~प्रदीप नेपाल~
“नमस्कार, चिन्नु भो?”
कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्।
कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक विद्यालयले सोही साल निम्नमाध्यमिक तहको स्वीकृति पाएको थियो। प्राथमिक विद्यालयलाई निम्नमाध्यमिक बनाउन कंचन सर भनेर चिनिने कंचनराज गिरीको विशेषै भूमिका थियो। त्यतिबेला कंचन सरले नेपालगञ्जमा पढेर आइ.ए. पास गरेका थिए। त्यसैले उनी नै निम्नमाध्यमिक विद्यालयको प्रधानाध्यापक भए।
कंचनराज गिरीलाई गाउँलेहरूले मन पराउथे र कंचन सर पनि त्यो स्नेहको प्रतिदान गर्न संकोच मान्दैनथे। चार वर्ष कंचन सरले भृकुटी स्याहारे। ०४६ सालमा गाउँका गयमायसँग बसेर कंचन सरले केटाकेटीको पढाइका बारेमा लामो गन्थन गरे।
“सात कक्षा पास गरेपछि पोकोपुन्तुरो कसेर टिकापुर पठाउनु पर्छ कलिला नानीहरूलाई। गाउँका केटाकेटीले धेर दुःख पाए। तपाईंहरू आडभरोस दिनुहुन्छ भने स्कूललाई माध्यमिक बनाउन म कोशिश गर्छु,” कंचन सरले कुनै भूमिका नबाँधी कुरो शुरू गरे।
के खोज्छस् कानो, आँखो। गाउँलेहरू एकै बोलीमा सहमत भए। कोही लोकेन्द्रबहादुर चन्दको सिफारिस ल्याउन दौडधुप गर्ने भए भने कोही प्रधानमन्त्रीको पत्यारिलो मान्छे खोज्न सल्यान नै जाने भए। कोही इन्द्रबहादुर खत्रीबाट भनसुन गराउने भए भने कोही नारायणदत्त भट्टकै घरमा धर्ना दिनतयार भए। घरपटीले चिया ल्याउँदा भेला भएका भलाद्मीहरू सबैले भृकुटी स्कूल माध्यमिक भैसकेको अनुभूत गरे।
“तर शिक्षकहरू त आउन मान्दैनन् यो जंगलमा,” कंचन सरले सबैको उत्साहमा एक एक टुक्रो चिसो बरफ राख्तै भने, “त्यसैले तपाईंहरू पहिले मलाई बी. ए. पढ्नेृ द्धुट्टी दिनुस्। मिलाउन सकें भने एकैचोटी म बी. एड. सक्याएर आउनेछु। त्यसपछि तीन वर्षसम्म मा. वि. स्तरको शिक्षक नभए पनि स्कूल चलाउन हाम्लाई गाह्रो हुनेछैन।”
पहिलेको जस्तो उत्साह यसपालि कसैले देखाएनन्। यसभन्दा पहिले पनि पढ्न जाने छुट्टी मागेका थिए कंचन सरले र साह्रै अप्ठ्यारो गरेर उनलाई रोक्नु परेको थियो गाउँलेले।
“तपाईंहरू मेरो भावना बुझदिनुस्,” कंचन सरले अनुरोधको स्वरमा भने, “अब नयाँ ठाउँमा गएर पनि मैले पाउने भनेको यही निम्नमाध्यमिक शिक्षक हो। यहीं बस्ताबस्तै घरजम भयो। केटाकेटी यहीं पढ्न थाले। अब चार चौरास नापेर मैले के पाउँछु र? म फर्किने नै हो, यहीं आएर ठेगान लाग्ने हो। खालि किलो बलियो गरी गाड्न मात्र खोजेको हो मैले।”
सोझा गाउँलेको मन पग्लियो। पुनर्वासको फँडानीमा पूर्वको कुन विकट पहाडबाट बसैं सरेर आएको मास्टर अब उखेलिएर कहाँ जाला र? भन्ने लाग्यो सबैलाई। कंचन सर पढ्न गए।
