कथा : सम्झौता

~जलेश्वरी श्रेष्ठ~Jaleshwori Shrestha

आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि नै उनीहरू एक अर्कालाई मन पराउँथे ।

ठीक समयमा उनीहरू आइपुगेपछि दीपकले हामीसँग उसका आमाबुबा, मामामाइजूको परिचय गरिदिए । उसको मामालाई देख्नेबित्तिकै मलाई उसलाई कतै देखेको चिनेको जस्तो लाग्यो । उसलाई पनि सायद त्यस्तै लागेकोले होला उसले मसँग भन्यो (“तपाईंलाई चिनेको जस्तो लाग्छ ।” “होला मलाई पनि त्यस्तै लागिरहेछ” मैले भनें । उसले केहीछिन विचार गरेर सोध्यो (“तपाईंले भद्रपुरका वकिल नरेन्द्रलाई चिन्नुहुन्छ ?” “किन नचिन्नु ? उसँग मेरो धेरै नजिकको सम्बन्ध थियो” मैले जवाफ दिएँ । त्यसो भए तपाईंको नाम अनुराधा ? हो म अनुराधा नै हुँ ।
ऊ झस्कियो । मेरा पनि बिहानदेखिका सबै उत्साहहरू सेलाए । मेरो मनमा लाग्यो(अब भने आज कुरा मिल्न गाह्रो हुन्छ । हाम्रो कुरा हुँदै थियो । छोरीले आफ्नै हातले तयार पारेका परिकारहरू उनीहरूलाई टक्र्याई ।

दीपक, उसका आमाबुबा, माइजूले स्वाद मानीमानी छोरीको प्रशंसा गर्दै खाइरहे तर मामाले भने अप्ठ्यारो मान्दै खाइरहे । खाँदै गर्दा उसले मलाई भन्यो (“मेरो नाम नवीन हो । म नरेन्द्रको साथी । मेरो उसको घरमा आवतजावत भैरहन्थ्यो । तपाईं र उसको नाता पनि के हो भनी मलाई थाहा भयो ।” त्यसबेलासम्म मैले पनि उसलाई चिनिसकेको थिएँ ।

दीपकका बुबाले भने(“खानपिन सकियो । अब मुख्य कुरातिर लागौं । विवाहको दिन र साइत तोक्नुप¥यो ।” नवीनले बीचमै कुरा काटेर भन्यो (“कुरा टुङ्ग्याउन मा किन हतार भिनाजु ? घरमा गई राम्ररी सल्लाह गरेर मात्र कुरा छिनौंला ।” “किन फेरि सल्लाह गर्ने ? सबै मिलेकै छ” दीपकका बुबाले भने । सल्लाह गर्ने कुरा भएर नै मैले भनेको हुँ भनी नवीनले भन्यो । ठीक छ, त्यसो भए घरसल्लाह गरेर साइतको दिन तोकौंला अनुराधाजी ! दीपकका बुबाले भने ।उनीहरू गइसकेपछि २०(२२ वर्ष अगाडिको घाउ चर्केको अनुभव भयो । त्यो पुरानो चर्केको घाउबाट बहेको रगतसँगै मेरो अतीत पनि बग्न थाल्यो ।

मैले बी.ए. पास भएपछि भर्खर जागिर खाएको मात्र थिएँ । नरेन्द्रसँग मेरो विवाहको कुरा चल्यो । त्यसबेला उसले बी. एल. पास गरेको थियो काम भने पाएको थिएन तर उसको घरपरिवार राम्रो भएको हुनाले दाजु र आमाले मेरो लागि योग्य वर पाइयो भनेर कन्यादान दिई मलाई पठाए ।

दाजुले आफ्नो गच्छेभन्दा बढी दाइजो र गरगहना दिनुभएको थियो । मेरी आमा मलाई सम्पन्न वकिल पास भएको केटालाई कन्यादान दिन पाएकोमा आफ्नो कर्तव्य पूरा भएको ठानी खुसी र सन्तुष्ट देखिनुहुन्थ्यो । म आफ्नो जन्मघर छोडेर कर्मघरमा गएँ । लोग्ने, सासूससुरा र एउटी नन्दले मलाई राम्रो व्यवहार गरे । मलाई सासूससुराले अफिस जान पनि रोकेनन् । मलाई जागिर छोड्नुपर्ला कि भनी डर लागिरहेको थियो ।

