~मधुवन पौडेल~
हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता उडाएर लगेको जस्तो लाग्थ्यो। मलाई ज्यादै अल्छी लागेकोले त्यसै नै निरुद्देश्य बाहिर निस्केको थिएँ। हुरीको मारबाट बच्न नजिकै कुनै साथीभाइको घर अथवा रेष्टुरेन्टभित्र पस्नुसिबाय अरू उपाय थिएन।
हुरीको गति पनि झन्झन् तेज हुँदै थियो― अन्दाजी असी–पचासी किलोमिटर होला त्यसको गति पनि। पारखी नभए पनि पुर्वअनुभवको आधारमा म लख काट्दै थिएँ। मानिसहरू भागाभाग गर्दै आश्रयथलो खोज्दै दुगुरिरहेका देखिन्थे, त्यसैले सडकमा निस्पि्कक्री मोटर कुदाउन पनि गाहारो थियो। त्यत्तिकैमा रातो नियोन बत्तीतिर मेरो आँखा परे― ‘रमाइलो ठाउँ’ रेस्टुरेन्ट एड बार! ढोकामा निकै भीड थियो, तर खाकी पोशाकमा उभिएको एक जना भूतपूर्व सैनिक हातमा रातो लट््डी लिएर मूलढोकाको पहरा पनि दिँदै थियो― उसका चनाखा आँखाहरू शायद रेस्टुरेन्टभित्र भारेभुरे जनता छिर्न खोज्लान् र रोकुँला भन्ने विचारले निगरानी गर्दै थिए।
रेस्टुरेन्टको आफ्नै सानो कम्पाउडभित्र मोटर पार्क गरेर म भित्र छिरें। पर कुनामा गद्दासहितको चकला, सानोतिनो मञ्च र चारैतिर सफा र सुकिलो गरेर सजाइएका टेबुल मेचहरू, झलिमिली रङ्गीन र सेता बिजुलीका चिमहरु, लगभग माझतिर, सानो काउटर। मानिसहरूको कोलाहल त छँदै थियो तर पनि मधुरो सङ्गीतको आवाज पनि कानमा ठोक्किइरहेको थियो।
“कति जना हजुर?” सेतो कमिज र चकलेटी पाइन्ट लगाएको एक जना केटो अगाडि थियो।
म एकलै थिएँ तर उसले शायद सोच्यो होला, अर्को कुनै दोस्रो वा तेस्रो व्यक्ति पनि आउँदै थिए।
‘एक्लै।’
उसले इसारा गरेको ठाउँमा पुगेर मैले आफ्नो ज्याकेटको जीपर खोलें अनि बियर एउटा अर्डर गरेर यताउता आँखा घुमाउन थालें। कम्तीमा २ जना र ४, ६ जना बस्न हुने गरी टेबुल सजाइएका थिए पूर्वी भागमा एउटा लामो टेबुल पनि थियो जहाँ आठ–दश जना विदेशीहरू आफ्नै गफमा मस्त देखिन्थे। त्यसको पछाडि दुइटी स्वास्नीमानिसहरू चार जनाको सीट भएको टेबुल ओगटेर बसेका देखिन्थे। आधाभन्दा केही बढी टेबुलहरू ग्राहकहरूले ओगटेको जस्तो लाग्थ्यो।
बाहिर हावाको गति कम भएको थिएन, तर झमक्क साँझ परिसकेको थियो― फाटफुट ग्राहकहरू पस्दै थिए रेस्टुरेन्टभित्र। एउटा सानो पित्तलको कचौरामा अलिकति बदाम, बियरको शिशी, ग्लास र बिल लिएर त्यो अघिको केटो मेरो अगाडि आइसकेको थियो। कति छिटो। तर एउटा कुराले भने म छक्क परें रेस्टुरेन्टभित्र विरलै पसे पनि पहिलो अर्डरको साथमा बिलसमेत आउने चलन मैले देखेको थिइनँ–महँगै रहेछ फेरि। एकसय पाँच रुपियाँ। बिल र पैसा त्यो केटालाई थमाएर बियरको घुट्को लिन थालेँ म, विदेशी ब्राड तर नेपालमा उत्पादित बियर थियो।
एकछिनपछि बाँकी पैसा, बिल अनि हातमा एउटा चिट लिएर बेरा केटो आइपुग्यो।
“कसले दिएको?” मलाई आश्चर्य लागेको थियो। कुनचाहिँ परिचित अर्को कोही मजस्तै त्यहाँ निरुद्देश्य पसेको पो रहेछ कि?”