पुरै तीन वर्ष लाग्यो कंचन सरलाई आफ्नो पढाइ सिध्याउन। सल्लाह गर्दाको बेबस्था खारेज भैसकेको थियो र मुलुकमा सभ्यता सुहाउँदो नयाँ बेबस्था आइसकेको थियो। तर नयाँ बेबस्था पनि भनसुनको मामिलामा पुरानाकै जुम्ल्याहा थियो। त्यसैले भृकुटी स्कूललाई माध्यमिक बनाउन अरू तीन वर्ष लाग्यो। केन्द्रमा नयाँ बेबस्थाको सरकार फेरिएकै वर्ष गाउँको स्कूलले यसरी नाम फेर्यो – भृकुटी माध्यमिक विद्यालय … …।
गाउँमा माध्यमिक विद्यालय आयो – गाउँलेहरू खुशी भए। स्कूललाई माध्यमिक बनाउनमा कंचन सरले गरेको परिश्रमले गाउँलाई तिर्नै नसक्ने गरी गुनको भारी लाएको चर्चा गरे गाउँलेले। गाउँलेको माया पाएर कंचन सरको छाति फराकिलो मैदान जस्तो भयो।
भृकुटी स्कूल माध्यमिक हुँदा मुलुकमा राजनीतिको छेलो खेलिएको थियो। राजनीतिमा नलागेको त कोही पनि हुँदैन कि जस्तो लाग्थ्यो। त्यस्तो हुडरीमा गाउँलेलाई पनि कंचन सरको राजनीति जान्न खसखस लाग्नु स्वभाविकै थियो।
“पूर्वेली हो, कम्निस्ट हुनुपर्छ।”
“केको हुन्थ्यो? गिरी सर थरैले कांग्रेस हुनुपर्छ।”
“होइन, होइन, उहिले पंचायतकै पालामा आफ्नै बलबुताले स्कूलको कोटा ल्याउने मान्छे अहिले राप्रपाकै सदस्य हुनुपर्छ।”
“सद्भावनामा पनि गिरीहरू छन् क्या रे हैन?”
मान्छे जति हुन्थे, कुरा पनि त्यति नै सुनिन्थे। कुनै कुरा गिरी सरको कानसम्मै पुग्थे, धेरै चाहिं बाटाघाटामै हराएर सकिन्थे। किनभने कुनै पनि गाउँले कंचन सरको सम्मुख उभिएर तपाईं कुन पार्टीको मान्छे भनेर साध्न चाँहदैनथे। आँट थिएन भन्ने होइन। मान्छेहरू चाहिने भन्दा आँटी थिए त्यतातिर। कंचन सरलाई देख्ने बित्तिकै डरले सातो काढ्ने हुनाले नसोधेका पनि थिएनन् गाउँलेले। एउटा त्रासदीपूर्ण अनुभूतिले अप्ठ्यारामा पारेको थियो गाउँलेलाई। राजनीतिको मामिलामा अथाह गुफा जस्ता थिए कंचन सर। उनी पार्टीलाई भोट हाल्छन् कि मान्छेको गुण दोष हेरेर मान्छेलाई भोट खसाल्छन् भन्ने पनि थाहा हुँदैनथ्यो कसैलाई।
गाउँका स्थानीय पार्टीका नेताहरूले कंचन सरलाई आफ्नो बनाउन एक झमट कोशिश पनि गरे। तर कंचन सरको मुस्कान भित्र के लुकेको छ भन्ने कसैलाई थाहा भएन।
“कोही स्कूलका बच्चाबच्चीको भविष्य स्याहार्न पनि स्वतन्त्र बस्नुपर्छ,” मिठो मुस्कान पोख्तै कंचन सर भन्ने गर्थे, “बच्चाबच्चीलाई असल नागरिक बन्ने शिक्षा पहिले दिनुपर्छ, उनीहरूलाई लेखपढ गरेर नै देशको सेवा गर्न सकिन्छ, सही राजनीतिको गोरेटोमा हिंड्न सकिन्छ भनेर सिकाउनु पर्छ। यिनीहरूलाई असल मान्छे, असल नागरिक बन्ने शिक्षा दिन सकिएन भने देशको भविष्य बिग्रन्छ। तपाईंहरू देश निर्माण गर्नुस्, म त्यो असल देशका लागि सुहाउँदिला नागरिक निर्माण गर्नपटी लाग्छु। राजनीति उनीहरूको स्वेच्छाको छनौट भैदियोस् भनेर म विशेषरूपमा ध्यान दिन चाहन्छु।”