पहिलो महिनाको तलब आउनेबित्तिकै नरेन्द्रले अनु ! तिम्रो तलब आयो होला ? हामीहरूको विवाह गर्नको लागि अलिकति पैसा सापट लिएको थिएँ । तिम्रै तलबले तिरिदिन्छु भनी प्रत्येक महिनाको तलब लिन थाल्यो । म बिहान चार(पाँच बजेदेखि उठेर बढारकुँडार गर्ने, पानी भर्ने, भात पकाइ सबैलाई ख्वाएर अफिस जानुपर्ने । सासू बिरामी, नन्द कलेज जाने, ससुरा र लोग्ने त पुरुष नै भए घरको केही काम गर्नु परे अपमान ठान्ने । अफिसबाट फर्केर आएपछि भान्सामा पस्नुपर्ने ! एकछिन पनि आराम लिन नपाउने, काम सकिएपछि कोठामा जाँदा लोग्नेको रिसले फुलेको मुख हेर्नुपर्ने । म त केवल एउटी कमाउ कमारीजस्ती ।

घरको काम राम्ररी गरेन भनी सासू(ससुराको गुनासो र हरेक रात ओच्छयानमा मेरो इच्छा विरुद्ध लोग्नेको तृष्णा मेट्न कर लाग्थ्यो । यतिका जबर्जस्ती हुँदा पनि राम्ररी सहयोग गरेन भनी लोग्नेको गुनासो र अफिसमा समयमा पुग्न नसकेको अनि काममा धेरै ध्यान नदिएको भनी हाकिमको गुनासो । अचानोको खुकुरीको मार सहेजस्तै म सहन बाध्य थिएँ । माइतीमा मेरो पीडा सुुनाउँदा आमा र दाजुलाई पीर पर्ने र भाउजूले खिस्याउने डर । यसरी असह्य पीडा दबाएर बस्नुबाहेक कुनै उपाय नै भएन ।

आफ्नो शारीरिक र मानसिक पीडा आफैंले घुटुघुटु पिउने बाहेक अर्को मार्ग नै थिएन । यस्तै क्रमले दुई वर्ष पुगेको चाल नपाई बित्यो । यतिन्जेलमा मेरी एउटी छोरीको जन्म भइसकेको थियो । मेरी आमाको पनि देहान्त भैसकेको थियो ।मेरी नन्दको विवाह भयो । विवाहमा मेरो दाइजो टी.भी. सोफासेटलगायत भाँडाकुँडा सबै दिएर पठाए । मेरो उनीहरूले दिएको गहना त ऋण तिर्नपर्छ भनी पहिला नै ससुराले लिइसकेका थिए । मलाई माइतीले दिएको गहना पनि लोग्नेले बेचीबेची सिध्याइसकेको थियो । मेरो लोग्नेले काम पायो । अब त मलाई सुख हुनेछ भनी म ढुक्क थिएँ । मसँग तृष्णा मेट्ने माग कम भयो । ठीक छ राति त आनन्दले सुत्न पाएँ भनी खुसी थिएँ तर दुःख पो थपियो । ऊ राति ढिलो आउन थाल्यो । वकालतको धेरै काम होला भनी म चुप लागेर बसेँ । छोरीले राति दुःख दिई भनी छोरी र मलाई अलग सुत भनी ओच्छ्यान छुट्याइदियो ।

ऊ झन् ढिला आउन थाल्यो । कहिलेकाहीँ राति घरमा सुत्न आउन पनि छोड्यो । एकदिन मैले सोधेँ (“के त्यस्तो काम हो ? राति नै बस्नुपर्ने !” उसले रिसाउँदै मलाई जवाफ दियो (“तँलाई के मतलब ? म मेरो घर आऊँ या नआऊँ । तँ यो घरमा बस्नु छ भने आफ्नो काम खुरुखुरु गरी चुपचाप बस्, बुझिस् ।” मलाई पनि रिस उठ्यो अनि मैले पनि भनेँ (“म तपाईंकी स्वास्नीको नाताले राति नआएको कुरा सोध्नु मेरो हक हो ।”” हक, कस्तो हक ? आइमाईहरूलाई त आमाबाबुले दान दिएपछि लोग्नेले जे गरे पनि हुन्छ । मारे पाप पाले पुण्य भनी दान दिएको वस्तुलाई हामी लोग्नेमान्छेले जे गरे पनि छुट छ । मैले तँलाई मारेको छैन । घरमा राखेको नै छु । तँ अफिसमा दसजनासँग लसपस भएर आए पनि निकालेको छैन त्यसैले मैले जे गरे पनि चुप लागेर बस् ।

यस्तो क्षुद्र वचन सुनेर त्यहाँ एकक्षण बस्न मन भएन । मेरो काखमा छोरी छे । उसलाई लिएर कहाँ जाने ? सहेर बस्नुबाहेक मेरो कुनै विकल्प नै भएन । माइतीमा आमा हुनुहुन्न । दाजु त आफ्नै हुन् तर भाउजू आफ्नी होइनन् । म त्यहाँ गएको उनलाई मन पर्ने छैन । मेरा कारणले दाजुको घरमा कलह गराउन मन लागेन ।

