~प्रदीप नेपाल~
दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी भएको छ। मान्छेको ज्यान कतिखेर तलबितल पर्ने हो भन्ने त्राहिमाममा बाँचेका छौँ हामी सबै। काठमाडौमा बस्ने यता आए भने यतै राख्छौँ भनेर हप्कदप्की गर्छन्। ज्यान रहे यो सालको दशैँ अर्को साल पनि मनाउन सकिन्छ … …” आदि आदि।
छोरा बुहारीलाई दशैँ मान्न घर नआउनु भनेर लेख्नु अघि आमाको आँखाबाट कति पिखुवाहरु बगे होलान्! हामी बुढाबुढीले एकअर्काको अनुहारमा हेराहेर गरेर आमासँग सुस्केरा साट्यौँ।
साठी सालको दशैँमा आमा काठमाडौ नै आउनु भयो हामीलाई टिका लाइदिन।
“ठूलालाई सबै काम गर, साने र उसका केटाकेटीले पोहोर मेरो हातको टिको पनि थाप्न पाएनन्, यसपालि तिनलाई टिको टाँसिदिएर आउँछु” भनेर आएकी छु भनेर आमाले हामीलाई सन्तुष्टी दिनुभयो। आमा आउनु भयो। हामी खुशी थियौँ। तर आमालाई कसरी घर फर्काउने हो भन्ने चिन्ताले मनमनै म पिरिएको पनि थिएँ। सदरमुकामसम्म केही थिएन। काठमाडौमा हवाइजहाज चढाइदिएपछि भैहाल्थ्यो। तर सदरमुकामबाट घर पुग्न मैजस्तालाई पनि चार घटा लाग्थ्यो। आमाका लागि त त्यो एक दिनै भैहाल्थ्यो।
“अलिक दिन बस्नुस् न यतै, हतार हतार किन फर्किनु पर्यो,” मैले अनुरोधको स्वरमा भनेँ।
“हुँदैन, म यहाँ बस्नै सक्तिन,” आमाले प्रतिवाद गर्दै भन्नुभयो, “एउटा त मैले ठूला र उसका केटाकेटीको निधारमा टिको टाँस्न पुग्नै पर्छ। तेसबाहेक तिमेरको यो शहर, यो साँघुरो डेरा मलाई पटक्कै मन पर्दैन भन्ने तँलाई थाहै छ। बेकारमा कचकच नगर। मलाई द्वादसीको टिकट काटिदे।”
टिकट काट्न मलाई केही गाह्रो थिएन। तर एकदिनको बाटोमा आमा एक्लै कसरी जानुहुन्छ भन्ने चिन्ताले मलाई छोडेन। मैले आमासँग सोधेँ, “तपाईँलाई बजारबाट कसले घर पुर्याउँछ?”
“मैले किशोरलाई आइज भनेकी छु।”
किशोर मेरो भतिजोको नाम थियो। आमाको साथी हुने त्यो केटो मेरा लागि केटाकेटी नै थियो। तेह्र वर्षको त्यो किशोर गाउँकै हाइस्कूलमा पढ्थ्यो र एस.एल.सी.पछि काठमाडौ आउने सपना साँचेर मिहिनेत गरिरहेको थियो।
“मेरो बारेमा तँ पीर नली। द्वादसीको टिकट काटिदे। किशोर हवाइफिल्डमै आइराख्छ। साँझ पर्दानपर्दै हामी घर पुगिहाल्छौँ।”
आमाले ढुक्क पारे पनि हामी बुढाबुढी ढुक्क हुनसकेका थिएनौँ। जुन कारणले हामीले परिवारसँगको दशैँ मनाउन पाएका थिएनौँ, त्यसले सतसट्ठी वर्षकी मेरी आमा र तेह्र वर्षको मेरो भतिजो माथि कसरी केही गर्दैन भन्ने प्रश्नमा म रुमल्लिइ रहेँ।
