कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~

समय : २०६२ जेठ १२–१९

पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको।

बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई झस्काएर बिउँझाउने त्यो घटी पाँच बजेभन्दा अगाडि नै बज्न थालेको थियो। एकछिन त अब बज्न छोड्ला भन्ने आशा मनमा पालेर ओछ्यानमा तेर्सिइरहेँ। तर घटी बज्न छोडेन। उठ्नै पर्‍यो।

मैले दक्षिणी झ्यालका पर्दाहरुलाई कुना कुनामा स्याहारेँ। रात चन्द्रागिरीको टुप्पोतिर गैसकेको थियो। पूर्वी आकासमा देखापरेको एकटुक्रो उज्यालो मेरो कोठाको भुईंमा पनि छिर्‍यो। मैले पर्दा सर्सर्ती तान्दा कोठाभित्र एक लर्को चिसो बतास सरसरायो। मैले अहिलेका सुविख्यात स्वामी रामदेवलाई सम्भि्कएँ। उनी पाँच बजेको बिहानीसँगै टेलिभिजनको पर्दामा पलेटी कसेर बस्थे। तर टेलिभिजनको पर्दामा पाँच बजेको थिएन। मैलै भित्तामा टाँसिएको ठूलो घडीतिर आँखा डोलाएँ। चार बजेर बीस मिनेट गएको रहेछ।

त्यतिन्जेल पनि फोनको घटी बजिरहेकै थियो। मैले लामो सास तानेर फोक्सोभरि अक्सिजन भरेँ।

त्यसपछि मात्र मलाई फोन उठाउन जाँगर चल्यो।

“कस्तो मान्छे, फोन उठाउन पनि यत्रोबेर लाग्छ!”

म अपेक्षा गरिरहेको थिएँ माफीनामाको। टेलिफोनबाट यस्तो आवाज आउला भन्ने मलाई लागेको थियो, “रात नसिद्धिदै फोन गर्नुपर्‍यो, माफ गर्नुहोला सर, साह्रै ठूलो आपत आइलागेर मात्रै यो फोन गरेको हुँ।”

म त्यसपछि प्रायः सुनिने गुनासाहरुको आँकलन गरिरहेको थिएँ। छोराको जागीर, छोरीलाई नर्सिङ्ग क्याम्पसमा पढाइको सिफारिस, अथवा मिर्गौला असफल भएको विमारीको बिरह, क्यान्सर वा ट्युमरको उपचार खर्च यस्तै यस्तै राम्रा नराम्रा समाचारहरुको कल्पना गर्न थालिसकेको थिएँ। फोनले झसङ्ग हुनेगरी हकारेर मलाई कल्पनालोकको त्यो कुडबाट पृथ्वीको ढुङ्गेखोलामा फ्याँकिदियो।

“एकाबिहानै भकारोजस्तो गालि गर्ने को हो?” मैले पनि झ्वाँक पोख्ने कोशिस गरेँ।

“म शान्तिराम क्या, कस्तो नचिनेको!”

म उभिएको उभियै भएँ।

मलाई फोनमा मज्जैले हकार्ने शान्तिराम सापकोटा बस्थ्यो झापाको शनिश्चरे गाउँमा। ०२३ सालमा इलामको फुयेँतप्पा गाउँबाट हाइस्कूल पढ्न बसाईं सरेर आएको शान्तिरामले बाबु र दाजुको रेखदेखमा दुइमानाको राम्रो बन्दोवस्त गरेको थियो। हाम्रो परिवार फर्किएर आएको थियो मेघालयको नङ्पुबाट ०३० सालमा। पहिले हाम्रो पाखो पनि फुयेँतप्पामै थियो। त्यसैले पिताजीले साथीभाइ खोज्ने क्रममा शान्तिरामका बाबुलाई भेट्नुभयो शनिश्चरेमै। सात वर्ष बिताइसकेका शान्तिरामका बाबुले हाम्रा लागि घरजग्गा खोजिदिए।

छिमेकी भयौँ हामी। रहँदा बस्ता एउटै परिवार जस्तै भयौँ हामी। मिहिनेती स्वभावको भएको हुनाले दुइटै परिवार गाउँले भाकामा खान्तेपिन्तेकै हैसियतमा उभिए। चारआलि हुँदै फिक्कल, इलाम जाने बाटो खुलेपछि दुबैले साझेदारीमा ट्रकबाट माल ढुवानी गर्ने ब्यवसाय थाले। शुरु शुरुको दिन थियो, प्रतिस्पर्द्धा थिएन। राम्ररी फस्टायो ट्रक ब्यवसाय।