मेरो लोग्ने उसकै अफिसको केटीसँग लागेको कुरा थाहा पाएर पनि म अनभिज्ञजस्तै भइरहेँ । यस्तै झन्झन् म दुःखको पोखरीमा डुब्दै गएँ । एक रात मेरो लोग्ने रक्सीले चूर भएर कोठामा आयो र मलाई लछारपछार गरी कुट्दै भन्न थाल्यो (“तँ अफिसमा नाठो खेलाउने वेश्या होस् । अब मलाई थाहा भो( यो छोरी मेरी होइन । तँ भोलि नै यो घर छोडेर जा नत्र तेरी बच्चीलाई मारिदिनेछु र त्यसको आरोप तँलाई नै लगाइदिनेछु ।”यस्तो हल्लाले बच्ची पनि चिच्याएर रोई । सासूससुरा पनि आए अनि यस्ती चरित्रहीन आइमाई भोलि उज्यालो नहुँदै यहाँबाट गइहाल् भने । ओहो ! पुरुषप्रधान समाजमा नारीको स्थान थोत्रो थाङ्ना सरह हुँदोरहेछ । चाहिएसम्म पछारीपछारी धोइ अत्याचार, अन्याय गरी शोषण ग¥यो मन नलागेपछि सडकमा फालिदियो । म कहाँ जाने ? आफ्नी छोरीलाई लिएर । म निर्दोष भए पनि यहाँबाट मलाई जानु नै छ । म आफ्नो अगाडि आफ्नै सन्तानलाई मारेको हेर्न सक्दिन । के बेर पापीहरूले जे पनि गर्न सक्छन् ।

नारीलाई सबैभन्दा ठूलो आरोप परपुरुषको आरोप हो । मैले आफ्नो सन्तानको रक्षा नहुने भएपछि झूठो आरोपलाई पनि चुपचाप सहनुप¥यो ।मेरो पाइला दाजुको घर अथवा माइतीतिर बढ्यो । यति अँध्यारोमा म आएको देखी दाजुले दुःखी हुँदै सोध्नुभयो (“किन ? के प¥यो र यस्तो अँध्यारोमा यहाँ आउनुपर्ने ?” मैले मेरा सबै दुःखका पीडाहरू रुँदै सुनाएँ । दाजु पनि रुनुभयो । म चरित्रहीन भई घरबाट निकालिएको कुरा हल्ला भयो ।

यो हल्लालाई साँचो हो कि भनी शङ्काले हेर्न थाले । अफिसमा पुरुषहरूले मलाई कुदृष्टि लगाउन थाले । त्यहाँ मलाई बस्न धेरै गाह्रो भयो । पुरुषले लगाएको झुट्टा आरोप पनि समाजले कति सजिलैसँग पत्याउने मानौं नारी निर्जीव खेलौना मात्र हो । मेरो कारण दाजु भाउजूमा सधैं कलह भएकोले म अन्तै कोठा लिएर बस्न थालेँ । अरूहरूको कुरालाई वास्तै नगरी म सुचारु रूपले अफिस जान थालेँ । मेरो हाकिमबाहेक सबैले मलाई शङ्का र घृणाको दृष्टिले हेर्थे । मेरो अफिसको हाकिम अमरबहादुर विधुर हुनुहुन्थ्यो । उहाँका दुईवटा छोरा अ मेरिकामा सेटल भैसकेका । उहाँ पनि एक्लो म पनि एक्ली । उहाँले पनि मनको व्यथा मलाई सुनाउनुहुन्थ्यो म पनि उहाँलाई सुनाउँथे( त्यसकारण हामी धेरै नजिक हुँदै गयौं । उहाँको अवकाश हुने बेला पनि आयो ।

