दा पनि पढ्दिन । घर छोडेर हिँड्छु । साथीहरूको अगाडि मलाई सधैँ लाज मर्नु हुन्छ । न पढ्ने वातावरण छ । दिदीले पनि पढ्न पाइनन् ।
बेलीः हो बुबा तपाईले खानुभयो भने त म नि अब घर छोड्छु ।
माधेः घर छोडेर कहाँ पोइल जान्छेस् तँ ? जा मलाई त झन् आनन्द । बिहे गर्दिनु नि परेन । हाइसन्चो हुने भो ।
मखमलीः हो हो सधैँ यसरी चल्छ र । जाउँ हामी नबसौ यहाँ । (सबै घरबाट निस्केर हिँड्छन्।)
माधेः हड्बढाउदै नजाओ न सबैजनाले मलाई छोडेर । म फेरि एकलो हुन्छु । कसम अब म आजैदेखि खान्नँ । खाएँ भनेदेखि कुकुरको मुत बराबर । ( मखमलीलाई हात समाएर तान्छ माधेले) । फर्केर आउछन् हिँडेका परिवार ।)
मखमलीः बल्ल घैटोमा घाम लागेछ क्यार ।
सन्तोषः साँच्ची अबदेखि नखानुस् न है । म भोलि देखि धेरै पढेर ठूलो मान्छे बन्छु । त्यो खाने पैसा मेरो कापी कलम किन्न खर्च गर्नुस् न बा ।
आठौँ दृश्य
केटाकेटीहरूः ल आयो आयो , लङ्गुरबुर्जा आयो । राख्नुस् । पैसा मोज गर्नुस् एैशा । एकको छ एकको छ । माधे त्यही बाटो हिँडिरहेको छ ।) राख्नुस् माधे अङ्कल खै आज त बिस्कुट पनि छैन नि । हामीलाई भोक लागिसक्यो ।
माधेः धत् मोरा हो ।अब त त्यसरी बाँड्ने दिन गइसके । खानु खाइहाल्यौ नि ऊ बेला ।
केटाकेटीहरूः राख्नुस् न त ल लङ्गुरबुर्जामा ।
माधेः राख्दिनँ राख्दिनँ म ।
नवौँ दृश्य
(औँला भाँच्दै ) दसैँ आयो खाउँला पिउँला
अरुणः ए हजुर बा ! ऊ माथि श्याम काकाकोमा त – हातले शारा गरेर देखाउँदै ) यत्रो दारीवाल खसी ल्याइसके । श्याम काकाले त छोराछोरीहरुलाई पनि नयाँ नयाँ लुगा ल्याइदिसके रे । हाम्रो कहिले ल्याउने ?
दीपाः मलाई त कुर्ता सुरुवाल यसपाली र हिल जुत्ता पनि ।
अरुणः मलाई त जिन्स पाइन्ट र स्पोर्ट सुज ।
भीमनाथः हेर नाति नातिना । खै रामेको पनि केही खबर छैन । गोपालसाहु आउँछु भन्थे । कहिले आउने हुन् ?
अरुणः नाईँ नाईँ मलाई त जसरी भए पनि चाहिन्छ । (मखमली आउँछिन् ।)
मखमलीः के भन्छन् यी ?
अरुणः मलाई त जिन्स पाइन्ट र स्पोर्ट सुज अनि यत्रो दारीवाल खसी काट्नुपर्छ यो दशैमा ।
दीपाः मलाई नि कुर्ता सुरुवाल । (त्यत्तिकैमा गोपालसाहु आइपुग्छन् ।)
गोपालसाहुः ल म त आएँ फेरि । हातले दिएर खुट्टालाई सास्ती भनेको यही हो । आज त नलिई जाने नै हैन क्यार ।
सोमनाथः हेर्नुस् गोपालसाहु दसैँ घरमै आइपुगिसक्यो । – हात जोड्दै ) दसैँ नबिगारिनिुस् । बरु केही थपिदिनुस् । जग्गा बेचेर भए नि तिरांैला हिउँदमा ।
गोपालसाहुः हैन अरु थप्ने रे ! दिएको त कसरी उठाउनु । खै आएन बले ? कि दसैँलाई नि आउदैन ?
अरुणः गोपालसाहु हामी पछि तिरांैला । पढेर ठुलो हुन्छौँ । धेरै कमाउछौँ अनि तिरौला ।
गेपालसाहुः ल म पर्सि आउँछु जसरी नि ठिक पार्नु । (गोपाल साहु जान्छन् ।) त्यत्तिकैमा रामे लौरो टेक्दै आइपुग्छ ।) (सबैजना छक्क पर्छन् ।)
बलेः ढोग गरेँ बुबा ।
भीमनाथः भाग्यमानी भएस् । अनि ……….अनि ………………के भो छोरा ,
बलेः म मलेसिया गएपछि जेनतेन गरेकै थिएँ । २ महिना अगाडि बनको दाउरा काट्दा बन्चरोले खुट्टा काट्यो । डेढ महिना त अस्पतालमै बिताएँ । बल्ल बल्ल निको भएर आएँ । अलिअलि जम्मा गरेको पनि उपचारमा नै सिद्धियो । म त रित्तो हात फर्किएँ । (बुबालाई अँगालो हालेर रुँदै ) आफ्नो माटो प्यारो हुने रहेछ । (माटोको टीका लगाउँदै ) विदेशमा त हाम्रो कुकुर जति पनि भाउ हँुदो रहेनछ । म त शुरुदेखि नै जङ्गलमा दाउरा काट्नेमा परेँ । (सुँक्कसुँक्क गर्दै ) कहिले आउँला जस्तो भयो । यी तामाका मुनाजस्ता केटीकेटीलाई सम्झेर दिन बिताउँथे ।
दीपाः बाबा मलाई कुर्ता सुरुवाल ल्याइदिनु भा छैन ?