मैले आमासँगै सोध्नु पर्यो। आमाले साधारण ढङ्गमा जवाफ दिनुभयो, “जसोतसो गाउँमा त बसिया छ भने बाटो हिँड्न केको डर? मैले भनिहालेँ नि, तँ पीर नली। हामीलाई केही हुँदैन। सान्नानीको सानो छोरो नै हाम्रातिरको सबैभन्दा ठूलो मान्छे हुँ भन्न आथ्यो एकदिन।”
सान्नानीको सानो छोरो, अर्थात देवीराम। उ जङ्गल पसेको सुनेको थिएँ मैले। आइ.ए. पढ्दा पढ्दै बेपत्ता भएको त्यो केटो त्यति ठूलो भैसकेछ। ‘अकाल मृत्यु मर्नु नपरोस् त्यसले’ मैले मनमनै कामना गरेँ।
दशैँ रमाइलो भयो हाम्रो। हामीलाई टिका लाइदिएपछि आमाले दाजुलाई सम्भि्करहनु भयो पटक पटक। हवाइजहाज जाने भए एकादशीकै दिन पठाइदिने मन भयो मेरो। तर जहाज जाँदैनथ्यो, मोटरबाटोले जिल्ला छोएको थिएन। हिँडेर पाँच दिनभित्र पुग्नसकिने त्यो ठाउँ थिएन।
आमाले जेठो छोरोको परिवारलाई टिका लाइदिन नपाएको पीडा लुकाउन खोज्नुहुन्थ्यो। म त्यसलाई छर्लङ्गै देख्थेँ।
“कति वर्ष यसरी पालैपालो आमालाई पिरिन दिनु पर्ने हो!” दुइ जना मात्र भएको बेला श्रीमतीले सुस्केरा छोडिन्। उनले लामो सास तान्दै भनिन्, “के अब उज्यालो दिन आउँदैन?”
“खै, म त झन झन अँध्यारै बढ्ने लक्षण मात्रै देखिरहेछु।”
“यो भन्दा त इण्डियातिरै राम्रो,” उनले बाहिरको गोधुलीतिर आँखा घुमाउँदै भनिन्।
“त्यै भएर त तिमीहरु मेघालयबाट भागेर नेपाल आयौ,” मैले हाँसेर भनेँ। उनी पनि खिसिक्क हाँसिन् – पीडाको हाँसो।
द्वादसीको दिन बिहानै हामीले आमालाई खिर र आलुदमको खाजा खुवायौँ। आमा बजारतिर केही खानुहुन्नथ्यो। श्रीमतीले एक किलो गुँदपाक झोलामा हालिदिँदै आमालाई भनिन्, “आमा, बाटामा पानीसँग गुँदपाक खाँदै जानुपर्छ। तपाईं बाहिरफेरो केही खानुहुन्न, कमजोरी हुन्छ।”
आमाले बुहारीको कपाल स्याहारेर आफ्नो माया देखाउनु भयो।
“आमा अर्को साल पनि दशैँ मान्ने परिस्थिति भएन भने पीर नगर्नु होला,” काठमाडौको घरेलु विमानस्थलमा मैले उहाँलाई सम्झाएँ, “बुहारी र नातीलाई म विराटनगर लिएर जान्छु। परिस्थितिले साथ दियो भने म सिधै घर आइहाल्छु।”
आमाले मेरो पनि कपाल मुसार्नु भयो। बोल्न सक्नुभएन आमा। मलाई पनि लाग्यो – अँध्यारो भविष्यको यो मुलुकमा अर्को साल हामी जीवितै रहन्छौँ कि रहँदैनौँ!