नपत्याउदो उमेरमा कंचन सर गाउँका बुढा भए। ०५६ सालमा आइपुग्दा कंचन सर अर्को पार्टीको भैदियो भने के होला भनेर गाउँका पार्टी नेताहरूले डराउनु पर्ने अवस्था आयो। जाँड रक्सी नखाने, चुरोट सुर्ती नतान्ने, जिस्किन इत्रिन नमान्ने कंचन सरले ‘म तपाईंको पार्टीलाई समर्थन गर्दिन’ भन्देलान् भन्ने डरले स्वयम् पार्टीका नेताहरूले पनि कंचन सरसँग राजनीतिको कुरो गर्न छाडिदिए।
तर गाउँ त्रस्त हुन थाल्यो त्यही सालदेखि। मानिसहरू कंचन सरको ओरिपरि भेला हुन थाले। अजातशत्रु मान्थे गाउँलेहरू कंचन सरलाई। आफ्नो इमान नडोलाउने, कसैप्रति तितो भाषा प्रयोग नगर्ने, झुक्किएर पनि मुखबाट अपशब्द ननिकाल्ने कंचन सरको छहारीमा न्यानो ओत पाइन्छ भन्ने लाग्थ्यो गाउँलेहरूलाई।
०५८ सालको मंसिरमा अज्ञात बन्दुकधारीहरूले गाउँ विकास समितिको कार्यालयमा आगो लाइदिए। स्तब्ध भयो गाउँ। रेडियोमा पनि समाचार सुने गाउँलेले। तर अन्तिम निर्णय त कंचन सरले नै दिनुपर्थ्यो।
“राम्रो काम भन्न मिल्दैन यसलाई,” कंचन सरले मसिनो स्वरमा भने। त्यतिबेला आकाश उज्यालो थियो। आकाशको निलो पोखरीतिर धेरैबेर नियालेर हेरेपछि कंचन सरले भने, “गाविस भवन त जसका लागि पनि कामै लाग्थ्यो। कुर्चीमा जो बस्ता पनि हुन्थ्यो। दराज पनि सबिैका खातापाताका लागि अटाउने खाना भएको ठूलो र फराकिलो थियो … …।”
मन नपर्ने प्रसङ्गको बिरहगान गाउदै थिए कंचन सर। ओरिपरि बसेका गाउँलेहरू उनको अनुहारमा टुलुटुलु हेरिरहेका थिए। एकपल्ट सुस्केरा काडेर कंचन सरले भने, “म यहाँ आउँदा पुरानो सठीको छाप्रोमा बसेको गाउँ पञ्चायत भवन जीर्ण भैसकेको थियो। प्राथमिक स्कूलमा हामी तीन जना शिक्षक थियौं। हामी तीन जनाले पनि यो भवनको निर्माणमा श्रमदान गरेका थियौं। नयाँ गाउँ पञ्चायत भवन भनिन्थ्यो त्यतिबेला यसलाई। एकजनाले पनि रोजी लिएका थिएनन् यसको निर्माण गर्दा। इमान्दार गाउँलेको रगत पसिनाको स्तम्भ चिनो थियो यो घर …।”
डढेर पर्खाल कालो भएको थियो। निदाल तीन ठाउँमा भाँच्चिएर चारओटा काला र कुरूप मुढाहरूमा फेरिएको थियो।
“मुढो हेर्दा त मान्छे पोलेको भान हुँदो रैछ,” कसैले शान्त पोखरीमा शब्दहरूको ढुङ्गा हान्यो।