अरुणः बाबा के भयो किन रुनुभाको ? हाम्रो नि भोलि जाने है जिन्स पाइन्ट , स्पोर्ट सुज र घोर्ले दारीवाल खसी ल्याउन । सबैको ल्याइसके ।
बलेः टुलुटुलु छोराछोरीको मुखतिर हेरेर टोलाउँछ ।
अरुणः है भन्या बाबा ? ( आँखा टिल्पिलाउँदै सुँक्क सुँक्क गर्छ बले ।)
दशौँ दृश्य
गोपालसाहुः कहिले आइस् त ए बले….? ! आज त पाइएला नि मेरो लक्ष्मी ।
बलेः दर्शन साहुबा ।
गोपालसाहुः दर्शन दर्शन । अब त म मेरो लक्ष्मी पनि फिर्ता हुने होला नि ! साउँ व्याज गरी २ वर्षको जम्मा डेढलाख त हो नि ………
चम्पाः ( जिब्रो काट्दै )डेढ लाख रे ।
गोपालसाहुः हो त नि २ वर्ष भैसक्यो अहिलेसम्म १ पैसा ब्याज पाएको छैन ।
भीमनाथः हेर्नुस् न गोपालसाहु ! कमाउन गएको धन्न ज्यान जोगाएर आएछ । म हिउँदमा बारी बेचेर तिरौँला ।
गोपालसाहुः हैन आज त म छाड्ने हैन । त्यही बलेकी श्रीमतीको गहना भएनि नलगी छोड्दििन । (गहनातिर हात लम्काउँदै )
माधेः (परबाट कराउँदै आउँछ ।) पख्नुस् पख्नुस् मैले पाहुना ल्याइदिया छु ,दशैलाई ।
(बलेको दाइ शिव सानैमा घरबाट हराएको थियो , १० वर्षको उमेरमा । परोपकार संस्थामा पढेर अहिले इन्जिनीयर भैसकेको छ र सोद्धै खोज्दै आप्नो घर आएको छ । २२ वर्षपछि । सबैजना अलमल्लमा पर्छन् । ती पुराना दिन सम्झँदै )
भीमनाथः तिमी शिव हौ त बाबु ।
शिवः हो बुबा म शिव हुँ । मलाई अपरिचित मान्छेले लिएर गए र भाँडा माझ्ने पसलमा छोडिदिए ।
बलेः ढोग गरे दाई (टाउको निहुँ¥याउँछ दाइपट्टि)
शिवः (टाउकोमा हात राख्दै) आयुष्मान भव :
भोलिपल्ट भागेर म रुदै हिँड्दै थिएँ । एकजना भलाद्मी मान्छेले परोपकार स्कुलमा छोडिदिए । त्यहीँ पढे । अहिले इन्जिनीयर भएको छु ।कमाएको केही परोपकार स्कुललाई सहयोग गर्छु । तर पनि अहिले मसँग २५ लाख जति छ । यही झोलामा छ । राख्नुस् । यी दाइले – मधेसतिर देखाउँदै ) बाटो देखाउदै ल्याए ।
भीमनाथः ल गोपालसाहु लैजाऊ तिम्रो डेढलाखै सही ।तमसुक ल्याऊ न त ।
गोपालसाहुः बल्ल उठ्यो मेरो डुब्न लोगेको धन । हुन त त्यो बारी थियो नि ।(तमसुक दिन्छन् ।) तमसुक च्यात्दै भगवान्ले हेरे हामीलाई । हामीले कसको के जिएका थियौँ र ? आफ्नो सोझो गरेर ।
भीमनाथः (तमसुक च्यात्छन् ) शिवलाई अँगालो हाल्दै भक्कानिन्छन् ।
(त्यतिकैमा दीपा र अरुण पनि आइपुग्छन् । भीमनाथले उनीहरुलाई तिमीहरुका ठूलोबुवा भनेर चिनाउँछ । शिवलाई शिवले उनीहरुलाई चकलेट दिन्छन् ।
दिपाः नमस्कार ठूलोबुबा ।
अरुणः नमस्कार है ठूलोबुबा । अब त ठूलोबुबासँग गएर जिन्स पाइन्ट, शिखर सुज र घोर्ले दारीवाल खसी लिन जाने ।
दीपाः नमस्कार ठूलोबुबा ।
अरुणः नमस्कार है ठूलोबुबा । अब त ठुलोबुबासँग गएर जिन्स पाइन्ट , शिखर सुज र घोर्ले दारीवाल खसी लिन जाने । शिव दसैँमा हामीले भड्किलो किसिमले खर्च गर्नुहुदैन । संस्कृति जोगाएर चल्दोमिल्दो गर्नुपर्छ । नचाहिँदो देखासिकिमा ठूलो खर्च गर्नुहुँदैन । ल भोलि हामी सपिङमा जान्छौँ है बाबुनानी हो ।
दीपा र अरुणः (खुसीले उफ्रदै ) भोलि त हामी सपिङ जाने ।
वलेः (गुन्गुनाउँदै घर तिर लाग्छ )
यही मोटोमा खनी खोसी फलाऔँं अव अन्न
यही माटोमा पसिना रेन्दै बनौं हामी टन्न………..
(पर्दा खस्छ ।)
(स्रोत : जनमत साहित्यिक मासिक)