एकसट्ठी सालको दशैँमा मैले विदेश जानुपर्यो। म जाँदा दशैँ लागेकै थिएन, म फर्किँदा तिहारले काकडभित्ताको दैलो टेकिसकेको थियो। त्यसैले पोहोर आमाले धेरै पिरिनु परेन।
यसपालि देवीरामहरुले शान्तिको घोषणा गरे दशैँभन्दा धेरै अघि नै। दाजुले सदरमुकामबाट फोन गर्दै भन्नुभयो, “यसपालि तिमीहरु तीनैजना घर आओ। देवीरामले घरमै आएर भनेको छ – काकालाई बोलाउनुस् भनेर। तँसँग कुरा गर्न मन लाग्या छ रे। यसपालि केही हुँदैन भनेर टुङ्गै दिया छ। डेराको ढोकै थुनेर आउनु। तिमीहरु आएनौ भने आमा साह्रै पीरिनु हुन्छ। गएको साउनमा सत्तरी टेक्नु भयो।”
दशैँ मनाउने अनि देवीरामसँग पनि भेट्ने सन्जोग मलाई राम्रै लाग्यो। हामीले जाँदा हवाइजहाजबाटै जाने अनि फर्किँदा पैदलयात्रा गर्दै विराटनगर झर्ने टुङ्गो गर्यौँ।
असोजको अठारै गते हिँडेका थियौँ हामी बिहानै। सरकारी कम्पनीको जहाज बाहिरबाट हेर्दा थोत्रो देखिए पनि त्यसको इन्जिनको देखरेख भैरहने हुनाले तलबितल पर्दैन भन्ने विश्वासमै थिएँ म। बिहानको आठ बजे उड्नु थियो। बेलामै उड्न पाए पैँतीस मिनेटमा हाम्रो जिल्लाको हवाइमैदानमा ओर्लिन पाइन्थ्यो।
तर बेलामा उडेन जहाज। ठ्याक्कै डेढ घटा ढिलो भयो। र पनि हामी चिन्तित भएनौँ। दश बजेतिर हामी जिल्लामा पाइलो ओराल्ने थियौँ। त्यतैको कुनै सानो होटलमा दाल भात तरकारी अचार खाएर बाटो लाग्दा पनि हामी ठूलो साँझ नखस्तै घर पुग्ने थियौँ।
विमानस्थलकै डुहुरे पसलमा हामीले कालो दाल, मिठो साग र पीरो अचारसँग भात खायौँ। हामी ओरालो लाग्दा दिउँसोको एघार बजेको थियो। पञ्चमीका पाइलै गन्दै जाँदा पनि हामी ठूलो साँझ खस्ने बेलामा घर पुग्ने थियौँ।
घाम चरक्क लागेको थियो। असौजको घाम सामान्य थिएन। भदौरे घामको राप जस्तै कडा थियो त्यो।
“के उल्का पस्यो यो मुलुकमा!” खोला झर्ने बाटामा हामीले हाम्रो घरमा पुजापाठ गर्ने गुणराज दाहाललाई भेटेका थियौँ। पिखुवा खोलो तरेर खाल्डेतिर लाग्ने उकालोमा एक बजेको घामले हामीलाई टाउकामा अँगारै छरे जसरी पोलिरहेको थियो। शहरमा बसेका हामी र अनि ढल्किँदो उमेरका गुणराज बाको हिँडाइको सार मिलेकै थियो। खाल्डेमुनिको चौतारोमा उक्लिएपछि हामीले सबैले केहीबेर सुस्ताउने मन गर्यौँ।
त्यही चौतारोमा एकछिन सुस्ताएपछि गुणराज बाले हामीलाई सुनाउँदै भन्नुभयो, “ के उल्का पस्यो यो मुलुकमा! असार साउनमा खडेरी पर्यो। मधेसमा जमीन पटपटी फुट्यो। यतै पनि पानी नलाग्ने ठाउँमा धानको बीउ ब्याडमै सुकेर सकियो। यसपालिको असारे पन्ध्र हिलोमा नटेकी टारियो। धान त बिग्रियो बिग्रियो, मकै पनि यसपालि रामरी फलेन।”
गुणराज बा पहाड मधेस गरिरहनु हुन्थ्यो। त्यसैले उहाँलाई दुबैतिरको खेतीपाती थाहा हुन्थ्यो।
“गुरु, मौसम फेरिँदै छ, त्यसैले प्रकृतिमा पनि फेरबदल आइरहेको छ,” मैले आफ्नो आधुनिक विचारले गुरुको निराशालाई छोप्ने कोशिस गरेँ।
“मौसम फेरिने कुरो होइन बाबु यो। उल्का पस्यो मुलुकमा। तीन वर्षदेखि हामी आग्नेयबाट छिरेको उल्का र नैऋत्यबाट छिरेको राहुको मार खेपिरहेका छौँ। तपाईंहरु अंगे्रजी विद्यातिर लाग्नुभयो, ठूलो मान्छे हुनुभयो। त्यसैले तपाईंहरुलाई हाम्रो ज्योतिष प्रणाली माथि अविश्वास पैदा भयो,” गुणराज बाले गाली गरेर होइन, सम्झाएरै हामीलाई सुनाउनु भयो, “प्रकृति त उस्तै त छ नि बाबु। पिखुवा खोलो त्यसरी नै बगिरहेको छ। सिक्तेल खोलो पनि पूर्वैतिर बगेको छ। हाम्रो गाउँ उस्तै छ, बजार पनि उस्तै छ। हाम्रा घरखेतहरु पनि उस्तै छन्। खै के फेरिएको छ र?”
