~बाबुराम लामिछाने~
पैंसठ्ठी हिउँद खाइसकेका बूढा–बूढीले एकदिन सोचे– ‘अब उनीहरूको काल नजिक–नजिक आउँदैछ ।’ यही सोचाइको वशीभूत भएर तिनले आफ्ना नाममा रहेको जाय–जेथा आफ्ना सन्तानहरूबीच बाँड–फाँड गरिदिने निधो गरे ।
‘केही दिनका पाहुना न हौं हामी । जसोतसो गुजारा भइहाल्ला ! आफ्नै सन्तान हुन् । विवेकी छन् । आ–आफ्नो गरी खाऊन् ! अब पनि सबै कुरा आफैं ओगटेर कति बसिरहने ? सन्तानहरू आफैं जिउन सुरु गरुन् न ! उनीहरूको जीवन सधैं ओझेलमा परिरहन पनि त भएन ।’ यस्तो ठाने बूढा–बूढीले ।
त्यति ठूलो सम्पत्ति थिएन । दुःखले आर्जेको छाला थियो । हात–नङ्ग्रा खियाए खानसम्म पुग्दथ्यो । बुढा–बूढीले खाइखेलेका तीन सन्तानलाई बाँड्दा कति नै हुन्थ्यो र । तैपनि जिलो–बिलो जे थियो बाँड्नु न थियो । बाबु–छोराहरू बसेर विचार–विमर्श भयो । जेठा–माइलाले बुढोघर छाड्ने र अर्कोतिर गच्छेअनुसार बास बनाई बस्ने निधो ग¥यो । बूढोघर कान्छाको भागमा पर्ने भो । बूढा–बूढी बूढो घरमैं एउटा कोठामा बास बस्ने भए । बूढा–बूढी नमर्दासम्म कान्छाको भागमा परेको त्यस घरबाट उनीहरूलाई हटाउन नहुने सहमति भयो । बूढा–बूढीको प्राण धान्न आवश्यक पर्ने अन्नपातको बोझ तीनै भाइ मिलेर चारचार मुरी बराबर बोक्ने–बेहोर्ने समझदारी पनि भयो । बूढा–बूढीले यो उमेरमा पनि किन कुटो–कोदालो गर्ने भनेर छोराहरूले उदारता देखाए । बूढा–बूढीको नाममा केही राखिएन, रहेन ।
यसरी बूढा–बूढी आफ्नो काँधको बोझ आफ्ना सन्तानमा सारेर आफूहरू हल्का–फुल्का भै जिउन थाले– काललाई उठाएर लैजान सजिलो होस् भनेझैं गरी ।
उता छोराहरू पनि आ–आफ्नो गरी खाने राप–तापमा रिङ्न, घुम्न थाले । सानो गाँठीका मान्छे । यता छोप्यो उता उदाङ्गिने । उता टाल्यो यता भ्वाङ्ग पर्ने । नयाँ जोरजाम । नयाँ व्यवस्था । गाह्रो–साँघुरो जेजस्तो छ त्यसैमा आ–आफूलाई अटाउन प्रयास गर्न थाले भने अभावजन्य वेदनाहरूमा पनि अभिनव–अभिनव अनुभूतिमा तिनका मनका तारहरू नृत्य गर्न थाले । यस्ता मामिलामा खासगरी बुहारीहरूका खुट्टाले भुईं छोडे । सासू–ससुराको ओझेलमा परेर भित्रभित्र थुनिएजस्ता भएका तिनीहरूका अधबैंस –“ऐना हेरेर, लाऊ माया लाउनेले धोको फेरेर” भन्ने लोकलयको रन्कोमा खुल्न र मुखरित हुन थाले । बिग्रे त्यसको दोष र सप्रे त्यसको श्रेय आफैंमा आई कसैको टोकसो नहुने भएपछि एककिसिमले प्रसन्नै भएर दिनहरू गाल्न थाले ।
