~रविकिरण निर्जीव~
दृश्य–१ (बूढा बूढी बात–रुममा)
बूढी– वडा कार्यालयमा गयौ हिजो ?
बूढा– अहँ !
बूढी– कहिले जाने हो त ?
बूढा– भोलि जाम्ला !
बूढी– भोलि भोलि भन्दैमा सव घर बिती गो !
बूढा– भोलि ल्याइदिउँला ।
बूढी– गफ नगर, काम गर ।
बूढा– तिमी सत्तरी नै पुगेकी नै छैनौ !
बूढी– पुगें ।
बूढा– तिम्ले भनेर हुन्च ?
बूढी– कल्ले भनेर हुन्च त ?
बूढा– जन्म मितिलिे भन्नुपर्च ।
बूढी– भनिसक्यो ।
बूढा– कसरी था’ पायौ ?
बूढी– भनिसक्यो ।
बूढा– कसरी था’ पायौ ?
बूढी– सचिवले भ’न्या !
दृश्य–२ (भान्सामा बूढा बूढी)
बूढी– जाऊ, वडामा ।
बूढा– कार्ड लिन ।
बूढी– हो ।
बूढा– ४÷५ दिनको लागि म पहाड जानु च ।
बूढी– पछि जाउला ।
बूढा– हुन्न, पछि गएर ।
बूढी– रात रहे अग्राख पलाउँच ।
बूढा– पलाए टुसो भाँचिदिम्ला ।
बूढी– ठट्टा नगर ।
बूढा– ढिकेरी तिर गएर लट्टा कोर ।
बूढी– पेन्सन खा’ छु भनेर गम्केको ?
बूढा– कार्ड बनेसी तिमी पनि गम्किन्च्यौ ।
दृश्य–३ (बूढा बूढी वरण्डामा)
बूढी– कार्ड बनाउन जाऊ वडामा ।
बूढा– कार्डकार्ड भन्दा बूढो भएँ जस्तो लाग्दैन ?
बूढी– तिमीले पट्टा पाए’सी बूढ्यौली बिस्र्यौ, हैन ?
बूढा– हूँ !
बूढी– मैले ‘कार्ड’ भन्दैमा बिस्र्याछु ।
बूढा– सकिन्जेल भत्ता लिन वडामा जान्चयौ, नसक्ता ?
बूढी– लौरीले लान्च ।
बूढा– लडेर घाउ भए ?
बूढी– भत्ताले मलम किन्च ।
दृश्य–४ ( १५ वर्ष पछि वोल्लो पल्लो खाटमा बूढा बूढी)
बूढा– पछ्यौरा ओढेर के गरेकी ?
बूढी– (पैसा लुकाउँदै) केइ हैन ।
बूढा– किन नहुनु ? पैसा हैन त्यो ?
बूढी– हो, भएर के त ?
बूढा– कति सय भए ?
बूढी– गन्दै छु ।
बूढा– खै लेऊ, म गन्दिन्चु ।
बूढी– भो, मै गन्चु ।
बूढा– १ मुठै भएच ।
बूढी– भारी बनाउनु छ ।
बूढा– पैसा खर्च न’भा धेरै वर्ष भएच ।
बूढी– आफैले बुझेर ल्याउने गरेसी धेरै भको, नत्र… ।
बूढा– ‘नत्र’ भ’न्या के ?
बूढी– हात पर्दैन त्यो भ’न्या ।
बूढा– छोरी÷नातिनीलाई दिन छोड्यौ ?
बूढी– छोरीले माग्न छोडेको धेरै वर्ष भो, नानिनीहरु ब्या गरेर घर गइहाले नि !
बूढा– अब पैसामा ढुसी लाग्ने भो !
बूढी– तिमी के गर्छौ पैसा, साँच्चै !
बूढा– किताब छाप्तैमा स्वाहा !
बूढी– म के छाप्ने ?
बूढा– मन्दिरको महन्त र स्कुललाई पोस्ने ।
बूढी– त्याँ सम्म पुग्नै सक्दिन ! आँखा र गोडाले भर पाए पो !
बूढा– मै लैदिम्ला ।
बूढी– तिमीले किताब छापिदिन्चौ ।
बूढा– छोरासित पठाऊ ।
बूढी– पसलको दालचाम किनिदिन्च ।
बूढा– बुहारीलाई लग्दे भन ।
बूढी– तिलरी किनिदिन्चे ।
बूढा– त्यसो भए खाइ लाई गरेर सक ।
बूढी– जे खाए पनि घरमै छन् खाने कुरा । अन्तको खाए पेटले धान्दैन ।
दृश्य–५ (बूढा बूढी ओछ्यानमा)
बूढा– त्यो पैसाले काशी जाम् ।
बूढी– जीउमा मासी भए पो ।
बूढा– त्यसो भए पैसा सधैं बासी बस्ने भए ।
बूढी– यो पैसाले टिन्सिन बनायो । तिम्रो पिन्सिनले टिन्सिन बनाउँदैन ?
बूढा– तिम्रो जस्तो मुठो हुन पाए पो ।
बूढी– मरो पनि किताब छापिदेऊ ।
बूढा– न कविता छन् न कथा, के छाप्ने ?
बूढी– मेरा कथा छन्, बुहारी हुँदाका, त्यही छाप ।
बूढा– लेख्या छ र ?
बूढी– छैन । मनमा छ । म भन्चु, तिमी लेख र छापिदेऊ ।
बूढा– हुन्च, काइदा हुन्छ । दुवै लेखक !
बूढी– फाइदा हुन्च कि हुन्न बरु !
बूढा– किन नहुनु, सित्तैमा बाँड्न पाएसी ।
बूढी– विक्री हुन्न र ?
बूढा– हुन्छ, विक्रीको पैसाले सिक्री किनौली ।
बूढी– कति बाङ्गो बोलि’रा ।
बूढा– आफ्नो त बोल पनि लेख पनि दुवै बाङ्गा ।
बूढी– त्यै बाङ्गो हिंडेर त सबैलाई टेढ्याको ।
बूढा– सोझो पनि लेख्छु नि !
बूढी– लेखे मात्र हुन्त्यो, कलमले घोच्चौं पनि ।
बूढा– नसुन्नीहरुलाई घोच्नै पर्छ ।
बूढी– घोचेर दुख्यो भनेर कतिले सरा’प्या छन् ।
बूढा– झिंगाले डिंगा मार्दैन ।
बूढी– यो उमेरमा बाङ्गो, सिधा बोलेर कसैलाई पनि नचिढ्याऊ ।
बूढा– नानीदेखि लाएको बानी कहिल्यै पनि रहेछ नजानी ।
बूढी– कति आ’को कुरा पनि ।
बूढा– तिमी पनि कम्ती छैनौ ।
बूढी– भो सुतम् । म पल्टिएँ अब ।
बूढा– भै हाल्छ नि !
(स्रोत : जनमत साहित्यिक मासिक)