पिताजीको मन एउटा ठाउँमा ठेगान लागेर बस्नै नमान्ने भैसकेको थियो। फुयेँतप्पाबाट उहाँ आसाम जानुभएको थियो। आसामको कुँएरघारीको काम छोडेर उहाँ नङपुतिर उकालो चढ्नु भएको थियो। सरकारी काम पाउनु भएको हुनाले उहाँ लामै समय टिक्नुभयो त्यहाँ। जागीरे जीवनको आधाउधि बिताउँदा नबिताउँदै उहाँले फेरि नेपाल फर्किने मन बनाउनु भयो। हामी छोराछोरीले त्यतिबेलासम्म फुयेँतप्पा बिर्सिसकेका थियाँै। त्यसैले पिताजीले हामीलाई शनिश्चरेमै ठेगान लाउनु भएको थियो। तर दस वर्ष बित्दा नबित्दै त्यहाँबाट पनि उहाँको मन उच्चाटिन थालिसकेको थियो। त्यसैले फेरि नङ्पु नफर्किने गरी नेपाल फर्किंदा उहाँले सबैखाले पैसा जोडजाड गरेर काठमाडौको बानेश्वरमा एक रोपनीको टुक्रो किन्नुभएको थियो।

त्यतिबेलासम्म बानेश्वरको माटोको भाउ अहिले जसरी अक्कासिएको थिएन।

शान्तिराम सापकोटा र म सँगै पढ्थ्यौँ शनिश्चरेमा। हामी सँगै हिँड्थ्यौँ, मौका परे सँगै खान्थ्यौँ। हाम्रो मित्रता देखेर धेरैले डाहा पनि गर्थे। शान्तिराम म भन्दा तीन महिना जेठो थियो। उ २०२० सालको साउनमा जन्मिएको थियो म असौजमा। त्यसैले उ ठूलो भएको हक जनाउने गर्थ्यो बेलामौकामा। शनिश्चरेको पढाइ सकेर हामी दुबै दुइतिर लाग्यौँ पढाइ सिध्याउन। शान्तिराम रामपुर गयो कृषि पढ्न। म काठमाडौ आएँ भाषा पढ्न।

त्यतिबेला अहिलेजस्तो टेलिफोन सस्तो थिएन। छयालिस सालसम्म टेलिफोन हुनु सम्मान र टेलिफोन नहुनु पीडाको अवस्था थियो काठमाडौमै पनि। ०३९ सालमा टेलिफोनको निवेदन दिने सर्वसाधारण काठमाडौवैयाहरुले ०५० सालमा टेलिफोन पाएका थिएनन्। त्यसैले चालिस सालमा सजिलरी फोन गर्न पाउने कुरै थिएन। हामी दुइ भाइलाई चिठीपत्रले सन्तोक दिँदैनथ्यो। त्यतिबेला मुगलिन नारायघाट बाटो बनिसकेको थियो। मौका मिल्यो कि हामी एक अर्कालाई भेट्न हान्निइहाल्थ्यौँ। हाम्रो भेटघाटको आतुरी कति चर्को थियो भनेर साँच्चै थाहा पाउने हो भने सबैले हामीलाई बौलाहा भन्न बेर लाउँदैनन्। ०४१ सालमा एकपल्ट म रामपुर पुग्दा शान्तिराम काठमाडौ आइपुगेको रहेछ।

त्यस्तो राम्रो संगाती शान्तिरामले एकाबिहानै शनिश्चरेबाट फोन गरेको थियो, मैले झर्को मान्ने कुरै बाँकि रहेन।

“सुन् भाइ, अब यता बस्न सकिने भएन। जङ्गलीको राजमा बाँच्न नसकिने भइयो। बाटामा ठाउँ कुठाउँमा ट्रकको कर भनेर पैसा माग्छन्, जुनसुकै बेला पनि घरमा छिरिदिन्छन्। हजार बाह्र सय पैसा दिन र घरको अन्न खानै दिन त गाह्रो थिएन, तर होहल्ला गरेर हैरान पार्छन्। घरमा आउँदा बन्दुक देखाएर परिवारलाई थर्को दिन्छन्, हिँडेपछि पुलिसलाई कसरी कसरी थाहा दिन्छन्। अहिले हेर् न, मलाई चारालीवालाले दुःख दिएर हैरान पार्न थालेका छन्। कहिले किन चन्दा दिन्छस भनेर बयान माग्छ, कहिले किन भात खान दिइस्, तँ तिनीहरुकै मान्छे होस् भनेर सताउँछ। म त हैरान परिसकेँ।”
शान्तिरामले आत्तिएरै फोन गरेको रहेछ बुझ्न गाह्रो परेन मलाई। तर म के गर्न सक्थेँ र!