चिट खोलेर पढें, “हाम्रो रेस्टुरेन्टमा स्वागत छ।”
त्यसपछि कुनै नाम थिएन, हस्ताक्षर थिएन। मैले केही सोध्नै पाएको थिइनँ “म्याडम् एकछिनपछि आउँछु भन्नुभएको छ” भनेर टिप्सको पाँच रुपियाँ टिपेर त्यो केटो हिँडिसकेको थियो।
पल्लो टेबुलमा तीन जना थिए― एक जना दौरासुरुवालमा, बाँकी दुई जना कमिज र टाईमा थिए। उनीहरूको आवाज बढ्दै गएको सुन्दा उनीहरू एक–दुई घटादेखि नै त्यहाँ बसेजस्ता देखिन्थे। टेबुलमुनि ह्विस्कीको आधा बाँकी बोटल, एउटा छालाको व्याग र एक ब्रिफकेस थिए। टेबुलमा थुपै्र खाली प्लेट अनि भरिएको एष्ट्रे, तीन वटा ग्लासमा पानीको मात्रा स्पष्ट फरक देखिने आधा, अलि कम र तीन चौथाइ ह्विस्की देखिन्थ्यो।
तीनै जना उत्तेजित थिए आ–आफ्नो कुरालाई सशक्त देखाउने होडबाजीमा। विषय थियो― राजनीति। अहिले अफिस, पसल, लाइब्रेरी, बसपार्क जताततै त्यही कुरो हुन्थ्यो― सर्बोच्चको फैसला के होला?
“हेर्, सरकार जान्छ, जान्छ।”
“भो, बढ्ता कुरा नगर्, त्यसै जान्छ सरकार?”
“लौ बाजी ठोकौं”
“भो, भो छोड्न217 रक्सीको नशै ठडा हुने गरी कराउँछन् बा। मानो एउटा सरकारमै भएजस्तो, अनि अर्कोचाहिँ यसलाई पल्टाएर भोलिदेखि नै आफैं मन्त्री बन्नेजस्तो गरी।”
“हो त नि, तँ गधाजस्तो हो त? एउटा जिम्मेवार नागरिक भएर पनि दायाँबायाँ के भइरहेको छ, देश कता जाँदैछ सोच्नु–बुनु छैन। उही पैसा पट्यायो, रक्सी सुर्क्यायो, त्यत्तिले पुग्यो तँलाई?”
तेस्रो साथी निरुत्तर भयो। मलाई लाग्यो― दुवै ठीक थिए, आ–आफ्नो दृष्टिले।
म झसङ्ग भएँ। मेरो अगाडि एउटा चिरपरिचित अनुहार थियो― रश्मि― रश्मि शर्मा। मेरी सहपाठी थिई ऊ― क्लासमा हामी उसलाई बारुद भनेर जिस्क्याउँथ्यौं। तर यहाँ के गर्दै थिई ऊ? मैले लख काट्न नभ्याउँदै बारुदै भएर पड्किई रश्मि।
“चिन्यौ? के चिन्थ्यौ? पच्चीस वर्षै भयो होला नभेटेको।”
“किन नचिन्नु। त्यतिसारो नहेप न। त्यसमा पनि आफ्नो अगाडि २/२ वर्षसम्म पड्किरहने बारुद। कसरी बिर्सन सक्नु?”
“धत्! सधैं त्यस्तो हुन्छु कि क्या हो?”
रश्मि साँच्ची पहिलेजस्ती त थिइन। गोरी, ब्वाइकट पारेर केश काटेकी, टाइट कुर्तासुरुवाल अथवा मिडी अनि अलि अग्लै हिल भएको जुत्ता लगाएर मुखजस्तै तेज रफ्तारमा लम्कने, हातमा कापी–किताब च्यापेर सधैं ऊ।
एक पटक सिङ्गापुरे लाहुरेको छोरो अर्को सहपाठी अशोक वमजनले उसलाई कागजको पोकाले हिर्काइदिएछ। रश्मिले टपक्क त्यो कागज टिपेर पछाडि गएर उसको कठालै समाई। बिचरो अशोक नून खाएको कुखुराजस्तो भएर केही दिन बस्यो अनि कलेजै छोडिदियो। हुन त हिजोआज क्लासमा यस्तो घटनाको केही मतलब हुँदैन तर हाम्रो पालोमा त छ्वास्स प्रिन्सिपलको कानमा केही गरी कुरो पुगेछ भने केही नभए पनि एउटा वार्निङ लेटर हातमा परिहाल्थ्यो।
अघिकै केटोले रश्मिलाई आधा खाइसकेको चियाको कप ल्याइसकेको थियो।
मैले एक पटक रश्मिलाई नियालेर हेरें। फाटफुट कपाल फुलिसकेको, आँखीभौं टिपेर मिलाएको, गालामा नजानिंदो गरी देखिने चायाको दाग, निधार केही चाउरी परेको, कानमा हीराको टप, नाकमा फुली, घाँटीमा निकै मोटो तर छोटो सुनको सिक्री, बाहुला नभएको अगाडि टाँक निकै नै खुला देखिने ब्लाउजले ढाक्न। बाँकी गोरो शरीर अनि उज्यालो अनुहार। उसको अनुहार उसको नामजस्तै थियो, उज्यालो पहिले पनि, अहिले पनि।
“निकै हेर्यौ नि? कलेजमा चाहिँ मैले कोट्यायो कि रगत सर्लाजस्तो अनुहार हुन्थ्यो।” बत्तीसै दाँत देखाएर निस्पि्कक्री हाँसिरहेकी थिई रश्मि।
“हैन, त्यस्तो त हेरेको छैन, तैपनि तिमीलाई यत्रो वर्षपछि, त्यो पनि, यहाँ देख्दा त हेर्नैपर्यो नि। राम्ररी हेर्ने हो भने तिघ्रामा चिमटेको नीलडाम अझै बाँकी होला।”
“नचाहिँदो छिल्लिएपछि बाँकी राख्छु त?”