तर कान्छा–कान्छीलाई खुलापनको त्यो हदसम्म अभिनव अनुभूति हुन पाएन । बूढा–बूढी कहीँ न कहीं कुनै न कुनै रूपमा बिझाउने वस्तु भएर तिनका अनुभूतिमा आइरहे । यसो होइन, त्यसो भन्नेखालका हस्तक्षेपले पनि कान्छा–कान्छी मुक्त हुन पाएनन् । फेरि दिदी–बहिनी र अन्यान्य इष्टमित्रहरू पनि बूढा–बूढी भएका ठाउँमा सन्चो–विसन्चो सोध्न, भेटघाट गर्न आउने नै भए । आगन्तुकको आतिथ्य, बूढा–बूढीको यथोचित हेरविचारको व्यावहारिकता आदिको बोझ पनि कान्छा–कान्छीले नचाहेर भए पनि वहन गर्नु नै पर्ने भो । कान्छा–कान्छीलाई जेठा–माहिला र तिनका आइमाईहरूलाई जस्तो छुट्ट–भिन्न हुनुको पर्याप्त स्वतन्त्रता मिलेको अनुभव हुन सकेन । व्यक्त गरिहाल्न पनि नमिल्ने र थप वा अतिरिक्त बोझ वहन नगरी पनि नहुने खालको असमञ्जसपूर्ण स्थितिमा ती झिजिंदै आए । कान्छालाई त लाजले यो कठिनाइलाई ओकल्न मिलिहालेको थिएन । तर कान्छीले सहनुको सीमालाई नाघेर मनको विकार थुक्ने वमन गर्ने आदि कार्य गर्दै आउन थालेकी थिइन् । बूढा–बूढी र अन्य आगन्तुकले त्यस्ता प्रसङ्गहरूलाई घुटुक्क निल्दै हिंड्ने गरेका थिए । बुढा–बूढीलाई पनि गल्ती गरिएछ क्यार भन्नेखालका झस्काहरूले प्रहार गर्न प्रारम्भ गरेका थिए । कान्छामाथि परेको अतिरिक्त बोझको पनि उनीहरूलाई अनुभव हुँदै आउँदै थियो ।
बूढा–बूढीका जीउ यसै पनि जीर्ण त थिए नै, त्यसमा पनि कहिलेकहीं सानातिना बिसन्चोका प्रकरण पनि आएर थपिने गर्थे । तिनको औषधिमूलो, हेरविचारमा अतिरिक्त व्यय हुन पुग्थ्यो । बूढा–बूढीसँग कौडो पनि हुने गर्दैनथ्यो । अमिलिंदै, पिलिंदै त्यो बोझलाई पनि कान्छाकै काँधले धान्नु पथ्र्यो । यसरी स्थितिहरू क्रमिक रूपमा स्पष्ट र जटिल भएर आउँदैथिए ।
बूढा–बूढीलाई तिनका हितैषी खासगरी छोरीहरूले “के गरेको यस्तो ? यसरी रित्तो भएपछि कसले हेरविचार गर्छ अब तपाईंहरूको ? विमारी पर्दा केले उपचार हुन्छ ? धर्म–कर्म, तीर्थ ब्रत र मरेपछि क्रिया–कर्म, दान–दक्षिणाजस्ता कृत्यहरू कसरी हुने हुन् ? जिउनी वा केही रकम–सकम भएको भए यसरी पाखालाग्नु पथ्र्यो तपाईंहरूले ?” गह भिजाउँदै मर्ममा प्रहार गरिदिने गर्थे । तर बूढा–बूढीले यस्ता प्रसङ्गलाई कहिले चुप लागेर, कहिले मुस्कुराएर त्यसै टारिदिने गर्थे । छिटो–छिटो काल आइहाल्ला र सबै समाधान भइहाल्ला भन्ने आशामा उनीहरू ढुक्क हुने गर्दथे ।
तर काल ह्वात्तै हस्याङ–फस्याङ गर्दै आइहालेको थिएन । जिउनु दुरुह–दुरुह बन्दै गइरहेको थियो ।