“रूत्यस्तो भन्नु हुन्न,।” आवाजतिर टाउको घुमाउदै कंचन सरले भने, “यो निदालसँग पनि पीडाको एउटा कथा छ। फूलबारीका माइला बाको खुट्टो भाँचिएको थियो बनबाट यो लाथ्रो काटेर ल्याउँदा। बिचरा जाने बेलासम्म पनि द्ब्रे खुट्टो खेच्याङ खोच्याङ गर्दै हिंड्नु हुन्थ्यो …।”
कंचन सरले एकछिन आँखा चिम्म गरे। मृत्युको हप्ता दिन अघिसम्म “सन्चै हुनुहुन्छ सर” भनेर सोधीखोजी गर्ने माइला बाको कल्साउँदो अनुहार कंचन सरको मनको आँखामा धेरैबेरसम्म नाचिरह्यो।
डढेको गाउँ विकास समितिको भवनमा ठाउँ ठाउँमा सेता च्याउहरू उमि्रएका थिए। डढेको त्यो भित्तो पाङ्ग्रे कुकुरको ढाड जस्तै देखिन्थ्यो। कतै गाविस भवन, कतै हेल्थपोस्ट, कतै सामुदायिक भवन त कतै विद्यालय भवनामा आगो लागिरहेको समाचारले क्षुब्ध भएका कंचन सरले लामो सुस्केरा काढेर भने, “मान्छेको चेतना उल्टो चक्रमा घुम्न थालेपछि नै मान्छेका हातहरूले यस्तो विनासलिला मच्चाउन थाल्छन्।” कंचन सरले एकपल्टा झलमल्ल घाम लागेको आकाशतिर हेर्दै आफैंसँग सोधे, “के यो विनास लिलाको कुनै किनार छैन?”
ठीक त्यसैबेला एउटा बोधो स्वरले सोध्यो, “नमस्कार, चिन्नु भो?”
कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहँ, उनले कुनै अनुहारलाई पनि चिनेनन्।
“ब्यक्ति चिनें भन्न सकिन, तर समूह चिने जस्तो लाग्छ,” कंचन सरले आफ्नो नम्रता, शिष्टता र सौम्यतालाई भुईंमा झर्न दिएनन्।
“ठीक,” सबैभन्दा अगाडि उभिएको केटाले भन्यो, “सर हुनुहुन्छ, त्यसैले वुद्धिमान हुनुहुन्छ।”
कंचनराज गिरी प्रतिकृयाहीन रहे। तर बिस्तारै कंचन सरको ओरिपरि दुइ दर्जन जति गाउँले, शिक्षक र विद्यार्थी भेला भैसकेका थिए।
“यस क्षेत्रबाट पुरानो सामन्ती सत्ता समाप्त भैसकेको छ भन्ने तपाईंहरूलाई थाहै छ,” एउटा अग्ले केटाले भाषण गर्ने पारामा भन्यो।
सत्ता कसरी समाप्त भयो? कंचन सरले सन्नाटासँग सोधे।
अहं, त्यसले उत्तर दिनै मानेन।
“अब यस क्षेत्रमा जनवादी सत्ता कायम भएको छ,” कंचन सरको मन अझै ठेगानमा फर्किएर बस्न भ्याएको थिएन। त्यसैले उनको मनले सोध्यो, “जनवादी सत्ता कसरी स्थापित भैसक्यो?” त्यहाँ पनि उत्तर दिने को थियो र? उता अग्ले केटाले आफ्नो बोलीलाई झन झन कसिलो र ठूलो बनाउदै लगिरहेको थियो। उ भन्दै थियो, “यो क्षेत्र जनवादी सत्तामा आइसकेको हुनाले यो क्षेत्रमा जनवादी संस्कृतिको निर्माण आरम्भ गरिनु पर्छ। जनवादी संस्कृतिको निर्मा(ा गर्न जनवादी शिक्षा नीति अपरिहार्य हुन्छ। त्यसैले तपाईंहरूको स्कूलमा पनि आजखदेखि जनवादी शिक्षा पद्धति लागू भएको घोषणा गरिएको छ।”
“जनवादी शिक्षा पद्धति?” कंचन सरको मथिङ्गल रन्थनियो। जनवादी शिक्षा पद्धतिको रेखा यति सजिलै कोर्न सकिन्छ र?