साथीभाइहरूले उचालेर मैले एक दिन फिजिक्सको ल्याबोरेटरीमा आफ्नो उमेर र स्वभावलाई नसुहाउने गरी उसको संवेदनशील अंग समाइदिएको थिएँ। रश्मिले तत्काल त केही बोलिन, तर एकछिनपछि डेमोन्स्ट्रेटर अर्कोतिर लाग्नासाथ बेसरी चिमोटिदिएकी थिई।
“तिमी त मभन्दा कान्छै हौ, कपाल के बिधि सेताम्य भएको?”
“खै, घरपरिवारको जन्जाल, रोग–व्याध के–केले होला नि।”
“छोराछोरी कति जना छन्?”
“एक जना, त्यो पनि बाहिरै छ। अनि तिम्रो?”
“दुइटी छोरी, तर दुवैलाई अन्माइसकें।”
“अनि श्रीमान्?”
“श्रीमान्? अठार वर्ष भयो छुट्टिएको।”
“आइ एम् सरी।” मलाई निकै असजिलो लाग्यो। भर्खरै त्यस्तरी हलल्ल हाँसेकी रश्मिको अनुहारमा उदासीपन आउला भनेर म चिन्तित भएँ। तर रश्मिले मेरो कुरालाई ध्यानै नदिएजस्तो गरेर भनी,
“मैले यसलाई सिरियस्ली लिएकी छैन। हाम्रो बिहे भयो, दुइटी छोरी पनि जन्मे। तर सधैं हाम्रो बीच एक प्रकारको टेन्सन् बढ्दै गएको अनुभव भएपछि हामी सल्लाहले नै छुट्टियौं। उनि अहिले विराटनगरमा जूटमिल चलाएर बसेका छन्। मचाहिँ यहीं नै भाइसँग रेस्टुरेन्ट चलाइरहेकी छु, जीवन चलि नै रहेको छ।”
मलाई लाग्यो रश्मि बारुद त थिई कसरी सुमर्न सक्थ्यो बिचरा लोग्नेचाहिँले? म पुरानो विचारको नभए पनि सम्बन्ध विच्छेद भन्नासाथ कताकता असजिलो लाग्थ्यो मलाई। त्यसैले सुषमासँग झगडा भएर महिनौं बोलचाल बन्द हुँदा पनि मेरो दिमागमा ‘डाइभोर्स’ शब्द कहिल्यै आएन। जस्तै भए पनि लोग्नेस्वास्नीको मनमुटाव र झगडा परालको आगो त हो भन्ने कुरामा विश्वास गर्थें म।
“तिमीले आफ्नो त केही भनेनौं?”
“तिमीले बोल्नै पो कहाँ दिएकी छौ र! छोरो विदेशमा छ। म जागीरे छु― दश–पाँच गर्छु, श्रीमतीले घरबार हेर्छिन् सानो परिवार, मान्छे पनि सानै काँटको सबै नै सानै छन्।”
“भो भो! त्यत्रो विशेषण चाहिएन। अघि सर्ट सर्किटमा हेर्दा त एक पटक त म अल्मलिएको थिएँ― यो हाम्रै फुच्चे होइन कि भनेर।”
रश्मि मलाई चिढ्याउन खोज्दै थिई। तर कलेज र त्यसपछिका केही वर्षझैं मलाई अहिले फुच्चे भनेर कसैले सम्बोधन गर्दा केही नमीठो अनुभव हुन्नथ्यो। यस पटक मैले उसलाई व्यङ्ग्य गर्ने विचार गरें।
“अनि रश्मि, अठार–अठार वर्ष एक्लै कसरी?”