उता जेठा–माइलाबाट जुन चारचार मुरी अनाज बूढाबूढीको लागि आउने गथ्र्यो त्यसमा अनिश्चितता आउन थाल्यो । किनभने कहिले अनावृष्टि वा अतिवृष्टि हुन्थ्यो, कहिले असिना पथ्र्यो, बालीनालीमा केही न केही व्यवधान परिहाल्थ्यो । कहिले कहीं अनाजको मूल्य यति लोभलाग्दो गरी बढ्यो कि कुल रकम मौटै हुन पुग्थ्यो । अर्को तर्क के पनि उठ्थ्यो वा जेठा–माइलाका आइमाईहरूले उठाउने गर्थे भने–‘बूढा–बूढी नोकरभन्दा बढ्ता काममा दलिने गर्छन्– बालबच्चा हेर्ने, घर कुर्ने, वस्तुभाउको रेखदेख गर्ने र घर–व्यवहारका अन्यान्य कतिपय कामहरूमा घोटिने गरेकै छन् बूढाबूढी ! कत्रो सहारा मिलेको छ तिनलाई । अरू कसैलाई त्यही कामको लागि राख्नुपरेको भए खान दिएर मात्रै सुख पाउँथे ? आफूलाई यस्तो हुर्मत छ, अझ पनि खर्च भर्न पर्ने ?’ आदि आदि । फेरि यसरी खर्च दिने कुरा समझदारी त हो । समझदारी भनेको एक किसिमको नैतिक आदर्श हो । त्यसलाई नमाने पनि के फरक पर्छ । को आज नैतिक आदर्शलाई बोकेर जिएको छ र !’ जेठा–माइला र तिनका आइमाईहरूका मनमा यी यस्ता तर्कहरू पनि खेल्ने गर्थे र एकान्तमा गफका विषय हुन्थे यी यस्ता कुराहरू । र, कान्छालाई कूटनीतिक शैलीमा भन्ने गर्थे –“भाइ, यसपटक यस्तै भयो, एकमुष्ट बुझाउन सकिएन । हुँदाखेरी मागेर ल्याउने गर न ! के गर्नु केटाकेटीका पेट पनि बढ्दै जान आँटे, धान्नै गाह्रो पो पर्न थाल्यो त !”
प्रकृतिको नियमबाहिर थिएनन् कान्छा–कान्छी । दाजुहरूको कुरा सुनेर लामो सास फेर्थे । तिनका भनाइमा जुन केही वास्तविकता र कुटशैली हुने गथ्र्यो त्यसलाई बुझ्दै गरेका हुन्थे । यस्तै रहेछ बोझ जति जम्मै आफैंलाई भन्थे मनमनै र बा–आमा हुन्, दाजुहरू नभए पनि यी सब बोझहरू उठाउनै पथ्र्यो भनेर चित्त बुझाउँथे– कान्छा–कान्छी ।
यिनै तीता–मीठा बाध्यात्मक यथार्थबीच समय गुज्रँदै थियो । यस्तैमा एकदिन बूढा साह्रै बिमारी परे । मरिहाल्छन् भनेर पर्खी बस्न मिलेन । गच्छेअनुसार औषधिमूलो गर्नैप¥यो । यस्तो बेला जेठा–माइला दुवै काममा गएको भनाउँदै कतै लुकी बसे । खर्चबर्च सबै कान्छाले बेहोर्नुप¥यो । ठूलै रकम व्यय भएकोले कान्छाको ढाड कहीं किटिक्क भाँचियो । एकहप्ता अस्पताल राखेर ल्याएपछि “ए ! यस्तो पो भएछ ! भन्दै दाजुहरू परचक्रीझैं त्यहाँ देखापरे । खर्चको बारेमा कुनै चासो देखाएनन् । दाजुहरूको यस्तो उदासीनता देखेपछि कान्छाले यसरी काम चल्न सक्तैन, बा–आमालाई केही खर्च छुट्याउनुपर्छ’ भने पनि । तर उनको कुरालाई दाजुहरूले सुने मात्रै, प्रतिक्रिया जनाएनन् । लाचार बनिरहे ।