एकदिन उहाँले मलाई एउटा प्रस्ताव राख्दै भन्नुभयो (“अनुराधा ! तिमी पवित्र हुँदाहुँदै पनि कलङ्कित सावित भयौ । म विधुर पुरुष । दुईवटा छोरा अमेरिकामा सेटल भैसकेका छन् त्यसैले मलाई उता नै बोलाउँछन् तर मलाई त्यहाँ जान मन छैन । काठमाडौंमा मेरो सबैथोक छ तर मन मिल्ने बोल्ने साथी छैन । मलाई एउटा साथीको जरुरत छ भने तिमी र तिम्री छोरीलाई एउटा संरक्षक आवश्यक छ । हामी दुईजनाले एक अर्काको मद्दत गरी समस्यापूर्ति गर्न सक्छौं । मेरो कुरा सोचेर जवाफ देऊ ।” मैले यस विषयमा धेरै सोचेँ । यो कुरा मैले स्वीकार गरेमा पक्का मलाई समाजले दोषी ठान्नेछ । समाजले मलाई थुक्नेछ । म मेरा दाजुभाउजूको आँखाबाट गिर्नेछु । होइन, म यो कुरा स्वीकार्न सक्दिन । म धर्म र समाजको विरोधमा जान सक्दिन । “पतिभक्ति त मर्दैन पापी पति भए पनि” भन्ने कुरा म मान्छु । अर्को मनले भन्यो( “तिमीलाई यो धर्म र समाजले न्याय ग¥यो त ? तिमी जतिसुकै पवित्र भए पनि तिमीले सीताले जस्तै अग्निपरीक्षा दिन सक्छौ त ?”

भोलिपर्सि छोरीले बाबु खोज्दा कसलाई देखाउँछौं ? जुन बाबुले उसलाई स्वीकार गर्दैन त्यसलाई तिम्रो बाबु हो भनी कसरी देखाउने ?
आखिर छोरीलाई एउटा बाबुको आवश्यकता पर्छ । यहाँको कानुन र समाजमा जहाँ पनि बाबुको नाम नै चाहिन्छ ।यहाँ एउटी नारीलाई एक्लै सम्मानपूर्वक बस्न सुरक्षित नै हुँदैन । भगवान्ले हामीलाई सुरक्षा गर्न देवताको रूपमा उसलाई पठाएका हुन् । मैले उसलाई अपनाएा भने आफ्नो र छोरीको सुरक्षित भविष्य बनाउन मद्धत मिल्छ । मेरो लोग्ने भनाउँदोले मलाई घरबाट निकाली केही महिनामै अर्र्की मनपर्ने विवाह गर्न हुन्छ भने मैले किन गर्न नहुने ? किन मेरो धर्म नष्ट हुने ?

मैले यो धर्म र समाजलाई वास्ता नगरी उहाँसँग दोस्रो विवाह गरेँ । यस्तै कुरा सम्झदै रात बित्यो । बिहान छोरी उत्साहित भई अफिसमा गइन् । उनी छिट्टै फर्किन् । उनले अँध्यारो मुख लगाएर, निराश र खिन्न भएर भनिन् (“आमा ! मेरो बाबु को हो ? म बाबुको ठेगान नभएको भनी दीपकले मलाई अस्वीकार ग¥यो । तपाईं चरित्रहीन, मेरो नागरिकतामा नाम भएको बुबा नक्कली हो रे । तपाईं रखेल हो रे । यो कुरा साँचो हो ? हो भने मलाई किन जन्म दिनुभएको ? म एउटी चरित्रहीन आमाको सन्तान हुनुभन्दा मर्नु जाती ठान्छु । हो, म तिमीलाई जन्माउने आमाको नाताले तिमी कसको बीज हो भनी मैले मात्र भन्न सक्छु । भद्रपुरका नामुद वकिल नरेन्द्रको रगत तिम्रो शरीरमा छ जसले आफ्नो स्वार्थको निम्ति मलाई बेइज्जत गरी तिमीलाई आफ्नै छोरी भन्न अस्वीकार ग¥यो भनी मैले पहिलाको सबै कुरा सुनाएँ ।

मलाई र तिमीलाई निर्जीव ढुङ्गासरी बीच बाटोमा मिल्काइएको थियो । हामीलाई तिमीले नक्कली बाबु भनेकाले टिपी पूजा गरी आफ्नो घरको मन्दिरमा सजाएँ । मेरो पवित्रतामा विश्वास गरी तिमीलाई र मलाई विवेकहीन समाजबाट बचाए । मैले तिम्रो निम्ति समाजको चुनौतीलाई हाँक दिँदै आत्महत्या गरिनँ । तिमीले कातर भई कसरी आत्महत्या गर्ने कुरा सोच्न सकेकी ? राम्रो भयो विवह हुनुभन्दा अगाडि नै दीपकले तिमीलाई अस्वीकार ग¥यो । विवाहपछि दीपकले यस्तो गर्नुपरेको भए मैलेजस्तै तिमीले पनि परित्यक्ता नारीको पीडा भोग्न विवश हुनुपथ्र्यो ।

एउटा कातर पुरुषबाट तिमीले छुट्कारा पायौ । तिमीमा आत्मबल छ भने यहाँ त्योभन्दा राम्रो तिमीलाई बुझ्ने पुरुषको कमी छैन । मेरो यस्तो कुरा सुनी छोरीले आँखाको आँसु पुछी र गर्वले शिर ठाडो पारी ।

(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.