“के भयो त? एक–दुई वर्षसम्म दिक्क लाग्थ्यो। त्यसपछि कामको व्यस्तता, पुराना साथीभाईसँग भेटघाट, माइती, घुमघाम गर्दा त्यसै जाँदोरहेछ।”
मैले सङ्केत गरेको कुरो अर्कै थियो। रश्मिजस्ती चतुरीले नबुझेकी त अवश्य थिइन, तर बुझ पचाइदिई।
मैले एक पटक उसको अनुहार फेरि नियालें― कलेजमा पढ्दा मेरो मुख र कान रातो देख्ने रश्मिका गाला अहिले कुन्नि किन हो राताराता देखिन्थे। उसले शायद कुरो छल्न खोजेकी थिई।
“एउटा बियर मेरो तर्फबाट लिने कि?”
“आजलाई भो। उधारो रहिरहोस्। घर गएर हजूरआमाको सेवा गर्नुपर्ने, आमैलाई गन्हायो भने फेरि बरबाद छ।”
“ए! तिम्रो त अरुको सेवा गर्ने क्रम यथावत् नै छ हगि? एक पटक पिकनिकमा मेरो खुट्टा मर्किंदा तिमीले कताबाट आयोडेक्स निकालेर मालिस गरिदिएको सम्झन्छौ?”
“मैले खुट्टो मिचेको मात्रे सम्झन्छ्यौ तिमी होइन?”
“अरू केही भएको भए पो सम्भि्कने त।”
रश्मि उस्तै थिई साँच्ची नै। त्यो पिकनिकको साँझ उसलाई मैले नै घर पुर्याइदिएको थिएँ। मलाई तीन महिना अगाडि बेस्सरी चिमोट्ने ऊ, त्यो साँझ नौनी भएकी थिई। शायद कलेज नसकिएको भए अथवा मैले इन्जिनियरिङको साटो नेपालमै बसेर पढेको भए जीवनले अर्कै मोड लिन्थ्यो कि! तर नियतिको विधान कसले जान्ने?
रश्मिको भाग्यमा सम्बन्धविच्छेद र एकाकीपन अनि मेरो निधारमा सुषमाजस्ती रिसाहीसँग जुध्नुपर्ने लेखेको रहेछ।
काउन्टरमा पूजा गर्ने घटा बजिरहेको सुनेर म त्यता हेर्दै थिएँ।
“नौ बजे बन्द गर्ने सङ्केत हो। के गर्ने। मान्छेलाई उठाउन गाहारो हुन्छ। भाइ पनि दुई हप्ताको लागि युरोपतिर गएको छ।”
सुषमालाई झट्ट सम्झें मैले पनि। फर्कदां बेकिङ पाउडर लग्नुपर्ने, बजार बन्द भइसक्यो होला भन्ने चिन्ता लाग्यो।
“तिमी कतातिर बस्छौं? म छोडिदिउँला नि!”
“हैन पर्दैन, मेरै छ।”
“कहिले भेट्ने त अब?”
“अब यतै छु। तिम्रो रेस्टुरेन्ट छ भन्ने थाहा भइहाल्यो। अर्को एउटा कुलत लाग्ने भयो नि!”
“के रे! के रे! अझ के के कुलत छ तिम्रो? कपाल फुलिसकेर पनि …..!”
“अब आउने–जाने गर्दा थाहा पाउँछ्यौ नि!”
“लौ भो! कुरै मात्र हो।”
ऊ फेरि हलल्ल हाँसी।
म रश्मिसँग बिदा भएर निस्कें― बाहिर अँध्यारो र चकमन्न भइसकेको थियो। हुरीबतासले उडाएर सडकभरि पातपतिङ्गर स्याउलाहरू छरिएका थिए।
सुषमाको कालो घोसे अनुहार र हजुरआमाको गन्थन सम्झँदै मैले गाडी स्टार्ट गरेँ। तर रश्मिसँग वषर्ौंपछि भएको भेटघाट, कुराकानी र फेरि भेट्ने उत्कठाले मेरो मन पुलकित भइरहेको थियो।
मलाई लाग्यो― बेलुकी साँझ पर्नासाथ गुफातिर पस्ने मेरो केही वर्षदेखिको जीवनक्रम अब छुट्नेछ― सांसारिक दृष्टिले एक्ली थिई रश्मि।
अनि परिवारसँग बसेर पनि मनले एक्लिएको थिएँ म।
अमेरिका
(स्रोत : रचनाकार स्वयंले भाईबरको माध्यमबाट पठाईएको । )