यसपछि कान्छा–कान्छीका मनमा झ्याउँकीरीहरू बास्न थाले । अब के हुने हो वा कस्तो समस्या आइपर्ने हो भन्ने खालको भय नजिकै झुस्स–झुस्स देखा पर्ने गर्न थाल्यो । गरिबको घरमा मूसा दौडेझैं विवशताहरू ओहोर–दोहोर गर्न थाले । नचाहँदा नचाहँदै पनि बाबु–आमा बोझ हुनुको क्रूर नियतिले कुतुर–कुतुर, कतर–कतर कोतर्न र छेड्न थाल्यो । साउने झाडीमा अँधेरी रातको यात्रीझैं असहाय बन्न पुगे कान्छाकान्छी ।
बाबु–आमाको थाप्लोमा जिउँदै आएका कान्छा–कान्छीलाई जीवन यति जटिल होला भन्ने अनुमानै थिएन । तर अहिले आएर जसरी आवश्यकताहरूले घेरिरहेका थिए, महङ्गी जसरी अग्लिंदो थियो, ऋण र त्यसको ब्याजले जसरी किचिरहेको थियो र कृषिमा आधारित जीवन प्रणालीमा आकस्मिक खर्चका प्रकरणहरू थपिंदा जमिन नबेची नहुने जुन अवस्था आइपथ्र्यो, त्यसलाई हृदयङ्गम गर्दा कान्छा–कान्छी छाँगाबाट खसेजस्ता हुन्थे । धैर्य ट्ट्न थाल्थ्यो । कर्तव्यहरू लुला–लङ्गडा हुन पुग्थे । वचन निर्धो हुन पुग्थ्यो । दया–करुणाजस्ता भावहरूले लत्तो छोड्दै जान्थे । तिनका मनमा जे जति सरसता वा मधुरता हुने गर्थे– ती सब जङ्गल मासिएर सुक्दै गएका पानीका स्रोतझैं गतिहीन हुन पुग्थे । यस्ता अनुभवहरू यी दिनहरूमा कान्छाकान्छीलाई हुन थाले र उनीहरू सानो कुरामा पनि त्यसैत्यसै क्रुद्ध र कठोर हुँदै गएको देखियो ।
समयको गति र स्वभावसँग जुध्दै बूढा–बूढीको जीउ गल्दै गयो । तर काल आइपुगेन । आफ्नै छोरा–बुहारीका अपहेलना, तिरस्कार र तीखा–मर्मभेदी वाक् बाणले अभिमान जति सबै मर्दित भयो । शर–शय्यामा सुतेका भीष्म–पितामहझैं हुन पुगे ती । तिनलाई आफ्नै जीवन बोकेर हिंड्नु न छोडेर हिंड्नुजस्तो भार भएर आयो । छोरा–बुहारीहरू पनि आ–आफ्नै पीर बोकेर दौडिरहेका हुन्थे । तिनको ध्यान बूढा–बूढीतिर एकदमै कम जान्थ्यो । यसैले पनि बूढा–बूढीले कोही आइहाल्छ कि वा कसैले केही खान दिइहाल्छ कि भनेर आँखा र कान ओच्छ्याएर समय यापन गर्ने यत्न गर्दै गए ।
यिनै क्रमहरूबीच बूढा–बूढी कान्छा–कँन्छीको उदासीनताबाट, बेवास्ता र तिरस्कारदेखि अघाएर, मन भरिएर जेठाछोरासँग न्याय माग्न गए । जेठा–माइलाबीच सरसल्लाह भयो । आफूहरूले भर्नुपर्ने खर्च पहिलेदेखि नै इमान्दारीसाथ भर्न नसकेको र हाल आएर त्यसको हिसाब–किताब पनि हुन छोडिसकेको वास्तविकतालाई समेत हृदयङ्गम गरी बाबुजेठाको घरमा र आमा माइलाको घरमा बस्ने गरी समझदारी कायम हुन पुग्यो । यस्तो किन पनि भयो भने कान्छा–कान्छीले बूढो घर बेचिसकेका थिए र बूढा–बूढीको बोझबाट मुक्ति पाउन यसो