“भाइ बहिनी हो, यो जनवादी शिक्षा पद्धतिको पाठ्यक्रम, पाठ्ययोजना, पुस्तक पुस्तिका आदि के छ?” कंचन सरले आफ्नो स्वर र शैलीलाई यथावत राख्तै सोधे।
“त्यसका लागि तपाईंहरूले कुनै चिन्ता लिनु पर्दैन,” उही अग्ले केटाले भन्यो “जनवादी शिक्षाका बारेमा एक महिने प्रशिक्षण दिन नै हामी यहाँ आएका हौं।”
घाम आगो जस्तो भएर मध्य आकाशमा चम्किइरहेको थियो। कंचन सरले घामका रेसाहरूलाई नियाले जस्तो गरे। त्यसपछि उनले आफ्ना आँखालाई “प्रशिक्षक” हरूको अनुहारमा नचाए। धेरैले झुस्स दाह्री पालेका थिए। कसैका गाला कोतरिएका थिए। सबैले फौजी लुगा लाएका थिए। लगातार बोसलिरहनेको छाति मुन्तिर राम्रो छालाको खोलमा, हेर्दै गह्रुङ्गो जस्तो लाग्ने पिस्तोल झुड्याएको थियो। उसको आडमा उभिएका चार जनासँग राइफल थियो। बाँकिले गच्छे अनुसारको हतियार भिरेको अनुमान कंचन सरले गरे।
यस्“अन्त एक महिनासम्म तपाईंहरू कहाँ बस्नुहुन्छ?” कंचन सरको स्वर अलिअलि अलमलिएको थियो।
एकछिन अग्ले केटाले कुनै जवाफ दिएन। उसले चहुरको ओरपर नियालेर हेर्यो। उसका आँखासँगै कंचन सरका आँखाहरू पनि चहुरतिर घुम्न गए। आगोले डढेको गाउँ विकास समितिको भवनमा पुगेपछि दुबेका आँखा टक्क अडिए।
“केही छैन, त्यतिन्जेल हामी यही गाउँ जन समितिको भवनमा बस्ने ब्यवस्था मिलाउछौं। यसको मरम्मत नहोउन्जेल तीन चार दिन गाउँमा छरिएर बस्नुपर्ला,” उही अग्ले केटाले भन्यो।
एउटा नयाँ भाषा कंचनसरको कानभित्र पस्यो। “गाउँ जन समिति ….”। कन्सुत्लो पसे जस्तो लाग्यो कंचन सरलाई।
“तर त्यो त जलेर भस्मै भएको छ।”
“केही छैन, पुरानो सत्तालाई नामेट पार्न हामीले नै आगो लाएका थियौं। अब नयाँ सत्तामा हामी नै यसको निर्माण गर्छौं। प्रत्येक दिनको श्रम शिविरमा पचास जनाले भाग लिनु पर्नेछ। जति चाँडो पुनर्निर्माणको काम सकिन्छ, त्यति क्रान्तिकारी सत्ताको जोश जाँगर प्रमाणित हुन्छ। त्यसैले चार दिनका लागि पचास पचासका दरले मान्छे पठाउनु होला।”
कुरा नबुझेर कंचन सर एकछिन अलमल्ल परे।
“तपाईंहरू सशस्त्र समूह, स्कूलको मुखैमा यसरी बस्ता साना विद्यार्थी नानीहरूको मथिङ्गलमा प्रतिकूल असर पर्छ भनेर मैले त सोच्नै पर्छ,” कंचन सरले आफ्नो आवाजलाई सकेसम्म नम्र पार्दै भने।
