कथा : तन्द्रै तन्द्रा र एउटा उराठ लाग्दो दिन

~मधुवन पौडेल~

एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ विशेष आनन्दको अनुभूति पो हुन्छ !

जतिसुकै भवसागर भए पनि त्यो भनेको आफ्नो संसार हो त्यहाँ बाबुआमा स्वास्नी छोराछोरी इष्टमित्र साथीभाई र अझ शत्रु पनि छन् । अनि आफ्नो एउटा आइडेण्टीटी छ आइडेण्टीटी अर्थात् विशेष पहिचान ! रविराज शर्मा भन्दैमा यो विरानो ठाउँमा कति जनाले पो उसलाई चिन्छन् र तर उसको आफ्नो ठाउँमा त रविराज शर्मा कसैको छोरो लोग्ने बाबु दाजु अनि कतिको साथी अथवा प्रतिद्वन्दी सबैथोक हो नि !

रविले एक पटक कोठाको वरिपरी नियालेर हेर् यो । कोठाको एक कुनामा सोफाभरी लुगाको थुप्रो- मैला सुकिला नयाँ पुराना सबै किसिमका ! अनि भित्तामा सगरमाथा समेत हिमाली श्रृफ्लाको लामो पोष्टर अर्कोतिर माछापुच्छ्रे र नेपाली शैली झल्काउने मन्दिरको सुन्दर पोष्टर ! घरबाट यति टाढा आएर पनि रविले यो ठाउँमा आफ्नो छुट्टै नेपालीपन राख्न भरमग्दूर गरेकै छ भन्नुपर्छ ।
ऊ हिँडेपछि कुनचाहिँले उसको कोठा स्याहार्ने हो कुन्नि तर उसको कोठा अर्थात् कोठा नं. २०४ मा जोसुकै आएर बसे पनि एउटा न एउटा नेपाल चिनाउने कुरा छोडेर जाने उसले अठोट गरेको थियो । हुन त उसले छोड्ने बस्तु अर्को व्यक्ति नआउाजेल त्यो कोठाभित्र रहला नै भन्न पनि गाहारै छ ! कोठा सफा गर्ने केटी रिसेप्सनमा बस्ने कर्मचारी र होस्टल सुपरिवेक्षक सबै नै रविको आश गरेर बसेका छन्- नेपाली पोस्टर आ-आफ्ना घर लैजान पाउँला भनेर ! एक दुई जनालाई चिनो छोडेर गए ता पनि सबैलाई उसले भाग पुर्याउन सक्दैनथ्यो ।

कोठाको पूर्वी खण्डमा सानो रेपि्रुजरेटरको माथि पनि ज्यापू-ज्यापूनी लाखे र देवीदेवताका ससाना पुतली आकारका सजाउने सामान छन् । एक दुई जनालाइ त तिनै सामान दिए पनि हुन्छ विशेष गरी सचिवालयका महिला सेक्रेटरीहरुलाई अथवा कोस्रकी सहायिका सबीना बेकरलाई जो यस्ता सामानप्रति अत्यधिक रुपमा आकर्षित हुने गर्छे । कोठा सफा गर्ने टर्कीकी केटीलाई नेपाली पुतली निकै मन पर्छन् रे ! सकभर विभिन्न देशबाट आएका मानिसहरुलाई उनीहरुको चाख अनुसार आफुसँग भएका यस्ता सामान सौगात स्वरुप दिने रविको विचार छ । यसरी दिएर पनि सबैको भाग भने पुग्दैन ।

अनि त्यही हाराहारीमा काठमा कुँदिएको गाईबाच्छाको आकृति पनि छ । तर त्यो रविलाई कसैले उपहारस्वरुप दिएको हो । एक पटक आफ्नो कोठालाई गहिरिएर नियालेपछि रवि बाहिर निस्कन्छ । बाहिर हलमा एक कुनामा टेलिभिजन सेट र अर्को कुनामा विलियार्डको टेबुल सजाइएका छन् । घाना अङ्गोला कोलम्बिया र अर्जेण्टीनाका सहपाठीहरु केबुल टि.भी. हेर्न मस्त छन् । रवि पनि उनीहरुको नजिक एउटा मेच तानेर बस्छ- टि.भी. स्क्रिनमा बेलिण्डा कार्लाइलको सुमधुर आवाज घन्किरहेको छ-
‘सर्कल इन् द सायण्ड’
रविलाई त्यहाँ बसिरहने इच्छा छैन । ऊ तल बल्कोनीमा गएर रेडियोमा समाचार सुन्ने अभिप्रायले जुरुक्क उठ्छ । ऊ उठ्नासाथ घानाकी केटीले व्यङ्गगात्मक प्रतिक्रिया जनाइहाल्छे
‘आर् यू लुकिङ् फर् फेलो एशियन्स् अर् सिरिन् इन् पार्टिकुलर् ?’
रविले रातो अनुहार पार्छ र घानाकी केटीतिर फर्किंदै रीस पोख्छ
‘एन्जेला ह्वाई आर यु सो सिरियस् एबाउट् मी इट्स् अल्रेडी टाइम टु से गूडबाई !’