गरिएको भन्ने गरिन्थ्यो । त आफ्नै सन्तानसँग गाँस र बास मागेर जिउन विवश बूढा–बूढीको पीडा झनै बढ्न थाल्यो । किनभने यो उमेरसम्म बूढा–बूढीलाई एकार्कासँग यसरी छुट्टिएर, अलग्गिएर बस्नुपरेको थिएन । यी दुई प्राणी आफैंमा एक–अर्काका सहारा थिए । अप्ठेरोमा टेक्ने–समाउने भरपर्दा वस्तु थिए । त्यो सहारा पनि यिनका हातबाट छुट्न पुग्यो । फेरि जेठा–माइलाले बूढा–बूढीलाई गाँस–बास दिन स्वीकार गर्नुमा सहजता–सहृदयताभन्दा बढ्ता वाध्यता थियो सायद । यस्तोमा बूढा–बूढीप्रति समुचित व्यवहार हुनु, यस्तो अपेक्षा तिनले राख्नु अलि बढी नै हुन जान्थ्यो । यो कुरालाई बूढा–बूढीले नबुझेका थिएनन् । तर के गरुन् आफ्नै बुद्धि र सन्तानको मायाले आफैं ठगिएका ती निरीह प्राणीले !
दिन त बित्दै गए । उपेक्षा र तिरस्कार बूढा–बूढीले पिउँदै पनि गए । तर एकअर्कासँग यसरी टाढा रहेर जिउनु तिनीहरूलाई दुष्कर भयो ।
एकदिन डराई–डराई बूढा–बूढीले यो कुरा छोरा–बुहारीसमक्ष राखे । तर तिनले यो उमेरमा पनि किन सँगै बस्नुप¥यो भनेर त्यो कुरालाई त्यसै उडाइदिए । ‘काम छैन, सानो कुरालाई पनि त्यसै पहाड बनाउने’ भनेर उल्टै हाँसे–छोराबुहारी मिलेर ।
बूढा–बूढीको मन वर्षायामको तलाउझैं वेदनाले भरियो । उपेक्षा र तिरस्कारले तिनका जीर्ण हाडहरू पनि गल्न–सड्न थाले । कहिले को कहिले को बिमारी पर्दा एक–अर्काको कुरुवा त हुन्थे । त्यो पनि दैवलाई मञ्जुर भएन । वाक्क भएर बूढा–बूढी दुवै घरबाट निस्के र गाउँको छेउमा एउटा जीर्ण पाटी थियो– त्यहीं गएर आश्रय लिन थाले तिनले ।
यो कुरा चाल पाएर छर–छिमेकी र इष्टमित्रहरू बूढा–बूढीलाई भेट्न आए । कोही छाम्न आए । जो कुनै चिढिएका थिए ती पनि आए र मुखले कठै भने पनि पेटले बल्ल खाइस् को भाव पाखेर सन्तोष मान्दै फर्के । कसैले छोरा–बुहारीलाई पनि हप्काए । प्रतिक्रिया, चर्चा, टीका–टिप्पणी, निन्दा जे जे हुनुपथ्र्यो ती सब भए । तर बूढा–बूढीलाई केही मिल्नेवाला त थिएन । ती पाटीको जीवनमा कठ्याङ्ग्रिइरहे । यी क्रमहरूमा छोरीहरू आएर भक्कानो फुटाउँदै रोए । दाजु–भाइ र तिनका आइमाईहरूलाई भन्नुसम्म भने, फर्काएर ल्याउन अनुनय–विनय गरे । तर सबै ढुङ्गाजस्ता साह्राभएको देख्ता अचम्म मानेर बाबु–आमालाई आफ्नो घर लान बिन्तिभाउ पनि गरे । तर बूढा–बूढी मानेनन् । बूढा–बूढीलाई थाहा थियो–जहाँ गए पनि एक दुई दिन न हो चाख लिने, त्यसपछि त नियति त्यही हो । अपहेलना र तिरस्कारबाहेक अरू केही मिल्नेवाला थिएन । त्यसमा