गुणराज बाको दृष्टिमा केही फेरिएको थिएन। उसै पनि आजभोलि फेरिने भनेको शहर हो। पाँचै वर्षमा काठमाडौ शहरको रुपरेखा फेरिन्छ तर गाउँ, पचास वर्षदेखि त्यो जस्ताको तस्तै छ। मानौँ शहर चाँडै कुहिने आलु हो अनि गाउँ यही पिपलको रुखजस्तै दीर्घजीवी चौतारो हो।
मैले गुणराज बालाई सम्झाउन सक्ने कुरो थिएन। उहाँको एउटा धारणा बनिसकेको थियो – आधुनिक विद्या पढेकाहरु ज्योतिषमा विश्वास गर्दैनन्। उहाँको कुरो सकार्दा उहाँ खुशी हुनुहुन्थ्यो, त्यसको खडन गर्दा आफ्नो जजमानको आधुनिक छोराको कारणले हाम्रो परिवारप्रति नै उहाँमा विरक्ति जाग्न सक्थ्यो। त्यसैले मैले खडनको तर्कलाई छोडेर आस्थाको विश्वासलाई टेवा दिँदै सोधेँ, “गुरु हजुरको गणना फलित हो कि गणित हो?”
“ज्योतिषलाई गणित र फलितमा बाँडेर पन्छाउनु राम्रो हुँदैन,” गुणराज बाले मलाई सम्झाउँदै भन्नुभयो, “हाम्रो पूर्वीय दर्शनले नक्षत्रको गणना गरेर मुहुर्त निकाल्न थालेको हजारौँ वर्ष भयो। हाम्रो पात्रो पृथ्वीको चक्रको आधारमा खडा भएको हो, पश्चिमको पात्रो दिनको गणनामा तयार भएको हो। बाबुहरुलाई लाग्छ – पूर्वीय दर्शन खालि अन्धविश्वास हो। त्यो गलत हो। पूर्वीय दर्शनमा वेदब्यास छन्, पाणिनी छन्, आयुर्वेद अहिलेको डाक्टरी भन्दा पुरानो हो। पश्चिमाहरुले हाम्रै ग्रन्थ पढेर आफूलाई आधुनिक बनाएका हुन्। त्यसैले बाबु, पूर्वको ज्ञानप्रति अविश्वास गर्नु हुँदैन।”
गुरुको बोलीमा ज्ञान थियो। मैले खडन गरिन।
“हाम्रो गणनाले भन्छ – नेपालमा तीन वर्षदेखि राहुको नाच चलिरहेको छ। यो मारकाट, रक्तपात सबै त्यसैको उल्का हो। अहिले जङ्गलीहरुले युद्धविराम भनेका छन्, तर रगत बग्न त छोडेको छैन नि! मान्छेहरु मारिइरहेकै छन्। विराटनगरमै छँदा मैले पाल्पातिर निर्दोष मानिसहरु मारिएको समाचार पढेको थिएँ। युद्धविराम भएपछि त रगतको खोलो बग्न छोड्नु पर्ने हो नि! खै?”
“गुरु, यो राहुको खेल भन्दा पनि बन्दुक बोक्नेहरुको दुर्वुद्धिको परिणाम होइन र?” मैले तैपनि आफ्नो असहमती पोख्ने कोशिस गरेँ।
“त्यही दुर्वुद्धि त हो राहुको खेल, बाबु। तपाईंहरु राजाको गाउँमा बस्ने मान्छे। ठूलाबडाहरुको संगतमा बस्ने मान्छे। तर तपाईंहरु किन रक्तपातको चलखेललाई रोक्न सकिरहनु भएको छैन? किनभने नेपालको आकासमा राहु नाचिरहेको छ। यस्तो बेलामा ठुलाबडाहरुको वुद्धि भ्रष्ट हुन्छ र हामी जस्ता सानातिनाले भारी दुःख उठाउनु पर्छ।”
मेरो दश वर्षको छोराको आँखामा जिज्ञासा थियो र उसकी आमाको अनुहारमा चासो। म थिएँ निस्पृह।
गुरु गुणराजको प्रश्नको उत्तर मैले कतै भेटिन।
कात्तिक, ०६२
काठमाडौ।
(नेपाल मंसिर महिनाको तेश्रो हप्ता ०६२)
(स्रोत : कथाकारको ब्लगबाट सभार)