रविलाई घानाकी एन्जेला इभान्स् पटक्कै मन पर्दैन । एकपटक कोको खुवाउने निहुँले उसले रविलाई आफ्नो कोठामा निम्त्याएकी थिई अनि पहिलो प्रेम विवाहित जीवन उसको व्यापारी लोग्नेको व्यस्तता अफ्रीकीहरुको खास गरी शिक्षित समुदायका मान्छेहरुको सेक्सप्रतिको दृष्टिकोण आदि कुरा गर्दा गर्दै उसले रविको अगाडि आफूलाई नंग्यायएकी थिई ।

अफ्रीकी भएर पनि एन्जेलाको छाला झण्डै गहुँगोरो जस्तो लाग्थ्यो तर उसको बाक्लो ओठ बाटुलो अनुहार चौडा निधार र गठिलो जिउले गर्दा उसलाई एशियाली वा दक्षिणी अमेरिकी केटीहरुभन्दा बेग्लै मान्नुपर्ने हुन्थ्यो । एकपटक मलावीको साथीले पब्मा भनेको कुरा सम्झ्यो रविले ।

‘एन्जेला सी इज् अ किलर् ! तिमीले उसलाई कहिल्यै थकाउन सक्दैनौ ! बीच् !!’
एन्जेलामा नारीजन्य स्वभावमा हुने ईर्ष्याको मात्रा बढी त छँदै थियो ऊ अलि च्वास्स बिझ्ने गरी केही भन्न पनि हिच्किचाउन्नथी । कतै बाहिर जाँदा हामीले उसलाई चाहिने भन्दा बढी सौजन्य र उसको इच्छा अनुसार विण्डो सपिङ् होस् वा पार्कमा गीत गाउनेहरुको अगाडि उभिने काम होस् सबै जनाले ती सबमा उसलाई साथ दिउन् भन्ने ऊ अपेक्षा गर्थी ।

उसले केही सामान किनी भने पनि अर्को लोग्नेमानिस साथी छ भने उसले बोकिदिनु पर्थ्यो नत्र सहयात्रीले उसको रिसको शिकार हुनुपथ्र्यो । ‘के सभ्य भएर हिँड्न जान्या छैन’ शायद उसको संसारमा स्वास्नीमान्छेलाई भारी बोक्न नदिनु सभ्य बन्नु थियो कि तर दिनभर स्वास्नीलाई मेलापात वा अरु गाह्रै काममा जोताएर फेरि घरभित्रको पनि सम्पूर्ण जिम्मेवारी उसकै थाप्लोमा हालिदिने समाजमा हुर्के बढेको आफुलाई एन्जेलाको कुरा चित्तबुझ्दो नलाग्नु स्वाभाविकै पनि थियो ।

उसको क्रोधको चरम सीमा त त्यतिबेला देख्न पाइन्यो जब सुन्दरताको अर्थ लगाउने बेला गोरोपनलाई हाम्रो देशमा विशेष महत्व दिइन्छ भनेर म भन्ने गर्थें । ‘हाम्रो देशमा स्वास्नीमान्छेहरु गोरी देखिनको लागि क्रीम पाउडर घस्छन् अझ बुकुवा फेस प्याक् के के लगाउँछन् के के गोरी बनेर आफुप्रति आकर्षित गर्न !’ भनिदिएपछि ऊ आफुले कहिल्यै त्यस्तो नगरेको र रङ्गभेद बिरोधी विश्वब्यापी नारालाई दोहोर्याउन तेहोर्याउन थाल्थी ।

म वास्तवमा सिरिनलाई नै हेर्दै थिएँ- उसले प्याकिङ् बक्स र डोरी ल्याएकी थिई अनि ऊ आफुलाई प्याकिङ् गर्ने कामको विशेषज्ञ मान्दथी । हिजो मैले ठट्टामा भनिदिएको थिएँ- ‘मलाई पनि प्याक गरेर तिम्रो देश लैजाऊ !’
अनि उसले भनेकी थिई
‘डोण्ट बी फन्नी ! तिम्रो घर स्वास्नी छोराछोरी छन् त्यहाँ तिम्रो देशमा ! यो त छोटो मध्यान्तर हो ।’
मलाई चाहिँ यो २/४ महिनाको बसाइ गर्मीको उराठलाग्दो दिनमा एक छिन भुसुक्क निदाएर पसीनाले लथपथ भएर ब्युँझेको अनि एउटा मीठो दिवास्वप्नको आधा मात्र सम्झनाको पटलमा भए जस्तो अनुभूति भइरहेको थियो ।

म रिसेप्सन हल बगैंचा लाइब्रेरी सबैतिर चक्कर मारेर कोठामा फर्कें- कोही थिएनन् न लिम्को पत्तो थियो न त सिरिन् चाङ् कोही देखा परे । शायद कतै बाहिर गएका थिए । म त २ घण्टा सुतेको पो थिएँ- खोजेका होलान् कि निस्कनु अघि सिलिङ्को आकर्षक बत्ती झ्याल तल रेडिएटरको नागबेली लाइन अनि पर्दाको एउटा कुनाबाट टाढा देखिएको अग्लो ऐनै ऐनाको भवन हेर्दै म उपरखुट्टी लगाएर फेरि एकपटक सुत्ने कोशिसमा लागेँ- फेरि एउटा दिवास्वप्न र तन्द्राको संसारमा आफुलाई डुबाउन ।

वर्लिन, जर्मनी

(स्रोत : रचनाकार स्वयंले भाईबरको माध्यमबाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.