पनि छोरीको घरमा गएर सामाजिक निन्दा कमाउन चाहँदैनथे तिनले । मुखले त्यति भन्ने मानिस पाउनु पनि तिनको लागि लाख थियो । यथार्थमा छोराहरूको अहित, अकल्याण त बूढा–बूढीले किमार्थ चाहँदैनथे । सहँदा–सहँदा सहनै नसक्ने भएपछि, भित्रभित्रै अमेलिएको पित्त छाद्नुभन्दा कहीं बसेर समय यापन गर्नु श्रेयस्कर ठान्दै यसो गरेका थिए । बरु तिनलाई दुःख लागेको थियो – छोराहरूको कठोरता र दारिद्रता देख्ता । कुन दुर्भाग्यले तिनीहरूलाई यस्तो अमानव बनायो भन्ने चिन्ताले पो बूढा–बूढीलाई खाइरहेको थियो ।
त मान्छेको जीवन न हो पाटीमा बसेर पनि गुजारा हुँदोरहेछ । बूढा–बूढीले त्यही पाटीमा आफूलाई रत्याउँदै लगे । बूढा–बूढी भन्दै कसैले के, कसैले के ल्याइदिएकै भरमा तिनको प्राण धानिंदै गयो । बूढा–बूढी ७५ वर्ष पुगेर ७६ वर्षमा घिस्रिन थाले ।
यसरी बूढा–बूढीको उमेर सरकारद्वारा प्रदान गरिने मासिक वृद्ध भत्ता योग्य भएको कुरा माइलाको दिमागमा एकदिन अकस्मातजस्तो चढ्न पुग्यो । यो कुरा आफ्नो मगजमा घुस्न सकेकोमा उनले त्यसलाई धन्यवाद पनि दिए । उनको मन कल्पनै कल्पनामा सर्र रसायो पनि किनभने बूढा–बूढीको वार्षिक भत्ता एकै ठाउँमा राख्ता त्यो ठूलै हुन पुग्थ्यो । बूढा–बूढीलाई मुखले त्यतिविधि नचिढाएको फाइदा लिनैपर्छ भन्ठान्दै कागज–सागज तयार गर्ने क्रममा खुसुक्क उनी पाटीमा पुगे र बूढा–बूढीलाई ढोगीदिए । बाबु–आमाको मन न हो छोरालाई आफू सामु देख्ता तिनको अनुहार खुशीले धपक्क बल्यो । माइलाले पनि गल्तीको क्षमा मागे र कागजमा सहीछाप गर्न अघि तेस्र्याए । यस्तैमा एकदिशाबाट जेठा र अर्को दिशाबाट कान्छा त्यहाँ एकसाथ आइपुगे ।
एकदमसित झस्कँदै तिनीहरूको उपस्थितिलाई माइलाले हेरिरहे, बोल्नै सकेनन् ती । माइलाको मन–पेट बुझेर आएका जेठा र कान्छाले एकलौटी त्यसो गर्न नपाइने, त्यसमा बराबरी हकलाग्ने कुरा उठाए ।
बूढा–बूढी एकछिन त त्यसै अलमल्ल परिरहे । छोराहरूको गलफती सुनेर अरू एक दुईजना गाउँले पनि त्यहाँ आए । के कसो भन्ने कुराहरू भए । कुरो खुल्यो । पहिले त बूढा–बूढीलाई विश्वासै भएन । कुरो साँचो थियो । विस्मित भए बूढा–बूढी । आफ्ना सन्तानलाई बल्ल पो चिने तिनले । यतिञ्जेलसम्म काल नआएकोमा साह्रै थकथक लाग्यो । आफूलाई र काललाई सहस्र पटक धिक्कारे । पाटीमा बस्नुको पीडा यति सानो भयो यो पीडाको तुलनामा कि बूढा–बूढीले पाटीको बासलाई लाखलाख ठान्न थाले ।
हालः सर्लाही
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)