“हिंसा कहाँ छैन?” अग्ले केटो एक्कासी दार्शनिक भयो। आफ्ना जुम्य्राहा दाह्री मुसार्दै उसले भन्यो, “विश्व हिंसामय छ, देश हिंसामय छ, तपाईं हिंसामय हुनुहुन्छ। हिंसाबाट को पन्छिन सकेको छ?” अग्ले केटोले एकछिन मौनतालाई वातावरणमा आमन्त्रण गर्यो, “आजसम्मको विश्व इतिहास फगत हिंसाको इतिहास हो भनेर सिकाउनु नै जनवादी शिक्षाको एउटा महत्वपूर्ण र प्राथमिक आधार हो। मान्छे त एक विभाजित भएर दुइ हुन्छ भने परिवेश कसरी द्वन्दरहित हुन्छ? आत्मचिन्तन गरेर हेर्नुस तपाई भित्रभित्रै हिंसामा जलिरहनु भएको छ। हिंसाबाट विरत हुने भनेको त निर्जिव शरीर मात्र हो।”
यस अघि कहिल्यै नसुनेको, नपढेको, नजानेको दार्शनिक प्रवचन सुनेर कंचन सर दङ्ग परे। उनको दङ्ग परेको अनुहारमा नियालेर हेर्दै अग्ले केटोले आदेश दियो, “हाम्रो अठार जनाको टोली एक महिनासम्म यहीं बस्छ। गाउँबाट बाहिर कोही निस्कन पाउने छैन। हाम्रो अनुमति बिना बाहिरबाट कोही गाउँमा आउन पाउने छैन। हाम्रा अठारै जना साथीलाई एक एक छाक गरेर एक महिनासम्म खाना खुवाउने पालो बसाउनु होला।
जनवादी शिक्षाको पहिलो प्रशिक्षण पाइरहँदा कंचन सर ढुङ्गाको स्तम्भ जस्तो भए।
“तपाईं यहाँको हेड सर कंचनराज गिरी हो नि, हैन?” अग्ले केटाले कुरो सिध्याउने बेलामा परिचयको पोको खोल्दै भन्यो, “म निसिम हुँ, यस इलाकाको शिक्षा एवम् संस्कृति विभागको जिम्मेवार। तपाईंहरू पनि बाह्र महिना पढाएर तेह्र महिनाको तलब खाइरहनु भएको छ होइन? तपाईंहरूले काम नगरी तलब खाएकोमा फाइन तिुर्न पर्छ। यो हाम्रो सत्ताको संविधानिक व्यवस्था हो। तपाईं हेडसरले एकमुष्ट एक लाख र अरू सबै सरहरूले मुस्ट पचास पचास हजार फाइन तिर्नुपर्छ। आगामी वर्षदेखि तपाईंहरूले काम नगरेको एक महिनाको तलव नयाँ सत्तामा लेभी बुझाउनु पर्नेछ, अर्को एक महिनाको तलब चाहिं तपाईंहरूको वार्षिक स्वैच्छिक चन्दा हुनेछ।”
“शिक्षकहरूले तलब कसरी खान्छन्?” कंचन सरले अलमल्ल पर्दै सोधे।
“त्यो तपाईंले जान्ने कुरा हो।” अग्ले केटाले प्रश्नलाई भुइँमा झर्नै नदिइ बीचैमा टपक्क टिपेर जवाफ फर्कायो र आफ्नो भनाइको खुलासा गर्दै भन्यो, “हामी तपाईं माथि विश्वास गर्न सक्छौं। तपाईं शिक्षा कार्यालय जान सक्नुहुनेछ। तर होस गर्नुहोला। चारैतिरबाट हामी तपाईंलाई निगरानी गरिरहेका हुनेछौं।”
कंचन सरको टाउको फनन्न घुम्यो। आकाशको घाम अझै चर्किएको थियो। ‘घामको तोड परेर होला,’ कंचन सरले मन बुझाए। उनले एकपल्ट घामतिरै हेर्ने साहस गरे। त्यो त पाइलै नचाली जहाँको तहीं पो बसिरहेको रहेछ।
डिसेम्बर २००३
काठमाडौ
(स्रोत : कथाकारको ब्लगबाट सभार)