“तँ किन बोल्दैनस् भाइ?” बोल्दाबोल्दैको शान्तिरामले मलाई अप्ठ्यारोमा पार्नेगरी सोध्यो।

“तँ भन् न, मैले के गर्नुपर्छ?” मैले उसलाई सम्झाउने पारामा भनेँ।

“म काठमाडु आउँछु अब,” उसको बोली सुनेर म छक्क परेँ। शान्तिराम आउने भयो, मेरो बोझ बढ्ने भयो भनेर म चिन्तित भएको थिइन। शान्तिराम काठमाडौ आइदेओस् भनेर मैले धेरैचोटी निहोरा गरेको थिएँ। पटक्कै मानेको थिएन त्यसले काठमाडौ आउन। “दुइटा ट्रक छन्, खानपुग्ने खेत छ, फलफूलको यति फराकिलो खेती गरेको छु, छोराछोरी पढिरहेकै छन्, किन बोलाउँछस् भाइ बेकारमा मलाई” भनेर सधँै पन्छिन्थ्यो उ। पूर्वी नेपालको हालत पनि पश्चिम नेपालको जस्तै भएपछि पोहोर मात्रै म उसलाई लिन गएको थिएँ शनिश्चरे। पटक्कै मानेन त्यो मान्छेले मसँग आउन।
“भाइ, तँ काठमाडौमा छस्, त्यतै बसिराख। अब केटाकेटीलाई एम.ए. पढाउँदा झझट बढी लाग्छ। तेरो घर छ, केटाकेटीहरु सजिलरी पढ्न पाउँछन्। मलाई यहीँ बस्न दे। मैले जागिर खान मानिन। तर हेर त, एक बिघाको बगैँचालाई मैले कति रामरी स्याहारेको छु” आफ्नो फलफूल बगैँचा देखाउँदै उसले मलाई प्रकृतितिर फर्किन अर्ति दिएको थियो।

दश महिना पनि नबित्तै कसरी यो मानिस पर्लक्कै पल्टिया होला!

मिनेटको दशांसमा मैले यति सोचिसकेको थिएँ। त्यसैले प्रफुल्ल हुँदै मैले भनें, “बल्ल तेरो घैँटोमा घाम लागेछ। सबै बेचबिखन गरेर आउँछस्?”

“म मात्रै आउँछु, ठूलो छोराले काठमाडौ पढ्ने रहर गरेको छ, त्यसैलाई काठमाडौ पुर्‍याउने बहानामा आउँछु, एकाध वर्षसम्म परिस्थिति नियाल्छु। त्यतिबेलासम्म पनि कुनै परिवर्तन भएन भने मात्रै बेचबिखन गर्ने मन बनाएको छु। एकटुक्रो जमीन मेरा लागि पनि हेरिदे।”

“जग्गा हेर्ने कुरो पछि गरौँला, अहिले तँ आउने तयारी गर्।”

शान्तिराम आफ्नो छोरो लिएर काठमाडौ आयो। तर एक महिना बित्ता नबित्तै शान्तिरामको मनले सुस्केरा हाल्न थालेको मैले थाहा पाएँ।

“वनको चरी वनैमा रमाउँछ भाइ,” तेश्रो महिना चल्दै थियो उसको काठमाडौ प्रवासको। एकदिन बिहान चियाको चुस्की तान्दै उसले मसँग गुनासो गर्‍यो, “मलाई त शहरले थिच्न थाल्यो। जता हेर्‍यो घर बाहेक केही छैन। मान्छेहरु कसैलाई फुर्सद छैन। टेलिफोनबाट हेराहेर गरेर कसरी बाँच्न सक्छ मान्छे?”

शान्तिरामको भाषा सुनेर हामी सबै हास्याँै बेस्सरी।

“तँलाई अझै शहरको मात लागेको छैन। अरु एकाध महिना बस्, बिस्तारै तेरो मन रम्छ।”

अहँ, रमेन मन शान्तिरामको।

मैले तपाईंहरुलाई ढाँट्नु हुँदैन, माघ १९ गतेको भाषण सुनेपछि शान्तिराम फुरुङ्ग परेको थियो। बेलुका उसले त्यो खुशी मसँग साट्ने कोशिस पनि गरेको थियो। “हेर भाइ, तँलाई राजनीतिको चस्का लागेको छ। तँलाई आजको दिन नराम्रो लाग्ला। तर अब शान्तिचाहिँ छाएरै छाड्छ। मलाई यहाँ बस्नै मन थिएन, अशान्तिका कारण यो फसादीमा फँस्नुपरेको थियो। तीन महिनामा देशमा शान्ति व्याप्त हुन्छ। म अब उतै बस्छु। तैँले छोराछोरी पढाइदे।”

“तेरा तीनटा छोराछोरी पढाउन मैले गाह्रो मानेको होइन, तर आजको घोषणाले शान्ति छाउनेछ भन्ने भ्रमबाट चाहिँ तँ अहिले नै मुक्त हो …।”

“मसँग राजनीति नबोल् न भाइ” शान्तिरामले मेरो कुरो बीचैमा छिनाली दियो।

“हेर्दै जा,” मैले पनि कुरो टुङ्ग्याउन चाहेँ। किनभने मेरा कुनै तर्कले शान्तिरामलाई शान्तिसँग काठमाडौ बस्न दिँदैनन् भन्ने मलाई थाहा भैसकेको थियो।

टेलिफोन चल्दैनथ्यो त्यतिबेला, समाचार दिने रेडियोहरु पनि बिरहिणीको रोदन सुनाएर सुस्ताउँथे। त्यसैले शान्तिराम दिनहुँ छापाहरुमा तीन घटा डुब्थ्यो। नेपालका सबै खबरहरु पढ्ने गर्थ्यो शान्तिराम। नेपाली अनि अङ्रेजी दुबैखाले।

बेलामौकामा मलाई सम्झाउथ्यो पनि शान्तिराम, “ए भाइ, छोड्दे यो लफडा। गले के जङ्गली! अब शान्ति छाउँछ। दलहरुले गल्ती गरे यस मामिलामा हेर्। हामीलाई शान्ति चाहिएको थियो, त्यो आयो। हेर् न, कतै जङ्गलीले मारकाट गर्न सकेका छैनन्।”

अखबार पढ्दा साँच्चै शान्ति छायो कि जस्तो लाग्थ्यो जसकसैलाई पनि। तैपनि शान्तिरामलाई आफैँसँग राख्न म भन्थेँ, “कहिलेदेखि गजेट जस्ता अखबारमाथि विश्वास गर्नथालिस हँ तैँले? अखबारमा शान्ति छापिने बित्तिकै जीवन शान्तिपूर्ण हुन्छ? हुन्छ भने पनि त्यो जीवित होइन, मृत शान्ति हुनेछ।”

“जिउँदो होस् कि मरेको होस्, आफूलाई शान्ति भए पुग्छ,” शान्तिरामले मेरो कुरै सुनेन।

दुइ महिनासम्म शान्तिको अखबार पढेपछि शान्तिराम उडेर जाम् कि गुडेर जाम् जस्तो गर्नथाल्यो। मैले उसलाई जबरजस्ती रोक्नु राम्रो ठानिन। भलो भएकै रहेछ भने उते मन रमाएर बस्छ, हालत उस्तै रहेछ भने फर्किएर आइहाल्छ भन्ने लागेर मैले उसलाई बैशाख ६ गते चन्द्रगढी पठाइदिएँ।

“म विर्तामोड आइपुगेँ, यता राम्रै छ जस्तो छ भाइ,” पाँच बजेतिर उसले फोन गर्‍यो।

“भरखर जाँदैछस्, यसो एकाध दिन परिस्थितिको अध्ययन गर् अनि फोन गर् न,” मैले उसलाई सम्झाउन खोजेँ।

आज बिहान पाँच बजे नै शान्तिरामको फोन आयो। सन्तोककै फोन होला भन्ठानेको थिएँ। मलाई छाङ्गाबाट खसाल्दै उसले भन्यो, “भाइ, नानीहरुलाई आजै पठाउँदैछु, सरासर घरैमा आउछन्। तँलाई अलिक दिन दुःख हुने भो। ब्यवहार नमिलाई हामी आउन मिल्दैन। के गर्छस् बाबै यता त एक दिन पनि बस्न नसकिने भैयो। कुन दिन छोराछोरी उठाइदिने हुन् जङ्गलीले!”

जेठ १,०६२
कंचनजंघा, काठमाडौ।

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.